भान्सामा पाकेको आक्रोश

सहरका हरेक भान्सामा मुलुक हाँक्ने अख्तियारी लिएका ‘एलिट’ले गरेको निष्ठाच्युत राजनीतिको प्रतिबिम्ब देखिन्छ ।
उज्ज्वल प्रसाईं

काठमाडौँ — सन् १९५९, जुलाई २४ का दिन मस्कोमा आयोजित ‘अमेरिकन नेसनल एक्जिबिसन’ उद्घाटन कार्यक्रममा तत्कालीन अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन र सोभियत युनियनका नेता निकिता ख्रुस्चेवबीच रोचक संवाद भयो ।

प्रदर्शनीमा राखिएका भान्सामा प्रयोग हुने अत्याधुनिक सामान औंल्याउँदै निक्सनले भने, ‘अमेरिकामा हामी महिलाको जीवन सहज बनाउन खोजिरहेका छौं ।’ जवाफमा ख्रुस्चेवले भने, ‘महिलालाई हेर्ने तपाईंको पुँजीवादी नजर साम्यवादमा काम लाग्दैन ।’ विपरीत वैचारिक ध्रुवका यी दुई नेताबीच भएको ‘भान्सा–संवाद’ स्मरणीय छ ।

भान्सा राजनीतिमुक्त ठाउँ होइन । नेपाली घरका भान्सामा मूलत: दुई खाले राजनीति प्रतिविम्बित हुन्छन् । पहिलो, लैंगिक राजनीति । भान्सा त्यस्तो ठाउँ हो, जहाँ कैद गरेर महिलाको श्रम शोषण गरिन्छ । भान्सामा पुरुषले गरेको श्रमको मूल्य तोकिन्छ । श्रमिकका रूपमा भान्सामा पुगेका पुरुष व्यावसायिक कामदार हुन्छन् । नभए, भान्सा सम्हाल्नु उनीहरूको स्वतन्त्र चुनाव हुन्छ । महिलाका लागि भान्सा धेरैजसो बाध्यता हो, त्यहाँ उनीहरूले गरेको श्रमको उचित मूल्याङ्कन हुँदैन ।

Yamaha

दोस्रो, खाद्यान्न उत्पादन र उपभोगसँग जोडिएको राजनीति । कसका भान्सामा कस्ता उपभोग्य वस्तु पुग्छन् ? ती वस्तुको मात्रा र गुणस्तर केले निर्धारण गर्छ ? तिनको उत्पादन र वितरण प्रक्रिया बुझ्न खोज्नु अर्थराजनीति र सांस्कृतिक विमर्शमा प्रवेश गर्नु हो । कृषि, उद्योग, बजार र राज्यका अन्तरसम्बन्ध बुझ्न खोज्नु पनि हो । नेपाली भान्सामा प्रतिविम्बित भइरहेको यो दोस्रो राजनीतिबारे चर्चा गर्नु यो लेखको मुख्य ध्येय हो ।

पानी और जवानी
जवानी शब्दले स्वास्थ्य र तन्दुरुस्तीलाई इंगित गर्छ । कुनै अखाद्य वस्तु मिसावट नभएको, जरुरी मिनरल सहितको शुद्ध पानी प्रशस्त पिउन नपाई कोही स्वस्थ हुँदैन । शुद्ध पानीको अभावमा लाखौं मान्छेको ‘जवानी’ बेकार हुनसक्छ । काठमाडौं त्यसको सबभन्दा ठूलो प्रमाण हो ।

शक्ति र स्रोत केन्द्रीकृत भएको नेपालको सबैभन्दा ठूलो सहर हो, काठमाडौं । यो सहरमा हरेक साता चाहिने ४० करोड लिटरमध्ये उपत्यका खानेपानी लिमिटेड (केयुकेएल…) ले जम्मा ९ करोड लिटर पानी वितरण गर्छ । राज्यको भरपर्न छाडेका सहरवासी बजारमा आश्रित छन् । सबैभन्दा ठूलो स्रोत भनेकै निजी कम्पनीले ट्यांकरमा वितरण गर्ने पानी हो । पिउन निला जारमा भरेर ल्याइने पानी खरिद गर्छन् । बाहिर काम गर्ने सर्वसाधारण र यात्रुले पसलमा थाक लगाएर राखिएका ‘प्रोसेस्ड ड्रिङकिङ वाटर’का बोतल किन्छन् । सरसफाइका लागि पानी जोहो गर्न उस्तै हम्मे छ । निजी कम्पनीका पानी खरिद गर्न नसक्ने हजारौं गरिब परिवारले खतरा मोलेर असुरक्षित पानी उपभोग गर्छन् ।

काठमाडौंका भान्सामा ट्यांकर र जारमार्फत पुगेका खानेपानी शुद्ध भएकामा कोही ढुक्क छैन । बोतलमा पाइने प्रशोधित पानी खानयोग्य हो भनेर बोतल बेच्ने कम्पनी बाहेक अरू कसैले ठोकुवा गर्न सक्दैन । अनेक कारणले गुणस्तर रिपोर्टमा विश्वस्त हुन सकिँदैन । पानीको समस्या सम्बोधन गर्न सुरु गरिएको मेलम्ची आयोजनाले पानी होइन, भत्केका बाटा र धुलोका बाक्ला च्यादरमात्र दिएको छ । मेलम्चीको पानी घरका धारामा झर्ला र त्यो पानी स्वस्थ होला भन्नेमा सहरवासी आश्वस्त हुनसकेका छैनन् ।

काठमाडाैंको पानीको अभाव आफैमा शक्ति अभ्यास गर्ने र स्रोत दोहन गर्नेहरूको अदूरदर्शिताको प्रमाण हो । यो सहरका हरेक भान्सामा मुलुक हाँक्ने अख्तियारी लिएका ‘एलिट’ले गरेको निष्ठाच्युत राजनीतिको प्रतिविम्ब देखिन्छ । बेलैमा नसोचे, काठमाडौंले भोगेको पानीको दु:ख अन्यत्र पुनरावृत्त हुँदै जानेछ ।

गाउँ होस् वा सहर, पानीको दु:ख दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कुनै समझ र योजनाबिना विस्तार गरिएका सहरमा सोचेभन्दा छिटो पानी अभाव बढ्न थालेको छ । हिजो जति सहजै जमिन खनेर पानी निकालियो, आज त्यो काम दुरुह बन्न थालेको छ । पानीको सञ्चय सीमित छ, त्यो सञ्चय कायम राख्न एवं प्राकृतिक रूपमा पानी उत्पादन जारी राख्न असहज हुँदैछ ।

प्रशस्त पानी छ भनेर निश्चिन्त उपभोग वा दुरूपयोग गरिएका ठाउँमा समेत पानी अभाव बढ्न थाल्ने पक्का छ । जल–राजनीतिका अध्येता अजय दीक्षित लेख्छन्, ‘प्रदूषणका कारण पानीको स्रोतमा ह्रास नयाँ चुनौती हो । पानीको आवश्यकता बढेको छ, तर मूल सुक्न थालेका छन् । भू–जलको बढ्दो दोहन, चुरेभावर क्षेत्रमा वनजंगलमा र सिमसारको ह्रास, सहरीकरण र वर्षाको स्वभावमा परिवर्तनका कारण तराई–मधेसमा भू–जल भण्डारणको तह तल पुगेको छ ।’

प्रधानमन्त्री केपी ओलीले हालसालै दिएको पानी बेचेर धनी बन्ने गफ र यथार्थको यो चित्र एकअर्कामा मेल खाँदैनन् । आफै पानी अभावमा काकाकुल भइरहेको मुलुकले अर्बाैंको पानी बेच्ने गफ पचाउन सक्दैन ।

कराहीमा नपाक्ने तरकारी
पानी अभावले गाँजेको भान्सामा महँगो तरकारीले सकस थपेको छ । मुठ्ठीभर बिचौलियाले खाएका अचाक्ली मुनाफाका कारण लाखौं मानिसले उपभोग गर्ने तरकारी महँगो भएको छ । न तरकारी उत्पादन गर्ने कृषकलाई फाइदा पुगेको छ, न त बहुसंख्यक उपभोक्ताले लाभ लिएका छन् । बिचौलियाको प्रभाव सहजै घट्ने देखिँदैन । किनभने अनुगमन गर्न गएका सरकारी प्रतिनिधिलाई नै घेराबन्दी गर्ने ताकत देखाएका छन्, उनीहरूले । राजनीतिक आडबिना कोही त्यति बलियो बन्न सक्दैन ।

दस गुणासम्म बढी दाम हालेर ल्याइने तरकारी स्वस्थ छ भनेर ढुक्क हुन सकिँदैन । तरकारीमा मिसाइएका विषादी पानीले धोएर सफा तुल्याउन नसकिने विज्ञहरूले बताउने गरेका छन् । त्यसमाथि तरकारीको वजन बढाउन एवं तिनको रङ्गरूप राम्रो पार्न अखाद्य वस्तु प्रयोग गर्ने गरिएको प्रमाण फेला परेका छन् । सुई लगाएर ठूलो पारिएका काँक्रा र लौकाका किस्सा सुनाउनेहरूले भय थपेका छन् । सिमी र बोडीजस्ता तरकारी कराहीमा नपाकेका कारण कुकरमा हालेर दुई–चार सिटी लगाउनुपर्ने बाध्यता नभोगेका मान्छे कति होलान् र सहरमा !

तरकारी र फलफूलमा मात्रै समस्या होइन, दूध र मासुको गुणस्तरमा पनि विश्वस्त हुन सकिँदैन । ब्रोइलरमा प्रयोग हुने एन्टिबायोटिकका कथा रोचक छैनन्, दु:खदायी छन् । दूधमा कोलिफर्म जस्ता जीवाणुको मात्रा बढेको, दूध उत्पादन गर्ने कम्पनीले गुणस्तरमा ध्यान नदिएका खबर उस्तै डरलाग्दा छन् । चामलमा पालिस लगाइएको, पोषण कम भएको, आँटा र खानेतेलमा मिसावट भएका उदाहरण थुप्रै भेटिन्छन् । समय गुज्रेका फाष्टफुडको त कुरै नगरौं । सहरका भान्सामा आजकल तरकारीसँगै शंका र आक्रोश पनि पाकिरहेको छ ।

भान्सामा प्रधानमन्त्री
भान्सामा त्यसरी पाकिरहेको शंका र आक्रोशलाई सम्बोधन गर्न निष्ठा र इमानदारीको राजनीति जरुरी छ । तर प्रधानमन्त्री जस्तो जिम्मेवार संस्था दलाल र बिचौलियाको घेराबन्दी भएको खबर सार्वजनिक हुनुले राम्रो संकेत गर्दैन । गर्नुपर्ने कामका प्राथमिकता पहिल्याउन नसकी समृद्धिको आधारहीन गफ गर्दै हिँड्दा समस्या अझ विकराल बन्दै जानेछ ।

भान्साका मुख्य समस्यालाई सम्बोधन गर्ने कुनै ठोस कदम नचालेका प्रधानमन्त्रीले बरु सर्वसाधारणका भान्सालाई लोकरिझ्याइँका माध्यम बनाएका छन् । प्रत्येक भान्सामा पाइपमार्फत खाना पकाउने ग्यास पुर्‍याउने आश्वासन दिएका उनले गोबर ग्यास प्लान्टबाट विराटनगरमा बाँडिएका ३२ घरका चुला देखाएर आफूले देखेका समृद्धिका सपना पुरा हुनथालेको दाबी गरे ।

दशकौंदेखि गोबर ग्यासको उपयोग गरेर त्यसका फाइदा र सीमितताबारे जानकार बनेका सर्वसाधारणले उनको दाबी पत्याएनन् । सस्तो लोकरिझ्याइँले सर्वसाधारण जनताको भान्साको चासो सम्बोधन हुँदैन।

Esewa Pasal

प्रकाशित : भाद्र ७, २०७५ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सपनाको जीवन्त क्यानभास

जसले सपनालाई खुद्रा वा थोकमा बिक्री गरेका छैनन् र जसले सपनालाई यसै तुहिन दिएका छैनन्, ती कहाँ छन् ? ती यतै वरपर छन्, ती अझै सपना देखिरहेका छन् र ती निरन्तर बोलिरहेका छन् ।
उज्ज्वल प्रसाईं

तुहिएका सपनाहरू सजाउने कुनै संग्रहालय हुन्छ भने काठमान्डु आफैंमा त्यो संग्रहालय हो । त्यसो त हरेक सहरमा पूरा नभएका सपनाहरूका अग्ला मिनार ठडिएका हुन्छन् । अनेक सपना सजाएर यो सहर भित्रिने सयौं मानिसहरू आफ्नै सपनाको घाटमा कलाविहीन नृत्य नाचिरहन्छन् ।

किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड ।
अरू त तपसिलका कुरा
सुरुमा तिमीलाई नै हेर्नुछ मैले
साँच्चै,
कस्तो देखिन्छौ हँ तिमी यहाँ ?

–सङ्गीतश्रोता

किनाराको सन्नाटा

ज्ञान हासिल गर्न आएकाहरू सर्टिफिकेट बेच्ने पसल खोलेर बसेका छन् । कलाकारिताबाट उन्नत समाजको निर्माण गर्न आएकाहरू बजारको कठोर निर्देशनमा कम्मर भाँचेर गुजारा चलाउँछन् । कवितामार्फत प्रेम र परिवर्तनको झंकार पैदा गर्न आएका उम्दा कविहरू के गर्दै होलान् ? कोही चाकरीको बेसुरा छन्द मिलाएर बसेका छन्, कोही भर्खरै बनेको घरभित्र आफ्नै कविता थुनेर बाहिर सेल्फी खिच्नमा व्यस्त छन् । आदर्श समाजको निर्माणका लागि सत्ता पल्टाउन आइपुगेका क्रान्तिकारीहरू पुराना सपनाको निकम्मापन सिद्ध गरेर बनाएका नयाँ पक्की घरहरूमा कैद छन् । सामाजिक आन्दोलनका अभियन्ताहरू मौजुद मानवीय सम्बन्ध बदल्ने सपना सजाएर सहरमा उदाउँछन् । कहिले उनीहरूले थाहा पाएर र अक्सर उनीहरूले पत्तै नपाई आन्दोलन व्यक्तिगत नाफा–घाटाको बहीखातामा परिणत हुन्छ । त्यो बहीखाता उनीहरूका सपनाको चिहान हो ।
जसले सपनालाई खुद्रा वा थोकमा बिक्री गरेका छैनन् र जसले सपनालाई यसै तुहिन दिएका छैनन्, ती कहाँ छन् ? ती यतै वरपर छन्, ती अझै सपना देखिरहेका छन् र ती निरन्तर बोलिरहेका छन् । तिनले उरालेको ठूलो आवाजलाई मलीन बनाउन सहरको बजारु कोलाहल काफी छ । तिनको जिउँदोजाग्दो रूपाकृतिलाई कमजोर छायालाई जस्तै बेवास्ता गर्न सजिलो भएको छ । तिनले आफ्ना सपनाहरूका लागि घाट निर्माण गर्न अस्वीकार गरेकाले यो घाटे कोलाहलमा ती किनाराको सन्नाटा भएका हुन् ।
यस्तो घाटैघाटको सहरमा पुराना सपनाको सान्दर्भिकता खोजेर हिँड्न सजिलो छैन । सपनाको अभिलेख राखिदिने संस्थाहरूको निर्माण गर्न झन् अप्ठ्यारो छ । त्यस्ता संस्थाहरू निर्माण गर्नु आफैंमा नयाँ सपना उमार्नु हो जुन जोखिमपूर्ण हुन्छ ।

सन्नाटाको यस्तो एउटा रूप
केही दिनअघिको घटना हो । घाम चरक्क चर्केको थियो । अघिल्लो राति परेको दर्के पानीका अवशेष बाटाका खोबिल्टामा छँदै थिए । बाटोको एक चौथाइ भाग धूलोको कारखाना भएको थियो । प्रत्येक गाडीका पिँधबाट धूलोका ठूला च्यादर बुनिँदै आकाशतिर उडिरहेका थिए । सहरको कुनै व्यस्त चोकमा धेरै बेर उभिनु हानिकारक हुन्थ्यो । त्यसैले मास्कले मुख, चस्माले आँखा र टोपीले टाउकोसमेत छोपेर थुप्रै मान्छे ओहोरदोहोर गरिरहेका थिए । भेट्न आउनुपर्ने साथी नआएपछि, अलमलिएर त्यो चोकको बेकामे दर्शक भएको थिएँ म । मेरा आँखालाई जबर्जस्त सुरक्षा दिइरहेका चस्माको छेउबाट धूलोका कण पसेर आँखा चिलाउन थालेका थिए । यसै उभिएको देखेर हुनुपर्छ, बाटो अलमलिएका धेरैले उनीहरूका गन्तव्यबारे मलाई सोधेका थिए ।
केही बेर त्यसरी नै उभिएपछि, लगभग २० वर्ष जतिको केटो मेरो अघिल्तिर उभियो । उभिएर एक छिन चिन्न खोजेझैं गरेर हेर्‍यो । कोही चिनेकै मान्छे रहेछ कि, मास्कले अनुहार छोपेकाले ठम्याउन नसकिएको होला । एक पाइला अझै अघि बढेर नजिक उभियो र मुखमा लगाइरहेको मास्क तलतिर तान्यो । अनुहार नियालें, उसलाई कतै भेटेजस्तो लागेन । चिउँडोमा उम्रेका असरल्ल रौंहरू मास्कले अँठ्याउँदा आत्तिएजस्तो गरेर मास्कका किनार–किनारबाट बाहिर हुत्तिएका थिए । उसका दुवै आँखीभौं जोडिएका रनाकका पोरा किञ्चित ठूला । उसले लगाएको चस्मा पावरदार हुन सक्ने अन्दाज गरें । लुगा सामान्य थिए, मैलो जिन्समा उति मैलो नदेखिने कालो टिसर्ट लगाएको थियो । खुट्टामा साधारण चप्पल उनेको थियो । चस्मा माथिबाट हेरेर मसँग आँखा जुधाउँदै सोध्यो, ‘दाइ, यता नजिकै पुस्तकालय छ ?’
म एक छिन अलमलिएछु, छ वा छैन केही नभनेर उसलाई हेरिरहें । उसले दोहोर्‍यायो, ‘लाइब्रेरी के दाइ, कतै छैन ?’ मलाई दिन मन लागेको उत्तर थियो, ‘घाटहरू खोजेको भए सजिलै पाउँथ्यौ । जे दुर्लभ छ, त्यो खोजेर कहाँ भेटिन्छ ?’ तर मैले उसलाई थाहा भएन भन्ने छोटो र बेवास्तापूर्ण जवाफ फर्काएँ । ऊ एक छिन स्थिर उभिइरह्यो । एक छिनसम्म ऊ चुप लागेपछि, मैले सोधें, ‘किन चाहियो पुस्तकालय ? के खोज्नु थियो ?’
‘खोज्नुपर्ने धेरै छ । जुगेडी काण्ड भन्ने एउटा घटना रहेछ हाम्रो इतिहासमा । त्यो आजकल कसैले सम्झँदैन, त्यो घटनाबारे मलाई जान्न मन छ ।’
‘के रहेछ त्यो ? किन चासो भयो त्यो काण्डबारे ?’
नजिकैबाट मोडिएर एउटा ठूलो ट्रक बाटो लाग्यो । त्यसले हामीतिर एक मुस्लो धूवाँ फाल्यो । सँगसँगै धूलोको च्यादर पनि उडाएर आकाशतिर पठायो । केटोले मास्क तानेर मुख छोप्यो । मैले रुमाल निकालेर हतार–हतार नाक छोप्न खोजें ।
धूलो पातलिएपछि मुख उघारेर भन्यो, ‘भोकमरीबाट बाँच्न महाजनकहाँ धानचामल लुट्न गएका गरिब चेपाङहरूलाई प्रहरी लगाएर मारिएको घटना हो रे त्यो ।’
‘त्यस्ता घटना कति भए होलान् कति, त्यही किन बुझ्नुपर्‍यो ?’
‘गरिबहरूले आफ्नो मुक्तिका लागि गरेका त्यस्ता कामहरूको बारेमा बुझ्न मन लागेर खोजेको । त्यो मात्रै होइन, म अरू पनि त्यस्ता घटनाहरू के–के छन्, खोज्दै छु ।’
‘भाइ थेसिस लेख्दै हो ?’
‘होइन । म भर्खर ब्याचलर्स पढ्दै छु, म्यानेजमेन्ट । मलाई यसै इतिहास बुझ्न मन लागेर खोजेको । हामीलाई पढाएको इतिहासमा यस्ता घटनाहरू रहेनछन् ।’
‘के गर्छौ यस्तो बिर्सिएका घटना उधिनेर ? के काम छ यी बितेका पुराना चीजहरूको ? खुरुखुरु जाँच पास गरेर जागिर खोजे भयो नि ।’ म उसलाई उकेरा लगाउन खोजिरहेको थिएँ ।
फेरि दुई–चार गाडी ताँती लागेर हाम्रा छेउबाट अघि बढे । यो ‘नो हर्न’ सहरमा तिनले बजाएको हर्न र उडाएको धूलोले हामीलाई केही क्षण बिथोल्यो ।
माहोल अलि शान्त भएपछि उसले नाक मुसार्दै भन्यो, ‘अनपढ, गरिब र शासक समुदायबाहेकका मान्छेहरूमा समेत विद्रोही तेवर रहेछ नि । तिनले पनि सपना देखेका रहेछन्, त्यसको अर्थ बुझ्न खोजेको । प्राय: सबै ठूला जातका र मध्यमवर्गीय मानिसहरूले नै आन्दोलन र विद्रोह गरेका किस्सा सुन्न पाइन्छ ।’
एक छिन मौन भयौं हामी । फेरि उही बोल्यो, ‘अँ जागिरको कुरा गर्नुभयो । हिसाब गर्न सिकाएका छन्, कुनै साहुकहाँ गएर पैसा गन्ने काम गरुँला नि दाइ । त्यस्ता काम गरेर भए पनि आफ्नो रुचि त छोड्नुभएन नि ।’ अनि फिस्स हाँस्यो, मैले खित्का छोडें । समय कति पनि बितेको छैन, ऊ मलाई धेरै अघिदेखि चिनेको मान्छेझैं लाग्न थाल्यो । आजकल केही न केही खोजेर हिँडिरहेका यस्ता तन्नेरी साथीहरू भेट्न थालेको छु, सडकहरूमा ।
त्यसपछि त्रिभुवन विश्वविद्यालयको पुस्तकालय, राष्ट्रिय पुस्तकालयलगायत सहरका अरू केही पुस्तकालयहरूको नाम लिएँ । गैरसरकारी संस्थाहरूले चलाएका पुस्तकालयका ठेगाना दिएँ । मैले भनेका प्राय: सबै ठाउँ पुगिसकेको रहेछ ऊ । कतिपय पुस्तकालयको बिजोग हालत सुनाउन्जेल हामी सडकमै उभिइरह्यौं, ‘सरकारी पुस्कतालयहरू बर्बाद भएका छन् । भुइँचालोले त असर गर्‍यो नै, कसैले ध्यान नदिएर झन् बर्बाद भएको छ । नयाँ सामग्री थप्ने र स्तर बढाउने त कुरै नगरौं ।’ उसले चाहिएका सामग्री फेला पार्न नसकेको सुनायो । मैले कतै गएर चिया पिउने प्रस्ताव राखें, उसले सहजै स्विकार्‍यो ।
पुस्तकालय खोज्दै सडकमा भौंतारिएको यो नयाँ साथीलाई लिएर रेस्टुरेन्ट पसें । हामी जहाँ बस्यौं, त्यो केही उँचो ठाउँ भएकाले सहरको एउटा भाग राम्रोसँग देखिन्थ्यो । सहर भन्नु उही घरका जंगल न हुन् । भर्खरै बनेका केही अग्ला टावरहरू ती मझौला घरका चौकीदारजस्ता देखिएका थिए । त्यसो त ती टावरले आफ्नो अग्लोपनका कारण मझौला घरहरूको एकोहोरोपन तोडेका थिए ।
घर र टावरहरूतिर हेर्दै हामी गफियौं । जुगेडीका गरिबहरूले उहिल्यै देखेका सपनाका सिला खोज्दै हिँडेको यो युवक आफैंमा सपना जोगाउने किनाराको सन्नाटाझैं लागेको थियो मलाई । ती गरिब चेपाङहरूले देखेका सपना पूरा हुन सकेको भए वा कम्तीमा सपनाकै रूपमा ती जोगिन सकेको भए सम्भवत: उसले अध्ययन सामग्री सजिलै फेला पाथ्र्यो । ती सपना जोगाउने दायित्व पाएका मानिसहरूले सत्तामा पुगेका बेला तिनै सपनाहरूलाई निकम्मा साबित नगरेका भए, त्यस्ता सपना साँचिदिने पुस्तकालयहरू बनाउँथे होलान् । मैले यति भनेपछि, उसले हामी आफैंले सपना बुनेर साँचे कसो होला भनेर प्रस्ताव गर्‍यो । उसले र मैले चिया पिउँदै एउटा सुन्दर सपना रच्यौं ।

सपनाको नयाँ क्यानभास
सहरको माझमा कुनै परम्परागत वास्तुकलाको झल्को दिने भवन र त्यसअघिल्तिर खुला ठाउँमा हरियो चौर, किनारामा सुन्दर फूलहरू । भवनका छेउछाउ केही हरिया रूखहरू । रूखमुन्तिर सुस्ताउनलाई बनाइएका मेचहरू । प्रांगणको एक भागमा सामान्य मानिसका संघर्ष झल्काउने सुन्दर मूर्ति सजाइएको । अर्कोतर्फ चिया कफी पिएर गफिन मिल्ने सफा र आफैंमा एउटा कलाकृति भन्न मिल्ने चमेनागृह । त्यहाँ बसेर अनेक विषयमा गफ गरिरहेका वयस्क र तन्नेरीहरू ।
सपनाको क्यानभासको किनारामा यस्तो एउटा बुट्टा भर्‍यौं ।
भवनभित्र अत्याधुनिक पुस्तकालय । बसेर पढ्ने फराकिलो, उज्यालो र शीतल कक्षहरू । अनेक विषयका पुस्तकहरू छुट्याएर राखिएका भिन्न–भिन्न कोठा र हारहरू । अनेक महत्त्वपूर्ण दस्तावेज र पाण्डुलिपिलाई अत्यन्त व्यवस्थित र अत्याधुनिक प्रविधिको प्रयोगबाट बँचाएर राखिएका विभिन्न कोठाहरू । इन्टरनेट जडान गरिएका प्रशस्त कम्प्युटर र पुस्तक पढ्न मिल्ने ग्याजेटहरू जसलाई सदस्य अध्येताहरूले सहजै लिएर अध्ययन कक्षमा बसेर प्रयोग गर्न सकुन् । बालबालिका आएर पढ्न र खेल्न मिल्ने छुट्टै ठाउँ । अध्ययन कक्षमा किताबमा एकोहोरिइरहेका पढन्ते, पुराना पाण्डुलिपिको अर्थ खुट्याउनमा निमग्न युवा अध्येता, सफा कागजमा नोट लिँदै गरेका थुप्रै महिला र पुरुषहरू । यी सबै अध्ययनशील मान्छेहरूलाई जति बेला पनि सघाउन तत्पर हँसिला कर्मचारीहरू । पुस्तकालयको सजिलो र सक्दो बढी उपयोग गर्ने उपाय सिकाउन जुनसुकै बेला तयार हुने लाइब्रेरियनहरू ।
सपनाको क्यानभासबीचको एक अंशमा अर्को एउटा सुन्दर बुट्टा थप्यौं ।
पुस्तकालयमा नेपालमा बोलिने सबै भाषामा लेखिएका पुस्तक, पाण्डुलिपि, पुराना अभिलेखहरू सबै संग्रह गरिराखिएको । अनेक भाषामा बनेका र रेकर्ड भएका नयाँ पुराना सिनेमा, गीत, संगीत, फोटो र दुर्लभ कलाकृतिहरूसमेत संग्रह गर्न थालिएको । यी सबै सम्पदालाई जोगाएर राख्न उपयोगी प्रविधिको प्रयोग गरिएको । यो पुस्तकालयलाई सामाजिक जागरण अभियानका रूपमा सञ्चालन गर्न देशका अन्य भागहरूमा समेत शाखाहरू खोल्न थालिएको । शाखाहरूले स्थानीय कला, साहित्य र संस्कृतिको प्रवद्र्धन र विस्तारका लागि उपयोगी योजनाहरू बनाउन थालेको ।
सपनाको क्यानभासमा बीचको अर्को अंशमा यस्ता रेखाचित्र कोर्‍यौं ।
‘के काठमान्डुमै यस्तो पुस्तकालय बनाउने हो ?’ उसको प्रश्नको सपनाबाट ब्युँझाएको थियो । मैले आफ्नै नगरको शीतल शिवालय डाँडोको कल्पना गर्न थालें जहाँ अहिले सशस्त्र प्रहरी क्याम्प बसेको छ । सम्भवत: ऊ आफूले खेलेको कुनै खुला ठाउँमा त्यस्तो संरचना उभ्याएको कल्पना गर्न थाल्यो ।
सपना बुनिसकेर उठ्ने बेलाम आफंैभित्र केही फेरिएजस्तो महसुस गरें । शरीरमा हलुका स्फूर्ति बढेजस्तो भयो । ऊ पनि अघि भेटेको भन्दा बढी खुसी देखिन्थ्यो । नयाँ मित्रतालाई उभ्याउने र लामो समय थेग्ने सपनाको नयाँ फलक बनाएका थियौं हामीले । त्यो छिट्टै पूरा हुने छैन तर हरेकपटकको भेटमा हामी त्यही क्यानभासमा नयाँ बुट्टा भर्दै त्यसलाई जीवन्त राख्न सक्छौं । किनारामै किन नहोस्, एउटा सुरिलो धुन बज्न थालेको अनुभूत गरेर हामी छुट्टिएका थियौं त्यस दिन ।

नजलेका नेपाली जाफ्नाहरू
घर फर्केपछि पुस्तकालयबारे लेखिएका कविता र निबन्ध पढ्न मन लाग्यो । आफूसँग भएका सामग्री पल्टाउने क्रममा श्रीलंकाको जाफ्ना पब्लिक लाइब्रेरीबारे गणेश सुन्दरनको लेख भेटें । सो लेख आफैंमा पुस्तकालय बनाउन गरिएको संघर्षको कथा त हो नै, बनिसकेको संरचना ध्वस्त बनाइएकोमा लेखिएको शोकपत्र पनि हो ।
सन् १९५९ देखि ठूलो मिहिनेत र सयौं मानिसहरूको सहयोगले खडा भएको लगभग एक लाख सामग्री संग्रहित भइसकेको पुस्तकालयमा १९८१ मा आगो लगाइयो । त्यस बेला यो पुस्तकालयलाई एसियाकै ठूलो मानिन्थ्यो । नब्बे हजारभन्दा बढी पुस्तक र पाण्डुलिपिहरू जलेर खरानी भए । तीमध्ये अधिकांश एक प्रति मात्रै भएका दुर्लभ पाण्डुलिपिहरू थिए, जो सधैंका लागि नासिए । त्यो आगो लगाउने कृत्यलाई तामिल अध्येताहरूले ‘संस्कृति संहार’ भने । नरसंहारभन्दा बढी दुष्प्रभावी र क्रूर काम थियो त्यस्तो संहार । सिंहाली प्रहरीहरूसमेतको संलग्नतामा सो दुष्कर्म गरिएको दाबी छ । डढेको पुस्तकालयलाई फेरि एकपटक बडो मिहिनेत गरेर तमिल विद्वान्हरूले पुनर्निमाण गरे । दोस्रोपटक सन् १९८५ मा फेरि आगो लगाइयो । त्यस बेला लगभग आठ हजार सामग्री डढेर खरानी भए । सिंगो तमिल सभ्यता र संस्कृतिलाई ध्वस्त बनाउन त्यही एउटा पुस्तकालय जहिल्यै तारो बनिइरह्यो । श्रीलंकामा लामो समय चलेको जातीय द्वन्द्वका कारण र खासगरी सिंहाली सत्ताको अहंकारका कारण जाफ्नाजस्ता अरू साना पुस्तकालयमा संग्रहित गरिएका मूल्यवान दस्तावेज र ज्ञानका अभिलेखहरू नष्ट भए ।
सन् २००३ मा आएर फेरि एकपटक सो पुस्तकालय खुलेको छ । अहिले तमिलभाषीहरूले पुस्तकालयको भरपूर उपयोग गरेका छन् । त्यसलाई आफ्नो गर्विलो पहिचान बनाएका छन् । तर, जलाइएको पुस्तकालयलाई उनीहरूले जस्ताको त्यस्तै राख्न खोजेका थिए ताकि त्यो कुकृत्यको इतिहास पुस्ता दरपुस्ताले देखुन् । आगोले खाएको बिरूप संरचना देखेर कसैले फेरि त्यस्तो दुष्कर्म नदोहोर्‍याउन् । तर, श्रीलंकाली सत्ताले आफ्नो संलग्नतामा भएको संहारको इतिहास ज्युँदो राख्न चाहेन ।
जाफ्ना पुस्तकालयमा लगाइएको आगोबारे पढ्दा मैले आफैंले बनाएको सपनाको क्यानभास डढेको कल्पना गरें । सपना डढेको कल्पनाले मात्र पनि द्रवित बनायो । आखिर हामीले बुनेको सपनाको च्यादर जाफ्नाजस्तै देखिन्थ्यो । ठूलो दु:ख र मिहिनेतले बनाइएका पुस्तकालय डढाउनेहरू अपराधी हुन् । सपना जल्न नदिनु अपराधी हुनबाट जोगिने प्रयत्न गर्नु हो । म आफ्नै सपना पुर्ने घाट उभ्याएर अरू थुप्रैले जस्तो कलाविहीन नृत्य नाच्न चाहन्नँ । तर, भएका पुस्तकालयहरू लापरबाही र बेवास्ता गरेर सिध्याउन संलग्नहरूले के सोचिरहेका होलान् ? के ती जाफ्ना जलाउनेहरूभन्दा बढी संवेदनशीलता भएका मानिस हुन् ? जाफ्ना डढाउने बुद्धका अनुयायीहरूले बुद्ध अर्थात् ज्ञानको हत्या गरेका थिए । हाम्रा पुस्तकालयलाई नडढाई सिध्याउनेहरूले गरेको कृत्यलाई के भन्ने ?

गए राति सपनामा
हत्या भएको देखेको थिएँ,
बुद्धलाई गोली हानेका थिए,
प्रहरीहरूले
जो कानुनका रखवाला हुन् ।
जाफ्ना पुस्तकालयको
भर्‍याङमा पल्टेको बुद्धको शरीर
रगतले लछ्र्याप्पै भिजेको थियो ।

– एस. पथमन्थन

प्रकाशित : असार २४, २०७४ १०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT