१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नयाँ गाउँ–सहरमा ढल

अस्पताल तथा उद्योगबाट निस्कने ढलमा मानव तथा जलचर हानिकारक कीटाणु मिसिने हुनाले भरसक घरायसी ढलसँग मिसाउनु हुँदैन ।
निर्मलकुमार अाचार्य

काठमाडौँ — सफा खोलानालाले जलचरहरूको गतिविधि बढाउँछन् । मनोरञ्जन दिन्छन् । वरिपरिका स्थान पनि आकर्षक बनाउँछन् । स्वच्छ वातावरण हामी सबैको स्वास्थ्य प्रबद्र्धन गर्ने र समृद्धि बढाउने आधार हो ।

नयाँ गाउँ–सहरमा ढल

सहरी जनसंख्या बढेसँंगै फोहोर–मैला व्यवस्थापन संसारका सबै सहरको ठूलो चुनौती हो । फोहोर पानी तथा अन्य कुहिने तथा नकुहिने ठोस पदार्थ उचित तरिकाले तह लगाउनु फोहोर–मैला व्यवस्थापन हो । यस लेखमा फोहोर पानी वा बोलीचालीको ढल व्यवस्थापनको चर्चा गरिएको छ ।


ढल व्यवस्थापन अन्तर्गत सहरभित्रको प्रत्येक घरधुरी, होटल तथा व्यापारिक संस्था, स्वास्थ्य संस्था, शैक्षिक संस्था, उद्योग आदिका भान्सा, स्नान कोठा, कार्यशाला, शौचालयहरूबाट निस्कने फोहोर तरल पदार्थ पर्छन् । घरघडेरी, छत आंँगन, उद्योग, संस्थानहरूका प्रांगणबाट निस्कने वर्षाको पानीलाई पनि सुरक्षित निकास चाहिन्छ । सुरक्षित निकास भन्नाले प्रत्येक घर, संस्था तथा उद्योगबाट निस्केको फोहोर पानीलाई पाइपको माध्यमबाट एकआपसमा जोडेर प्रशोधित गरी पायक पर्ने खोलानालामा खसाल्नु हो । वर्षाको पानीमा सामान्यतया हानिकारक कीटाणु नहुुने भएकाले सोझै खोलानालामा खसाल्न सकिन्छ ।


ढल अन्तर्गत त्यससंँग मिसिएर आउने एक प्रतिशत ठोस पदार्थ पनि पर्छ । तैपनि पानीकै मात्रा बढी हुने भएकाले कम्तीमा ३ फिट प्रतिसेकेन्ड स्लोप कायम गर्दा पाइपभित्रका ठोस पदार्थलाई बगाएर लान सक्छ । अस्पताल तथा उद्योगबाट निस्कने ढलमा विभिन्न मानव तथा जलचर हानिकारक कीटाणु मिसिने हुनाले भरसक घरायसी ढलसँग मिसाउनु हँुदैन । यसको छुट्टै प्रशोधन गरेर मात्र सहरको ढल प्रणाली वा खोलानालामा छोड्दा उचित हुन्छ । यदि छुट्टै प्रशोधन गर्ने अस्पताल तथा उद्योगको क्षमता नभएमा सहरमा फोहोर पानी प्रशोधन केन्द्र शक्तिशाली क्षमताको स्थापना गर्नुपर्छ ।


हालसम्म नेपालमा ढल प्रशोधन नगरी सिधै नजिकका खोलानालामा विसर्जन गर्ने गरिएको छ । पशुपतिनाथ मन्दिरको कारणबाट मात्र गुहेश्वरीमा प्रशोधन प्लान्ट स्थापना गरी तिलगंगामा प्रशोधित पानी फ्याँकिएको छ । ढल प्रशोधन नगरी सिधै खोलाहरूमा फ्याँकिएकै कारण वागमती, विष्णुमती, नारायणीजस्ता पवित्र मानिएका नदी प्रदूषित भएका छन् । यसले गर्दा पानीमा अक्सिजन कमी भएकाले त्यहाँ रहेका जलचर आदिलाई बाँच्न कठिन भएको छ । साथै ती नदी छेउमा दुर्गन्ध पनि बढेको छ ।


सामान्यतया ढल निकास दुई प्रणालीमा गरिन्छ । पहिलो, घरायसी तथा संस्थागत ढल लगेकै पाइपमा सडक, घरमा परेको वर्षाको पानीलाई पनि मिसाएर लैजाने । यसलाई मिश्रित प्रणाली भनिन्छ । दोस्रो, घरायसी तथा संस्थाबाट निस्केको ढल र वर्षाको पानीलाई छुट्टाछुट्टै पाइपमा लैजाने । यसलाई एकल प्रणाली भनिन्छ । एकल प्रणाली मिश्रित तरिकाभन्दा अवश्यै महँंगो हुन्छ । तसर्थ तत्कालीन अवस्थामा छिटो र सस्तो पर्ने हुनाले सहरी व्यवस्थापन गर्ने निकायले मिश्रित प्रणालीमा ढल निकास गरेको देखिन्छ ।


नेपाल मात्र नभइकन संसारका पुराना सहरहरू जस्तै न्युयोर्कमा पनि यही प्रणाली अपनाइएको छ । तर कालान्तारमा मिश्रित प्रणालीमा पाइपको क्षमताले धान्न नसकिनेगरी वर्षा हुँदा ओभरफ्लो भई सडक घरहरू डुब्ने गरेका छन् । फेरि वर्षायाममा ढल प्रशोघन केन्द्रले मिश्रित पाइपबाट आएको भार थाम्न नसकेर अप्रशोधित फोहोर पानी खोलानालामा विसर्जन हुने अवस्था देखिएको छ । यसैले अमेरिकाले पुरानो सहरहरूका सबै मिश्रित प्रणालीलाई एकलमा परिवर्तन गरी नदीनाला तथा सामुद्रिक तटहरूलाई प्रदूषणमुक्त गर्न ठूलो धनराशि खर्च गरिरहेको छ । तसर्थ केही महँगो भए पनि छुट्टाछुट्टै ढल प्रणाली नयाँ गाउँ–सहरमा बनाउन आवश्यक देखिन्छ ।


नयाँ सहरहरूमा घरैपिच्छे सेफ्टी ट्यांक बनाएर ढल व्यवस्थापन गर्नुको साटो छिटै एकीकृत पाइप प्रणाली विकास गर्नु आवश्यक छ । यी पाइपहरू सहरी क्षेत्रका सडक खनेरै लैजानुपर्ने हुन्छ । सडकबाट लैजाने हुँदा वर्षायामको सडकको पानी पनि सोही पाइपमै खसाल्न सजिलो हुने भएकाले मिश्रित प्रणाली व्यवस्था गरिएको हो । तर यो व्यवस्थाबाट ढल विसर्जन गरिएका खोलानाला ज्यादै प्रदूषित हुने भएकाले ढल र वर्षाको पानी भिन्नै पाइपबाट लैजाने व्यवस्था नगर तथा गाउँपालिकाहरूले सुरुदेखि नै निर्माण गर्नुपर्ने देखिन्छ । प्रारम्भमा यसले लागत खर्च केही बढी नै हुने देखिन्छ । तर यसबाट वातावरणीय शुद्धता कायम गर्न सकिन्छ ।


आचार्य असिस्टेन्ट सिभिल इन्जिनियर हुन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?