१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्मृतिमा झा

श्रद्धाञ्जली
मधुवन पौडेल

काठमाडौँ — त्यो घडी अर्थात् परराष्ट्र मन्त्रालयको सेवामा रही लामो समय बिताउनुभएका एक वरिष्ठ व्यक्तित्वको दु:खद अवसान भएको खबर आएको दिन म आफ्नै निजी काममा सहरबाट टाढा पुगेको थिएँ । अकस्मात एकजना सहकर्मी मित्रको फोनबाट यसबारे सुन्दा स्तब्ध हुनु स्वाभाविकै थियो ।

स्मृतिमा झा

त्यसपछि अन्तिम संस्कारको दिन, बुधबार साँझ । अपराह्न पशुपति आर्यघाटको शवदाह गृह प्रांगणमा भेला भएका सबैजनालाई झट्ट हेर्दा सबैको अनुहारमा सन्ताप, कौतुहल र शोक स्पष्ट झल्किन्थ्यो । सबैले अथक भएर हेरिरहेका थिए— एउटा निर्मम र अहिलेसम्म रहस्यमय रूपमा रहेको हत्याको सिकार हुनपुगेका पूर्वराजदूत, परराष्ट्र सेवाका पूर्वकर्मचारी र पूर्वप्राध्यापक स्व. केशवराज झाको शव, जुन पहेंँलो आवरण र फूलमालाभित्र केवल एउटा अवशेष रूपमा रहन पुगेको थियो ।

मन्त्रालय र नियोगमा झन्डै ३६ वर्ष सेवामा रहँदा पनि मलाई झासँग काम गर्ने संयोग जुरेको थिएन । तर सेवानिवृत्त भएपछि परराष्ट्र सेवाका पूर्वराजदूतको संगठन ‘अफकान’ मा ३ वर्ष उहाँ अध्यक्ष हुँदा म कोषाध्यक्ष भएकाले केही सान्निध्यता भएको थियो । मसँगको व्यवहारमा उहाँ सधैं मृदुभाषी, सहयोगी र अत्यन्त आत्मीय रहनुभयो । पूर्वराजदूत एवं पूर्व परराष्ट्र सविच मदनकुमार भट्टराई र मैले परराष्ट्र सेवा प्रवेश गर्दा उहाँ परराष्ट्र मन्त्रीको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । मैले सुने अनुसार उहाँले पूर्वराजदूत एवं परराष्ट्र मन्त्री गेहेन्द्रबहादुर राजभण्डारी र शैलेन्द्रकुमार उपाध्यायको निजी सचिवको रूपमा पनि काम गर्नुभएको थियो ।

२०३६ सालतिरको कुरा हो । परराष्ट्र सचिव उद्धवदेव भट्ट संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि हुनुभएपछि जगदीश शमशेर राणाले परराष्ट्र मन्त्रालयको सचिव कार्यभार सम्हाल्नुभएको थियो । त्यसलगत्तै सचिव राणालाई नेपाल विश्व सम्बन्ध परिषद्ले नेपालको परराष्ट्र नीतिबारे बोल्न निम्त्याएको थियो । त्यही बेला मेरो राजदूत केशवराज झासँग कुराकानी भएको थियो । ९ वर्षको अन्तरालमा लोकसेवाको खुला प्रतियोगिताबाट परराष्ट्र मन्त्रालय प्रवेश गरेका हामी तीन जनालाई नेपाल विश्व सम्बन्ध परिषद्को सदस्यता लिन प्रेरित गर्दै हुनुहुन्थ्यो, प्रायश: उहाँ आफूभन्दा कनिष्ठ कर्मचारीलाई ‘भाइ’ अथवा नामको पछाडि ‘जी’ लगाएर सम्बोधन गर्नुहुन्थ्यो ।

‘लौ भाइ † काउन्सिलको सदस्य बन्नुपर्छ, अब † काम लाग्छ †’ झा सरका यी शब्दहरू अझै कानमा गुञ्जिरहे जस्तो लाग्छ । तर त्यस लगत्तै उहाँ नियोगतिर सरुवा हुनुभएकाले त्यति निकटता हुन पाएन । परराष्ट्र सेवाको अवधिमा म र उहाँ मन्त्रालयमा ज्यादै कम समय सेवारत थियौं अर्थात् म मन्त्रालय हुँदा उहाँ नियोगमा हुने र उहाँ मन्त्रालयमा हुँदा म धेरैजसो समय नियोगतिरै खटिएको हुन्थेंँ । हामीले सेवा प्रवेश गरेको केही समयमै झा संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगमा काउन्सिलर पदमा आर्थिक एवं सामाजिक परिषद्को काम हेर्नेगरी सरुवा हुनुभएको थियो ।

न्युयोर्कस्थित नियोगमा काम गर्नुअघि केशवले तत्कालीन पश्चिम जर्मनीको बोनस्थित नेपाली राजदूतावासमा पनि लामो अवधि सेवा गर्नुभएको थियो । विदेशमा रहँदा नेपाली समुदायलाई सहयोग गर्ने, उचित सल्लाह दिने, आत्मीयता देखाउने कूटनीतिक अधिकारीको रूपमा उहाँ चिनिनुभएको थियो । नेपालभित्र मन्त्रालयमा काम गर्दा उहाँको नयाँ पुस्ता र प्रेस जगतसँग राम्रो सम्पर्क थियो । पशुपति आर्यघाटमा उहाँलाई श्रद्धाञ्जली दिन उपस्थित पुराना पुस्ताका पत्रकार, वरिष्ठ राजनीतिज्ञ र विभिन्न क्षेत्रका प्रोफेसनलहरूको भिडले पनि यो कुरालाई पुष्टि गरेजस्तो लाग्यो ।

संयुक्त राज्य अमेरिकाबाट फर्केपछि उहाँले युरोप, अमेरिका महाशाखा प्रमुख र लगत्तै चिफ अफ प्रोटोकल रूपमा काम गर्नुभयो । शिष्टाचार महापालकै पदमा काम गर्दागर्दै उहाँ फ्रान्सका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको थियो । परराष्ट्र सेवामा कार्यरत हुँदा राजदूत झाले विभिन्न अन्तर्राष्ट्रिय एवं राष्ट्रिय कार्यक्रममा सहभागी भएर एक कुशल कूटनीतिज्ञको भूमिका निर्वाह गर्नुभयो र नेपालको परराष्ट्र नीति अनुरूप नेपालको छवि उज्ज्वल पार्न आफ्नो तहबाट योगदान गर्नुभयो ।

गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत र युनेस्कोका लागि स्थायी प्रतिनिधिको रूपमा पेरिसमा कार्यरत हुँदा झाले फ्रान्स र आफू सहप्रमाणीकरण भएका युरोपेली देशसँगको द्विपक्षीय सम्बन्ध दिगो र सुदृढ बनाउन पनि ठूलो योगदान गर्नुभएको थियो । युनेस्कोमा पहिलोपल्ट ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश पनि राजदूत झाको कार्यकालमा दिइएको रहेछ । साथै नेपालको शैक्षिक विकास, सांस्कृतिक सम्पदाको संरक्षण र नेपालभित्रका ऐतिहासिक एवं प्राकृतिक सम्पदालाई ‘वल्र्ड हेरिटेज’ सूचीमा नामांकन गराउने कार्यमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो ।

राजदूत झाले दुईपटक नेपाल विश्व सम्बन्ध परिषद्को नेतृत्व गर्नुभयो र विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समसामयिक विषयमा बौद्धिक अन्तरक्रियाको आयोजना गर्नुका साथै नेपालको परराष्ट्र नीतिलाई समय र परिवेश अनुसार विकास गर्न, सुधार गर्न र परिमार्जन गर्न पनि ठूलो योगदान गर्नुभयो । केही समय अघिसम्म उहाँ परराष्ट्र सेवाको पूर्वराजदूतको संगठनको सभापतिको भूमिका निर्वाह गर्नुहुँदा संगठनको तर्फबाट परराष्ट्र मन्त्रालयलाई बेला–बेलामा सल्लाह–सुझाव दिने कार्यको पनि संयोजन गर्नुभयो ।

एउटा सामाजिक र निष्कपट व्यक्तित्वको रूपमा आफ्नो छवि बनाउनुभएका राजदूत झाको दु:खद अवसान, त्यो पनि निर्मम हत्या आफैं पनि एउटा पीडादायी घटना हो । अलविदा राजदूत केशवराज झा !!

पौड्याल पूर्वराजदूत हुन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?