१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘रोल–मोडल’

मदनकुमार भट्टराई

काठमाडौँ — मैले आजभन्दा ४५ वर्षअघि केशवराज झालाई चिनेको हुँ, परोक्ष रूपमा । प्रत्यक्ष भने २०३४ सालमा म लोकसेवा आयोगबाट परराष्ट्र छिर्नासाथै एउटै कूटनीतिक सञ्जालमा हामी काम गर्ने भयौं । त्यसबेला झा शाखा अधिकृत हुनुहुन्थ्यो, तत्कालीन परराष्ट्र मन्त्री कृष्णराज अर्यालको पीए हुनुहुन्थ्यो ।

‘रोल–मोडल’

परराष्ट्रमा १०/१२ वर्षको अनुभव भैसकेका अधिकृत भए पनि अग्रजभन्दा अनुजसँग हेलमेल र कुराकानी गर्न रुचाउने स्वभाव थियो, उहाँको । सहयोगी र हक्की स्वभावसमेत थियो । त्यो बेला शाखा अधिकृतमा आफ्नै गाडी चढेर आउनेहरू एकदमै सीमित थिए । त्यसमा केशवराज पर्नुहुन्थ्यो । प्रबल शमशेर, नारायण शमशेर थापा, इन्द्रबहादुर सिंह पनि ‘गाडी चढ्ने अधिकृत’ हुनुहुन्थ्यो । हामी अरुहरू भने साइकल–मार्का थियौं । केशवराजले जर्मनीको ४ वर्षे पोष्टिङ पनि पूरा गरेर आइसक्नुभएको थियो । उपसचिवमा बढुवा भएपछि भने केशवराज झाको वासिङटन पोष्टिङ भयो । त्यहाँ केही महिनामात्रै रहेर फेरि न्युयोर्क तानिनुभयो ।

संयोगले तत्कालीन परराष्ट्र मन्त्री केबी शाहीको न्युयोर्क भ्रमण (२०३७) का बेला म मन्त्रीको सहयोगी भएर पहिलोपटक अमेरिका भ्रमणमा जाने भएँ । झन्डै एक महिना लामो भ्रमणमा केही दिन केशवराजकै क्वार्टरमा म आश्रित रहेंँ, संगत र साहचर्य बढाउन त्यो बसाइ निकै अर्थपूर्ण रह्यो । न्युयोर्कबाट काठमाडौं फिरेको केही समयमा मेरो पोष्टिङ कोलकाता भयो । म कोलकाता रहेकै बेला केशवराजको छोरा किरणराजले कोलकाताबाट एमबीबीएस गर्ने भएपछि झा परिवारसँग मेरो पारिवारिकझैं घनिष्ठ साइनो जोडियो, एकअर्कालाई हेरविचार गर्ने तहको । कोलकातापछि म दिल्ली पोष्टिङमा गएको थिएँ ।

कूटनीतिज्ञ झालाई स्मरण गर्नुपर्दा आज उहाँको जनसम्पर्क क्षमता (पब्लिक रिलेसन्स) लाई साह्रै विशिष्ट तवरले सम्झन्छु । आज परराष्ट्रका धेरै साथीभाइमा खट्कने कुरै यही हो, पब्लिक रिलेसन्स नभएको अवस्था । देश बाहिर सबैलाई चिन्ने, नेपालभित्र कसैलाई नचिन्ने अवस्था छ । अनि मिडिया भन्नासाथ भागेर हिंँड्ने बानी छ, धेरैको । केशवराज झा मिडिया र पत्रकार भनेपछि सधैं उपलब्ध र सहज रहनुभयो ।

यस अर्थमा केशवराज झा मेरालागि ‘रोल मोडल’ हुनुहुन्थ्यो, जो पब्लिक रिलेसन्स राख्नमा एकदमै अब्बल र मिडियासँग पनि सहज हुनुहुन्थ्यो । विशेषगरी पब्लिक रिलेसन्सकै कारण जेजस्ता कामहरू पनि सहजै सम्पन्न हुन्थ्यो । पदीय बढुवा क्रममा केही बाधा–कठिनाइ बेहोर्दै उहाँ सहसचिव हुनुभयो । अनि चिफ अफ प्रोटोकल र त्यसपछि फ्रान्सको राजदूत हुनुभयो— २०४९ सालमा । नेपाललाई युनेस्को बोर्डमा लैजाने अवसरदेखि नेपाल–फ्रान्स विशिष्ट सम्बन्धको पाटो तय गर्नेसम्मका काम राजदूत केशवराजकै पालामा भए ।

उहाँ ३४ वर्षसम्म परराष्ट्र सेवामा रहेर बहुपक्षीय, द्वैपक्षीय सम्बन्धका आयाम केलाउने योग्य कूटनीतिक हुनुहुन्थ्यो । फ्रान्समा राजदूत छँदै केशवराजले सन् १९९६ मा युनेस्कोमा ‘बुद्ध वाज बोर्न इन नेपाल’ भन्ने प्रस्ताव लगेर पारित गराएको सन्दर्भ पनि मैले सुनेको छु । विश्व सम्बन्ध परिषद्का माधवजी श्रेष्ठसँग त्यस बारेको आधिकारिक कागजात ‘रेकर्ड’ छ भन्ने थाहा पाएको छु ।

केशवराज विश्व सम्बन्ध परिषद्को अध्यक्ष हुनुभयो, पूर्व राजदूतको संगठन (अफगान) मा अध्यक्ष रहनुभयो । केशवराज फ्रान्सको राजदूत भएर फर्केको ७ वर्षपछि होला, संयोगले म एउटा कूटनीतिक वृत्तको जमघटमा पुगेको थिएँ । भर्खरै मलाई जर्मनका लागि राजदूत सिफारिस गरिएको थियो । त्यो जमघटमा त्यसबेलाका काठमाडौंस्थित फ्रेन्च राजदूत पनि भेटिनुभयो ।

फ्रान्समा नेपाली राजदूत पद लामो समयदेखि रिक्त राखिएकोमा एकातर्फ चर्को गुनासो त थियो नै, एकैसाथ फ्रेन्च राजदूतले ‘पेरिसमा केशवराज झा भन्ने साँच्चिकै सक्रिय र स्मरणीय नेपाली राजदूत हुनुहुन्थ्यो’ भन्दै सम्झनु भएको थियो । आज अग्रज राजदूत केशवराज झा यो धर्तीमा नरहेका बखत नेपाल–फ्रान्स सम्बन्धको त्यो बेलाको उचाइ र सम्बन्धमा देखिएको ‘इङ्गेजमेन्ट’लाई पनि एकैसाथ सम्झनैपर्छ ।

नेपालको पुरानो र हितैषी मित्र फ्रान्सले आज काठमाडौंमा रहेको आफ्नो सम्पत्ति बेचबिखन गरिसकेको छ, द्वैपक्षीय सम्बन्धमा यो ‘अर्थपूर्ण’ कुरा हो । आफ्नो छोरा डा.किरणराज र छोरी डा.राजश्रीको कार्य उपलब्धि र सफलताबाट झा निकै प्रसन्न हुनुहुन्थ्यो । अघिल्लो शुक्रबार रातिमात्रै पनि त्यो प्रसन्नता उहाँले फोनमा सुनाउनुभएको थियो । म केही महिनाको अन्तर पारेर चिया गफमा थापाथलीस्थित झा निवास पुगिरहेको हुन्थेंँ । अग्रज झाको हार्दिकता, सकारात्मकता र अपनत्व भुल्न मुस्किल छ । हार्दिक श्रद्धासुमन ।

भट्टराई पूर्वपरराष्ट्रसचिव हुन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?