चक्कर लाग्यो कि ?

डा. ढुण्डिराज पौडेल

काठमाडौँ — बाराकी ३४ वर्षीया महिला छ महिनाअघि उपचारका लागि मकहाँ आइन् । अचानक टाउको घुमाउँदा चक्कर लाग्ने उनको समस्या थियो । घरपायक अस्पतालले सिटिस्क्यान गरिवरी दिएका औषधिले मत्थर नपारेपछि उनी राजधानी आएकी थिइन् । मैले सिटिस्क्यान रिपोर्ट हेरेँ । खराबी थिएन ।

कान सुनाइमा समस्या थिएन । उनलाई टाउको घुमाउन लगाएपछि थाहा पायो– भित्री कानको तल्लो अर्धगोलाकार नलीमा पत्थरजस्तो पदार्थ जम्मा हुने ‘बीपीपीभी’ समस्या भएको रहेछ । ४८ घण्टाको अन्तरमा एकखाले पुन:स्थापक अभ्यास गराउनेबित्तिकै उनको समस्या समाधान भयो । औषधि खानुपरेन ।

नाक, कान, घाँटी क्लिनिकमा रिंगटा या चक्कर लाग्ने बिरामी दिनहुँजसो आउँछन् । तीमध्ये अधिकांशले बाराकी महिलाजस्तै कारण नखोतलीकन औषधि खाएका हुन्छन् । चक्कर लाग्दा कानको श्रवणशक्तिमा ह्रास आउने या कानको भित्री तहमा पैदा हुने गम्भीर प्रकृतिको रोगको समयमै निदान गरिँदा पनि जटिलता पैदा हुने गरेको छ । रिंगटा वा चक्कर लाग्ने समस्याबारे बुझ्नुअघि कारण खोतल्न आवश्यक छ ।

पृथ्वीको गुरुत्वाकर्षण शक्तिसँग सामञ्जस्य एवम् उन्मुख हुने क्षमतामा विकृति वा अन्तनिर्हित शारीरिक असन्तुलन पैदा भए स्थिर रहँदा पनि शरीर आफैं वा वरिपरिको वातावरण घुमेको भान हुन सक्छ । वाकवाकी वा बान्तासँगै चक्कर लाग्न सक्छ । शरीर अचानक लड्न या हुत्तिन सक्छ । सन्तुलन पद्धतिमा अन्य जनावरभन्दा मानिसको शरीर अनौठो छ । गुरुत्वाकर्षण शक्तिसँगको सम्बन्ध पनि अनौठो छ । सालाखाला वजन ६० केजी, लम्बाइ १७५० मिमि र चौडाइ ४५० मिमि भएको मान्छे औसत २५० लम्बाइ अनि १०० मिमि चौडाइ भएका दुइटा खुट्टाको भरमा पृथ्वीको गुरुत्वाकर्षण शक्तिविरुद्ध हिंड्ने, उफ्रने गर्छ ।

शारीरिक सन्तुलन
मुख्य पिण्डको केन्द्रलाई आधार बनाएर शरीर अड्याउन सक्ने या स्थिरता कायम गर्न सक्ने क्षमता सन्तुलन हो । उभिँदा या हिंड्दा त्यसको भारको केन्द्र खुट्टा र पैतालामा पर्छ । यही सन्तुलन पद्धतिले शरीर या टाउको चलिरहे पनि आँखाले वस्तुलाई देखिरहन सक्छन्, शरीर र पृथ्वीको गुरुत्वाकर्षणप्रति उन्मुख र समन्वय गरिराखेको हुन्छ । टाउको र शरीर चलिरहँदा गति र दिशा पहिचान भइरहेको हुन्छ । शरीरमा आन्तरिक अवयवले क्रियाकलाप सम्पादन गरिरहँदा पनि शरीरको स्थिरता कायम रहन्छ ।

सचेत अवस्थाको मस्तिष्कले सन्तुलनको समन्वय गरिरहेको हुन्छ । गति र अवस्थाको सूचना सम्बन्धित सूचक अंगहरूबाट सूचना केन्द्रमा प्रवाहित भइरहेको हुन्छ । भित्री कानमा रहेका आँखा, छाला, स्पर्श, हड्डी, जोर्नी, छाला आदिबाट केन्द्रमा संकेत या सूचना प्रवाहित भइरहेको हुन्छ ।

शरीरका विभिन्न अवस्थाबारे केन्द्रले विभिन्न केन्द्र या अंगबाट सूचना पाएको हुन्छ । शरीरको गति, पृथ्वीसँग शरीर तथा टाउकाको शरीरसँग समन्वयका लागि भित्री कानका अंगहरू (तीन वटा अर्धगोलाकार नली र दुइवटा थैला) क्रियाशील हुन्छन् । कानको भित्री तहमा दुइटा महत्त्वपूर्ण अंग हुन्छन्– १) कक्लियाले कानभित्र प्रवेश गरेको आवाजलाई संश्लेषण गरी विद्युतीय तरंगसहित स्नायु नसाका माध्यमबाट मस्तिष्कबाट ग्रहण गराउँछ । २) तीनवटा अर्धगोलाकार नली र दुई थैलासहितको भेस्टिबुलले टाउकाको घुमाइ र शरीरको सन्तुलन, समन्वय र पृथ्वीसँगको उन्मुखीकरणको भूमिका निर्वाह गरेको हुन्छ । दुवैतिर छुट्टाछुट्टै रहेका यस्ता भित्री अवयवबीच पनि समन्वय भइरहेको हुन्छ । कक्लिया र भेस्टिबुलबीच पनि सम्पर्क हुन्छ । भेस्टिबुलको आँखा, ढाडदेखि मस्तिष्कसँग समेत सम्बन्ध हुन्छ ।

आँखा, हड्डी, जोर्नी, मांसपेशी, भित्री कानबाट प्राप्त संकेतलाई ग्रहण गरेपछि सचेत केन्द्रीय स्नायु प्रणालीले टाउको र शरीरको घुमाइ एवम् आँखा, जोर्नीलगायत मांसपेशी क्रियाशील बनाउँछ र शरीर स्थिर राखी सन्तुलन कायम गर्छ । चक्के पिङमा घुम्दा, लडाकु विमान चलाउँदा, गाडीमा सवार गर्दा परिवर्तन भइरहने गतिसँग यसैले सामञ्जस्य गर्छ । सन्तुलनसँग सम्बन्धित कुनै केन्द्रीय या परिधीय अवयव या प्रक्रियामा विकृति पैदा भयो भने व्यक्तिमा शारीरिक असन्तुलन पैदा हुन्छ । त्यसलाई चक्कर आउनु भनिन्छ । युवामा ८ र वृद्धवृद्धामा २५ प्रतिशतसम्म कुनै न कुनै प्रकारको असन्तुलन रहेको अनुमान गरिएको छ ।

Yamaha

चक्करका रूप
१. आफू या वरिपरिको वातावरण या पृथ्वी घुमेको अवस्थालाइ भर्टाइगो अर्थात फनफनी घुमाएको भनिन्छ । यो हुनुको मूल कारण (असी प्रतिशत) भित्री कानको रोग हो ।

भित्री कान, कानको नसामा असर परी पैदा हुने चक्करलाई परिधीय भनिन्छ । त्योभन्दा माथिको मार्गमा असर परे केन्द्रीय भनिन्छ । परिधीय प्रकारको भर्टाइगो कडा हुन्छ, जुन थोरै समयको जस्तो केही सेकेन्डदेखि मिनेटसम्म रहन्छ । केन्द्रीय भर्टाइगो सामान्य तर दीर्घकालीन हुन सक्छ । परिधीय भर्टाइगो दोहोरिरहन सक्छ । भर्टाइगोले वाकवाक लाग्ने, बान्ता पनि हुने हुन सक्छ ।

औषधि सेवन नगरी विशेष प्रकारको टाउकाको घुमाइ अभ्यासबाट मात्रै निको पार्न सकिने भर्टाइगो बीपीपीभी हो । यो भर्टाइगो हुनुको मूल कारण हो भित्री कानको उट्टकल थैलीमा रहेको पत्थरजस्तो पदार्थ निस्केर सबभन्दा तलको अर्धगोलाकार नलीमा जम्मा हुनु । यो अवस्थामा कुनै खास दिशामा टाउको घुमाउँदा अचानक चक्कर आउँछ, जुन केही सेकेन्डसम्म रहन्छ । सुनाइमा असर पर्दैन । नाक, कान, घाँटी रोगविशेषज्ञले दुई पटकजति विशेष प्रकारको टाउको र शरीर घुमाइ अभ्यास गराए ठीक हुन्छ ।

कान संक्रमित भई पाक्नु, भित्री कानमा पानी जम्नु, नसा सुन्निनु, ट्युमर हुनुजस्ता कारणले पनि चक्कर लगाउँछ । त्यतिबेला कानको सुनाइमा ह्रास आउँछ । यसको निदान पनि नाक कान घाँटी विशेषज्ञले निदान गर्न सक्छन् ।

२. मुटु या अन्य रक्तसञ्चारसम्बन्धी खराबीले अचानक ढलिन्छ । मुटुका रोगी, रक्तचाप र रगतको मात्रा कम हुने व्यक्ति, नराम्रो या दु:खद घटना सुन्नुपर्दा वा लामो समय धपेडीमा उभिइरहनुपर्दा मस्तिष्कमा रक्तसञ्चार कम भएर आँखाअघि अँधेरो भई चिटचिट पसिना आउँछ र मान्छे अचानक ढल्न सक्छ । अकालमा मृत्यु पनि हुन सक्छ । यसलाई सिन्कोप या प्रिसिन्कोप या भासोभेगल आक्रमण भनिन्छ । यो अवस्था हुनेबित्तिकै तुरुन्तै सुरक्षासाथ जहाँको त्यहीं सुताई टाउको तल पारेर खुट्टा उचाल्नुपर्छ । नसाबाट झोल पदार्थ दिनुको साथै मुटुको जाँच गर्न‘पर्छ । मुखबाट भने तत्काल केही दिनु हुँदैन ।

३. टाउकामा अप्ठ्यारो हुनुका साथै खुट्टा या ढाडले थेग्न नसकी शरीर ढल्छ । यसको मुख्य कारण वृद्धावस्थाले पैदा हुने स्नायु पद्धतिको क्षयीकरण हो । अल्कोहल सेवन, मधुमेह, परिधीय स्नायु प्रणालीमा विकृतिका कारण गलत सूचना प्रवाहित हुँदा चक्कर लाग्ने गर्छ । वृद्धवृद्धालाई राति चक्कर लाग्ने गर्छ ।

४. डर, तनाव पैदा भई टाउको ठूलो जस्तो, हावामा उडे जस्तो, पानीमा तैरिए जस्तो ‘लाइटहेडेडनेस’ पनि एक प्रकारको चक्कर हो । यो अवस्थामा व्यक्ति अचानक भुइँमा ढल्न सक्छ । माइग्रेन अर्थात अर्धकपालको दुखाइ हुनेमा पनि पटकपटक चक्कर लाग्ने गर्छ । यस्ता बिरामीलाइ टाउको हल्लाउँदा चक्कर आउने, घाममा र चर्को आवाजले असर गर्ने हुन्छ ।

उपचार
चक्करको मुख्य कारण भेस्टिबुलर पद्धति अर्थात भित्री कान, नसा र मस्तिष्कको सम्बन्धित भागमा पर्ने असर हो । चक्कर आउँदा धेरैजसोमा सुन्ने शक्ति ह्रास हुन्छ । चक्कर आउँदा सुरुमा जेनरल फिजिसियनलाई देखाएर मुटु, रगत, रक्तचाप, मस्तिष्कसम्बन्धी परीक्षण गरिए पनि कानसम्बन्धी चिकित्सकबाट भित्री कान र सम्बन्धित भेस्टिबुलर प्रणाली परीक्षण गर्न‘ अति आवश्यक छ । वाकवाकीसहित कडै किसिमको चक्कर लागे केही दिन औषधि दिन सकिन्छ । कारण पत्ता नलगाई चक्कर दबाउने औषधि लामो समयसम्म खाए समस्या झनै हुन सक्छ ।

डा. पौडेल वीर अस्पतालका ईएनटी विभाग प्रमुख हुन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भद्रगोल सार्वजनिक चिकित्सा

डा. ढुण्डिराज पौडेल

काठमाडौँ — दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलंकाको चिकित्सा शिक्षा र स्वास्थ्यको सवाल विवादित बन्ने गरेको छैन । कारण स्तरीय, प्रतिस्पर्धामा आधारित र मूल रूपमा राज्यको नियन्त्रणमा रहनु हो । यसका लागि त्यहाँको माक्र्सवादी कम्युनिस्ट पार्टीको दबाबले पनि महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

श्रीलंकाबाहेक भारत तुलनात्मक रूपमा सार्वजनिक चिकित्सा शिक्षाको सवालमा बेहत्तर रहे पनि पाकिस्तान र बंगलादेशको सार्वजनिक स्वास्थ्यसेवा तथा चिकित्सा शिक्षाको स्थिति समानजस्तै छ । तर नेपालका लागि यो झनै विडम्बनापूर्ण छ । किनभने यहाँको सार्वजनिक चिकित्सा सेवा निजी क्षेत्रको तुलनामा अत्यन्तै नगण्य र सीमित छ । लोकतान्त्रिक समाजवादी हुन् या जनवादी, यो मुलुकका राजनीतिक दलहरू सार्वजनिक चिकित्सा सेवा र चिकित्सा शिक्षाको उन्नतिप्रति उदासीन रहेका छन्। आफ्नै प्रत्यक्ष या अप्रत्यक्ष लगानी र स्वार्थमा गाँँसिएका निजी संस्थाको मात्रै भरथेग र परिपोषणमा उद्यत छन् । फलत: धनाढ्य र शक्तिशालीहरू उपचारार्थ विदेश जाने र मध्यम वर्गका नागरिकसमेत भारतका विभिन्न सहरमा उपचारको नाममा ठगिने क्रम रोकिएको छैन ।

यो संयोग थियो या सत्याग्रहीको प्रभाव, करिब ६ वर्षअघि नेपालमा चिकित्सा शिक्षा सुधारका खातिर अभियानको थालनी गरेपछि भारतमा पनि चिकित्सा शिक्षा सुधारको थालनी भएको छ । निजी मेडिकल कलेजहरूको सवालमा त्यहाँका केही न्यायाधीशको भूमिका विवादित बनेको थियो । मेडिकल कलेजका पक्षमा फैसला गर्ने सर्तमा ठूलो रकम घुस लिने पूर्व न्यायाधीशलाई सीबीआईले पक्राउ गरेको थियो । त्यो प्रकरणमा उच्च न्यायालयका प्रमुख न्यायाधीश दीपक मिश्रको भूमिका आलोच्य बनेको थियो । भारतमा सीबीआईले नै तत्कालीन मेडिकल काउन्सिलका अध्यक्ष केतन देशाईलाई करोडौं रुपैयाँसहित रंगेहात पक्रेको थियो । प्रमुख न्यायाधीश मिश्र नेतृत्वको बेन्चले स्वीकृति नपाएका निजी मेडिकल कलेजहरूद्वारा दायर गरिएको याचिकाउपर सुनवाइ गर्दै सरकारलाई पुनर्विचार गर्न दिएको आदेश आलोच्य बनेको थियो । अहिले भारत सरकारले मेडिकल काउन्सिल खारेज गरी चिकित्सा शिक्षा र सेवाको प्रभावकारी नियमन गर्न मेडिकल कमिसन ऐन प्रस्तावित भएको छ ।

पाकिस्तानमा पनि अन्य क्षेत्रमा जस्तै उच्च अदालतले मेडिकल शिक्षामा ब्याप्त भ्रष्टाचारविरुद्ध छानबिन गर्न विशेषज्ञसहितको छानबिन टोली गठन गरेको छ । बंगलादेशको निजी चिकित्सा क्षेत्र र मेडिकल कलेजहरूसँग सम्बन्धित घटना नेपाली छापामार्फत उजागर भइसकेका छन् । त्यहाँको निजी चिकित्सा क्षेत्रको स्थिति झनै उदेकलाग्दो छ ।

नेपालको चिकित्सा शिक्षाका नियमनकारी निकायहरू पनि विवादित नबनेका होइनन् । त्यहाँभित्र पनि अनेक उदेकलाग्दा चलखेलहरू चल्ने गरेकै हुन् । साथै अख्तियारलगायतका संवैधानिक एवं राजनीतिक दबाब र हस्तक्षेपको कारण पनि मेडिकल काउन्सिल कमजोर र अप्रभावकारी बन्ने गरेको हो ।

काउन्सिलको कार्यकारी सदस्यको नाताले पंक्तिकार चुनौतीसाथ दाबा गर्छ, आवश्यक नीति, नियम र भौतिक पूर्वाधार सम्पन्न बनाइदिने हो भने मेडिकल काउन्सिल सक्षम भइसकेको छ ।
जायज तरिकाले आर्थिक उपार्जन गर्नेका लागि निजी मेडिकल कलेजहरू सञ्चालन गर्न महँगो पनि छ । चिकित्सा शिक्षामा लगानीलाई विदेशमा ‘च्यारिटी’ अर्थात नाफाविहीन लगानीको रूपमा लिइन्छ । तर चिकित्सा क्षेत्रका लगानीकर्ताहरूलाई राज्यका जिम्मेवार निकायहरूले दुहुना गाई सम्झिने र अनेकन आर्थिक सहायता र चन्दा लिने गर्दा त्यसको मार जनतामा पर्नु स्वाभाविक हो ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा भएका अनियमितता, धाँधली र राजनीतिक नियुक्तिका विरुद्ध डा.गोविन्द केसी अख्तियार हुँदै न्यायाधीशविरुद्ध किन सत्याग्रहमा उत्रिन बाध्य भए ? यसलाई गम्भीर रूपमा लिनुपर्छ । चिकित्साशास्त्रजस्तो संवेदनशील क्षेत्रलाई निहित स्वार्थपूर्तिको माध्यम बनाउन शैक्षिक, प्रशासनिक, राजनीतिक क्षेत्र मात्रै होइन, चिकित्सा शिक्षाका सवालमा निरुपित भएका केही निहित स्वार्थपूर्ण अदालती आदेशहरू पनि जिम्मेवार छन् भन्ने आरोप लाग्ने गरेको छ । विशुद्ध प्राविधिक आधारमा निरुपण हुनुपर्ने सिट संख्या ठाडो आदेशबाट तोक्ने कार्य न्यायिक अख्तियारको दुरुपयोग प्रतीत हुन्छ । विश्वविद्यालय र सम्बन्धित नियामक निकायबाट प्राविधिक मूल्यांकनपश्चात्तोकिएको सिट संख्याहरू आफ्नो मागभन्दा कम हुनेबित्तिकै सम्बन्धित निकायभन्दा अदालत जाने निजी मेडिकल कलेजहरूका पक्षमा जारी गर्न केही अदालतमा रेडिमेड फैसला तयार भइसकेजस्तो प्रतीत हुनु विडम्बना थियो ।

चिकित्सा शिक्षा र सेवाको जिम्मा राज्यले लिन नसक्दासम्म निजी लगानीलाई सहजीकरण गर्नुको विकल्प पनि छैन । त्यसैले विश्वविद्यालय र काउन्सिलबाट सिट तोक्ने क्रममा मर्का पारिएकै रहेछ या निजहरूमाथि अन्याय भएकै रहेछ भने पनि पुनर्मूल्यांकनको आदेश दिन सकिन्थ्यो । अदालती आदेशमा निहित हुनुभन्दा सरकारले नै सम्बद्ध पक्षलाई विश्वासमा लिएर निर्णय लिन सक्छ । तर मागेअनुसारको सिट संख्या दिनु भन्ने ठाडो आदेश जारी हुँदा आशंका उब्जिनु स्वाभाविक छ।

प्रकाशित : माघ ९, २०७४ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT