त्यसैले बाजपेयी "अटल" भए 

दिवाकर बागचन्द

काठमाडौँ — अटल बिहारी बाजपेयीलाई श्रदान्जली दिन पुगेका सामाजिक न्याय  अभियन्ता स्वामी अग्निवेश  तथाकथित भारतीय जनता पार्टीका कार्यकर्ताद्वारा कुट्पिट  गरिएपछि आफु हिन्दू हुनुमा मलाई लघुताभास हुनथाल्यो । 

८० वर्षीय क्रान्तिकारी स्वामीमाथि भएको आक्रमणले अटलजीको निधनबाट रसाएका मेरा आँखाबाट आशु बर्सिन समय लागेन । अनेक कमजोरीका बाबजुद एउटा लोक्तान्त्रिक धर्मको रुपमा रहेको हिन्दू धर्ममाथि सोही धर्मका स्वघोषित ठेकेदारहरुद्वारा गरिएको "बसु दैव कुटुम्ब कम" को सिद्धान्त र सामजिक न्याय माथिको घिन लाग्दो आक्रमण थियो त्यो । यो दृश्यले कथित धर्मका रक्षकहरुको बौधिक "दिवालीयापन" अर्थात "इन्टेलेक्चुयल ब्यान्क्रप्सी" उजागर गर्थ्यो । यस्ले अटल बिहारी गलत पार्टीका सही नेता भन्ने ९० को दशकको भनाइलाई पुष्टी गरे झैं लाग्यो।

Yamaha


अहिले पुरा भारत शोकाकुल छ । अटल सबैका प्रिय थिए । यस दुखको घडीमा राजनीति र ईतिहासको निर्मम चिरफार गर्नु न्याय संगत हुँदैन । राजनीतिको सरलिकरण सजिलो पनि हुँदैन र अहिले बिबेकपूर्ण पनि ठहरिन्न । अटल मलाई मन पर्ने राजनेता थिए । म राजनेता भनिरहेछु यस्को कारण छ । जो आँफै स्पष्ट हुनेछ । अटल घुँडाको समस्याले गर्दा बिस्तारै हिड्थे । भाषण गर्दा शब्दमा जोड दिएर बोल्थे । बोल्दा बोल्दै कल्पनामा हराउन्थे । त्यो केही पलको शुन्यतामा जनता धैर्यतापूर्वक ध्यान मग्न हुन्थे, मानौ अटलको मुखारबृन्दबाट मोती टप्कदै छ ।

नेताको भाषण सुनाउन गाडी भरेर लग्नु पर्ने अवस्थामा अटलको भाषण सुन्न जनता प्रतिक्षारत रहनु आँफैमा अद्भुभुत थियो । उनको भाषणले यति महत्व किन राख्थ्यो त? भाषण शब्द मात्र होइन । त्यसमा जवाफदेहिता हुनुपर्छ भन्ने अटलले बुझेका थिए । उनको बोलीको नैतिक धरातल हुन्थ्यो । नकरात्मकता उनको परिचय थिएन । अरुलाई पछार्नु, निच देखाउने दाउपेचमा उनी सामेल भएनन् । अरुझै उनी पनि "पोलिटिसियन" त थिए । त्यो हुनै पर्छ । सत्ताको त्रासदी पनि यही हो । चाहेर नचाहेर "पोलिटीसियन" बन्नु पर्ने हुन्छ । पोलिटिसियनले जोड घटाउ गर्छ । अटल भने अलि भिन्न प्रकारका थिए । गुजरात दङ्गामा मौन रहेको आरोप खेपे । तर, बर्तमान प्रधानमन्त्री गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई कडा शब्दमा "राज धर्म" निभाउन आदेश पनि दिए । कार्गिल युद्ध पश्चात कट्टर भारत बिरोधी पर्बेज मुसरफलाई भारत निम्ताए ।

कम्युनिस्ट भएर बिद्यार्थी छँदा, राजनीतिक यात्रा सुरु गरेका बाजपेयी भारत छोडो आन्दोलनमा होमिए । जनसंघका अध्यक्ष पण्डित दिन दयाल उपाध्यायको रहस्यमय हत्यापछि जनसंघका अध्यक्ष बने । अटल बिहारी बाजपेयी हिन्दूवादको वकालत गर्ने पार्टीको मुखिया बन्नु अनौठो थियो । साम्यबादी बिगत भएका अटलको हिन्दूवादी "अवतार" आँफैमा एउटा बिरोधाभास थियो ।

उनको यो बिरोधाभासले मलाई आकर्षित गर्‍यो । आजीवन अबिबाहित अटल फिल्मका शौकिन थिए । जवानीका दिनहरुमा आफ्ना परम मित्र लालकृष्ण अड्वानीको स्कुटरमा बसेर पहिलो दिन, पहिलो शो, फिल्म हेर्न जाने यि दुईको मित्रताको किस्साले उनी मेरा लागि झन तिलस्मी ब्यक्तित्व बन्न पुगे ।

उनको जीवनको बहुआयामिक पाटो छ । उनको आम जीवनशैलीले मलाई झन उनीप्रति खिच्यो । जीवनका साधारण रस र स्वाद, अद्वैत वाकपटुता, विश्वज्ञान र बुद्धिमता, कुट्नीतिक कला र दुरदृस्टीले उनलाई बिराट छबी प्रदान गर्‍यो । उनको जीबनका अनेक रङ थिए । एक साधारण मान्छेका गुण र दोष अनि असाधारण मान्छेमा हुनुपर्ने बिशेषता दुबै उनमा मौजुद थिए ।

उनी कसरी राज नेता भए त? यसको एउटा प्रमुख कारक थियो, उनको ओजस्वी भाषण । उनी भित्र एउटा कवि थियो, जसले उनलाई कल्पनाको उचाई दियो । उनको मानवीयता र बिद्वताले उनको कल्पनाशिलतालाई यथार्थमा उतार्ने सामर्थ्य दियो । फलस्वरुप उनी बिश्वको सबभन्दा ठुलो लोकतन्त्रको सफलतम् प्रधानमन्त्रीमा गनिन्छन् । पण्डित नेहरुलाई यसको पुर्वानुमान थियो किनकी उनी पनि आँफै एउटा बिलकक्षण विद्वान राजनेता थिए । पण्डित नेहरु आफ्ना सांसदलाई अटलका कुरा गम्भिरतापूर्वक सुन्न आग्रह गर्थे ।

कुरो फेरी भाषणकै, भाषण त मोदी पनि गर्छन् । उनले भाषण कै कारण चुनाव जिते । शायद फेरी जित्ने छन् । तर, उनको भाषणमा कल्पनाशिलता छैन । एउटै रटान लाउदा लाउदै उनको भाषणको "डिप्रिसियसन" हुँदैछ। जुन मोदीकै ब्यापारिक शैलीमा भन्ने हो भने कुनै आर्थिक वर्षको अन्तमा “राइट अफ" गरिने छ ।

अटल हिन्दूवादी थिए । तर, जातीवादलाई कलंक मान्थे । उनले एक भाषणमा भनेका थिए, “मन्दिर तो प्रेरणाका केन्द्र है, कैसा मन्दिर जिस्केद्वार सबके लिए खुले नहो ? उनले भाबुक हुँदै भनेका थिए, “ हम ने अपने भाई बहेनको वेद पढ्नेसे रोका । मेरा हिन्दूत्व सिमित नही है, अन्तर जातीय विवाहको बढावा देता है, सम्मान करता हैु ।"

अटल महिलामाथि हुने बिभेद अन्त गर्न चाहन्थे । हिन्दूत्वलाई उचाइ दिन चाह्न्थे । तेसैले उनी हिन्दू धर्मलाई, धर्म होइन जीवनशैली हो भन्ने गर्थे । “पराइलाई पनि अंकमाल गर्ने शक्ति देउ प्रभु" भन्ने उनको हिन्दूत्वको परिभाषा थियो । जुन परिभाषाभित्र उनले ९३ वर्ष बिताए । सायद त्यसैले बाजपेयी "अटल" भए।

Esewa Pasal

प्रकाशित : भाद्र ६, २०७५ १६:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

दिवाकर बागचन्द

न्युयोर्क, अमेरिका — म क्रिकेट धेरै खेल्ने गर्थें । अहिले खेल्नुभन्दा बढि हेर्छु । एउटा महान् क्रिकेटर चुनाव जितेर प्रधानमन्त्री बन्न लागि रहँदा, हेरिरहन मन लागेन । कलमसँग खेल्न मन लाग्यो । इमरान अहमद खान नियाजी अर्थात लोकप्रिय "इमरान खान" युवतीहरुका प्रिय पात्र हुन् ।

उसो त सबै क्रिकेटर युवतीहरूका प्रिय हुन्छन नै, चाहे भगवानले सुन्दर रुप दिएको होस् या नहोस्। कारण जगजाहेर छ। तर इमरानले सुडौल शरीर, सुन्दर मुहार दुवै पाएका छन्। उनी बलिवूड या हलिवूडका नायक भन्दा कम छैनन्। क्रिकेटको दुनियामा अल-राउन्डर सफलतम् खेलाडी मानिन्छन इमरान खान।

अहिले उनको क्रिकेट र सुन्दरताले भन्दा उनले रचेको राजनीतिक इतिहासको कारण बढी चर्चामा छन्। उनको चुनावी जितको बारेमा थुप्रै लेख लेखिई सकेका छन्। किताबहरू लेखिईसकेका होलान् र भविष्यमा अझै किताबहरू लेखिइने छन्। उनी आफैले पनि किताब लेखेका छन्। मैले लेख्ने आवश्यकता थिएन र मेरो आलेखले भिन्दै "इनसाइट" दिने या विश्लेषण गर्ने ध्येय राख्दैन। इमरान खानको "पाकिस्तान : अ पर्सनल हिस्ट्री" भन्ने किताव झैं मेरो लेख पनि व्यक्तिगत विचार, बुझाई र भोगाईको अभिव्यक्ति मात्र हो।

म कुनै राजनीतिक विश्लेषक होइन, न कुनै "पोलिटिकल साईन्टिस्ट” नै हुँ। पत्रकारिता गरिरहँदा पनि राजनीतिक सवालमा कमै रिपोर्टिंग गरें। त्यसको आफ्नै राजनीति छ। जसको चर्चा अर्थहिन हुन्छ। तर, मनन् योग्य के छ भने हामीलाई मन परोस् वा नपरोस् राजनीतिको परिधिभन्दा बाहिर कोही रहन सक्दैन। मानवीय अस्तित्वको टार्न नसकिने कालजयी यथार्थ हो राजनीति। राजनीतिलाई नजर अन्दाज गर्न मिल्ला तर यसबाट भाग्न सकिन्न। राजनीतिको परिणामबाट भाग्न सकिन्न। यो हत्केलाले सूर्य छेक्न खोजे जस्तै हो।

१९९२ वर्ल्ड कप क्रिकेट विजेता पाकिस्तानी पूर्वकप्तान इमरान खानको पाकिस्तान तेह-रि-के इन्साफ पार्टीले यस चुनावमा सबभन्दा ठुलो पार्टी बन्न पुग्यो। इमरानले ११ अगस्तमा सपथ लिने छन्। आफुलाई मन पर्ने खेलाडी प्रधानमन्त्री बन्ने कुराले उनका लाखौं प्रसंशक जस्तै म खुशी हुनु स्वभाविक थियो। तर यो खुशी क्रिकेटको जितका लागि भए स्वभाविक हुन्थ्यो। मलाई यो राजनीतिक जितको खुशीमा केही अस्वभाविकता देखियो। यो खुशी नै दक्षिण एसियाको अलपत्र राजनीति र दुर्दशाको कारक हो झै लाग्यो।

प्रथमत : हामी चेतन या अर्धचेतन अवस्थामा एउटा संरक्षक या मालिकको खोजीमा हुन्छौं। अर्थात “ पेट्रोन क्लाइन्ट” मा सुरक्षित महशुस गर्छौं। हामी कुनै व्यक्तिलाई “लार्जर देन लाईफ” को आकार दिन्छौं। नेता त्यो आकार पाएर फुल्छन् र आफ्नो धरातल छाड्छन्। दोस्रो, हामी संस्था अर्थात “इन्स्टिच्यूसन” खडा गर्नमा लाग्छौं। त्यसपछि संस्थामा मुल्य र मान्यताका कुरा गर्न थाल्छौं। जबकी पहिले मुल्य र मान्यता तय गरेर त्यसको जगमा संस्था निर्माण गर्नुपर्ने हो।

यी दुई प्रवृतिले दक्षिण एसियाको लोकतन्त्रले सामाजिक न्याय, विकास र सम्वृद्धि दिनु भन्दा नाम ठुला भएका नेता मात्र जन्माएको छ। लोकतन्त्रलाई चुनावमा सिमित गरेको छ। चुनाव पछि सरकार र जनताबीच सम्बन्ध शून्य प्राय: बन्न पुग्छ।

पाकिस्तानको राजनीति अलि विचित्रको छ। त्यहाँको लोकतन्त्र सेनाले चलाउँछ। त्यहाँ कुनै पनि नेताको अरोह र अवरोह बडो नाटकीय हुन्छ। यसो भनि रहँदा पाकिस्तानी जनमतको अपमान गर्न खोजेको होइन। इमरान खान चुनाव जितेर आएका हुन्। यसमा कुनै सन्देह छैन। २०१८ को चुनावको केही समय अगाडि “लाहोर जल्सा” अर्थात र्‍यालीमा उनले पाकिस्तानी जनतालाई चार आग्रह गरे। जस्ले उनको राजनेता बन्न सक्ने क्षमता दर्शाउँछ। लाहोर जल्सामा उनले गरेका चार आग्रह :

१) हामी कहिलै झुटो नबोलौं, सदैब सत्य बोलौं।
२) हामी अहम् त्यागौं र राष्ट्रको बारेमा सोचौं। जहाँ ११ करोड मानिस गरिवीको रेखामुनि जीवन व्यतित गर्द्छन्।
३) हामी डरको साग्लो तोडौं।
४) हामी न्यायपूर्ण समाज स्थापना गर्न लागौं। यदी हाम्रो आफन्तले पनि अन्याय गर्दछ भने उसलाई पनि न्यायको काठघरामा ल्याऔँ।

लोकतन्त्र र सामाजिक न्यायको सुन्दर अभिव्यक्ति थियो त्यो।

यसरी न्याय र भ्रष्टाचारविरुद्ध नारा दिएर दक्षिण एसियामा थुप्रै पार्टी र व्यक्ति सत्तामा पुगेका छन्। तर भ्रष्टाचार झन जरो गाड्दैछ किनभने हामीले जनताको समस्यालाई सम्बोधन नै गरेनौं। पैसा, पद र शक्तिले सफलताको मापन गर्ने हाम्रो घर, समाजको मानसिकता परिवर्तन गर्ने राजनीतिको प्रारम्भ नभएसम्म, राजनीति चुनावमुखी मात्र हुनेछ। लोकतन्त्र शब्दमा सिमित रहनेछ। जसरी इमरान खानको व्यक्तिगत सफलताको चर्चा हुँदै छ यो ठिकै हो। उनलाई यहाँसम्म पुर्‍याउन शतप्रतिशत उनको धैर्यता, मेहनत र लगनशीलताले काम गरेको हो। तर चुनावी जितमा भने यो सतप्रतिशत लागु नहोला। किनभने १९९९ मा पर्वेज मुसर्रफको “कु” को समर्थन गर्ने इमरान नै हुन् र मुसर्रफले दिएको प्रधानमन्त्रीको कुर्सी नकार्ने पनि इमरान नै हुन्।

लाहोर जल्सामा भने झैं पाकिस्तान बनाउन इमरान खानले मुल्य र मान्यताको जग बसाल्नु पर्ने हुन्छ। पाँच सालभन्दा परको दुरदृष्‍टि राख्नु पर्ने हुन्छ। सेना र आइएस्आइको शासन चल्ने देशमा उनले यो गर्न सक्लान्? जवाफ खोज्न धेरै पछाडि इतिहासको गर्भमा जानु पर्दैन। मुसर्रफ र नवाज सरिफलाई हेरे पुग्छ।

क्रिकेटमा झैं इमरान खानको कार्यकाल सफल रहोस्। तर उनको आरोह जति नाटकीय छ, अवरोह त्यस्तै भयो भने? लोकतन्त्र फेरी एक पटक “नजरको धोखा” साबित हुनेछ।

प्रकाशित : श्रावण १७, २०७५ १२:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT