कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

के सिक्छन् नानीहरू ?

प्रतिमा भट्टराई

काठमाडौँ — दस वर्षअघि राजधानीको एउटा प्राथमिक विद्यालयमा पढाउन जाँदा मलाई साना नानीहरूसित कस्तो व्यवहार गर्ने थाहै थिएन । बालबालिकाका आनीबानी र सिकाइ पनि म बुझ्दैनथेँ । शिक्षक हुनुलाई एउटा सामान्य जागिरका रूपमा मात्र लिएको थिएँ । पूर्वतयारी विना पढाउन थालेँ ।

के सिक्छन् नानीहरू ?

अहिले लाग्छ, साना नानीलाई अक्षर चिनाउनु सामान्य जागिरमात्र हैन, आफै एउटा विश्वविद्यालय भर्ना हुनुजस्तै हो । शिक्षक साना नानीहरूका निकै नजिकका साथी हुन् । ती सबै नातेदारभन्दा नजिक हुन्छन् । त्यस्तै व्यवहार गर्छन् । मलाई थुप्रै नानीले झुक्किएरै सही, ‘मम्मी’ भन्थे । त्यसो भन्दा एउटा शिक्षकलाई झन् धेरै जिम्मेवारीे महसुस हुँदोरहेछ ।


उनीहरू आफ्नै आमासँंग जस्तैगरी शिक्षकलाई मनका सबै कुरा खोल्छन् । घरमा खाएको परिकार, लगाएका कपडा, रमाइला क्षण, नरमाइलो पल र खेलेका कुरासमेत सुनाउँछन् । बुबाआमाको भनाभन, घरायसी विवाद र झै–झगडासमेत शिक्षकलाई बताउँछन् । नानीहरूका निर्दोष आँखामा हेर्दा लाग्छ, उनीहरू घरको तनाव पनि शिक्षकले सुल्झाइदिए हुन्थ्यो ।


अभिभावकको सधैं गुनासो हुन्छ, आफ्नो बच्चा घरमा पढ्दैन । होमवर्क गर्दैन । टीभी हेर्छ, खेल्न घर बाहिर दगुर्छ । भनेको मान्दैन । अटेरी गर्छ । खाना खाँदैन । बिहान उठ्ने बित्तिकै ट्वाइलेट जाँदैन जस्ता गुनासा सुनाउँछन् । उनीहरूलाई लाग्छ, छोराछोरी आफ्नै नियन्त्रणमा छैनन् । शिक्षकसित डराउँछन् । मानौं, शिक्षकले हप्काइदिए ती सबै बानीमा सुधार ल्याउनेछन् । शिक्षक बालबालिकाका प्रौढ साथी हुन् । तैपनि अभिभावकको अपेक्षा सुन्दा लाग्छ, नानीहरूको दायित्व अभिभावकभन्दा अधिक शिक्षककै हो ।


एउटा नानी विद्यालयमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३/४ बजेसम्म मात्र रहन्छ । बाँकी समय ऊ आफ्नै अभिभावकसंँग बस्छ । तर अभिभावकहरू घरमा समेत आफ्नो बच्चा स्कुलकै र शिक्षककै नियन्त्रणमा रहोस् भन्ने चाहन्छन् । यतिसम्म चाहन्छन् कि शिक्षकको नाम लिनासाथ बच्चा तर्सिएर पढ्न थालोस् । कुनै बेला थियो, साना नानीहरूले भनेको नमाने ‘ऊ गुजी आयो, भूत आयो’ भनेर डर देखाइन्थ्यो । पछि ‘पुलिस बोलाइदिन्छु’ भनेर हाउगुजी देखाउन थालियो । अचेल ‘म्यामलाई भन्दिन्छु’ भन्ने चलन आएको छ । यस्तो पार्न खोजिएको छ, मानौं सर–म्यामको काम नानीहरूलाई डर देखाउन हो । उनीहरूसित साना नानीहरू हायल–कायल छन् । उनीहरूको सत्मार्गको सम्पूर्ण तालाचाबी शिक्षकसित मात्र छ ।


हामी विद्यालयलाई बालमैत्री बनाउन सधैं कोसिस गरिरहन्छौं । कक्षा कोठामा लठ्ठी राख्नु अब असभ्यता मात्र हैन, दण्डनीय भइसकेको छ । हाँस्दै, खेल्दै सिक्ने अभ्यास भइरहेका छन् । तर अधिकांश अभिभावक आफ्ना बच्चालाई पिटेर तह लगाउन शिक्षकलाई सुझाव दिइरहेका हुन्थे । ‘पिटनुस्, गाली गर्नुस्, तर्साइदिनुस्’ भन्ने अभिभावक दिनहुँजसो विद्यालयमा भटिन्थे ।


बालबालिकाको रुचि, चाहना र भावनालाई पढालेखा अभिभावकले पनि खासै महत्त्व दिएको पाइँदैन । उनीहरूको निस्छल मनसंँग रमाउन आफ्नै बुबाआमाले जानेका छैनन् । तपाई जतिसुकै तनावमा हुनुस्, बालबालिकासंँग आधा घन्टा मन खोलेर समय बिताउनुभयो भने तनावमुक्त हुनुहुनेछ । तपाईले कहिल्यै आफ्ना नानीसित मन खोलेर कुरा गर्नुभएको छ ? दिनभर के–के भयो, सोध्नुभएको छ ? आज के सिक्यौ बाबु/नानी भनेर सोध्नुभएको छ ? मलाई लाग्छ, तपाई–हामी हरेक दिन आधा/एक घन्टा ‘क्वालिटी टाइम’ दियौं भने आफ्नै नानीका समस्या र गुनासा बोकेर शिक्षककहाँ धाइरहनै पर्दैन ।


हामीले बिर्सिरहेको एउटा ठूलो सत्य के हो भने अभिभावक नै उसको पहिलो र सबैभन्दा ठूलो शिक्षक हो । सबैभन्दा नजिकको साथी हो । आफ्नै घर सबैभन्दा ठूलो पाठशाला हो । पाठ्य पुस्तकका ज्ञान त विस्तारै सिक्दै जाने तपसिलका विषय हुन् ।


बालबालिकालाई खुसी हुन कुनै ठूलो बहाना चाहिँदैन । आज म्यामले राम्रो लेख्यौ भनेर कापीमा ‘बटर फ्लाइ’ बनाइदिनुभो, कार्टुन बनाइदिनुभो भनेर प्रफुल्ल हुन्छन् । हाम्री ६ वर्षकी छोरी छन् । उनी बाबासित घर फर्किन पाउँदा सबैभन्दा धेरै खुसी हुन्छिन् । बाबा उनलाई लिन सधंै आउन भ्याउनुहुन्न । तर जुन दिन बाबा लिन आउँछु भन्नुहुन्छ, त्यो दिन छोरीले स्कुल पुग्नासाथ आफ्ना साथीहरूलाई सुनाइसकेकी हुन्छिन् । फुर्की–फुर्की म्यामलाई पनि भन्छिन्, ‘आज मेरो बाबा लिन आउनुहुन्छ ।’


जन्मदिनमा उस्तै उमंग । लाग्छ, साना नानीहरूका लागि आफ्नो ‘बर्थ डे’भन्दा अर्काे ठूलो कुनै चाडपर्व छैन । घरमा केक काट्नुमा छुट्टै खुसी छ, त्योभन्दा धेरै मिठाइ लिएर स्कुल आउनुमा छ । विदाको दिन ‘बर्थ डे’ पर्‍यो भने अर्को दिन भए पनि आफ्ना साथीसंँग रमाएरै छाड्छन् । सायद आफ्नै हातले मिठाइ बाँड्नुको मजा हुँदो हो । उनीहरूको अनुहारमा खुसी छचल्किइरहेको हुन्छ । त्यो खुसीमा साथ दिँदै साथीहरू जब ‘ह्याप्पी बर्थ डे टु यु’ भन्छ, थोरै लज्जा, थोरै उमंगका साथ ‘थ्याङ्क यु’ भन्दाको अनुभूति सायद अरु कुनै कुरासंँग तुलना हुँदैन होला ।


अभिभावकलाई सताउने अर्को विषय हो, ‘होमवर्क’ । कतिसम्म भने उनीहरू मन्टेश्वरी कक्षाका प्ले ग्रुपका बच्चालाई पनि ‘होमवर्क’ चाहन्छन् । कापीमा लेख्नु वा सार्नुमात्र ‘होमवर्क’ हो भन्ने अर्को बुझाइ छ । कापीमा लेख्न दिनेमात्र होइन, पढ्नु, बुझ्नु र थाह पाउनु पनि होमवर्क हो । अभिभावक चाहन्छन, आफ्नो नानी होमवर्क गरेर बसिरहोस् । खेल्न, घुम्न र टिभी हेर्नुभन्दा होमवर्क गरेरै समय बिताओस् । शिक्षकले यति धेरै होमवर्क दिउन् कि छोराछोरीले अरु कुरा सोच्नसमेत नभ्याउन् । शिक्षकसंँग डराएर अतिरिक्त गतिविधिमा उनीहरूले ध्यानै नदिउन् । एउटा सत्य के हो भने विद्यालय भर्ना गर्दैमा, शुल्क तिर्दैमा अभिभावकको दायित्व पूरा हुँदैन । आफ्नो नानीको आनीबानी, रुचि पनि थाह पाउनुपर्छ । उसको खुसीका लागि सबैभन्दा ठूलो कुरा समय दिनुपर्छ ।


विद्यालयले नानीहरूलाई सामाजिकीकरण गरिरहेको हुन्छ । त्यहाँ कुनै भेदभाव हुँदैन । जाति, धर्म र समुदायको रेखा सायद ठूलाले आफ्ना स्वार्थका लागि कोरेका हुन्छन् । उनीहरूका लागि सबै समान छन् । जाति, धर्म र लिंगबारे आफ्ना नानीलाई गलत अभ्यास नसिकाए मात्र पनि एकै दशकमा देशमा व्यावहारिक रूपमै समानताको स्थिति बन्थ्यो होला ।

भट्टराई मन्टेश्वरी शिक्षिका हुन् ।
[email protected]

प्रकाशित : श्रावण ३०, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?