२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बत्तीका पुतली

घुमुवा किराबाट बच्न मधुरो बत्ती बाल्ने, झ्यालढोकामा जाली लगाउने, जाली भए घरभित्रका मात्र र नभए बाहिरका मात्र बत्ती बाल्नुपर्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — बत्तीका पुतली । यो एउटा नेपाली लोकोक्ति हो । यसले कुनै चिजमा आकर्षित भई फँस्नु वा त्यसमा फँसेर ज्यान गुमाउनु भन्ने बुझाउँछ । के साँच्चै बत्तीमा आएका पुतली फँसेकै हुन् त ? बत्तीमा किन पुतली या अन्य किरा आएका होलान् !

बत्तीका पुतली

गर्मी होस् वा जाडो मौसम, साँझ र राति बालिएका बिजुलीका बत्ती, टुकी र आगोमा किरा झुम्मिन्छन् । किरा यसरी बत्तीमा किन आउँछन् भनेर वैज्ञानिकहरूले अनुसन्धान गरेका छन् । उनीहरूका अनुसार यसको पहिलो कारण हो– राति उड्ने किराले चन्द्रमा वा ताराको प्रकाशका आधारमा आफ्नो गन्तव्य पत्ता लगाउँछन् । तिनीहरू तारा वा चन्द्रमासँग निश्चित कोण मिलाएर उडिरहेका हुन्छन् । हामीले बालेको बिजुली बत्तीले तिनीहरूको उडाइको कोणलाई बाधा गरिदिन्छ अनि त्यही बत्तीमा अल्मलिन पुग्छन् । बाटो हराएको मानिसजस्तो तिनीहरू बत्तीमा गोलाकार कक्षमा घुमिरहेका हुन्छन् ।


दोस्रो कारण हो, झुक्किनु । भाले किरा झुक्किएर बत्तीमा झुम्मिन आइपुगेका हुन्छन् । भालेलाई आकर्षण गर्ने पोथीको जीउबाट एक प्रकारको रसायन निस्किने गर्छ । त्यसलाई फेरोमोन वा सेक्स हर्मोन भनिन्छ । फेरोमोनले इन्फ्रारेड किरण उत्पादन गर्छ । त्यो देखेर पोथीतिर भाले हान्निएर आउने हुन् । यस्तै किसिमको इन्फ्रारेड किरण बलिरहेको आगो वा टुकीले पनि निकाल्छ । भालेहरू पोथी भन्ठानेर आगोमा हामफाल्छन् । कहिलेकाहीं कारणवश झुक्किएर वा साँच्चै आकर्षित भएर पोथी किरा बत्तीमा आइपुग्यो भने सयौं भाले त्यही पोथीलाई पछ्याउँदै आइपुग्छन् ।


बत्तीमा आउने किरा सबै पखेटा भएकाहरू हुन्छन् । अधिकांश बसाइँ–सराइ गर्ने आनिबानीका हुन्छन् । बसाइँ–सराइकै क्रममा मानिसले बालेका बत्तीले अलमल्याइदिन्छ । तर कुनै रैथाने वा बसाइँ नसरी एकै बासस्थानमा बसिरहनेहरू पनि बत्तीमा झुम्मिने गरेको अनुसन्धानबाट देखिएको छ । किनभने कतिपय किराको स्वभाव उज्यालोमा आकर्षित हुने हुन्छ । तसर्थ बत्तीमा आउने किरा एकै किसिमका नहुन सक्छन् ।


बत्तीले कुनै–कुनै फूलले जस्तै अल्ट्राभ्वाइलेट किरण उत्पादन र प्रसारण गर्छ । त्यसैले फूल सोचेर केही किरा बत्तीमा जम्न पुग्छन् र त्यही हराउँछन् ।


साह्रै मसिना किराले समेत राति उड्नलाई चन्द्रमा र ताराको उज्यालोलाई आधार मान्छन् । ७० प्रतिशत किरा यस प्रकृतिका हुन्छन् । चन्द्रमाको उज्यालोलाई नखिच्नेगरी बत्ती बल्यो भने किरा चन्द्रमाकै उज्यालोको कोणमा उडिजान्छन् । पूर्णिमाका केही दिन अघि र पछि यस्ता किराको उपस्थिति र प्रकोप कम देखिन्छ ।


जीव जगतमा आथ्र्रोपोडा वर्गको इन्सेक्टा कक्षामा पर्ने इन्सेक्ट्सलाई हामीले किरा भन्ने गर्छौं । यिनको संख्या र मात्रा साह्रै धेरै छ । किरालाई जीव जगतमा सबैभन्दा सफल मानिएको छ । धरतीमा भएका प्राणीमध्ये सबैभन्दा धेरै सुख्खा तौल (बायोमास) इन्सेक्ट्सकै छ । प्रजाति संख्या र जनसंख्या सबैभन्दा बढी यिनीहरूकै छ । एरिजोना विश्वविद्यालयको ‘क्वाटर्ली रिभ्यु अफ बायोलोजी–सेप्टेम्बर २०१७’ का अनुसार संसारमा सजीवको प्रजाति संख्या दुई अर्ब छ । त्यही जर्नल अनुसार चार करोड प्रजातिका किरा पृथ्वीमा छन् । अर्को नमुना छनोटले संसारमा किराको संख्या एक करोड खर्ब भएको अनुमान लगाएको छ ।


कतिपय किरा एक्ले हुन्छन् भने धेरैजसो सामाजिक वा समूहगत रूपमा बसेका हुन्छन् । माहुरी, अरिंगाल, बारुला, कमिला, धमिरा आदि समूहमा बस्छन् । एउटै गुँड (घार) मा हजारौं हुन्छन् । कमिलाको एउटै गोलोमा औसतमा ६ लाख ३० हजारवटा हुन्छन् । धमिराको त झन् ठूलो परिवार हुन्छ । धमिराको एउटा गोलोमा ३० लाख सदस्य पाइएको छ ।


किराहरू हावापानी र परिवर्तित वातावरण अनुसार समायोजन भई आएकाले सफल मानिएका हुन् । उनीहरूको प्रजनन दर उच्च हुन्छ । जस्तो– अफ्रिकन धमिराकी रानीले एक दिनमा ४३ हजारवटा फुल पार्छे । धमिरा रात्रियात्री हो । छिचिमिराको रूपमा हिउँदे वर्षा भएका बेला राति बत्तीमा आउने गर्छ ।


बत्तीमा आएका किराले आँगनदेखि ओछ्यानसम्म पुगेर मानिसलाई दु:ख दिइरहेका हुन्छन् । यस्ता किरा मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् । बत्तीमा जीउभरि धुलैधुलो भएको मोथ पनि झुम्मिएर आउँछ । यसको धुलो जीउमा परे चिलचिलाउँछ । आँखामा धेरै परे आँखा बिग्रिने डर हुन्छ । जीउमा हानिकारक रसायन भएका किरा अरु पनि छन् । तिनले मानिसलाई चिलाउने र एलर्जी गराउने गर्छन् । यस्ता किरासँगको सम्पर्कले छालामा आएका विमिरा र एलर्जीका टाटामा संक्रमण हुनगए थप जटिल समस्या आउँछन् । ज्ञानेन्द्रीय, जनेन्द्रीय र अन्य कोमल भाग किरामा भएको रसायन र झुसको सिकार बढी हुने गर्छन् । बालबालिकालाई झन् बढी प्रभाव पर्छ ।


यस्ता घुमुवा किराबाट बच्न मधुरो बत्ती बाल्ने, झ्यालढोकामा जाली लगाउने, जाली भए घरभित्रका मात्र र नभए बाहिरका मात्र बत्ती बाल्ने गर्नुपर्छ । बत्तीमा स्याउला झुन्डाइदियो भने किरा कम झुम्मिन्छन् ।


[email protected]

प्रकाशित : भाद्र ६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?