कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेरिएका विद्रोही

२०७५ साउन २६ गते शनिबार कोलकातामा भरत शमशेर बित्नुभयो । बीपी कोइरालालाई गोली हान्न हुलहुज्जत गराएको आफ्नो विद्रुप छविलाई पछि उहाँले खेलेको भूमिका स्वयंले खण्डित गरेको थियो ।
सूर्य थापा

काठमाडौँ — २००७ सालमा जहानियाँ राणातन्त्रको पतन भइसकेपछि त्यस परिवर्तनलाई स्वीकार्न नचाहने एउटा अभिजात वर्गीय हिस्सा सक्रिय नै थियो । जन्मदै श्री ३ महाराज, जर्साब आदि पद प्राप्त हुनेहरूलाई ‘स्वर्ग’ गुमाउनुपर्दा छटपटी हुनु अस्वाभाविक थिएन ।

फेरिएका विद्रोही

यस स्थितिमा तत्कालीन प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बीपी कोइरालाबीच एक दिन यस्तो संवाद भयो :

बीपी : उनी (राणा) हरू गैरकानुनी गतिविधि गरिरहेका थिए । त्यस अवैध सङ्गठनको सेक्रेटरी भरत शमशेर हो । त्यसको अध्यक्ष को हो, पत्ता लागेको छैन ।

मोहन : तपाईं जान्न चाहनुहुन्छ ? म हुँ, त्यसको अध्यक्ष ।’
बीपी : तपाईं एउटा अवैध सङ्गठनको अध्यक्ष हो भने गृहमन्त्रीले तपाईंको गिरफ्तारीको आदेश दिन सक्छ ।

– बीपी कोइराला (आत्मवृत्तान्त, पृष्ठ १५६)
स्वयम् भरत शमशेरले पछि बीपीसँग भनेको पाइन्छ, ‘त्यतिबेला म तपाईं रहने या म रहने प्रश्न थियो ।’ (आत्मवृत्तान्त, पृष्ठ १५५)

६४ वर्षअघि राष्ट्रवादी गोरखा परिषद्को नाममा जहानियाँ र जन्मजात विशेषाधिकार खोसिएकोमा उत्पात मच्चाउन सक्रिय भरत शमशेर पछिल्लो समय कोलकाताको बालिगन्जस्थित ३१ नं. घरमा आराम गरिरहनुभएको थियो । पाँच वर्षअघि २०७१ साउन ३१ गते रामायण धमला, नारायण हुमागाईं र युवराज बास्कोटासहित त्यहाँ पुग्दा उहाँ भेटघाट कक्षमै प्रतिक्षारत हुनुहुन्थ्यो । ८६ वर्षीय उहाँले मुटुको समस्याका कारण उपचार र आराम गरिरहेको बताउनुभयो । हामीले कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको श्यामबजार २८ नवीन सरकारलेनस्थित घर तथा नेपाल प्रजातन्त्र कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेस स्थापना भएको स्थानहरूसमेत अवलोकन गरेका थियौं ।

पहिले घुमफिर गर्न कोलकाता जाने गरेको भए पनि उहाँ २०२५ पछि प्राय: त्यहीँ बस्दै आउनुभएको थियो । ‘सुवर्ण शमशेरले सङ्घर्ष छाडिसकेपछि म निरन्तरता दिन यहाँ आएको हुँ,’ कुराकानीका क्रममा उहाँले भन्नुभएको थियो ।

‘२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भयो, धर्मनिरपेक्ष राज्य त पहिल्यै भएको थियो– म खुसियाली मनाउन नेपाल गएको थिएँ, एकजना ‘गणतन्त्रवादी’ र ‘नास्तिक’का लागि त्योभन्दा खुसीको क्षण अर्को कुनै हुन सक्दैन । जे चाहेको हो, पूरा भयो र जीवन नै सार्थक भयो । त्यसको लगत्तै भोलिपल्ट म कोलकातातिर लागेँ र यहीँ बसिरहेको छु,’ नेपालको परिवर्तनप्रति उहाँ खुसी हुनुहुन्थ्यो । नयाँ पुस्ताप्रति उहाँ विश्वस्त हुनुहुन्थ्यो । भन्नुभयो, ‘राजनीति नशा रहेछ, आफूले छाडे पनि त्यसले छाड्दो रहेनछ, तर रमाइलो हुन्छ । नेपालमा गणतन्त्र आयो, सबै मिलेर त्यो सम्भव भयो । त्यसपछिको उथलपुथल जारी छ । अब मेरो त्यहाँ के जरुरत ? बाँकी काम तपाईंहरूले पूरा गर्नुपर्छ ।’

मैले २००७ को त्रिपुरेश्वर घटना पढेको स्मरण गराउँदै सोधेँ– बीपीमाथि नै आक्रमण किन गराउनुभएको थियो त ?

‘मलाई पक्रेर जेल हाले, अनि पब्लिकहरू हाम्रो नेतालाई किन थुनेको भन्दै गृहमन्त्री कोइरालाको निवासमा घेरा हाल्न पुगेका हुन् † कतिपय इतिहासका पुस्तकमा राणा शासन फर्काउन त्यसो गरेको भन्ने लेखिएको छ, त्यो गलत हो,’ उहाँले स्पष्ट पार्नुभयो, ‘महेन्द्रले तानाशाही थोपरेर सर्वनाश गरे । ३० वर्षसम्म हामी अघि बढ्न सकेनौँ । अनि त मिलेर प्रजातन्त्रका लागि लड्नैपर्‍यो नि !’

राणाका सम्बन्धहरू गजब रहे । २००७–२०१५ सम्म गोरखा परिषद् (खुकुरी दल) को नेता । २०१५ को पहिलो आमनिर्वाचनपछि संसदमा विपक्षी दलको नेता । २०१७ पुस १ को ‘कू’पश्चात् नेपाली काङ्ग्रेसमा प्रवेश । किन त ?

‘पुष्पलाल मकहाँ आइरहनुहुन्थ्यो । हाम्रो राम्रो उठबस देखेर काङ्ग्रेसी भन्थे– किन सर्पलाई दूध खुवाउने काम गरेको ?

बीपी कोइरालासँग सधैँभरि सम्मानको सम्बन्ध रह्यो ।
तर उहाँसँग नराम्रो भएको मात्र इतिहास लेखिएको छ,’ उहाँको गुनासो छ ।

नेपाली नेताहरूबारे उहाँको खास सम्झना थियो । ‘मदन भण्डारीसँग छोटो समयमा सबैभन्दा बढी दोस्ती कायम भयो । उहाँको त मुखमा सरस्वती नै थिइन् । कृष्णप्रसाद भट्टराईले पहिले असाध्यै दु:ख गर्नुभयो । तर अन्तिम घडीमा राजाको पक्षमा लागेर पथभ्रष्ट बन्नुभयो,’ ‘उहाँले सुनाउनुभयो, ‘झलनाथ खनालले चाक्सीबारीमा एकदिन भन्नुभयो– धेरै काङ्ग्रेसीकरण भयो । मैले उहाँलाई जवाफ दिएँ– म त कम्युनिष्टीकरण भइरहेको छु ।’

गिरिजाप्रसाद कोइरालासँग आफ्नो धेरै टक्कर भएको उहाँले सुनाउनुभयो । ‘तर जब उनको नेतृत्वमा नेपाली काङ्ग्रेसले गणतन्त्रको पक्षमा निर्णय लियो– मैले टेलिफोन गरेर उनलाई धन्यवाद दिएँ । त्यसपछि बाँचुन्जेल असाध्यै राम्रो सम्बन्ध चल्यो, त्यस्तो अरूसँग भएन,’ उहाँले भन्नुभयो ।

अरूका बारेमा खुलेर बोल्ने र हक्की स्वभावका राणालाई थिचोमिचो मन नपर्ने रहेछ । भलै बाजे बबर र बाबु मृगेन्द्र शमशेरको थिचोमिचोको कथा बिर्सिनसक्नुको छ ।

समय परिवर्तनशील छ । जहाँसुकै परिवर्तन भएको छ । उहाँ स्वयम् खुकुरी दलको आतङ्क मच्चाउने ‘प्रतिगामी’बाट ‘गणतन्त्र’वादीमा रूपान्तरित हुनुभयो । उहाँलाई हामीले पश्चिम बंगालको ‘कम्युनिस्ट शासन’ किन ढल्यो, भनेर पनि सोध्यौं । ‘सीपीएमलाई भयानक धक्का लाग्यो, अब सायदै उठ्न सक्लान् †’ उहाँको विश्लेषण थियो, ‘यो परिवर्तनकै परिणाम हो ।’

राणातन्त्र फर्काउन खोज्ने भरत शमशेर राणाको यो रूपान्तरणबाट आजका प्रतिगामीहरूले पाठ सिक्नुपर्छ । ‘जसरी राणातन्त्र फर्काउन सम्भव भएन, ‘राजतन्त्र’ फर्काउनु र ‘हिन्दु अधिराज्य’ बनाउनु पनि दिवास्वप्न मात्रै हुनेछ,’ उहाँको बुझाइ थियो ।

२०७५ साउन २६ गते शनिबार कोलकातामा भरत शमशेर बित्नुभयो । २००७ साल अघिको राणातन्त्रका अवशेषलाई त्यसपछि उहाँले गोरखा परिषद्को तर्फबाट ब्युँताउने र नवस्थापित प्रजातन्त्रलाई असफल पार्ने प्रयत्न गर्नुभएको थियो, उहाँले । यतिसम्म कि बीपी कोइरालालाई गोली हान्न हुलहुज्जत समेत गर्ने जुन क्रियाकलाप गर्नुभयो, त्यसले निर्मित विद्रुप छविलाई ०१७ सालपछिको उहाँको संलग्नता र भूमिकाले स्वयम् खण्डित गर्‍यो । पञ्चायती तानाशाहीको अन्त्य र प्रजान्त्रको स्थापनाका पक्षमा निर्वासनमा रहेरसमेत उहाँले योगदान गर्नुभयो ।

पछिल्लो कालको भेटघाटले त उहाँ राणातन्त्रबाट गणतन्त्रमा रूपान्तरित भएको पुरानो युगको नयाँ मान्छेका रूपमा नेपाली इतिहासको एउटा पठनीय पात्रका रूपमा स्मरणीय हुनुहुन्छ । अब खुकुरी दलको नेताका रूपमा मात्रै उहाँलाई स्मरण गर्नु वा चिन्न/चिनाउन खोज्नु अन्याय हुनेछ । एकजना प्रजातन्त्रवादी र नवस्थापित गणतन्त्रका हिमायती/पक्षधरका रूपमा उहाँले आफूलाई रूपान्तरित गरेर नेपाली जनताको रोजाइ सँगसँगै अगाडि बढाउनुभयो । यो अत्यन्त सकारात्मक परिवर्तन हो । आज उहाँको निधनको शोकमा श्रद्धाञ्जली अर्पण गरिरहँदा मूलत: यही हिसाब–किताब र विश्लेषण तथा चरित्र चित्रण मुख्य पक्ष बनेको छ ।

भरत शमशेरको व्यक्तित्व अरूभन्दा अलिक जब्बर र नाइके स्वभावको थियो । सबै राणाजीहरूको यस ढंगको रूपान्तरण भएन । कोही देश छाडेर दार्जिलिङ, कोही मसुरी, कोही देहरादुन, कोही नयाँ दिल्ली लगायतका ठाउँमा पुगे । उहाँले भने कोलकाताको बालीगन्जमा बसिरहँदा समेत नेपालको लोकतान्त्रिक आन्दोलनलाई हरेक हिसाबले मद्दत गर्नुभयो, अत्यन्तै सहयोगी र नेतृत्वदायी भूमिका खेलेर ।
थापा नेकपाका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?