कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाग संस्कृतिको सौन्दर्य

पूजा गर्ने विधि र प्रक्रिया फरक हुन सक्छ । दिन अलग–अलग हुन सक्छ तर नागलाई अधिकांश नेपालीले आआफ्नै भाव, श्रद्धा र भक्तिअनुसार पूजा गरेकै छन् ।
भवानीश‌ङ्कर भट्टराई

काठमाडौँ — सामान्यत: सर्प र नागलाई एउटै प्रजातिको भनिन्छ । शास्त्र अनुसार भने सर्प पृथ्वीवासी हो भने नागचाहिंँ पाताल निवासी । त्यसैले यी दुई आकार, स्वभाव, गुण आदि सबै दृष्टिले फरक–फरक हुन् । सर्पलाई लम्बाकार सरीसृप तथा नागलाई चाहिँं अर्धसरीसृप र अर्धदेवाकृति भएको नृसिंहजस्तै विलक्षण मानिएको छ ।

नाग संस्कृतिको सौन्दर्य

कतिपय अध्येताले कोब्रा, राजगोमन, भाइपर आदिलाई सर्पराज वा नागराज भन्ने गरेका छन् । यो स्वीकार्दा नाग सर्पहरूको राजा हो भन्ने अर्थ लाग्न सक्छ । तर हामीले नागचित्रमा देखेको नाग यस भूमण्डलमा कतै पाइएको छैन । तसर्थ पौराणिक गाथाहरूमा मात्र सीमित नाग सर्पको सम्मानवाचक दैविक पदवी हुनुपर्छ ।

जसरी श्रद्धापूर्वक प्रयोग गरिँदा भातलाई प्रसादी/प्रसाद भनिन्छ । जसरी शिवलिङ्गमा भक्तिपूर्वक चढाइँदा पानीलाई जल भनिन्छ । त्यसरी नै सर्पलाई सम्मान गरिँदा नाग भनिएको हुुनुपर्छ । कतै सर्प निस्कँदा नागदेवता प्रकट भएका छन्, उनलाई वासस्थानमा जान दिऔं भन्ने चलन अद्यापि छँदैछ । यो सृष्टिकर्ता ब्रह्माजीले सर्पलाई हीन जाति मानेर पातालमा गई बस्न अह्राएको पौराणिक प्रसङ्गबाट पनि पुष्टि हुन्छ । त्यसैले सामान्य कथनमा सर्प तथा सम्मानमा नाग प्रचलित भएको हो, बुझ्न सकिन्छ ।

डराएर होस्, खेतको संरक्षक ठानेर होस्, वर्षा र सहकालका देवता मानेर होस् अथवा खाद्यचक्रको अभिन्न अङ्ग सम्झिएर– नेपाली समाजले परापूर्व कालदेखि सर्पलाई नाग भनेर पूजा गर्दै आएको छ । के हिन्दु ? के बौद्ध ? के किराँत ? के जैन ? सबै समुदाय कुनै न कुनै कोणबाट नागसम्मान र पूजाको संस्कृतिसँग अभिन्न भएर गाँसिएका छन् । हिन्दुहरू नागपञ्चमीमा दुग्धस्नान एवं अन्य विविध विधिबाट धुमधामसँग नागपूजा गर्छन् ।

राईहरू आफ्नो खेतीबाली सप्रियोस् भनेर भूमिपूजा (साकेवा) गर्दा सर्वप्रथम नायुमा अर्थात् नागको पूजा गर्छन् । लिम्बुका पुरोहित फेदाङ्वाले भूमिपूजा गराउनु अघि असेक साम्माङ (सर्पदेवता) को पूजा गर्न लगाउँछन् । गौतम बुद्ध आफ्ना चेलाहरूलाई ज्ञानोपदेश दिने क्रममा बोधिवृक्षमुनि रहँदा उनका शिरमा नागराज पुलिन्दाले छाया दिएको कथा छ । जैन तीर्थङ्करहरूका शिरमा सर्पाकार मुकुट देखिन्छ । यी नागपूजा संस्कृतिकै परिणति हुन् । मङ्गोल समुुदायका भोटे, तामाङ, गुरुङ आदिले वर्षचक्रको नाम राख्दा पशु प्राणीलाई आधार मान्ने गरेका छन् । त्यस क्रममा सर्प, गरुड, मुसो, बिरालो आदि १२ प्राणीबाट १२ संवत्सरका नाम जुराएका छन्, त्यसभित्र सर्प वर्ष पनि पर्छ । यसरी पुरै एक सालको नाम सर्पवर्ष राख्नु यसप्रतिको सम्मान हो ।

पूजा गर्ने विधि र प्रक्रिया फरक हुनसक्छ, पूजा गर्ने दिन आ–आफ्नै संस्कृति र चलन अनुसार अलग हुनसक्छ, तर पनि नागलाई अधिकांश नेपालीले आ–आफ्नै भाव, श्रद्धा र भक्ति अनुसार पूजा गरेकै छन् । यो सबै नाग (सर्प) ले मानिसहरूमा लगाएको गुनको परिणाम हो । धेरै नेपालीले नागपूजा गर्नाको कारण सर्प खेतको संरक्षक भएर हो ।

परम्परागत नेपाली समाज कृषि प्रणालीमा आश्रित रहनु, सर्पले खेतलाई मलिलो बनाउनु, मुसा–किरा आदि बाली विनाशक प्राणीलाई मारेर/खेदेर भए पनि बाली संरक्षण गर्नु उसलाई श्रद्धा गर्ने कारण हुन सक्छन् । सर्पलाई वर्षा र सहकालसँग जोडेर पनि किसानहरूले श्रद्धा गर्छन् । पूजा नगरिँदा नागहरू रिसाए भने खडेरी पर्छ र बाली सखाप हुन्छ भन्ने मत उत्तिकै छ ।

नेपाली समाज राजा नान्यदेवको पालादेखि नागपूजाको संस्कृतिसँग जोडिँदै आएको पाइन्छ । राजा नान्यदेव आफूलाई नागवंशी मान्थे । लिच्छवि वंशका र मल्लवंशका राजाले पनि नागपूजा संस्कृतिलाई निरन्तरता दिए । ती राजाहरूले राजसिंहासन, महलका टुँडाल, देवल आदिमा नागाकृति खोप्न लगाए । काठमाडौं उपत्यका पहिला नागजातिको शासन रहेको कहावत हुनु, मञ्जुश्रीले उपत्यकाको पानीलाई खड्गले कटाउँदा ती नागलाई टौदहमा सारिनु, प्राचीन सेन वंशावली अनुसार मगरहरूलाई नागवंशी मानिनु, नेपालका शाहवंशीय राजाका सिंहासनमा नागको आकृति रहनुले नेपालमा नागपूजाको परम्परा निकै प्राचीन हो भन्ने पुष्टि हुन्छ ।

नागपूजा वैदिककालदेखि चल्दै आएको हो । वेदमा ‘नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्य: सर्पेभ्यो नम:’ (शुक्लयजुर्वेद–१३–६) उल्लेख छ । यसको अर्थ पृथ्वीमा, अन्तरिक्षमा र देवलोकमा रहने सर्पहरूलाई नमस्कार भनिएको हो । यसबाट सर्पहरूको क्षेत्र पाताल वा नागलोक मात्र नभएर पृथ्वी, अन्तरिक्ष तथा देवलोक पनि हो भन्ने पनि बुझिन्छ । साथै वैदिककालमा पनि नागहरू पूज्य रहेछन् भन्ने स्पष्ट हुन्छ । यो परम्परालाई ऋषि–महर्षिहरूले झनै विस्तार गरेका थिए । गरुड, स्कन्द, भविष्य, वराह एवं नारदपुराणमा पनि नाग सम्बन्धी विभिन्न प्रसङ्ग छन् । भविष्य पुराणमा– श्रावण शुक्ल पञ्चमी तिथिमा जुन मानिसले नागलाई दूधले स्नान गराउँछ, त्यसको कुललाई नागले अभयता र प्राण दक्षिणास्वरूप प्रदान गर्छ भनिएको छ ।

पुराण वर्णित् नागपूजाको शास्त्रीय परम्परालाई सिन्धु सभ्यताका अनुयायीहरूले पनि सकारेका छन् । यो कुरा मोहन जोदाडोको उत्खननमा नागमूर्ति पाइएको घटनाबाट स्पष्ट हुन्छ (मराठी विश्वकोश खण्ड–८ पृष्ठ–४१०) । त्यसैगरी तक्षशिला नाम तक्षक नागका कारणबाट राखिएको, तक्षशिलाका राजा अम्भी नागका उपासक रहेको, पूर्वी भारतको नागाल्यान्डको नाम नागहरूकै कारणबाट जुराइएको, भोट र चीनतिर पनि नागवर्ष मनाउने गरिएको प्रसङ्गहरूले हिमालदेखि सिन्धुघाँटीसम्म नाग संस्कृति फैलिएको बुझ्न सजिलो छ । भारतीय महाद्वीपमा मात्र होइन, मिश्र, बेबिलोन आदिमा पनि नागहरूको पूजा हुन्थ्यो । मिश्र देशमा शेख हरेदी नामक नागको पूजा अहिले पनि हुने गरेको भारतीय लेखिका पुनम नेगीले लेखेकी छन् ।

नेपाल र भारतका विभिन्न जलाशय र ढुङ्गेधारामा अहिले पनि नागका आकृति देखिन्छन् । मानिसहरूले स्थानीय परम्परा अनुसार नागको आकृति/चित्र बनाएर पूजा गर्ने गरेका छन् । परम्परा पानीको मुहान जलाशय आदिमा फोहोर नहोस् भन्ने मनोविज्ञानसँग पनि यो गांँसिएको हुनसक्छ ।

नागपञ्चमी सबै ॐकार परिवारका सदस्यरूको पनि विशेष पर्व हो । आफ्ना बाबु परीक्षितलाई मारेका तक्षक र उनीहरूका शाखासन्तान सबैलाई सखाप पार्ने सङ्कल्पका साथ सर्पयज्ञ सुरु गर्ने जनमेजयको यज्ञबाट त्राहिमाम् भई ब्रह्माजीकहाँ पुगेका आस्तिक मुनिले समस्त नागजातिको जीवन रक्षार्थ प्रार्थना गर्दा प्रसन्न भई ब्रह्माजीले जीवनदान दिनुभई नागलोकसमेत प्रदान गर्नुभएको पौराणिक मिथकमा नागपञ्चमी आधारित छ । यसै दिन नागहरूले प्राणदान पाएकाले त्यस खुुसीको सम्झनामा नागपञ्चमी मनाइएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?