२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महिलाबारेका मामिला

दुर्गा घिमिरे

काठमाडौँ — काठमाडौं बसुन्धरामा बस्दै आएका युवकले गत वैशाखमा यौनसम्पर्कका लागि कोठामा जान नमानेको निहुँमा ढुंगाले हानी प्रेमिकाको हत्या गरेको घटना आङ जिरिङ गराउने खालको छ । सुस्त मनस्थितिकी १६ वर्षीया किशोरी एकै सातामा २ पटक सामूहिक बलात्कारको सिकार भएको हृदयविदारक घटना पनि प्रकाशमा आयो ।

महिलाबारेका मामिला

यौनसम्पर्क गर्ने प्रस्ताव अस्वीकार गर्दा केही साताअघि ६९ वर्षीया महिलाको हत्या गरिएको घटना झनै डरलाग्दो छ ।

यौन हिंसाका यी घटनाले मानिसमा संवेदना हराउँदै गएको हो कि जस्तो अनुभूति हुन्छ । जनावरमा पनि केही संवेदना हुन्छ । तिनले स्वजातमा त्यतिविघ्न अत्याचार गर्दैनन् ।

बलात्कारसम्बन्धी घटनाको प्रकृति झन्झन् जटिल बन्दै आएको देखिन्छ । सामूहिक बलात्कार गरी हत्यासमेत गरिएका घटनाले प्रत्येकको मन र मस्तिष्कमा प्रश्न उठ्छ– किन समाजमा महिला र बालिकामाथि यस्तो बलात्कार र त्यसपछि हत्या हुने गर्छ ? शारीरिक अंग राम्ररी विकसित नभएका बालिकासमेत बलात्कारको सिकार भएका छन् । महिलामाथि हुने यस्ता अपराधका कारण हाम्रो समाज कता गइरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ । कानुको प्रभावकारी कार्यान्वयनमाथि पनि प्रश्न छ । यस्ता कुकर्मलाई कुनै पनि धर्मले मान्यता दिँदैन ।

अश्लील भिडियो वा सामाजिक सञ्जालको दुरुपयोगले यस्ता घटनामा वृद्धि भएको हो कि, गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ । यस्ता घटनालाई सामसुम गर्नेभन्दा पनि उजागर गर्नेतिर जोड हुनुपर्छ । महिलामाथि हुने यस्ता हिंसा नियन्त्रणका लागि समाजमा सबै वर्गको सजगता र सक्रियता आवश्यक छ । यस्ता घटनाको जड खोज्न जरुरी छ ।

महिला तथा बालबालिकामाथि हुने यौन हिंसा नियन्त्रणका लागि अहिलेसम्म चालिएका कदम अपर्याप्त देखिएका छन् । अब कसले के कस्तो दायित्व लिने भन्ने विषयमा बहस चल्न जरुरी छ । यसलाई महिलाको मात्र विषय र चासो बनाउनुहुन्न । यो समाजको विकृति हो । समाजकै सरोकारको विषय बन्नुपर्छ ।

हिंसा न्यूनीकरण अभियानको सुरुवात घरघरबाटै हुनु जरुरी छ । राति घर ढिलो आउँदा छोरीहरूलाई मात्र प्रश्न गर्ने होइन, छोराहरूलाई सोधौं, सचेत गराऔं । महिला, अशक्त, वृद्धवृद्धालाई सहयोगका लागि अभिप्रेरित गनुपर्छ । स्कुलकलेजमा पनि यौन शिक्षाबारे खुलेर छलफल गराउनुपर्छ । यौन शिक्षालाई निम्नमाध्यमिक तहबाटै स्कुलको पाठ्यक्रममा अनिवार्य गराउनुपर्छ ।

समाजमा यौन हिंसाका घटना घटेको देखे वा सुने तुरुन्त पीडितको सहयोगमा जुट्नुपर्छ । घटनाको जानकारी प्रहरीमा गराउनुपर्छ । सरकारी निकायमा महिलामाथि हुने कुनै पनि प्रकारको हिसांविरुद्ध शून्य सहिष्णुताको नीति अपनाउनुपर्छ । हेल्पलाइनहरू दुरुस्त राख्ने र घटनाको जानकारी आए तत्कालै हिंसा प्रभावितलाई सहयोग गर्ने पद्धति बसाल्नुपर्छ । यसका लागि विभिन्न संघसंस्था, प्रहरी प्रशासन, सञ्चार माध्यमबीच सहयोग र समन्वय कायम हुनुपर्छ ।

महिला हिंसाविरुद्धका कार्यक्रम पुनरावलोकन पनि आवश्यक छ । कानुनी प्रबन्धले मात्र महिलामाथि हुने हिंसामा कमी आउन सक्दैन । महिलाप्रतिको धारणामा समाजको परिवर्तन आउनु जरुरी छ । सबैको सामूहिक प्रतिबद्धताले मात्र महिलामाथि हुने हिंसा अन्त्य गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?