कृषिमा उद्यम

भरतराम ढुंगाना

काठमाडौँ — हामी कहाँ उद्यमशील संस्कृति छैन । वैदेशिक रोजगारको मोह व्याप्त छ । लाखौं ऋण लिएर विदेश जान तम्सिने युवा स्वदेशमा उद्यम/व्यवसाय गर्न चाहँदैनन् । सुन्दर भविष्यको खोजीमा बिदेसिएका युवामध्ये कतिपय जोखिमपूर्ण कामले मृत्यु, अपांग भएका तथा बिचल्लीमा परेका घटना थुप्रै छन् ।

कृषिमा उद्यम

यस्तो परिवेशमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानित बनाउन राज्यले विशेष पहल गर्नुपर्ने खाँचो छ । कृषि शिक्षाको पहँुचमा उल्लेखनीय वृद्घि गर्नुपर्छ । कृषिमा उद्यमशीलताका माध्यमबाट रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा विलम्ब गर्नु हुँदैन ।

आयातमुखी कृषि अर्थतन्त्र र उपेक्षित कृषि पेसा हाम्रो मुलुकका लागि प्रमुख चुनौती हुन् । खेतीयोग्य जमिन बाँझो र खण्डीकरण भएको छ । कृषि उत्पादकत्वमा निरन्तर ह्रास आइरहेको छ । वैदेशिक रोजगारलाई निरुत्साहित गर्दै स्वदेशमै कृषि उद्यमशीलताको वातावरण निर्माण गर्न आवश्यक छ । करिब दुई तिहाइ जनसंख्याको रोजगारी र जीविकोपार्जनको मूल आधार कृषि क्षेत्र हो । कृषि शिक्षा लिएका युवा जागिरको खोजीमा लाग्नुभन्दा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन जरुरी छ । मुलुकको विकास निर्माणमा जुट्न प्रेरित शिक्षाले सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउँछ । कृषि, उद्योग, पर्यटन र सेवामूलक क्षेत्रको विकास तथा विस्तारले मुलुकमा आर्थिक समृद्घिलाई सुनिश्चित गर्न सक्छ ।

कृषि उत्पादकत्व बढाउन कृषकलाई सुपथ र सहुलियत ऋण व्यवस्था, बिमा व्यवस्था, गुणस्तरीय कृषि सेवा, सिंचाइ सुविधा, कृषि सामग्रीलगायत उन्नत बीउविजन एवं मलको व्यवस्था, बजारीकरणलगायत कृषि पूर्वाधार आदिको उचित प्रबन्ध मिलाउनुपर्छ । परम्परागत तथा निर्वाहमुखी प्रणालीबाट गुज्रिरहेको कृषि क्षेत्रलाई व्यावसायीकरण एवं विविधीकरण गर्दै उत्पादकत्व वृद्घि गर्न सकिन्छ । कृषि शिक्षालाई सहज एवं सुलभ बनाई युवालाई कृषि उद्यमशीलतातर्फ उन्मुख गराउने वातावरण निर्माण गर्न जरुरी छ । यसले कृषि पेसालाई सम्मानित बनाउन सक्छ । सरकारी, सहकारी र निजी साझेदारीका माध्यमबाट भौगोलिक परिवेशअनुसार कृषिजन्य उत्पादनको व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरे कृषि क्षेत्रले उल्लेखनीय फड्को मार्न सक्छ ।

देशको कुल गार्हस्थ्य उत्पादनको २९.३७ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ । दक्षिण एसियाली राष्ट्रहरूमा कृषि पेसामा निर्भरता एवं कुल गार्हस्थ्य उत्पादन दुवैका आधारमा नेपालको बढी हिस्सा छ । तर नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्न नसक्नु र कृषि पेसा उपेक्षित बन्दै जानु विडम्बनापूर्ण छ । कृषि उपजमा आत्मनिर्भर बन्न निर्वाहमुखी कृषिलाई नाफामूलक, दिगो एवं व्यावसायिक प्रणालीमा रूपान्तरण गर्नुपर्छ । खेतीयोग्य जग्गालाई बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । खाली जमिनको दिगो उपयोगमा ध्यान दिनुपर्छ । कृषि क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ । कृषि उपज उत्पादन, प्रशोधन, भण्डारण तथा वितरण प्रणालीमा नयाँ प्रविधिको विकास आवश्यक छ ।

राज्यले कृषि शिक्षालाई सर्वसुलभ र आम मानिसको पहँुचमा पुर्‍याउने रणनीति अपनाउनुपर्छ । यसका लागि कृषि तथा वन विश्वविद्यालयलगायत कृषि शिक्षा प्रदान गर्ने सबै शैक्षिक संस्थाको क्षमता एवं दक्षता वृद्घि गरी कृषि शिक्षालाई सबैको रोजाइ र आकर्षणको विषय बनाउनुपर्छ । कृषि पेसालाई प्रतिस्पर्धी, नाफामूलक एवं सम्मानजनक व्यवसायका रूपमा स्थापित गर्न आवश्यक छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?