नदीको बाटोमा बस्ती

हरिकृष्ण उप्रेती

काठमाडौँ — गत वर्षको बर्खे झरीमा राजधानीको सामाखुसी र गोंगबु क्षेत्रमा स्कुले बच्चा ढल हुँदै खोलामा पुगे । एक बालिकाको इहलीला समाप्त भयो । अर्कीले धन्न ज्यान जोगाइन् । भर्खर चुनाव जितेका काठमाडौं महानगर प्रमुखले आइन्दा त्यस्तो समस्या हुने छैन भन्दै पीडित परिवारजनलाई आश्वस्त पार्ने कोसिस गरे । तर त्यस क्षेत्रमा अपेक्षाकृत सुधार हुनसकेको छैन ।

यही वर्ष दुई पटकसम्म हनुमन्ते खोलाले भक्तपुरका बस्तीमा वितण्डा मच्चायो । उपत्यका बाहिर पनि खोला र नदी किनारका बस्ती जोखिममा परेका र बगेका खबर आइरहेका छन् ।

भनिन्छ, प्रकृतिले आफ्नो बाटो आफैं तय गर्छ । नेपाली परम्पराले पनि पाखो र उँचो जमिनमा घर बनाउने, गहिरो–होचो र खोला छेउछाउमा खेती गर्ने भन्छ । तर खोलाले चर्चने क्षेत्र मिचेर हाम्रा सहर बन्ने क्रमले तीव्रता पाइरहेको छ । विदेशीहरू भने ‘रुम फर रिभर’ भनेर नदी उकास क्षेत्रमात्र नभई समुद्री किनारमा समेत राज्यकै तर्फबाट म्यानग्रुभ भन्ने प्रजातिका बिरुवा हुर्काइ बढाइरहेका छन् । नदी उकास र समुद्री किनारलाई सिमसार क्षेत्रका रूपमा गणना गरी समुदायलाई लाभ–लागतको हिसाब गर्न सिकाउँदैछन् ।

Yamaha

प्रतिफल समन्यायिक ढंगले वितरण गर्ने नीति अख्तियार गर्दै उनीहरूको सहभागिता सुनिश्चित गरी मानव बस्ती जोगाउन लागिपरेका छन् । हामीकहाँ सरकारकै निकायहरू खोलाका बगर जलविद्युत परियोजनालाई दिनुपर्दा वन क्षेत्रका रूपमा गणना गरी हतोत्साही बनाउन पछि पर्दैनन् । विकासे परियोजना नभएका नदी उकास क्षेत्रमा वृक्षरोपण गरी हराभरा बनाउने रुचि देखिँदैन ।

नेदरल्यान्ड्सले पानी व्यवस्थापनलाई उच्च शिक्षाकै रूपमा अध्ययन–अध्यापन गराउँछ । समुद्र सतहभन्दा होचो भूभागसमेत आफ्नो मुलुकमा भएकाले होला, नेदरल्यान्ड्सले पानी व्यवस्थापनमा निकै जोड दिन्छ । हामीकहाँ समुद्री सतहभन्दा होचो भूभाग छैन । तर नदी उकास क्षेत्र छन् । तिनको अतिक्रमण तीव्र छ । सडक मार्गले प्राय: खोला वा नदी किनारलाई पछ्याएका छन् । सडक बनेपछि सर्वसाधारण विकास आएको ठान्छन् र विकासको स्वाद चाख्न त्यतै हुत्तिन्छन् । बर्खे भेल उर्लेर आउँदा खोला मानवले अतिक्रमण गरेको क्षेत्र हुँदै बग्छ । अनि हामी अत्तालिन्छौं, भन्छौं– कहिल्यै नदेखेको बाढी बेहोर्नुपर्‍यो ।

नेपालको मौसमी प्रणाली खहरे उराल्ने खालकै छ । वर्षैभरि समान हिसाबले पानी पर्दैन । हल्का हिउँदे वर्षा हुन्छ । वर्षको लगभग ४ महिनामा भने बाढी–पहिरो जानेगरी मुसलधारे वर्षा हुन्छ । कैयौं विज्ञ माल्दिभ्समा नेपालकै माटोले नयाँ टापु बन्दैछ भन्छन् । अनावृष्टि, खण्डवृष्टि र अतिवृष्टि अर्थात् मुसलधारे वर्षालाई जलवायु परिवर्तनको संकेत मान्छन् । थोरै समयमा धेरै पानी पर्ने प्रवृत्ति छ ।

पानीमा रुझ्दै हिँडेको व्यक्ति एकैछिनमा पानीको छिटा नपरेको क्षेत्रमा पुग्छ । वर्षाको यस चक्रलाई पछ्याउन नसक्दा वा नजान्दा धनजनकै क्षति बेहोर्नु परिरहेको छ । बाढी–पहिरोको चपेटामा पर्नेको संख्या बढ्दो छ । यसले सहरी गरिबलाई बढी जोखिममा पारेको छ । वर्षा र गर्मी अधिक हुने मौसम भएकाले बाढीपश्चात् अनेक रोगका संक्रमण फैलन्छन् । औषधिमूलोमा खर्च बढ्छ ।

गर्नसके गाउँका पाखामा मकै, कोदो, मास वा फापरको उब्जनी प्रशस्तै हुन्छ । उब्जनी न्युन हुने पाखोबारीमा घरघडेरी बनाउने र बेंँसीमा भएको खेतमा धान, गहुँ फलाउने परम्परा छ । बाटाको अभावमा धान, पराल मान्छेले बोकिरहेका छन् । सुखको खोजीमा भौंतारिँदै सहर पस्दा कैयौंले खोला किनारमा घर बनाएका छन् । कति त सहरी सुकुम्बासी बनेका छन् । सुखभोग गर्न हिँडेका तिनै दु:खी सर्वसाधारणलाई बाढीको वितण्डाले लखेटेको छ । भौतिक सुविधा खोज्दा मानव बस्ती उजाड र रङ उडेको खण्डहरमा परिणत हुने खतरा बढ्दै गएको छ।

राजधानीमा बस्ती जोड्न बनाइएका नदी किनारका हुन् वा अन्यत्रका सडक प्राय: सबै कच्ची, खण्डास्मित र अलकत्रे छन् । ती संरचना बर्खेभेल निकास हुनेगरी बनाइएका छैनन् । जमल होस् वा जोरपाटी, राजधानीका प्राय: सबै सडक पानी पर्ने बित्तिकै आहालमा परिणत हुन्छन् । सडकमा जमेको पानी निकास हुन घन्टौं लाग्छ । बौद्ध–जोरपाटीतिर त निकास पनि हुँदैन । आवास क्षेत्रको मलमूत्र निकासका लागि निर्माण भएका ढलले बर्खेभेलको पानी कटाउन सक्दैनन् । ढलका मुख पनि सहरी फोहोर–मैलाले बन्द भएका हुन्छन् । महानगरसँग फोहोर–मैला र सडकसमेत सफा गर्ने कामदार छन्, तर ती सबै कामभन्दा राजनीति बढी गर्छन् ।

सहरका खाली ठाउँमा बगैंचाभन्दा रूख लगाउने परिपाटी थालनी गर्नसके वर्षातको पानी फैलाउन, धुलो नियन्त्रण गर्न र हावाको वेग रोक्न मद्दत पुग्छ । अग्ला होइन, मसलाका बिरुवा उपयुक्त हुन्छन् । सामान्य बतास पनि छेक्न नसकी जरैसहित ढले दुर्घटना हुनसक्ने भएकाले वृक्षरोपण योजना सजगतासाथ बनाउनुपर्छ । कपुरजस्ता होचा र झम्म परेका रुखबिरुवा उपत्यकाका लागि उपयुक्त हुन सक्छन् । वनविज्ञको सल्लाह–सुझावमा महानगर वा सडक विभागले सहकार्य र समन्वयका साथ वृक्षरोपण गर्नसके प्राकृतिक बहाव नियन्त्रण गर्न, बस्ती जोगाउन र हरियालीयुक्त सहर बनाउन सकिन्छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फोहोरमा फल्ने मोहोर

मधु राई

काठमाडौँ — ‘चिने मोहोर, नचिने फोहोर’ ! यो सन्देशमूलक विज्ञापन केही समयअघि एक एफएममा प्रसारण हुन्थ्यो । घरबाट निस्कने फोहोरलाई स्रोतमै छुट्याउन आग्रह थियो, यसमा । यो विज्ञापन बन्द भए पनि टेलिभिजनहरूमा अचेल फोहोरबारे तस्बिर सहितको सूचनामूलक सामग्री प्रचार–प्रसार भइरहेका छन् ।

विडम्बना ! फोहोर भन्ने बित्तिकै नाक खुम्च्याउँदै ‘छ्या’ भन्ने नेपालीको नानीदेखिको बानी नै यसको व्यवस्थापनमा अर्घेलो बनेको छ ।

हाम्रो नराम्रो बानीकै कारण अचेल फोहोर थुपार्ने थलो बन्दैछन्, सडक र नालाहरू । यस्ता दृश्य हाम्रालागि सामान्य बन्दै गएका छन् । अनि गाउँ–सहरमा फोहोरका ढिस्कोहरू बढिरहेका छन् । त्यसको छेउछाउबाट हिँड्ने बटुवा र सवारी चालकले ब्यहोर्नुपर्ने दिनहुँको सास्तीलाई समेत हामीले सामान्य रूपमा लिने गरेका छौं । केही अघि श्रीलंकामा यस्ता फोहोरको ढिस्कोले पुरेर मानिसहरूको ज्यान गएको समाचार आएको थियो । जथाभावी फोहोर थुपार्ने प्रवृत्ति बढ्दै जाँदा हामीकहाँ पनि त्यस्तो दिन नआउला भन्न सकिन्न ।

फोहोरप्रति नजरअन्दाज गर्ने हाम्रो प्रवृत्तिले पनि यसको वैज्ञानिक र दिगो व्यवस्थापन हुनसकेको छैन । सरकार समृद्धिको ठूलठूला सपना बाँड्छ । तर फोहोर व्यवस्थापनलाई प्राथमिकताको विषयमा राख्न जान्दैन । विकसित मुलुकमा जस्तै फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्नसके यसबाट रोजगारी सिर्जनामात्र हैन, वातावरण संरक्षण र सम्बद्र्धनसमेत हुन्छ ।

सञ्चार माध्यमहरू पनि फोहोर व्यवस्थापनमा त्यति संवेदनशील देखिंँदैनन् । सामाजिक सरोकार अन्तर्गत पर्ने फोहोर व्यवस्थापन सम्बन्धी सामग्री जनहितका लागि प्रचार–प्रसार गर्नु उनीहरूको कर्तव्य हो ।

फोहोर व्यवस्थापनको बेवास्ताले पुर्‍याउन सक्ने चौतर्फी असरबारे अधिकांश सञ्चारकर्मी संवेदनशील देखिँंदैनन् । त्यसो त पछिल्लो समय सम्पादकीयमा समेत फोहोर सम्बन्धी विषय पर्नथालेको छ, तर यसैलाई पर्याप्त भन्न सकिँंदैन ।

फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा मानव बसोबास लायक टोलबस्ती निर्माण हुन्छ । फोहोरजन्य वस्तुमा आधारित व्यवसाय फस्टाउन सक्छ । जस्तो– कवाडी व्यवसायीहरूले गर्दै आएको काम हेरे पुग्छ । कवाडीवालको आयस्रोत हामीले छ्या भन्ने त्यही फोहोर हो । केही समय अघिसम्म निश्चित ठाउँमा मात्र कवाडीखाना सञ्चालित थिए । अचेल गाउँटोलमा समेत कवाडीखाना सञ्चालन हुनथालेका छन् । तर उनीहरू पनि फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापनबारे अनभिज्ञ छन् ।

पछिल्लो समय कवाडीवालहरूले अव्यवस्थित रूपमा संकलन र बिक्री गर्दै आएको अजैविक फोहोरलाई व्यवस्थित रूपमा संकलन र बिक्री गर्ने काममा महानगरका शिक्षित युवाहरू संलग्न हुनथालेका छन् । यसले गर्दा महानगरबासीका कतिपय फोहोर उत्पादकहरूले स्रोतमै बिक्रीयोग्य वस्तुहरू छुट्याउने गरेको देखिन्छ । केही समययता काठमाडौं महानगरपालिकामा पुन: प्रयोग हुने अजैविक फोहोरहरू विभिन्न संस्थाहरूले किनिदिने गरेका छन् । खाली सिसी डटकमकी संस्थापक आयुषि केसीले दक्षिण एसियाली मुलुकमा फोहोर व्यवस्थापन सम्बन्धी काम गरेर उदाहरण प्रस्तुत गरिन् । तथापि फोहोर भन्ने बित्तिकै छ्या भन्ने बहुसंख्यक नेपालीका लागि उनी अझै अपरिचित छिन् ।

महानगरका शिक्षित युवाले गरेको यस्तो कामलाई अन्यत्र अनुशरण गरेको देखिँंदैन । यसले गर्दा पनि फोहोर उत्पादकहरूले अझै पनि फोहोर चिन्ने अवसर पाएका छैनन् । युवाहरूको कामलाई सरकार तथा फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएका निजी संस्थाहरूले पनि अनुशरण गर्न जरुरी छ ।

विशेषगरी संघीय सरकारले फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नसके यसबाट रोजगारी सिर्जना लगायत वातावरण संरक्षण र सम्बद्र्धन हुन्छ भन्ने गाँट्ठी कुरा बुझ्न र बुझाउन जरुरी छ । चौतर्फी कर बढाइरहेको सरकारले जनतालाई फोहोर चिनाउन तथा यसबाट मोहोर कमाइ कर तिर्न सक्षम बनाउन पनि रणनीतिक योजनाहरू तर्जुमा गर्न जरुरी छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT