२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मैले भोगेको त्यो समय

हामीले भोगेको र बेहोरेको त्यो समय र हाम्रा छोराछोरी, नातिनातिनी हुर्कंदाको यो समयमा व्यवहारमै आएका परिवर्तन देखेर अहिले अचम्म लाग्छ । कत्रो परिवर्तन ८/९ दशकमा ?
भैरव रिसाल

काठमाडौँ — रोग झाडाबान्ता उपचार आर्यघाट !मेरी आमालाई झाडाबान्ता लागेछ । उहाँलाई अस्पताल होइन, पशुपति आर्यघाट लगिएछ । त्यसरी अस्पताल नलगी आर्यघाट लैजाने निर्णय मेरा बाको सहमतिमा भएछ । बाको सहमति लिने कठोर त्यो निर्णयमा गाउँका बाभन्दा जेठाबाठा जान्ने–सुन्ने बाले पनि मान्ने बुजु्रकहरूको परामर्श प्रमुख कारण हो ।

मैले भोगेको त्यो समय

मेरी आमालाई झाडाबान्ता लागेछ । उहाँलाई अस्पताल होइन, पशुपति आर्यघाट लगिएछ । त्यसरी अस्पताल नलगी आर्यघाट लैजाने निर्णय मेरा बाको सहमतिमा भएछ । बाको सहमति लिने कठोर त्यो निर्णयमा गाउँका बाभन्दा जेठाबाठा जान्ने–सुन्ने बाले पनि मान्ने बुजु्रकहरूको परामर्श प्रमुख कारण हो । यो कुरो हो आजभन्दा ८७ वर्ष अघिको या १९८७ असारको । मेरी आमा त्यहीं आर्यघाटमा बित्नु भएछ । म टुहुरो भएँ, ३ वर्षको उमेरमै ।

बा विधुर हुनुभो, ४४ वर्षको उमेरमा । मेरो एउटा भाइ थियो रे एक वर्षको । ऊ पनि बितेछ, म थाहा पाउन्न । त्यो युगमा झाडापखालाका बिरामीलाई पानीको थोपो पनि खान नदिने चलन रहेछ । पानी खान दियो भने त्यो पानीले झन् बढी दिसा र बमन हुन्छ भन्ने मान्यता रहेछ । कहाँको झाडाबान्ता–दिसा बमन, कहाँ पानीको थोपो पनि खान नदिने । बिरामीले आफ्नै बलमा पानी खाला भनी पानीका भाँडा लुकाइदिने गर्थे रे । त्यतिबेलाको काठमाडौं खाल्डोको गुन्डु तिथलीको स्वास्थ्य स्थितिको शब्द चित्र हो, यो ।

त्यतिबेला मेरी आमालाई आर्यघाट नलगी अस्पताल लगेको भए उहाँ बाँच्नुहुन्थ्यो, पक्कै । । म टुहुरो हुने थिइन, मेरो वा विधुर हुनु पर्दैनथ्यो । सायद मेरो भाइ पनि अकालमै मर्दैनथ्यो । मेरी आमा पनि २५ वर्षकै कलिलो उमेरमा मर्नु हुन्नथ्यो । अहिले म भन्ने गर्छु, झाडाबान्ता वा हैजा लाग्दा अस्पताल होइन, पशुपति आर्यघाट लगेर बिरामीलाई कालको मुखमा हाल्ने जमानामा जन्मिएको हुँ म । बिरामीलाई उपचार गरेर बचाउने कुरातर्फ होइन, मरेपछि स्वर्ग पठाउन आर्यघाट लगिँदो रहेछ, म हुर्कने बढ्ने समयताका । मेरी आमासँग बिहे गर्नु अघि पनि बाको बिहे भएको रहेछ । उहाँ पनि माइती फर्पिङ पर रामचे भन्ने ठाउँ माइतीमै झाडाबान्ताले बित्नुभएको रे । त्यो बेला न विश्व स्वास्थ्य संगठन थियो, नत थियो, जीवनजल वा नुन–चिनी–पानी खुवाउने चेतना नै ।

अघिल्लो युगको शौचालयको कथा
स्वस्थ शौचालय त के शौचालनको अवधारणासमेत थिएन । पानीको खाँचो टार्न ठाउँ–ठाउँमा ढुङ्गेधारा हुन्थे भने गुजमुज्ज बस्ती भएका ठाउँ जहाँ ढुङ्गेधारा हुँदैनथे, त्यस्ता ठाउँमा गहिरा इनार खनिएका हुन्थे । महाराजगन्ज, भाटभटेनी, डिल्लीबजार, सिंहदरबार आदि ठाउँमा त कुलो नै पानीको मुख्य स्रोत हुन्थ्यो । त्यो कुलोको पानीले घट्ट चल्थ्यो, जहाँ गहुँ, मकै, कोदो कुटिन्थ्यो, तोरी पेलिन्थ्यो । मास जस्ता दाल जातिका वस्तु घर–घरमा जाँतोमा पिँधिन्थ्यो । सहरका मुख्य–मुख्य ठाउँमा सार्वजनिक पाइखाना हुन्थे ।

जहाँको दिसा एकथरीले चार पाथी जाने टिनमा नोलले बेकेर काठमाडौंकै तरकारी–काउली, रायोको साग, प्युठाने मुला, गान्टेमुला आदिमा हाल्थे । सो मलमूत्र हालेको तरकारी स्तरीय र स्वादिला हुन्थे । काठमाडौंका केही हुनेखानेहरूको भने आफ्नै बगंैचा वा करेसाबारीको खास–खास ठाउँमा चर्पी हुन्थ्यो, जहाँ टिन राखिएको हुन्थ्यो । मान्छेहरू त्यही टिनमा दिसा गर्थे । टिन भरिन लागेपछि त्यो लगेर माथि भनेझैं किसानको तरकारी बालीमा मलको रूपमा प्रयोग गराउँथे ।

मलमूत्र लैजानेले घरबेटीबाट प्रत्येकपल्ट १ रुपैयाँ र तरकारी किसानले प्रतिटिन १ रुपैयाँ ५० पैसा तिर्थे । त्यस्तो मलले तरकारी यस्तो सप्रन्थ्यो कि एउटा रायोको डुकुले ८/१० जनालाई तरकारी पुग्थ्यो । त्यसो त त्यो जमानामा तरकारी कम खाने गरिन्थ्यो । प्युठाने मुला पनि पिडौँलाजत्रा यामानका हुन्थे । काउली पनि डेड, दुई, अढाई धार्नीसम्मका पनि हुन्थे । तर होशियारीसँग केलाइएन भने मानव विष्टा पेटमा पर्ने सम्भावना रहन्थ्यो । खोला किनारतिर घर हुने वा डेरा गरी बस्नेहरू टुकुचा, धोबीखोला, विष्णुमती किनारतिर मलमूत्र विसर्जन गर्थे, खुला शौचालय । कतै–कतै त सुँगुर पालिएका हुन्थे ।
मान्छेले दिसा गर्दागर्दै सुँगुर दिसा खान हुँ गरेर आउने । यो हो, शौचालयको विगत ।

कलधाराको इतिहास
जङ्गबहादुरले ३० वर्ष राज्य गर्दा पनि काठमाडौंमा खानेपानीका धारा–कलधारा राख्न सकेनन् वा मन गरेनन् वा त्यो अवधारणा नै आएन । त्यसपछि बमबहादुर र रणोद्दिपसिंहको पालामा पनि कलधाराको धारणा आएन । वीरशमशेर श्री ३ महाराज भएपछि उनको ध्यान कलधारा स्थापनातर्फ गयो र वीरधारा नाममा धारा राखियो । जबकि त्यस्ता धारामा २४ सै घन्टा पानी आउँथ्यो । टोल–टोलका ठाउँ–ठाउँमा सार्वजनिक धारामात्र जडान गरिएका थिए । निजी धारा राजपरिवार बाहेक नगण्य पहुँचवाला व्यक्तिले मात्र पाएका थिए । वीरशमशेरको १५ वर्षे राज्यकालमा वीर अस्पताल पनि बन्यो । तर वीरशमशेरको पालामा पनि स्वस्थ शौचालयको अवधारणा आएन ।

सुखा शौचालय आजको चुनौती
सुलभ शौचालय पद्धति छ, अर्को । जम्मा १ लिटर पानीले फ्लस हुन्छ । प्यानमा वाटर सिल (पानीको ताल्चा) हुन्छ, जसको कारण दुर्गन्ध आउँदैन । यो सुलभ शौचालय अभियान इष्ट कन्सल्ट संस्थाको नाफारहित कार्यक्रम हो । यो काममा मैले आफ्नै गाउँ दधिकोटका अतिरिक्त मध्यपुर थिमी, लुभु, कीर्तिपुरमा चलाएँ । जसको नेतृत्व उक्त कन्सल्टका पीसी जोशीले गर्थे । यसका बाछिटा इलामको जस्वीरे, धादिङको नीलकण्ठ गाउँसम्म पनि पुर्‍याइयो ।

यो शौचालय सस्तो भइकन पनि गन्ध नआउने र किटाणुरहित हुने विशेषता हुन् । पौल पानी नभएको आजको तातो बढ्ने युगमा किटाणु र गन्धरहित सुरक्षा शौचालय पद्धतिको आविष्कार गर्नु युगको माग हो । विज्ञ, विशेषज्ञहरूका लागि यो एउटा हाँक पनि हो । म भन्ने गर्छु– ‘लभ’ गर्नु अघि त्यो केटोको घरमा सुरक्षित शौचालय छ/छैन, त्यो बुझ्ने, यदि छैन भने ‘लभ’ नै फिर्ता गर्ने परामर्श दिने गर्छु ।

म केटाकेटी हुँदाको आचरण
म केटाकेटी छँदा पानीको कम प्रयोग हुन्थ्यो । पानी पौल थिएन, मेरो गाउँमा । पानी प्रशस्त नभएपछि पानीको मूल जोगाउनेतिर सम्पूर्ण ध्यान जानुपर्ने । तर ध्यान जाँदैनथ्यो । राणा शासनमा पनि पानीको स्रोत–मूल–संरक्षण गर्ने व्यवस्था बलियो थियो । पानीको मूल वरपरका रुख निजी भए पनि काट्न निषेध गरिएको थियो । पानी शुद्ध पार्ने प्रक्रिया, विधि र साधन प्रयोग गरिन्नथ्यो । खाने पानी र अरु पानी पनि छोपेर राख्न भनिन्नथ्यो । पानी तताउने कुरामा झारा तिर्नेजस्तो गरिन्थ्यो, व्यवहारमा ।

म सानो छँदा शौचालयको अवधारणा आएकै थिएन । मलमूत्र त्याग्ने ठाउँ भनेकै सार्वजनिक बाटो हुन्थ्यो, मुख्यत: बर्खामा । तराईतिर त साँझ पर्नलागेपछि टोल–टोलका महिला जम्मा भएर गाउँ नजिकैको बाटोमा लाइन लागेर निवृत्त हुने गर्थे । दृश्य यस्तोसम्म हुन्थ्यो, कुनै पुरुष त्यो बाटो आइरहेको भए अर्कै दिशातिर आँखा लगाएर ती महिला कहिले उठ्ने हुन् भनी प्रतीक्षा गर्नुपर्ने । बिफर र हैजाको महामारी आउँथ्यो । मान्छे स्वाहा हुन्थे । यद्यपि बिफर नआओस् भनी खोपाउने, शीतलाको पूजा गर्ने परम्परा पनि थियो । तर पनि केही वर्षमा महामारीका रूपमा आउँथे यी ।

अर्को त्यस्तै दादुरा रोग हुन्थ्यो भने तेस्रो छाला सम्बन्धी रोग ठेउला हुन्थ्यो । हामीलाई हाम्रा अभिभावकहरू यी तीनथरी रोगलाई सरुवा रोग भन्थे । बिरामीको नजिक नजान भन्थे । पिसाब गरेपछि हात धुन पनि नपर्ने तर दिसा गरेपछि भने हात पनि धुनुपथ्र्यो । साबुन दुर्लभ वस्तुमा पथ्र्यो । त्यसैले हामी माटो लगाएर हात धुन्थ्यौं । पानी फारो गर्नुपर्ने हँुदा माटो लगाएर हात धुने भनेको सफाइभन्दा पनि विधि पुर्‍याउने मात्र काम हुन्थ्यो । पिसाब गर्दा जनै कानमा बेर्न नपर्ने, तर दिसा गर्दा भने कानमा जनै नबेरी नहुने । पानीले कुल्ला गरेपछि मात्र जनै कानबाट झिक्न हुने आचरण बनेको थियो । रजस्वला भएका महिलालाई कथं छोइयो भने नुहाउनैपर्ने जतिबेला भए पनि र जनै फेर्नुपर्ने जाडो–गर्मी जस्तो ऋतु भए पनि ।

दाँत सिठुवाले माझिन्थ्यो
एउटा पँधेरो, २१ परिवार पानीले सधैं हाहाकार । हाम्रा बाले एउटा पँधेरो बनाउनुभो । त्यो पँधेरो कहिल्यै नसुकोस् भनी मलाई एउटा बोकोसहित फूलचोकी पठाउनुभो । साथी थिए, गाउँकै पाका दिलबहादुर विष्ट (पहले) । फूलचोकी वन निकै घना, हिंस्रक जनावर हुने । हामीले बलि दिन लगेको बोको कराइरहने । मलाई कता बोकाको आवाज सुनेर चितुवा, बाघजस्ता मांसाहारी जनावरले झम्टने त होइन ? भन्ने चिन्ता ।

फूलचोकीमा बोकोको बलि दियौं (काट्यौं) पँधेरोमा हाल्न कुण्डको जल पानी ल्यायौं, एउटा सानो सिसीमा । त्यो जल पँधेरोमा हाल्यौं । त्यो पँधेरोले २५/३० परिवारलाई झन्डै ४० वर्ष धान्यो । एउटा घरमा प्राय: दुई गाग्रा, एउटा गाग्री हुन्थे । म हुर्केको युगमा एउटा घरपरिवारले ३०/३५ लिटर पानी लग्थ्यो, पँधेराबाट । मेरो बा १ लिटर पानीले नुहाउनुहुन्थ्यो, घरमै । अचेल जस्तो बाक्लो रुमालले जीउ पुछ्ने चलन थिएन । एउटा पातलो मैलो कपडाले जीउ पुछेको जस्तो गर्नुहुन्थ्यो । हामी केटाकेटीका लागि रुमाल भनेकै आफूले लगाइरहेको दौराको फेर हो । मुख धुन्थ्यौं र दौराको फेरले पुछ्थ्यौं । दाँत माझ्ने बु्रस–मञ्जनको नाम पनि सुनेको थिएन । हाम्रो बा तमाखु, चुरोट, सुपारी खानुहुन्थ्यो । त्यतिबेला तमाखु खाने गरिन्थ्यो । त्यही तमाखुको सिठुवा, गोल र खरानीले पनि दाँत माझिन्थ्यो ।

मञ्जन खाएपछि खाएछन् भकुराइ
दाँत माझ्ने मञ्जनको कुरा गर्दा डा. नोबलकिशोर राईको कान्तिपुर दैनिकको आइतबारे कोपिला प्रकाशनमा ‘म सानो छँदा’ शीर्षकमा मैले पढेको थिएँ, केही वर्ष अघि । उनका दाजु भारततिर हो वा युरोपतिर गई फर्केका रहेछन् । दाँत बु्रस र मञ्जनले माझ्दा रहेछन् । दाजुले त्यसरी शानसँग दाँत माझेको देखेर नोबल र उनका भाइ निकै लोभिएछन् । पहाडको घर दाँत सफा गरिसकी बु्रस र मञ्जन पालीमा घुसारेर काममा गए लाहुरे दाजु ।

दुई भाइ मिलेर डोकोमा चडी मञ्जन र बु्रस झिकेर दाँत माझ्न थालेछन् । मञ्जन मुखमा हाल्दा स्वादिलो लागेछ । दाँत नमाझी दुई भाइले सबै मञ्जन खाएछन् । दाजु आएपछि त्यो थाहा पाएर दुवै भाइलाई ढुटो हुनेगरी भकुरेछन् । नेपाल सरकारको राजदूत हुने प्रोफेसर डाक्टरको समेत बाल्य जीवन कस्तो थियो, नेपालको । चन्द्रग्रहण लाग्दा पुस, माघको ठन्डीमा वागमतीमा ग्रहण स्पर्श, मध्य र अन्त्य हुँदा नुहाउनैपर्ने । त्यो बेहोरेको छु, मैले ।

दालभात खान बाहुनका छोराले व्रतबन्ध गरेपछि धोती लगाउनैपर्ने । अझ दहीच्युरा मुछेर खान पनि धोती लगाउनैपर्ने । नत्र दहीच्युरा मुछेर खान हुँदैनथ्यो । हामीले भोगेको र बेहोरेको त्यो समय र हाम्रा छोराछोरी, नातिनातिनी हुर्कंदाको यो समयमा व्यवहारमै आएका परिवर्तन देखेर अहिले अचम्म लाग्छ । कत्रो परिवर्तन ८/९ दशकमा ?

प्रकाशित : भाद्र ९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?