१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

फोहोरमा फल्ने मोहोर

मधु राई

काठमाडौँ — ‘चिने मोहोर, नचिने फोहोर’ ! यो सन्देशमूलक विज्ञापन केही समयअघि एक एफएममा प्रसारण हुन्थ्यो । घरबाट निस्कने फोहोरलाई स्रोतमै छुट्याउन आग्रह थियो, यसमा । यो विज्ञापन बन्द भए पनि टेलिभिजनहरूमा अचेल फोहोरबारे तस्बिर सहितको सूचनामूलक सामग्री प्रचार–प्रसार भइरहेका छन् ।

फोहोरमा फल्ने मोहोर

विडम्बना ! फोहोर भन्ने बित्तिकै नाक खुम्च्याउँदै ‘छ्या’ भन्ने नेपालीको नानीदेखिको बानी नै यसको व्यवस्थापनमा अर्घेलो बनेको छ ।

हाम्रो नराम्रो बानीकै कारण अचेल फोहोर थुपार्ने थलो बन्दैछन्, सडक र नालाहरू । यस्ता दृश्य हाम्रालागि सामान्य बन्दै गएका छन् । अनि गाउँ–सहरमा फोहोरका ढिस्कोहरू बढिरहेका छन् । त्यसको छेउछाउबाट हिँड्ने बटुवा र सवारी चालकले ब्यहोर्नुपर्ने दिनहुँको सास्तीलाई समेत हामीले सामान्य रूपमा लिने गरेका छौं । केही अघि श्रीलंकामा यस्ता फोहोरको ढिस्कोले पुरेर मानिसहरूको ज्यान गएको समाचार आएको थियो । जथाभावी फोहोर थुपार्ने प्रवृत्ति बढ्दै जाँदा हामीकहाँ पनि त्यस्तो दिन नआउला भन्न सकिन्न ।

फोहोरप्रति नजरअन्दाज गर्ने हाम्रो प्रवृत्तिले पनि यसको वैज्ञानिक र दिगो व्यवस्थापन हुनसकेको छैन । सरकार समृद्धिको ठूलठूला सपना बाँड्छ । तर फोहोर व्यवस्थापनलाई प्राथमिकताको विषयमा राख्न जान्दैन । विकसित मुलुकमा जस्तै फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्नसके यसबाट रोजगारी सिर्जनामात्र हैन, वातावरण संरक्षण र सम्बद्र्धनसमेत हुन्छ ।

सञ्चार माध्यमहरू पनि फोहोर व्यवस्थापनमा त्यति संवेदनशील देखिंँदैनन् । सामाजिक सरोकार अन्तर्गत पर्ने फोहोर व्यवस्थापन सम्बन्धी सामग्री जनहितका लागि प्रचार–प्रसार गर्नु उनीहरूको कर्तव्य हो ।

फोहोर व्यवस्थापनको बेवास्ताले पुर्‍याउन सक्ने चौतर्फी असरबारे अधिकांश सञ्चारकर्मी संवेदनशील देखिँंदैनन् । त्यसो त पछिल्लो समय सम्पादकीयमा समेत फोहोर सम्बन्धी विषय पर्नथालेको छ, तर यसैलाई पर्याप्त भन्न सकिँंदैन ।

फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा मानव बसोबास लायक टोलबस्ती निर्माण हुन्छ । फोहोरजन्य वस्तुमा आधारित व्यवसाय फस्टाउन सक्छ । जस्तो– कवाडी व्यवसायीहरूले गर्दै आएको काम हेरे पुग्छ । कवाडीवालको आयस्रोत हामीले छ्या भन्ने त्यही फोहोर हो । केही समय अघिसम्म निश्चित ठाउँमा मात्र कवाडीखाना सञ्चालित थिए । अचेल गाउँटोलमा समेत कवाडीखाना सञ्चालन हुनथालेका छन् । तर उनीहरू पनि फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापनबारे अनभिज्ञ छन् ।

पछिल्लो समय कवाडीवालहरूले अव्यवस्थित रूपमा संकलन र बिक्री गर्दै आएको अजैविक फोहोरलाई व्यवस्थित रूपमा संकलन र बिक्री गर्ने काममा महानगरका शिक्षित युवाहरू संलग्न हुनथालेका छन् । यसले गर्दा महानगरबासीका कतिपय फोहोर उत्पादकहरूले स्रोतमै बिक्रीयोग्य वस्तुहरू छुट्याउने गरेको देखिन्छ । केही समययता काठमाडौं महानगरपालिकामा पुन: प्रयोग हुने अजैविक फोहोरहरू विभिन्न संस्थाहरूले किनिदिने गरेका छन् । खाली सिसी डटकमकी संस्थापक आयुषि केसीले दक्षिण एसियाली मुलुकमा फोहोर व्यवस्थापन सम्बन्धी काम गरेर उदाहरण प्रस्तुत गरिन् । तथापि फोहोर भन्ने बित्तिकै छ्या भन्ने बहुसंख्यक नेपालीका लागि उनी अझै अपरिचित छिन् ।

महानगरका शिक्षित युवाले गरेको यस्तो कामलाई अन्यत्र अनुशरण गरेको देखिँंदैन । यसले गर्दा पनि फोहोर उत्पादकहरूले अझै पनि फोहोर चिन्ने अवसर पाएका छैनन् । युवाहरूको कामलाई सरकार तथा फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएका निजी संस्थाहरूले पनि अनुशरण गर्न जरुरी छ ।

विशेषगरी संघीय सरकारले फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नसके यसबाट रोजगारी सिर्जना लगायत वातावरण संरक्षण र सम्बद्र्धन हुन्छ भन्ने गाँट्ठी कुरा बुझ्न र बुझाउन जरुरी छ । चौतर्फी कर बढाइरहेको सरकारले जनतालाई फोहोर चिनाउन तथा यसबाट मोहोर कमाइ कर तिर्न सक्षम बनाउन पनि रणनीतिक योजनाहरू तर्जुमा गर्न जरुरी छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?