कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेपाली आप्रवासी कामदार र कैद हस्तान्तरण 

अनुराग देवकोटा

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कमाईले कुल ग्राहस्थ उत्पादनमा झण्डै ३० प्रतिशत हारहारीमा योगदान पुऱ्याएको छ ।

नेपाली आप्रवासी कामदार र कैद हस्तान्तरण 

यसरी देशकै आर्थिक जीवनमा योगदान पुऱ्याउने नेपाली कामदारको खै-खबर कस्तो छ ? के नेपाली कामदारहरुको श्रम जीवन गतिलो छ ? के विदेशमा नेपालीहरुले जोखिम मात्रै मोलेर काम गरिरहेका छन् ? परिस्थिति वा परिबन्ध वा अन्य कारणले नेपाली कामदारहरुले कानूनी सजाय खेपिरहेका छन? यी र यस्ता प्रश्नहरुको उत्तरमा नेपाली कामदारहरुको अवस्था झल्किन्छ ।


परराष्ट्र मन्त्रालयले सन् २०१६ माम मात्रै साउदीको जेलमा ४ सय १३, मलेसियाको जेलमा २ सय ७७, युएईको जेलमा १ सय, कतारी जेलमा ४४, कुवेत जेलमा २४ नेपाली रहेको तथ्य बाहिर ल्याएको थियो । नेपाली आप्रवासी कामदारहरु कामका खोजीमा जाने केही प्रमुख गन्तव्य मुलुकहरुमा निकै ठूलो जमातमा नेपाली कामदारहरु त्यहाँका जेलहरुमा बस्न बाध्य रहेका अवस्था विद्यमान छ । कतिपय कामदार जन्मकैदको सजाय भोगिरहेका छन् भने कतिलाई मृत्युदण्डसमेतको सजाय तोकिएको अवस्था छ ।


तर यस्ता गम्भीर प्रकृतिका सजाय तोकिँदा समेत कतिपय अवस्थामा के–कस्तो कसुरमा उनीहरुले सो सजाय पाएका हुन् भन्नेबारेमा नेपाली कामदारहरुलाई जानकारी समेत दिइएको हुँदैन । कामका खोजीमा विदेसिने नेपाली कामदारहरुले विभिन्न प्रकारका शोषण तथा यातनालाई एक तितो यथार्थ मान्दै बस्नु परेको छ । नेपाली कामदारको मुख्य श्रम गन्तव्य रहेका मुलुकका फौजदारी न्याय प्रणालीले न्यायमा पहुँचको अधिकारलाई अस्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा कानुनी सहायता सम्बन्धी हकको उपयोग गर्न नपाउँदा नेपाली कामदारहरुको मानवअधिकारको अवस्था सुनिश्चित हुन नसकेको अवस्था छ ।


हालैमात्र वैदेशिक रोजगार सम्बन्धी नियमावलीमा ल्याइएको संशोधन तथा नेपाल सरकारले देखाएको कानुनी सहायताको हकलाई परिचालन गर्ने प्रतिवद्धता प्रशंसनीय छ । श्रम तथा रोजगार मन्त्रालयले विद्यमान अवस्थामा परिवर्तन ल्याउनका निम्ति विभिन्न विकल्पहरुको अध्ययन गरिरहेको अवस्थामा उक्त क्षेत्रमा आएका नयाँ विकास र आयामहरुलाई मध्य नजर राख्दै विभिन्न देशहरुका सफल अभ्यासहरुबाट पाठ सिक्नु आवश्यक देखिन्छ ।


यस सन्दर्भमा देखिएको एक नयाँ विकास हो- कैद स्थानान्तरण अथवा विदेशी मुलुकमा सजाय पाएका व्यक्तिहरुले स्वदेशकै जेलमा सो सजाय पूरा गर्न सक्ने व्यवस्था । कैद स्थानान्तरण, सुपुर्दगी भन्दा फरक अन्तर्राष्ट्रिय प्रक्रिया हो जुन विदेशी अदालतले अन्तिम फैसला सुनाइसकेपछि मात्र लागू हुन्छ । कैद स्थानान्तरणको प्रक्रिया पश्चात् उक्त कैदीले बाँकी सजाय स्वदेशकै जेलमा आएर पूरा गर्न सक्दछ ।


कैद स्थानान्तरणको औचित्यता

विश्वमा हाल फौजदारी न्याय प्रणली दण्डात्मक नभई सुधारात्मक हुनु पर्छ भन्ने सिद्धान्तले व्यापक मान्यता प्राप्त गरेको छ । उपचारात्मक तथा दण्डात्मक सिद्धान्तबीच एक दशकदेखि निरन्तर रुपमा चली आएको संघर्षमा लगभग सम्पूर्ण विश्व नै मृत्युदण्डलाई अन्तिम समाधान मान्न नसकिने तार्किक निष्कर्षमा सहमत भएको पाइन्छ । पछिल्लो समयमा फौजदारी न्याय प्रणालीले अपराधलाई एक रोगका रुपमा हेर्दै अपराधीलाई बिरामीको दर्जा दिई उपचार प्रदान गर्नतर्फ जोड दिनुपर्छ भन्ने सिद्धान्तको पालना गर्दै आइरहेका छन् ।


फलस्वरुप, अन्तर्राष्ट्रिय समुदायले नागरिक तथा राजनितिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र खास गरी मृत्युदण्डलाई उन्मुलन गर्न बनेको उक्त महासन्धिको दोस्रो वैकल्पिक आलेख (अप्सनल प्रोटोकल) मार्फत उक्त अवधारणालाई अपनाएको छ । यस्तो सुधारात्मक न्याय प्रणालीलाई राष्ट्रियस्तरमा लागू गराउनका निमित्त विभिन्न राष्ट्रहरुले दण्डात्मक प्रणालीलाई निष्कासन गर्दै परिवर्तन तर्फ कदम बढाउन सुरु गरेका छन् । ती राज्यहरुले विदेशी जेलमा सजाय भोगिरहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याई सुधारात्मक प्रणाली अनुसार उनीहरुमा सुधार ल्याएर समाजमा पुनर्स्थापना गराउन पहल गर्दै आएका छन् । सुधारात्मक प्रणाली र पुनर्स्थापनाको सिद्धान्तको पृष्ठभूमिमा कैद स्थानान्तरण एक महत्वपूर्ण उपकरण बनेको छ ।


अन्तर्राष्ट्रिय कैद स्थानान्तरणलाई नियमन गर्ने लगभग सबै संस्था तथा अभियन्ताहरुले सामाजिक पुनर्स्थापना स्थानान्तरणलाई समर्थन गर्ने प्राथमिक आधार हो भनेर मानेका छन् । विभिन्न अध्ययन अनुसन्धानहरुले सामाजिक पुनर्स्थापनाको सफलता कैदीहरुको परिवारसँगको सम्पर्क तथा आफ्नै विचारधारासँग मिल्ने साथी कैदीहरुसँगको सामाजिक सम्पर्क तथा एकतासँग गाँसिएको देखाएको छ ।


विश्वभरीका विविध कानुनी प्रणालीबारे विचार गर्दै कैद स्थानान्तरणको सामाजिक पुनर्स्थापनामा रहेको सकारात्मक प्रभावलाई समेत हेर्दा सो स्थानान्तरण विभिन्न गन्तव्य मुलुकमा कैदमा रहेका नेपाली कामदारहरुका लागि झनै अर्थपूर्ण देखिन्छ । केही गन्तव्य मुलुकमा, खास गरी अरब, खाडी मुलुकहरुमा गैर नागरिकहरु निष्पक्ष सुनुवाई तथा नि:शुल्क कानुनी सहायता पाउने मौलिक हकबाट वञ्चित हुने खतरामा हुन्छन् । त्यस्तो अवस्थामा कैद स्थानान्तरण नेपाल जस्ता राष्ट्रका निम्ति आफ्नो नागरिकको अधिकार संरक्षण गर्नका लागि एक महत्वपूर्ण साधनको रुपमा देखा परेको छ ।


अन्तर्राष्ट्रिय कानुन तथा असल अभ्यास

नेपालमा नयाँ अवधारणा मानिए तापनि कैद स्थानान्तरण विश्वका कैयौं देशहरुले व्यापक रुपमा यस्तो अभ्यास गरी आएका छन् । विभिन्न क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरुले समेत यसको समर्थन गरेको पाइन्छ । यस सन्दर्भमा अपराधिक निर्णयको अन्तरास्ट्रिय वैधता सम्बन्धि युरोपेली महासन्धि, विदेशमा कैद भुक्तान गर्ने सम्बन्धमा बनेको अन्तरअमेरिकी महासन्धि, अन्तर्राष्ट्रिय संगठित अपराधको विरुद्ध संयुक्त राष्ट्रको महासन्धि लगायत विदेशी कैदीहरूको स्थानान्तरण सम्बन्धि संयुक्त राष्ट्रसंघ मोडेल कैद स्थानान्तरणलाई मान्यता दिने केही अन्तर्राष्ट्रिय उपकरणहरु हुन् ।


विभिन्न मुलुकहरुका असल अभ्यासलाई हेर्दा, कैद स्थानान्तरण लाई लागू गराउन दुई प्रकारका विधि अपनाइएको देखिन्छ । केही देशहरुले नयाँ कानुन बनाएर त्यही अनुसार अरु मुलुक सँग दुईपक्षीय अथवा बहुपक्षीय सम्झौता गर्ने गर्दछन् । उदाहरणका लागि भारतले 'रिपार्टेसन अफ प्रिजनर्स एक्ट-२००३' कानुन बनाई अन्य मुलुक सँग दुईपक्षीय सम्झौता गरि कैद स्थानान्तरणको प्रक्रिया पूरा गर्ने गरेको छ । अर्को तर्फ केही मुलुकहरुले भने कैद स्थानान्तरणको प्रावधानलाई आफूले गरेका अन्तराष्ट्रिय सम्झौतामा समावेश गरेका छन् । उदाहरणका लागि, सन् १९६३ मा उत्तरी युरोपियन मुलुकहरुले एक बहुपक्षीय सम्झौता गरेका थिए जसमा डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडेनका नागरिकहरुलाई

सहमति लिएर स्थानान्तरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।


श्रम तथा रोजगार मन्त्रीलाई एक दरखास्त

नेपालको हालको कानूनी व्यवस्था हेर्ने हो भने न्याय कार्य एवं फैसला कार्यन्वयनको सिलसिलामा नेपाल र विदेशी राज्य बीच कानुनी सहायता आदान प्रदान गर्ने सम्बन्धमा पारस्पारिक कानुनी सहायता ऐन २०७० एउटा एकल कानुन हो । उक्त ऐनमा पारस्पारिक कानुनी सेवा सहायता प्रदान गरिने विषय वस्तुको क्रमबद्ध व्यवस्था गरिएको भएता पनि कानुनी सहायता एवं कैद हस्तान्तरण सम्बन्धमा यस ऐनको प्रावधानहरु मौन रहेको देखिन्छ । यद्यपी दफा १५ बमोजिम पारस्परिक कानुनी सेवा प्राप्त गर्न विदेशी राज्यलाई अनुरोध गर्न सक्ने अधिकारको प्रत्यायोजन भने यस ऐनले गरेको छ ।


नेपालमा हालै बनेको भाद्र १ देखि लागू हुने भनिएको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ ले प्यारोल सिस्टम जस्ता नयाँ प्रयास मार्फत देश पुनर्सथापकिय न्यायको लक्ष्य पूरा गर्न तर्फ लागेको देखाएको छ । कैद सजाय पाएका कसूरदारको सामाजिक पुनर्स्थापना तथा एकीकरण गर्ने कार्यमा सहयोग समेत पुर्या उनका लागि सुधारात्मक कार्यक्रम सञ्चालन गर्नु पर्ने, कैदवापत श्रममा लगाउन सकिने, सामाजिकीकरण गराउनु पर्ने, लगायत प्यारोलमा राख्न सकिने व्यवस्थाको अवलम्बन गरेको छ ।


उक्त नयाँ प्रणालीमा कैद स्थानान्तरणका संयन्त्रहरु बन्ने लगायतका सम्भावना देखिँदा नेपाली कामदारहरुको अवस्थामा सुधार आउन सक्ने परिस्थिति बनेको छ । यस्तो व्यक्तिगत अवसरबाहेक पनि कैदीहरुले आफ्नै देशमा रही घर समुदायको लाभ लिई, स्थानीय विकासको काममा योगदान दिई सामाजिक कल्याणमा भाग लिन सक्ने अवसर प्राप्त गर्दछन् ।


यसै सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्दा, नेपालको हालै संशोधित वैदेशिक रोजगार सम्बन्धी नियमावली र आगामी दिनमा लागू हुने फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लाई समेत हेर्दा नेपाल सरकारले कैद स्थानान्तरणका फाइदा तथा सम्भावनाहरुबारे विचार गर्दै सोही अनुरुप आगामी दिनहरुमा वैदेशिक रोजगार ऐनको संशोधनमा तथा गन्तव्य मुलुकसँग गर्ने श्रम सम्झौतालाई समावेश गर्नेबारे विचार गर्नु आवश्यक देखिन्छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?