उन्यू अनुसन्धानमा नेपाली

स्वदेशमा माहोल नहुनाले नेपाली विज्ञहरु विदेश गएर अध्ययन, अनुसन्धान गर्छन् । यहाँ भेटिएका नयाँ वनस्पतिबारे जान्न विदेशको प्रकाशन पढ्नुपर्छ ।
कमल मादेन

काठमाडौँ — भारतबाट हालै पुस्तक ‘एन एन्नोटेटेड चेकलिष्ट अफ इन्डियन टेरिडोफाइट्स’ छापिएपछि नेपाली वनस्पतिविदद्वय धनराज कँडेल र नवल श्रेष्ठलाई बधाईको ओइरो लाग्यो । बधाई पाउनुको कारण थियो, उन्यूका दुई प्रजातिको नामकरण उनीहरूको नामबाट गरिएको विवरण पुस्तकमा उल्लेख हुनु ।

उन्यू अनुसन्धानमा नेपाली

पुस्तक गत जूनमा छापिएको उक्त पुस्तक सीआर फ्रेजर–जेन्किन्स, केएन गान्धी र बिइस खोलियाले लेखेका हुन् । उन्यू वा कुनै वनस्पतिको वैज्ञानिक नाममा व्यक्तिको नाम जोडिनु नौलो होइन । जैविक विज्ञान अन्तर्गत ट्याक्सोनोमी अध्ययन अनुसन्धानकर्ताले पत्ता लगाएका नयाँ वनस्पति वा जन्तुको नामकरण गर्दा सम्मान गर्न विषय–वस्तुसँग सम्बन्धित कसैको नाम जोडिदिन्छन् ।

त्यसपछि उक्त प्रजाति त्यही नामबाट संसारभर चिनिन्छ । यो सम्मान प्राप्त गर्ने व्यक्ति र व्यक्ति सम्बद्ध आफन्तजनका निम्ति गौरवको विषय हो । यसले जैविक विज्ञान अध्ययन, अनुसन्धान गर्नेका निम्ति निकै महत्त्व राख्छ ।

नेपालीका नामबाट पहिलो पटक सन् १९२९ मा फूल फुल्ने एक वनस्पति नामकरण भएको पाइन्छ । अहिलेसम्म १८ नेपालीका नाममा करिब अढाई दर्जन वनस्पति नामकरण गरिएका छन् । सबैभन्दा बढी लालध्वज सुनुवारका नाममा छ ।

उन्यू वर्गको वनस्पति भने सीआर फ्रेजर–जेन्किन्सले सन् १९९७ मा पहिलोपटक नरेश थापाका नाममा नामकरण गरेका थिए । त्यो उन्यू प्राकृतिक ठिमाहा (हाइब्रिड) थियो । प्राकृतिक ठिमाहाको वैज्ञानिक नामका बीचमा क्रस लेख्ने प्रचलन छ । थापाको नाममा नामकरण गरिएको त्यो प्राकृतिक ठिमाहा उन्यूले ‘थेलिप्टेरिज × नरेशी’ नाम पाएको छ । अन्य २ ठिमाहा उन्यू प्रजातिलाई सन् २०१७ मा वरिष्ठ वनस्पतिविद केशवराज राजभण्डारी र धनराज कँडेलका नाममा क्रमश: ‘एस्प्लेनियम × राजभण्डारीई’ र ‘माइक्रोलेपिया × कँडेली’ नामकरण गरिएका छन् ।

विश्वका निम्ति नेपालबाट नयाँ पत्ता लागेका वनस्पतिमध्ये २५० जति प्रजातिमा नेपालेन्सिस, नापाउलेन्सिस नाम जोडिएका छन् । हिमाल, अञ्चल, जिल्ला, खोला, ठाउँका नाममा १४७ प्रजातिको नामकरण गरिएको छ । यसको सूची वनस्पति विभागले प्रकाशन गरेको ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ (सन् २०१७) पुस्तकमा छ । यस लेखमा धनराज कँडेल र नवल श्रेष्ठका नाममा नामकरण भएका उन्यू प्रजातिबारे चर्चा गरिंँदैछ ।

एथ्रियम कँडेली
ललितपुरको गोदावरीस्थित ‘राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला’का अनुसन्धान अधिकृतद्वय धनराज कँडेल र तीर्थराज पाण्डेले हुम्लाबाट उन्यूको ‘एथ्रियम’ जाति अन्तर्गतको एक नमुना २०७३ भदौ २७ मा संकलन गरे । त्यो नमुना उन्यू विशेषज्ञ सीआर फ्रेजर–जेन्किन्सले अध्ययन गरे । अर्को प्रजातिसँग मिल्दोजुल्दो पाएपछि उनले चीन, भारत, भुटान, पाकिस्तान, अफगानिस्तानका नमुना अध्ययन गरे । हुम्लामा भेटिएको उन्यू नयाँ प्रजाति भन्ने ठहरियो । त्यसपछि उनले त्यो प्रजातिको नामकरण ‘एथ्रियम कँडेली’ गरे । कँडेललाई ल्याटिनीकरण गरेर ‘कँडेली’ बनाइएको हो ।

जुन नमुनाबाट प्रजाति व्याख्या गरिन्छ, त्यसलाई ‘होलोटाइप’ भनिन्छ । सीआर फ्रेजर–जेन्किन्सले ‘राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला’मा संग्रह गरिएको नमुनालाई ‘होलोटाइप’ मानेका छन् । त्यो नमुनालाई सांकेतिक कोड नम्बर ‘डीआर कँडेल एन्ड टीआर पाण्डे ३५ एच’ दिइएको छ । त्यो प्रजाति भारतको हिमाञ्चल प्रदेश, जम्मु–कश्मिर, उत्तराखण्ड, सिक्किम, भुटान र चीनमा पाइने जानकारी दिइएको छ ।

हुपर्जिया श्रेष्ठा
सीआर फ्रेजर–जेन्किन्सले नवल श्रेष्ठका नाममा उन्यूको अर्को एक प्रजाति ‘हुपर्जिया श्रेष्ठा’ नामकरण गरेका छन् । तर त्यो प्रजाति नेपालमा पाइएको छैन । भारतको उत्तर बंगाल लगायत चीनका विभिन्न प्रान्त र म्यान्मारमा मात्र भेटिएको जानकारी छ । ‘हुपर्जिया श्रेष्ठा’ नामकरण सिलसिलामा म्यान्मारबाट संकलन गरिएको एक नमुनालाई ‘होलोटाइप’ मानिएको छ ।

श्रेष्ठ र अरूको सन् २०१४ मा ‘हुपर्जिया नान्लिगेन्सिस (लाइकोपोडिएसी), अ न्यु टेरेस्ट्रियल फिर्मोस फ्रम साउर्थन चाइना’ शीर्षक लेख प्रकाशित भएको छ । लेख वनस्पति विज्ञानको विश्व प्रसिद्ध जर्नल ‘फाइटोट्याक्सा’को अंक १७३ (१) मा छापिएको हो । त्यस अनुसार श्रेष्ठ लगायतले सन् २०१४ मा दक्षिण चीनबाट ‘हुपर्जिया’ जातिको एक नयाँ प्रजाति ‘हुपर्जिया नान्लिगेन्सिस’ पत्ता लगाएका हुन् । लेख अनुसार श्रेष्ठ ‘हुपर्जिया’ जातिबारे जानकार मानिन्छन् । उनले उल्लेखित अनुसन्धान गर्दा संसारभरका ‘हुपर्जिया’ जाति अन्तर्गतका प्रजाति अध्ययन गरेको हुनुपर्छ । यसैले फ्रेजर–जेन्किन्सले ‘हुपर्जिया श्रेष्ठा’ नामकरण गर्नु अघि श्रेष्ठसँग परामर्श लिए । फ्रेजर–जेन्किन्सले देखाएको नमुना नयाँ भन्नेमा श्रेष्ठ सहमत भए । त्यसपछि फ्रेजर–जेन्किन्सले त्यस उन्यूको नामकरण ‘हुपर्जिया श्रेष्ठा’ गरे ।

गत साउन ६ गते ‘हुपर्जिया श्रेष्ठा’बारे कान्तिपुरको अनलाइन संस्करणमा समाचार प्रकाशित भयो । समाचारमा ‘नेपाली वैज्ञानिक नवल श्रेष्ठले पत्ता लगाएको उन्यूको वैज्ञानिक नाम उनकै थरबाट ‘हुपर्जिया श्रेष्ठा’ राखिएको जिकिर गरिएको थियो । मैले कान्तिपुरकै पाठक मञ्चमा साउन ८ गते उक्त प्रजाति पत्ता लगाउने अनुसन्धानकर्ता नवल श्रेष्ठ नभई सीआर फ्रेजर–जेन्किन्स हुन् भनी पत्र लेखेको थिएँ ।

सीआर फ्रेजर–जेन्किन्स, धनराज कँडेल र एस परियार लिखित ‘फर्न एन्ड फर्न–एल्लिस अफ नेपाल, सन् २०१५’ पुस्तक अनुसार नेपालमा ‘हुपर्जिया’का १० प्रजाति पाइन्छन् । अन्य केही लेख अनुसार ‘हुपर्जिया सेराटा’ औषधि विज्ञानका निम्ति अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । त्यसप्रति औषधि निर्माण कम्पनीहरूको ध्यानाकृष्ट भएको देखिन्छ । हुपर्जिया सेराटा नेपालमा पनि पाइन्छ । उक्त प्रजातिबाट अल्जाइमर रोगको असर न्यूनीकरण गर्न प्रयोग हुने औषधि बन्छ । केही वर्षयता त्यसबाट बनिने ‘हुपरजाइन–ए’ लगायतका औषधि संसारभर बिक्री हुँदै आएको बताइन्छ ।

औषधिजन्य दस्तावेज
वनस्पतिविद नारायणप्रसाद मानन्धर नेपालको औषधिजन्य वनस्पतिका अध्येता हुन् । उनले नेपालका दर्जनौं समुदायको वनस्पति सम्बन्धी ज्ञान तथा अभ्यास ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’ (सन् २००२) पुस्तकमा लेखेका छन् । यसैगरी सुसिमरञ्जन बराल र पुरनप्रसाद कुर्मीको ‘अ कम्पेन्डियम अफ मेडिसिनल प्लान्ट्स इन नेपाल’ (सन् २००६) पुस्तक पनि नेपालका औषधिजन्य वनस्पतिबारे हो । यी दुवै पुस्तकमा ‘हुपर्जिया सेराटा’बारे जानकारी छैन । भारतको औषधिजन्य वनस्पतिबारे लेखिएका केही पुस्तकमा भने ‘हुपर्जिया सेराटा’बारे लेखिएको पाइन्छ ।

चीन यस मामिलामा अघि देखिन्छ । अनुसन्धानात्मक लेख ‘अ सर्भे अफ पोटेन्सियल हुपरजाइन, अ न्याचरल रिसोर्सेस इन चाइना : द हुपेरिजेसी’ (सन् २००५) बाट चीनमा सन् १९९५–२००१ मा ‘हुपर्जिया’ तथा अन्य जातिभित्र ‘हुपरजाइन’ रसायन छ–छैन भन्ने खोज अनुसन्धान भएको देखिन्छ । नवल श्रेष्ठले ‘हुपर्जिया सेराटा’सँग ‘हुपर्जिया नान्लिगेन्सिस’ कति मिल्दोजुल्दो छ भनेर सूक्ष्म ढंगले अध्ययन गरेका थिए । त्यो तहको अध्ययन, अनुसन्धान गर्नसक्ने अवस्था नेपालमा छैन ।

नेपाल सरकारको ‘राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना २०१४–२०२०’ मा औषधिजन्य वनस्पतिबारे प्रशस्तै चर्चा छ । मुलुकलाई सन् २०२० सम्म औषधिजन्य वनस्पतिको ‘स्टोरहाउस’ बनाइने लेखिएको छ । तर ‘हुपर्जिया सेराटा’ औषधिजन्य वनस्पति हो भनी पहिचानै गर्न सकिएको छैन । ‘हुपर्जिया सेराटा’ नेपालबाट चीन निर्यात हुने गरेको अनुमान छ । यसले नेपाल औषधिजन्य वनस्पति अध्ययन, अनुसन्धान तथा त्यसको सदुपयोगबारे बेखबर रहेको देखाउँछ ।

नेपाली विज्ञहरू स्वदेशमा उपयुक्त माहोल नहुनाले विदेश गएर अध्ययन, अनुसन्धान गर्छन् । विदेशमा उनीहरूले महत्त्व पाउँछन् । नेपालमा भेटिएका नयाँ वनस्पति कुन प्रजाति हो भन्ने थाहा पाउन विदेशको प्रकाशन पढ्नुपर्छ । नेपाल सरकारले विज्ञान क्षेत्रको अध्ययन, अनुसन्धानमा उचित ध्यान दिन नसकेर यस्तो भएको हो । कमजोर जगबाट बलियो घर बन्दैन । विज्ञानलाई बेवास्ता गरेर देश कसरी समृद्ध होला ?

प्रकाशित : भाद्र १, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?