कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सर्पदंशमा सजगता

सर्पदंशको एउटै मात्र प्रभावकारी उपचार विषप्रतिरोधी औषधि प्रयोग हो । भ्रमको पछि लाग्दा जोखिम बढ्छ ।
मिलन खरेल

काठमाडौँ — सर्पले मानिसलाई खोजी–खोजी डस्दैन । अन्जानवश कसैले टेक्न पुगे वा जिस्क्याए मात्र सर्पले खतरा महसुस गरी प्रतिरक्षाका लागि डस्ने हो । नेपालमा ८९ प्रजातिका सर्प फेला परेका छन् । तीमध्ये १७ प्रजातिका सर्पमात्र विषालु छन् । गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत, बाघे तथा हरेउ विषालु सर्प हुन् ।

सर्पदंशमा सजगता

गोमन सर्पले घाँटीको छाला तन्काएर फणा बनाउँछ । यिनीहरूलाई जिस्क्याए आफ्नो शरीरको एक तिहाइजति अगाडिको भागलाई जमिनबाट माथि उठाएर स्याँ–स्याँ अवाज निकाल्छन् । टाउको थ्याप्चो र त्रिकोणात्मक भएका हरिया रङ्गका हरेउ अर्थात् ‘ग्रिन पिट भाइपर’ समूहमा पर्ने सर्प विषालु हुन्छन् । यिनीहरू आफ्नो शरीरलाई खुम्च्याएर स्प्रिङजस्तो आकारको बनाई शत्रुमाथि डस्न जाइलाग्छन् । ढाडतिरको भागमा ठूलठूला अन्डाकार बुट्टा भएका बाघे सर्प (रसेल्स भाइपर) अति विषालु हुन्छन् । आँखा र नाकको प्वालको बीचमा ताप संवेदनशील अङ्ग भएका ‘पिट भाइपर’ सर्प पनि अति विषालु हुन्छन् ।

सर्पको विष परिवर्तित र्‍याल ग्रन्थिको उत्पादन हो । यसलाई सर्पले सिकार मार्ने र पचाउने कार्यमा प्रयोग गर्छ । हरेक सर्पदंशबाट मानिसको ज्यान जाँदैन ।

सर्प विषालु भए पनि सधैँ ज्यानै जान्छ भन्ने होइन । विषले मनिसमा पार्ने असर डस्ने सर्पको आकार, डसाइको पूर्णता, शरीरमा प्रवेश गरेको विषको मात्रा, डसेको व्यक्तिको उमेर, शारीरिक क्षमता तथा उसको मनोवैज्ञानिक अवस्थामा भर पर्छ ।

सर्पदंशका लक्षण
सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रासायनिक संरचना अनुसार फरक हुन्छ । गोमन र करेत प्रजातिका विषालु सर्पको डसाइबाट व्यक्तिमा स्नायुघात हुन्छ । आँखाको ढकनी भारी महसुस हुन्छ । मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न सकिँदैन । निल्न नसक्ने, सास फेर्न गाह्रो हुने, हातखुट्टाका मांसपेशी नचल्ने लक्षण देखिन्छ । डसेको ठाउँको घाउ पाक्ने सुन्निने र तन्तुहरू मर्न थाल्ने हुन्छ । बाघे, हरेउजस्ता सर्पको डसाइबाट भने गिँजा, पेट, आन्द्रा, आँखा तथा शरीरमा लागेका घाउ–चोट आदिबाट बाहिरी तथा आन्तरिक रक्तस्राव हुने गर्छ ।

सर्पदंश भए के गर्ने ?
सर्पदंशबाट व्यक्तिको मृत्यु हुने प्रमुख कारण समयमै सम्बन्धित उपचार केन्द्रसम्म पुग्न नसक्नु हो । सर्पले डसेको व्यक्तिलाई गरिने एउटैमात्र प्रभावकारी उपचार विष प्रतिरोधी औषधी (एन्टिभेनम सेरम) प्रयोग हो । यो सरकारी अस्पताल, सैनिक अस्पताल, कतिपय निजी अस्पताल तथा रेडक्रसद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पाइन्छ ।

सर्पले डसेको व्यक्ति मानसिक तनावमा हुने भएकाले सकेसम्म ढाडस दिई शान्त राख्नुपर्छ । डसेको भाग स्थिर राख्नुपर्छ । अत्तालिए मुटुको धड्कन वृद्धि भई रक्तसञ्चार मार्फत विष चाँडो शरीरमा फैलिने गर्छ । सर्पले डसेको व्यक्तिले चुरा, औंठी आदिजस्ता वस्तु लगाएको भए फुकालेर राख्नुपर्छ । डसेको स्थानलाई साबुन–पानी वा एन्टिसेप्टिक (जस्तो डेटोल पानीले) राम्रोसँग धुनुपर्छ । डसेको स्थानसहित त्यसको तल्लो र माथिल्लो भाग ढाकिनेगरी चौडा किसिमको टाई, कपडा अथवा ब्यान्डेजले ठिक्कको कसिलो पारी फन्फनी बेरेर बाँध्नुपर्छ । यसो गर्नाले रक्तसञ्चार कम हुनगई विष चाँडो फैलन पाउँदैन ।

उपचारका भ्रम
सुइरो (निडल) बिनाको सुई (इन्जेक्सन) को मद्दतले सर्पले डसेको ठाउँको रगत ताने सर्पको विष पुरै निस्कन्छ भन्ने भ्रम छ । विषालु सर्पले डस्ने बित्तिकै (डसेको तीन मिनेटपछि) सुईको मद्दतले विष तान्ने कोसिस गरे पनि विषको थोरै मात्रा (एक हजार भागको एक भागजति) मात्र निकाल्न सकिन्छ । मुखले डसेको ठाउँको रगत चुस्नु आफ्नो ज्यान खतरामा पार्नु हो ।

सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइको खतरा मोल्नु हँुदैन । डाक्टरले बिमारीको लक्षण तथा प्रयोगशालामा रगत, र्‍याल आदिको परीक्षणमार्फत सर्पको विषको प्रकार पहिचान गर्न सक्छन् । अविषालु सर्पले डसेको भए पनि विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, रबर, विद्युतीय तार आदिले हातखुट्टा कसेर बाँध्नु हँुदैन । ती अंगमा रक्तप्रवाह बन्द भई अन्त्यमा हातखुट्टा नै बिग्रिएर काट्नुपर्ने अवस्था आउन सक्छ ।

सपेरा वा अन्य व्यतिले तन्त्रमन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी भनिने जस्ता वस्तुमा भरपर्नु हुँदैन । विषालु सर्पले डसेको व्यक्तिलाई जाँड, रक्सी, अन्य तातोपानी या कुनै पनि प्रकारको झोलिलो वा ठोस खाद्यपदार्थ खान दिनु हुँदैन । अन्यथा शरीरमा हुने रासायनिक प्रतिक्रिया (मेटाबोलिजम) मा वृद्धि भई विष चाँडो फैलन सक्छ ।

विषालु सर्पले डसेको व्यक्तिलाई खोर्सानी खुवाउँदा पिरो महसुस हँुदैन भन्ने धारणा गलत हो । डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाए विष चुस्छ भन्ने धारणा पनि गलत हो । डसेको ठाउँमा बरफ तथा कुनै पनि वस्तु प्रयोग नगरौं । यस्तो गर्नाले बढी हानि हुन्छ ।

डसेको ठाउँलाई ढाकेर (छोपेर) राख्नु हुँदैन । त्यस ठाउँमा धारिलो वस्तुले काट्ने, चिर्ने, आगो अथवा कुनै तातो वस्तुले डाम्ने, तातोपानी वा अमिलो दूधमा डुबाउने पनि गर्नु हँुदैन । यसले संक्रमण बढाउन सक्छ । कथित नागमणि, झारमौरो, घरायसी तथा जङ्गली झारपात तथा जडीबुटी प्रयोग गर्नु हुँदैन ।

[email protected]
खरेल केन्द्रीय प्रविधि क्याम्पस धरानका अध्यापक हुन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?