कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दलालको दलदलमा महिला 

सचेतनाको कमीले महिला अरूको देशमा जुठा भाँडा माझेर शोषण सहँदै तल्लो स्तरको काम गर्न पुग्छन् ।
गीता शर्मा (ढुंगाना)

काठमाडौँ — भारतीय सहरबाट नेपाली महिलाको उद्धार गरिएका खबर आइरहेका हुन्छन् । भारतीय महिला आयोगले दिल्लीबाट १६ नेपाली महिलाको उद्घार गर्‍यो । त्यसको एक सातामै बनारसबाट १६ महिलाको उद्घार गरियो । फेरि दिल्ली र बनारसमा छापा मारेर थप नेपाली महिलालाई घर फर्काइयो ।

दलालको दलदलमा महिला 

एक महिनाअघि बनारसमा डेढ सय नेपाली महिला बन्धक बनाइएको समाचार आयो । त्यति धेरै नेपाली चेलीलाई कसले र कसरी त्यहाँ पुर्‍याउँछन् ? प्रश्न मनमा उठिरहेको छ । खुला सिमाना भएकाले भारत र नेपाल सहज आउ–जाउ छ । रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको रुपैडिया र कञ्चनपुरको महेन्द्रनगर ठूला नाका हुन् ।

पूर्वमा पनि वीरगन्ज, जोगवनी, काँकडभिट्टा लगायतका नाका छन् । दुई देशबीच खुला सिमाना छ । खुला सिमाना र सहज आउ–जाउ हुनाले नेपाली महिलालाई विभिन्न बहानामा सीमा कटाउने गरिएको छ ।

राजनीतिक अस्थिरताका कारण मुलुकमा रोजगारी समस्या बढेको छ । अहिले राजनीतिक पहुँच वा आफ्नै लगानीमा मात्र रोजगारी सम्भव देखिन्छ । गरिब तथा निम्न वर्गका लागि रोजगारी आकाशको फलसरह छ । आयस्रोत नभएका युवती काम खोज्दै भारत वा खाडी मुलुक जान लालायित छन् । त्यसैको फाइदा केही दलालले उठाइरहेका छन् ।

दिल्ली महिला आयोग अध्यक्षको टोलीले छापा मारेर उद्धार गरेका महिला राम्रोसँग पढ्न नजान्ने खालका थिए । आर्थिक अभाव भएको क्षेत्रमा गएर नेपाली दलालले नै युवतीलाई प्रलोभन देखाउने गरेको पाइन्छ । उनीहरूले भारत पुर्‍याएर त्यहाँका दलाललाई बेच्ने गर्छन् । ती युवती फरक–फरक ठाउँमा बन्धक बनाएर राखिन्छ । पत्ता लाग्नसके उद्धार हुन्छ । उद्धार हुन नसकेका नेपाली महिला भारतमा थुप्रै हुन सक्छन् ।

नेपाली महिला खाडी लगायतका तेस्रो मुलुकमा समेत पुगेका छन् । कतिपयलाई नयाँदिल्ली हुँदै अवैधानिक बाटोबाट ती मुलुकमा पुर्‍याइन्छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ म्यानपावर कम्पनीबाट विदेश जाने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । नेपालबाट महिला अन्य मुलुक जान किन बाध्य छन् ? नेपालमा पनि थुप्रै काम पाइन्छ । सरसफाइ गर्ने महिलाले एक घरमा २/३ घन्टा काम गर्दा पाँच हजार कमाउँछन् । दिनमा ५/६ घर काम गर्दा मासिक पचिस/तीस हजार कमाइ हुन्छ । खेती किसानी गरेर, तरकारी रोपी बजारमा बेचेर, विभिन्न तालिम लिई घरमै सिलाइ–बुनाइ गरेर, अचार बनाएर जसरी पनि आम्दानी गर्न सकिन्छ । कमाउने माध्यम छ । तर ध्यान पुगेको छैन । अरूको देशमा जुठो भाँडा माझेर शोषण सहँदै तल्लो स्तरको काम गर्न पुग्नु जनचेतनाको कमी हो ।

नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल महिलालाई भारत तस्करी गर्नबाट रोक्न सीमामा कढाइ गर्नुपर्ने र महिलालाई सीप प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिन्छन् ।

पहिले नेपाल टेलिभिजन, रेडियो नेपालजस्ता सरकारी सञ्चार माध्यमले चेलीबेटी बेचबिखनबारे चेतना जगाउने कार्यक्रम दिन्थे । तिनमा राजनीतिक विषय–वस्तुले प्राथमिकता पाएको देखिन्छ । अहिले जो पनि फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्छन् । तिनमा वैदेशिक रोजगारीमा दु:ख पाएका र ठगिएका विषयमा समाचार पनि राखिएका हुन्छन् । तर त्यसबाट कसैले पाठ सिक्नसकेको देखिँदैन ।

अधिकांश महिला काम के हो, त्यहाँबाट फर्किन सकिन्छ कि सकिन्न भन्ने नबुझी विदेश जान्छन् । उनीहरूले विदेश गएपछि टन्न कमाइन्छ भन्नेमात्र सोचेका हुन्छन् । आफूसँग भएको पैसा दलाललाई दिएर सिध्याउँछन् । अर्काको लहैलहैमा लागेर पैसा होइन, दु:खकष्ट कमाउँछन् । वैदेशिक रोजगार जोखिमपूर्ण भएकाले महिलाले मुलुकमै सीप सिक्ने, रोजगार पाउने वातावरण सरकारले तयार गरिदिनुपर्छ । विदेश जानै खोज्नेलाई वैधानिक बाटो रोज्न लगाउनुपर्छ ।

महिलाहरू सचेत हुनुपर्छ । प्रलोभन देखाउने दलालको फन्दामा फँस्नबाट जोगिनुपर्छ । शङ्का लागे नजिकको प्रहरी चौकी वा सामाजिक संघ–संस्थालाई जानकारी गराउनुपर्छ । दिल्लीकी महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले भारतको एक मिडियामार्फत आर्थिक रूपमा कमजोर युवतीलाई तुरुन्तै रोजगारको व्यवस्था तथा सीमामा कढाइ गर्न नेपाल सरकारलाई अपिल गरेकी छन् । उनको अपिललाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । चेतनामूलक कार्यक्रम चलाउनुपर्छ ।

[email protected]

प्रकाशित : श्रावण ३१, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?