कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चक्कर लाग्यो कि ?

डा. ढुण्डिराज पौडेल

काठमाडौँ — बाराकी ३४ वर्षीया महिला छ महिनाअघि उपचारका लागि मकहाँ आइन् । अचानक टाउको घुमाउँदा चक्कर लाग्ने उनको समस्या थियो । घरपायक अस्पतालले सिटिस्क्यान गरिवरी दिएका औषधिले मत्थर नपारेपछि उनी राजधानी आएकी थिइन् । मैले सिटिस्क्यान रिपोर्ट हेरेँ । खराबी थिएन ।

चक्कर लाग्यो कि ?

कान सुनाइमा समस्या थिएन । उनलाई टाउको घुमाउन लगाएपछि थाहा पायो– भित्री कानको तल्लो अर्धगोलाकार नलीमा पत्थरजस्तो पदार्थ जम्मा हुने ‘बीपीपीभी’ समस्या भएको रहेछ । ४८ घण्टाको अन्तरमा एकखाले पुन:स्थापक अभ्यास गराउनेबित्तिकै उनको समस्या समाधान भयो । औषधि खानुपरेन ।

नाक, कान, घाँटी क्लिनिकमा रिंगटा या चक्कर लाग्ने बिरामी दिनहुँजसो आउँछन् । तीमध्ये अधिकांशले बाराकी महिलाजस्तै कारण नखोतलीकन औषधि खाएका हुन्छन् । चक्कर लाग्दा कानको श्रवणशक्तिमा ह्रास आउने या कानको भित्री तहमा पैदा हुने गम्भीर प्रकृतिको रोगको समयमै निदान गरिँदा पनि जटिलता पैदा हुने गरेको छ । रिंगटा वा चक्कर लाग्ने समस्याबारे बुझ्नुअघि कारण खोतल्न आवश्यक छ ।

पृथ्वीको गुरुत्वाकर्षण शक्तिसँग सामञ्जस्य एवम् उन्मुख हुने क्षमतामा विकृति वा अन्तनिर्हित शारीरिक असन्तुलन पैदा भए स्थिर रहँदा पनि शरीर आफैं वा वरिपरिको वातावरण घुमेको भान हुन सक्छ । वाकवाकी वा बान्तासँगै चक्कर लाग्न सक्छ । शरीर अचानक लड्न या हुत्तिन सक्छ । सन्तुलन पद्धतिमा अन्य जनावरभन्दा मानिसको शरीर अनौठो छ । गुरुत्वाकर्षण शक्तिसँगको सम्बन्ध पनि अनौठो छ । सालाखाला वजन ६० केजी, लम्बाइ १७५० मिमि र चौडाइ ४५० मिमि भएको मान्छे औसत २५० लम्बाइ अनि १०० मिमि चौडाइ भएका दुइटा खुट्टाको भरमा पृथ्वीको गुरुत्वाकर्षण शक्तिविरुद्ध हिंड्ने, उफ्रने गर्छ ।

शारीरिक सन्तुलन
मुख्य पिण्डको केन्द्रलाई आधार बनाएर शरीर अड्याउन सक्ने या स्थिरता कायम गर्न सक्ने क्षमता सन्तुलन हो । उभिँदा या हिंड्दा त्यसको भारको केन्द्र खुट्टा र पैतालामा पर्छ । यही सन्तुलन पद्धतिले शरीर या टाउको चलिरहे पनि आँखाले वस्तुलाई देखिरहन सक्छन्, शरीर र पृथ्वीको गुरुत्वाकर्षणप्रति उन्मुख र समन्वय गरिराखेको हुन्छ । टाउको र शरीर चलिरहँदा गति र दिशा पहिचान भइरहेको हुन्छ । शरीरमा आन्तरिक अवयवले क्रियाकलाप सम्पादन गरिरहँदा पनि शरीरको स्थिरता कायम रहन्छ ।

सचेत अवस्थाको मस्तिष्कले सन्तुलनको समन्वय गरिरहेको हुन्छ । गति र अवस्थाको सूचना सम्बन्धित सूचक अंगहरूबाट सूचना केन्द्रमा प्रवाहित भइरहेको हुन्छ । भित्री कानमा रहेका आँखा, छाला, स्पर्श, हड्डी, जोर्नी, छाला आदिबाट केन्द्रमा संकेत या सूचना प्रवाहित भइरहेको हुन्छ ।

शरीरका विभिन्न अवस्थाबारे केन्द्रले विभिन्न केन्द्र या अंगबाट सूचना पाएको हुन्छ । शरीरको गति, पृथ्वीसँग शरीर तथा टाउकाको शरीरसँग समन्वयका लागि भित्री कानका अंगहरू (तीन वटा अर्धगोलाकार नली र दुइवटा थैला) क्रियाशील हुन्छन् । कानको भित्री तहमा दुइटा महत्त्वपूर्ण अंग हुन्छन्– १) कक्लियाले कानभित्र प्रवेश गरेको आवाजलाई संश्लेषण गरी विद्युतीय तरंगसहित स्नायु नसाका माध्यमबाट मस्तिष्कबाट ग्रहण गराउँछ । २) तीनवटा अर्धगोलाकार नली र दुई थैलासहितको भेस्टिबुलले टाउकाको घुमाइ र शरीरको सन्तुलन, समन्वय र पृथ्वीसँगको उन्मुखीकरणको भूमिका निर्वाह गरेको हुन्छ । दुवैतिर छुट्टाछुट्टै रहेका यस्ता भित्री अवयवबीच पनि समन्वय भइरहेको हुन्छ । कक्लिया र भेस्टिबुलबीच पनि सम्पर्क हुन्छ । भेस्टिबुलको आँखा, ढाडदेखि मस्तिष्कसँग समेत सम्बन्ध हुन्छ ।

आँखा, हड्डी, जोर्नी, मांसपेशी, भित्री कानबाट प्राप्त संकेतलाई ग्रहण गरेपछि सचेत केन्द्रीय स्नायु प्रणालीले टाउको र शरीरको घुमाइ एवम् आँखा, जोर्नीलगायत मांसपेशी क्रियाशील बनाउँछ र शरीर स्थिर राखी सन्तुलन कायम गर्छ । चक्के पिङमा घुम्दा, लडाकु विमान चलाउँदा, गाडीमा सवार गर्दा परिवर्तन भइरहने गतिसँग यसैले सामञ्जस्य गर्छ । सन्तुलनसँग सम्बन्धित कुनै केन्द्रीय या परिधीय अवयव या प्रक्रियामा विकृति पैदा भयो भने व्यक्तिमा शारीरिक असन्तुलन पैदा हुन्छ । त्यसलाई चक्कर आउनु भनिन्छ । युवामा ८ र वृद्धवृद्धामा २५ प्रतिशतसम्म कुनै न कुनै प्रकारको असन्तुलन रहेको अनुमान गरिएको छ ।

चक्करका रूप
१. आफू या वरिपरिको वातावरण या पृथ्वी घुमेको अवस्थालाइ भर्टाइगो अर्थात फनफनी घुमाएको भनिन्छ । यो हुनुको मूल कारण (असी प्रतिशत) भित्री कानको रोग हो ।

भित्री कान, कानको नसामा असर परी पैदा हुने चक्करलाई परिधीय भनिन्छ । त्योभन्दा माथिको मार्गमा असर परे केन्द्रीय भनिन्छ । परिधीय प्रकारको भर्टाइगो कडा हुन्छ, जुन थोरै समयको जस्तो केही सेकेन्डदेखि मिनेटसम्म रहन्छ । केन्द्रीय भर्टाइगो सामान्य तर दीर्घकालीन हुन सक्छ । परिधीय भर्टाइगो दोहोरिरहन सक्छ । भर्टाइगोले वाकवाक लाग्ने, बान्ता पनि हुने हुन सक्छ ।

औषधि सेवन नगरी विशेष प्रकारको टाउकाको घुमाइ अभ्यासबाट मात्रै निको पार्न सकिने भर्टाइगो बीपीपीभी हो । यो भर्टाइगो हुनुको मूल कारण हो भित्री कानको उट्टकल थैलीमा रहेको पत्थरजस्तो पदार्थ निस्केर सबभन्दा तलको अर्धगोलाकार नलीमा जम्मा हुनु । यो अवस्थामा कुनै खास दिशामा टाउको घुमाउँदा अचानक चक्कर आउँछ, जुन केही सेकेन्डसम्म रहन्छ । सुनाइमा असर पर्दैन । नाक, कान, घाँटी रोगविशेषज्ञले दुई पटकजति विशेष प्रकारको टाउको र शरीर घुमाइ अभ्यास गराए ठीक हुन्छ ।

कान संक्रमित भई पाक्नु, भित्री कानमा पानी जम्नु, नसा सुन्निनु, ट्युमर हुनुजस्ता कारणले पनि चक्कर लगाउँछ । त्यतिबेला कानको सुनाइमा ह्रास आउँछ । यसको निदान पनि नाक कान घाँटी विशेषज्ञले निदान गर्न सक्छन् ।

२. मुटु या अन्य रक्तसञ्चारसम्बन्धी खराबीले अचानक ढलिन्छ । मुटुका रोगी, रक्तचाप र रगतको मात्रा कम हुने व्यक्ति, नराम्रो या दु:खद घटना सुन्नुपर्दा वा लामो समय धपेडीमा उभिइरहनुपर्दा मस्तिष्कमा रक्तसञ्चार कम भएर आँखाअघि अँधेरो भई चिटचिट पसिना आउँछ र मान्छे अचानक ढल्न सक्छ । अकालमा मृत्यु पनि हुन सक्छ । यसलाई सिन्कोप या प्रिसिन्कोप या भासोभेगल आक्रमण भनिन्छ । यो अवस्था हुनेबित्तिकै तुरुन्तै सुरक्षासाथ जहाँको त्यहीं सुताई टाउको तल पारेर खुट्टा उचाल्नुपर्छ । नसाबाट झोल पदार्थ दिनुको साथै मुटुको जाँच गर्न‘पर्छ । मुखबाट भने तत्काल केही दिनु हुँदैन ।

३. टाउकामा अप्ठ्यारो हुनुका साथै खुट्टा या ढाडले थेग्न नसकी शरीर ढल्छ । यसको मुख्य कारण वृद्धावस्थाले पैदा हुने स्नायु पद्धतिको क्षयीकरण हो । अल्कोहल सेवन, मधुमेह, परिधीय स्नायु प्रणालीमा विकृतिका कारण गलत सूचना प्रवाहित हुँदा चक्कर लाग्ने गर्छ । वृद्धवृद्धालाई राति चक्कर लाग्ने गर्छ ।

४. डर, तनाव पैदा भई टाउको ठूलो जस्तो, हावामा उडे जस्तो, पानीमा तैरिए जस्तो ‘लाइटहेडेडनेस’ पनि एक प्रकारको चक्कर हो । यो अवस्थामा व्यक्ति अचानक भुइँमा ढल्न सक्छ । माइग्रेन अर्थात अर्धकपालको दुखाइ हुनेमा पनि पटकपटक चक्कर लाग्ने गर्छ । यस्ता बिरामीलाइ टाउको हल्लाउँदा चक्कर आउने, घाममा र चर्को आवाजले असर गर्ने हुन्छ ।

उपचार
चक्करको मुख्य कारण भेस्टिबुलर पद्धति अर्थात भित्री कान, नसा र मस्तिष्कको सम्बन्धित भागमा पर्ने असर हो । चक्कर आउँदा धेरैजसोमा सुन्ने शक्ति ह्रास हुन्छ । चक्कर आउँदा सुरुमा जेनरल फिजिसियनलाई देखाएर मुटु, रगत, रक्तचाप, मस्तिष्कसम्बन्धी परीक्षण गरिए पनि कानसम्बन्धी चिकित्सकबाट भित्री कान र सम्बन्धित भेस्टिबुलर प्रणाली परीक्षण गर्न‘ अति आवश्यक छ । वाकवाकीसहित कडै किसिमको चक्कर लागे केही दिन औषधि दिन सकिन्छ । कारण पत्ता नलगाई चक्कर दबाउने औषधि लामो समयसम्म खाए समस्या झनै हुन सक्छ ।

डा. पौडेल वीर अस्पतालका ईएनटी विभाग प्रमुख हुन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?