कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बाघले फरक पार्छ

पृथ्वीका प्राणी र वनस्पतिले उपयुक्त वातावरण सिर्जना गरेपछि मात्र मानिसको अस्तित्व कायम भएको हो ।
यदि मानव अस्तित्वका आधार प्राणी र वनस्पति समाप्त भए भने हाम्रो बाँच्ने आधार कहाँ रहला ?
कमलजङ्ग कुँवर

काठमाडौँ — नेपालमा पर्सा, चितवन र बर्दियाको अधिकांश भाग र मकवानपुर, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत र कञ्चनपुरका केही भाग बाहेकका जिल्लामा बाघ लोप भइसके । तर यसबाट बाघलाई के फरक पर्‍यो ? बाघ संरक्षण कसैको लहडमा, शौखका लागि, बाघ बचाउन र हाम्रा भावी पुस्तालाई देखाउनका लागि भन्ने सन्दर्भले कुनै अर्थ राख्दैन ।

बाघले फरक पार्छ

बाघ नहुँदा हामी र हाम्रा भावी पुस्ता सुरक्षित र सन्तुलित वातावरणमा बाँच्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य सवाल हो । चुरे विनाश गर्ने हाम्रा पुर्खा र हामीले के हाम्रो र भावी सन्तितका लागि न्याय दियौं त ? वाग्मती नदी प्रदूषित हुँदा पनि मूकदर्शक हुने हामीले अहिले त्यसको मूल्य चुकाउनुपरेको छ । वाग्मतीको अन्तिम माछाले कवि शिरोमणि लेखनाथ पौडेलको चरीको विलाप कवितामा भनेझैं ‘म मर्ने हो मर्छु, तर तिमी नराम्रोसँग चुक्यौ’ भनेको हामीले मनन गर्ने कि नगर्ने ?

विश्वमा बाघका उपप्रजातिमध्ये पाटेबाघ २ हजार ६ सय ३३, सुमात्रान ३ सय ७१, साइवेरियन ४ सय ३३, मलायन २ सय ५० र इन्डो चाइना २ सय ६ वटा पाइन्छन् । साउथ चाइना बाघ चिडियाखानामा मात्र बाँकी छन् । बाली, क्यास्पियन र जाभान बाघ लोप भइसकेका छन् । एसियामा नेपाल, भारत, भुटान र बंगलादेशमा पाटेबाघको प्रजाति पाइन्छन् । नेपालका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र तिनका वरपर मात्र ती बाघ पाइन्छन् । बाघ संरक्षण बाघका लागि होइन, मान्छेका लागि हो । वाग्मती नदीमा माछा, माछाका लागि होइन, मान्छेका लागि हो । नदीमा माछा हुनु भनेको नदी सफा हुनु हो ।

बाघ चुरे संरक्षणको सूचक हो । तर चुरे नाशिँदा तराई विनाश भए पनि टुलुटुलु हेरेर बस्नुपरेको छ । चुरे विनाश हुँदा अहिले तराईका मानिस काकाकुलजस्तै तड्पिरहेका छन् । पानीको अभावमा, बाढीको चपेटाबाट वर्षैपिच्छे दर्जनांै मानिसको मृत्यु, सयौं परिवार घरबारविहीन र हजारांै विगाहा उर्वर कृषि भूमि मरुभूमिकरण हुँदै गएको छ ।

प्राकृतिक र भौतिक विज्ञानले पृथ्वीका प्राणी र वनस्पतिले उपयुक्त वातावरण सिर्जना गरेपछि मात्र मानिसको अस्तित्व कायम भएको हो भन्छ । यदि मानव अस्तित्वका आधार प्राणी र वनस्पति समाप्त भए भने हाम्रो बाँच्ने आधार कहाँ रहला ? जहाँ माछा बस्न सकेनन्, मानिस कसरी बस्न सक्छन् ? मानिसका लागि त्यो पानी कसरी योग्य हुन्छ ? माछालाई योग्य भयो भने मान्छेलाई पनि उपयोगी हुन्छ ।

यही नै हो, माछा र मान्छेको अन्तर–सम्बन्ध । बाघ र मान्छेको पनि त्यही सम्बन्ध हो । चुरे संरक्षण भयो भने त्यो घर बाघको लागि उपयुक्त हुन्छ र ऊ त्यहाँ स्थायी रूपले बस्न आउँछ । जब चुरे संरक्षण हुन्छ, त्यो मान्छेका लागि पनि बस्नयोग्य ठहरिन्छ । जसले हाम्रो बाँच्ने आधार खडा गरेको छ, जसका कारण हामी बाँच्न नभई नहुने स्वच्छ हावा, स्वच्छ पानी र खाने अन्न फल्ने उब्जाउ भूमि सुरक्षित भएको छ । हामी त्यसैलाई सिध्याउने सोच्दैछौं, योजना बनाउँदैछौं ।

यो सवाल स्वदेश र विदेशमा वनविज्ञान पढेका साथै वर्षौं वनक्षेत्रमा काम गरेका विज्ञहरूले त बुझ्दैनन् भने सर्वसाधारण, विकासे र राजनीतिक नेताका के कुरा † बाघ संरक्षणको विषय ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमा पहिरो छ’ भन्ने उखानजस्तै हो । वाग्मती र चुरे विनाश गरेर हामीले ‘आफ्नो खुट्टामा आफैले बन्चरो हानेका’ छौं । हामीले यो बुझ्न र बुुझाउन सकेनौं भने हामी वन प्राविधिक भएको भएको कुनै अर्थ रहँदैन ।

नेपालको हिमालमा हिउँ चितुवा, मध्यपहाडमा चितुवा र तराईमा बाघ पाइन्छन् । बाघ केवल सुन्दरता र शक्तिको प्रतिक, दुर्गाको वाहन भएकाले बचाउनुपर्छ भन्ने सोच दोस्रो प्राथमिकतामा मात्रै पर्छ । यसको त हाम्रो जीवन, मानव अस्तित्व र समृद्धिसँगै सम्बन्ध छ । सबै देशको भूगोल र वातावरण बाघका लागि उचित बासस्थान हुन सक्दैनन् । तर जुन देशमा यी पाइन्छन्, तिनको संरक्षण हुन नसक्नु दुर्भाग्य हो । हामीले बाघलाई पारिस्थिकीय प्रणालीका लागि भन्यौं । तर पारिस्थिकीय प्रणाली भनेको के हो, कतिले बुझेका छाैं । त्यसैले हामीले बाघ भयो भने चुरे संरक्षण हुन्छ र तराई मरुभूमिकरण हुँदैन भन्ने ज्ञान दिनुुपर्छ ।

नेपालमा वन्यजन्तु र प्राकृतिक सुन्दरता मुख्य पर्यटकीय आकर्षण हुन् । नेपालमा बाघ केवल संरक्षित क्षेत्रमा मात्र सीमित छन् । तर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई, भित्री मधेस र चुरेका सबै ठाउँमा बाघ हुनु जरुरी छ । नेपालमा अहिले वयस्क बाघको संख्या १ सय ९८ छ । अब हामीले तराईलाई जोगाउने हो भने तराई, भित्री मधेस र चुरे फैलिएका हरेक जिल्लाका वनक्षेत्रमा कम्तीमा सयवटा बाघ हुनुपर्छ । यसो हुनसक्यो भनेमात्र तराईको अन्न भण्डार सुरक्षित हुनेछ । पानीका स्रोत संरक्षण हुनेछन् । तराई मरुभूमिकरण हुनबाट जोगिनेछ । सबै जिल्लामा १०० भन्दा बढी बाघ हुँदा नेपालले विश्वमै धेरै बाघ हुने देशको शौभाग्य प्राप्त गर्नेछ ।

बाघ संरक्षण गर्न निकुञ्ज, आरक्ष नै चाहिन्छ भन्ने छैन । यो त एउटा उपाय वा विधिमात्रै हो । सामुदायिक वन, साझेदारी वन, कबुलियती वनमा पनि यसको संरक्षण हुनसक्छ । जसरी मध्यपहाडका सामुदायिक वनमा चितुवा संरक्षण भइरहेका छन् । नेपालको ६८ प्रतिशत क्षेत्रको वातावरणीय सन्तुलन र सुरक्षाका लागि मध्यपहाडमा चितुवा र हिमाली क्षेत्रको सन्तुलनका लागि हिउँचितुवा सुरक्षित हुनुपर्छ । त्यसैले हिमाल, पहाड र तराईको एकआपसमा अन्योन्याश्रित सम्बन्ध रहिआएका छन् । हिमालमा हिउँचितुवा र पहाडमा चितुवा नहुनु भनेको खतराको संकेत हो । यसबाट भूक्षय, भूस्खलन, बाढी–पहिरो, धनजनको क्षति र कृषिभूमि मरुभूमिकरण हुँदा देशले ठूलो क्षति व्यहोर्नुपर्छ ।

जब चुरे पहाडमा बाघ देखिनेछ, तब चुरे र तराई सुरक्षित भएको संकेत मिल्नेछ । त्यसैले अबको १० वर्षमा चुरेमा बाघ देख्न सक्ने बनाउन सक्यौं भनेमात्र चुरे, भित्री मधेस र तराई सुरक्षित हुन्छ । हाम्रो अन्न भण्डार सुरक्षित हुन्छ । आधा जनसंख्या बस्ने तराई सुरक्षित हुनु भनेको देश सुरक्षित हुनु हो । तब मात्र कृषि, जलस्रोत र पर्यटनबाट देशको मुहार फेरिने आशा गर्न सकिन्छ । राजनीतिक प्रतिबद्धता बिना यो लक्ष्य हासिल हुन असम्भवप्राय: छ । हाम्रा राजनेताहरूलाई यो कुरा सिकाउनु जरुरी छ ।

प्राकृतिक विज्ञानका वैज्ञानिक चार्ल्स डार्विनले भनेका छन्, ‘सबै जनावरलाई माया गर्नु नै मानिसको सबैभन्दा ठूलो गुण हो ।’ महात्मा गान्धीले भनेका छन्, ‘कुनै देशको महानता र समाजको नैतिक मूल्य–मान्यता मापन गर्ने आधार भनेको त्यो देश वन्यजन्तु संरक्षण र व्यवस्थापनमा कति गम्भीर छ भन्ने हो ।’ हामी अहिले व्यापक रूपमा वन्यजन्तु पालन गर्न पाउनुपर्छ भनेर हाम्रा नीतिहरूमा परिवर्तन गर्न खोज्दैछौं । यसले हाम्रो समाजलाई ‘घरको न घाटको’ बनाउँछ । त्यसो भयो भने ‘न रहे बाँस न बजे मुरली’ भन्ने उखानझैं हाम्रा वन्यजन्तु पनि रहँदैनन् र हामी पनि रहँदैनौं । वाग्मतीलाई प्रदूषित गरेर हामी जति पटमूर्ख बन्यौं, त्यत्ति नै महामूर्ख चुरेलाई सिध्याएर बन्दैछौं । चुरे नरहे हामी पनि रहने छैनांै ।

कुँवर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हुन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?