चुरोट ठूलो कि रक्सी ?

डा. राजेन्द्र कोजु

काठमाडौँ — हजुरले जति फुर्ती गरे ’नि सबैले मान्ने त मलाई नै हो, देखिसिनुहुन्न, भोजभतेरमा मेरो उपस्थिति कति हुन्छ ? कसैले ह्विस्की, कसैले वाइन, कसैले बियर भन्दै पिउने मलाई नै हो । त्यत्रो जमघट हुने भोजमा हजुरको आवश्यकतै मान्दैनन्,’ रक्सी गज्जक्क फुल्दै बोले । तरर ताली बज्यो ।

चुरोट अलि संवेदनशील भएर बोले, ‘भोजको कुरा छोडिस्योस् न, आत्मीय गफ, महत्त्वपूर्ण गफ, जमघटमा, बिहान होस् कि बेलुका, घरमा होस् कि बाहिर मलाई कति प्यारो गरी चोरऔंला र माझीऔंलाले च्यापेर सरर तानेको देखिसिन्न ? अझ माया गरेर एकले तानेको अर्कोलाई तान्न दिँदा जुठो पनि मान्दैनन् ।’ अर्को तर्फबाट जोडले ताली बज्यो । चुरोट र रक्सीको वादविवाद चल्दैछ ।

सभाहलमा चुरोटको तर्फबाट विभिन्न देशी/विदेशी ब्रान्डका फिल्टर भाका–नभाका चुरोटहरू उपस्थित छन् । चुरोटलाई साथ दिन खैनी, सुर्ती, गुट्खा, जर्दा, तमाखु पनि उपस्थित छन् । विशेष उपस्थितिमा विदेशदेखि सिगार, पाइप, ठाँट जमाएर बसेका छन् ।

Yamaha

त्यस्तै रक्सीतिर पनि विभिन्न स्वदेशी/विदेशी ब्रान्डका सभ्य भएर बसेका छन् । बियर, वाइन,
ह्विस्की, ब्रान्डी एकातिर बसेका छन् भने जांँड, छ्याङ, खोयाबिर्के, तोम्बा, तीनपाने आफ्नै समूह बनाएर बसेका छन् । विशेष कुर्सीमा कोग्नाक, तकिल्ला, स्पिरिट, साके पनि छन् । अझ कोही–कोहीलाई त चिनिँदै चिनिँदैन । कुन जाति हो भनेर तर अनुमान गर्नचाहिँ सकिन्छ कि विरादरी एउट हो भनेर ।

रक्सी फेरि भन्न थाले, ‘हामी किन ठूलो भने नि, हामीलाई परम्परादेखि चलाउँदै आएको । कतिपय समाजमा हाम्रो उपस्थिति बिना शुभकामनै चल्दैन । कत्तिले त हामीलाई खानाकै एक परिकारजस्तै मान्छन्, पाहुनालाई सम्मान गर्नुपर्‍यो मै, पीर पर्‍यो मै, खुसी भयो मै, हर्षोल्लास मनाउनुपर्‍यो मै ।’

चुरोट बोले, ‘अनि कलेजो बिगार्नमा हजुर नै, मुटु फुलाउनमा हजुर नै, घर बिगार्न हजुर नै, साथीभाइ झगडा गराउन हजुर नै । उस्तै परे नालीमा सुताउने पनि हजुर, गोप्य कुरा खोल्न लगाउने पनि हजुर । अझ भन्ने हो भने हजुरलाई नै सेवन गर्दा–गर्दा भएभरको कमाइ सिध्याउनेले छोराछोरीको भविष्य उजाड गरेकोलाई के भन्ने खै ? हजुरलाई लोग्नेले खाए स्वास्नीको आँसु, स्वास्नीले खाए लोग्नेको पीडा त अर्कै व्यथा छन् । लोग्ने–स्वास्नी दुबैले खाए केटाकेटीको बिल्लीबाठ ।’ यो पल्टचाहिँ चुरोटतिर ठूलै ताली बज्यो ।

चुरोट र रक्सीको वादविवाद कस्तो हुँदोरहेछ भनी दर्शक बन्न गएका मान्छेहरू पनि रमाए । रक्सी नखानेले जोडले ताली पिटे भने खाने लाजले निहुरमुन्टो लगाए । रक्सी अलि लाज मान्दै उठे र सानो स्वरले बोल्न थाले, ‘यस्तो सारो त बेइज्जत नगरिस्या भए हुन्थ्यो ।’ अब सुनिस्योस्, हजुरको पनि स्वर ठूलो पार्दै ‘फोक्सो कालो पार्दै विभिन्न भएभरका रोग, दम, क्यान्सर गर्ने काम कसको ? मुखको क्यान्सर कसरी हुन्छ ? मुटुको ठूलठूला रोग के हो ? पेटको रोग के हो ? प्रेसर के हो ? दाँत, छाला, कलेजो, रगत, आन्द्रा, हड्डी, स्तन, सबै अंग– कहीं पनि छोडिसिन्न हजुर त झन् । भन्दै जाने हो भने ’नि मान्छे अस्पताल जानुपर्ने प्रमुख कारण नै हजुर हो । नसर्ने रोग भनाउँदा धेरैजसो रोग नै हजुरसँंग सम्बन्धित छ’, उत्तेजित हुँदै गए रक्सी ।

यस्तो कुरा सुनेर चुरोट खाने मान्छेहरू झस्किए– ए † हामीलाई त थाहै थिएन कि के हो भनेर थाहा पाउनेहरू आत्मग्लानि गरिरहे ।

रक्सी बोल्दै गए– ‘तर थाहा छ ? हामीले मान्छेको स्वास्थ्यमा हानि गरिराखे पनि उनीहरूमा हाम्रो प्रभुत्व कायमै गरिराख्याछौं । हामीले उनीहरूको जिब्रोको स्वाद, नराम्रो लत, खराब आचरणलाई दुरुपयोग गर्न सफल भाछौं । अझ भन्ने हो भने त उनीहरूको लोभलाई प्रयोग गर्‍याछौं । पसल चलाउने होस् कि डिपार्टमेन्टल स्टोर, फ्याक्ट्री खोल्ने होस् कि सरकार सबैलाई पैसा चाहिया छ, अनि हाम्रो व्यापार बढाउन जे पनि गर्छन् । स्वास्थ्यको ख्याल कसले गर्‍या छ र ?’

चुरोट र रक्सीको कुरा सुनिराख्ने निर्णायक मुसुमुसु हाँस्दैछ । चुरोट बोले, ‘त्यो त हाम्रो पनि त्यस्तै हो । हाम्रो व्यापारबाट पनि ठूलै आम्दानी गर्छन् । व्यक्तिले पनि गर्छन््, सरकारले पनि । अझ हाँसोउठ्दो कुरा त हाम्रो कर बढाएर अस्पताललाई सहयोग गर्ने रे ? रोग बढाएपछि केको अस्पताललाई सहयोग ? अस्पताललाई पैसा सहयोग गर्नुभन्दा जनताको स्वास्थ्यमा हानि पुर्‍याउने चिज कम गरेर रोग रोकथाम गर्नुपर्ने होइन ? जे होस्, हाम्रो प्रयोग मान्छेहरूले गरिनै राख्या छन् । अनि ठूलो भइएन त ?’

‘हजुरको भन्दा त हाम्रो मान धेरै छ, बाटाहरूमा होर्डिङ बोर्ड हेरिस्योस् न, ह्यान्डसम बिउटिफुल युवादेखि सभ्य भनाउँदा व्यक्तित्वहरूको माझ हामीलाई नै राखेर विज्ञापन गर्छन् । फलफूल, सागसब्जीको विज्ञापन छैन, हाम्रो छ । ठूलाबडाको घरमा बार सजाउन होस् कि सानो होटलदेखि फाइभ स्टार होटलको बार, हिमालमा होस् कि तराई, गाउँमा होस् कि सहर, जहाँ–तहीँ हामी । बरु खानेकुरा नपाइएला, हामी त पक्का । कोही–कोही त उपहार नै हामीलाई दिन्छन् ।’ रक्सी फेरि हौसियो ।

मान्छेहरू कानेखुसी गरे– हो नि साँच्चै अस्वस्थकर खानाकै विज्ञापन धेरै हुँदोरहेछ । यस्तो रक्सी पनि के उपहार दिया होला है ?

‘कुरो त हामीसँंग पनि मिल्यो । हामी पनि जहीँ–तहीँ । पानपसलमा पनि पाइने, नाङ्लो पसलमा पनि पाइने, डिपार्टमेन्टल स्टोरमा त पैसा तिर्ने नजिकै राखिदिने । नपाइने त ठाउँ नै छैन होला । अस्पतालकै अगाडिको पसलमा त राख्छन् । आजभोलि अलिक तर्साउन चुरोटको बट्टामा क्यान्सरको फोटो राख्छन् । तर केही छैन, खानेले त्यो बुझ्दै बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । यसो पसलेले बुझाइ दिए हो, तर आम्दानी गर्न बस्नेले किन बुझाउँथे ?’ चुरोटले आफ्नो कुरो राख्यो ।

‘तर हजुरको विज्ञापन गर्न पाइँदैन नि ।’

‘प्रत्यक्ष पो गर्दैनन् त अप्रत्यक्ष त गर्छन् नि । फिलिममा चुरोट तान्या कति देखाउँछन् । पसलमा त्यस्तै, कार्यक्रमको सौजन्य हाम्रै नाममा हुन्थे, आदि–इत्यादिमा भइरहन्छ ।’ निर्णायक छक्क पर्दैछ । दुबैको कुरामा दम छ । जिताउने कल्लाइ हो भनेर ।

रक्सी– ‘हाम्रो बोतल हेर्नु न, कस्तो आकर्षक बनाउँछन् ? डल्लो, सुलुत्त परेको, च्याप्टो, गोलो, रंग पनि विभिन्न खालको । हाम्रो उमेर पनि भिन्न–भिन्न । कुनै भर्खर बनाएका, कुनै पुरानो । कति महत्त्व दिन्छन्, हामीलाई ।’

चुरोट– ‘हाम्रो पनि कम छैन । प्याकेट त गजबकै गर्छन् । तर जेजस्तो आकर्षक बनाए पनि, हजुर होस् वा हामी, हामीले गर्ने असरचाहिँ राम्रो हुँदै होइन ।’

रक्सी– ‘त्यो त पक्कै हो । र पनि समष्टिमा हेर्दा त हामी नै ठूला छौं है समाजमा ।’

चुरोट– ‘हाम्रो हिसाबमा त हामीलाई नै ठूलो मान्छन् ।’

धेरै सोच्दै निर्णायकले निर्णय सुनाए– ‘अहिलेसम्मको चुरोट र रक्सीको तर्क/वितर्क सुन्दा दुबैलाई यो समाजले ठाउंँ दिएको देखियो । यद्यपि चुरोट, रक्सीले आआफ्नो अनेकन खराब असर गर्ने तर्क प्रस्तुत गरिरहँदा पनि र मान्छेले थाहा पाए तापनि समाजमा यसको ठूलो स्थान देखियो । असर र महत्त्वको हिसाबले चुरोटभन्दा रक्सी केही फरकजस्तो देखिए पनि समाजले दिएको स्थानमा धेरै फरक देखिएन । तसर्थ चुरोट र रक्सी– हजुरहरू दुवै ठूला भए पनि हजुरहरूको खराब असरले गर्दा सानो भई बस्न वा बस्दै नबस्न अनुरोध छ ।’

मान्छेहरू छक्क परे । हामीले यिनीहरूलाई खाइराख्या भन्ठानेको त यिनीहरूले पो हामीलाई खाइराख्या रहेछन् । एकाधको कानमा हेडफोन भएर नसुन्ने बाहेक सबैले मनमनै निधो गरे– यिनीहरूलाई हामीले समाजमा न्यून गर्नै पर्छ ।

छ्या, चुरोट र रक्सी पनि बोल्छन् त भन्दै हात चलाउँदा– छ्याङल्याङ्ग (नजिकैको रक्सीको बोतल खसेर फुटेछ । भुइँभरि चुरोटका ठुटाहरू ।)

अहा! कस्तो विपनामै सपना देखिएछ । तर राम्रो चुरोट, रक्सी आआफ्ना नराम्रा असर आफै भनिराख्या । अठोट गरिन्छ– अब म चुरोट, रक्सी छुँदै छुन्न ।

प्रकाशित : भाद्र ९, २०७५ ०७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिल्लो र गुलियोको गन्थन

डा. राजेन्द्र कोजु

काठमाडौँ — ‘ए गुलियो, आज त तेरो चुरीफुरी निक्कै छ त, कुरो के हो ?’‘हुन्न त चुरीफुरी ? मैले मिठो पारिदिएको खानेकुराको स्वाद आजको भोजमा सबैले लिने भए, त्यसैले ।’‘तँलाई त लास्टमा खान्छ । यहाँ त मेरो प्रयोग पो बेसी छ त ।’

‘तेरो त भोजमा सुरुदेखि अन्त्यसम्मै काम छ नि ।’

बिहेभोजको पार्टीमा पाहुनाहरू हातहातमा गिलास लिएर खानेकुराका विभिन्न परिकार खाँदैछन् । बेहुला–बेहुली स्टेजमा बधाई लिन ब्यस्त छन् । उता बेहुलाका आफन्तहरू पाहुनाहरूलाई स्वागत गर्न ब्यस्त । म्युजिक एकातिर बज्दैछ, मानिसहरू विभिन्न गफ गर्दै खानमा मस्त ।

खानेकुराका महत्त्वपूर्ण तत्त्व गुलियो र चिल्लो भने आफ्नै गन्थनमा मग्न । उनीहरूलाई रमाइलो पनि लागिराखेको छ, संँगै चिन्ता पनि । चिल्लो भन्छ, ‘हो नि, सुरु म भएका परिकारबाट । तारेको आलुमा म, पकौडालाई मै चाहिन्छ, चिकेन फ्राइमा मै, मममा मै, पनिर, तेम्पुरामा मै, अनि त ?’

‘यत्ति धेरै सेवन गर्छ, तँलाई ?’ गुलियो अच्चम्म मान्छ ।

‘गर्छन् नि खन्चुवाहरू, स्वादे जिब्रो भइन्जेल । चिल्लोको मात्रा मान्छेको शरीरको लागि खानेकुराको थोरैमात्र भाग भए पुग्छ नि । तर धेरै खान्छन् ।’

‘अझ रक्सी खाएपछि कति खान्छन् होला है ?’

‘ओहो कसैले त एक ज्यानलाई २ दिनलाई पुग्ने खाना एकै भोजमा भ्याइदिन्छन् । अनि मेरो मात्रा बढेन त ? अनि भुँडी हेर न फुट्ला जस्तो ।’

जेरीको गुलियो र हलुवाको चिल्लोबीच यस्तै कुराकानी चल्दै थियो । एक हुल केटाकेटी आइसक्रिममा झुम्मिए ।
गुलियो जेरी, हलुवा, लालमोहनमा पनि लाइन त्यत्तिकै थिए ।

‘यी मान्छेहरूलाई थाहा छ कि छैन, हाम्रो सेवन धेरै गर्‍यो भने राम्रो हुन्न भन्ने ?’

‘सबैलाई थाहा छ नि थोरै खानुपर्छ भनेर, तर मान्छे लोभी के, स्वादको ।’

‘अनि स्वादको लोभ गरेर हुन्छ त ? चिल्लो धेरै खायो भने त पेट, कलेजो, रक्तनलीमा बोसो जमेर स्वास्थ्यमै नराम्रो असर पर्छ नि होइन र ?’

‘हो नि आवश्यकताभन्दा धेरै खाएपछि कहाँ बस्ने म ? त्यही पेटमा जम्ने हो, रक्तनलीमा लेउजस्तै टाँस्सिएर बस्छु, त्यस्तै कलेजो, मांशपेसीमा । अनि मात्रा धेरै भएपछि रक्तनली साँघुरो हुँदै जान्छ ।’

‘रक्तनली साँघुरो भएको मान्छेलाई थाहा हुँदैन त ?’

‘साँघुरो होइन्जेल थाहा नपाउन सक्छ । मुटुको रक्तनली धेरै नै साँघुरिएको छ भने उकालो हिँड्दा, खेल्दा, शारीरिक कठिनाइको काम गर्दा छाती भारी हुने, दुख्ने हुनसक्छ ।’

‘अनि थाहै नहुने भएपछि खाइहाल्छन् नि चिल्लो ।’

‘त्यसैले त रक्तनली सांँघुरिंँदासम्म थाहा पाउँदैनन्, अनि एक्कैपल्ट बन्द भएपछि हृदयाघात भएर लान्छन् त अस्पतालमा । ठूलै रक्तनली वा २, ३ वटा रक्तनली एकैपल्ट बन्द भयो भने त डाक्टरको, अस्पतालको, कसैको केही लाग्दैन । मुटु नै बन्द हुनसक्छ ।’

गुलियो चित खायो, चिल्लोको कुरा सुनेर । हेर्दा यस्तो मिठो, नरम कसैलाई केही नबिगार्ला जस्तो चिल्लो त बढो खतरनाक पो रहेछ भनेर ।

‘अनि तँलाई यस्तो मिठो मानीमानी खाइराख्दा कस्तो–कस्तो लाग्दैन त ?’

‘धेरै नखाओस् जस्तो लाग्छ नि । मेरो कारणले हृदयाघात, मस्तिष्कघात, मिर्गाैलाको रोग, कलेजोको रोग, मृत्यु भएको त मलाई पनि मन पर्दैन नि ।’ दिक्क मान्छ, चिल्लो । ‘थोरै ठिक्क मात्रामा खाँदा त गुनिलो हुँ नि म पनि । अलि धेरै खाए पनि पचाउन कसरत गर्नुपर्‍यो ।’

‘दया गरेर भए पनि तेरो उपस्थिति यहाँ धेरै नजनाउ यार’, गुलियो विन्ती गर्छ, चिल्लोसंँग ।

‘मलाई पनि त्यस्तै लाग्छ, तर यिनीहरू नै पापी के ? खानेले पनि मासु कति परिकार छ, स्न्याक्स कति छ भनेर खोज्छन् । ख्वाउनेले पनि प्रतिस्पर्धा जस्तै देखाउनकै लागि भए पनि धेरै परिकार राख्छन् । अनि मेरो मात्रा बढिहाल्छ्र ।’
‘हो नि अलि थोरै परिकार भयो भने फलानाको भोज तछ्या भन्छन् ।’

‘त्यसैले धेरै ख्वाउनुपरेपछि शुद्ध चिल्लोमात्र भेट्दैन, अनि जे पायो त्यही अखाद्य पनि मिलाइदिन्छन् । कहिलेकाहीं त एकदिन अघिको तेल अर्को दिन पनि प्रयोग गर्न बेर लाउँदैन । त्यसले अति नराम्रो गर्छ ।’

‘हैट, यस्तो कुरा त सबैलाई थाहा दिनुपर्‍यो यार’, गुलियो आत्तिन्छ ।

‘थाहा छ यिनीहरूलाई, तैपनि खान्छन् के, बिहानैदेखि खाएको बेलुकासम्म जोड्दा चाहिनेभन्दा धेरै खान्छन्, अनि मिठोको लागि चिल्लो प्रयोग गरिहाल्छन् । तेलमा पनि मै, घ्यु पनि मै, बटर, चिज, बोसो, मासु, मिठाइ सबैमा म नभई हुँदैन । बजारका तयारी खानेकुरामा पनि अति आवश्यक, भोजमा मात्र होइन, अरू बेला पनि धेरै खान्छन् के मलाई ।’

गुलियोले मासुको परिकार भएतिर औंला तेस्र्याउँदै भन्यो, ‘ऊ हेर–हेर ती मान्छेहरू बनेल र सेकुवामै झुम्मिरा’छन् । एक जनाले त ५ पल्ट थपिसक्यो ।’

‘त्यस्तै हो, जिब्रोले स्वाद पाउन्जेल न भुँडी भरेको थाहा पाउँछन्, न यसको नकारात्मक असर ख्याल राख्छन् ।’

‘भन्दे न त के गर्ने भनेर त्यसो भए,’ गुलियोलाई साहै्रमाया लाग्यो ।

भिँmझो मान्दै चिल्लो ‘थाहा छ, सबैलाई सागसब्जी, फलफूल, बोक्रै सहितका अन्नपात, पानी धेरै खानुपर्छ भनेर । तर व्यहोरा उल्टा । पानीको सट्टा कोल्ड ड्रिंक्स, बिएर, वाइन, सोडा, ह्विस्की । अनि सागसब्जी, फलफूलको सट्टा मासु, दूधकै परिकार, चिल्लोयुक्त खानेकुरा थाहा छ ? यिनीहरू उभिएर पनि खाँदैनन् भन्या, बस्नुको सट्टा उभिए पनि केही त पच्ने थियो ।’

छक्क पर्दै गुलियो ‘मासु नखानेले त थोरै सेवन गर्लानि तंँलाई ?’

‘कहाँ हुनु ? तारेको पनिर, भेजिटेबल टेम्पोरा, पकौडा, आलु फ्राइ, मोमो आदि छ नि । यी सबै तार्ने तेल त कतिपटक प्रयोग गर्छ्र, तेललाई धेरै डढायो वा फेरिफेरि प्रयोग गर्‍यो भने पनि हानिकारक हुन्छ नि । साथसाथै जेरी, हलुवा, रसबरी, लालमोहन, केक, आइसक्रिम सबै खाइहाल्छन् नि ।’

‘ए हो नि ।’

चिल्लो र गुलियोको यस्तै कुरा भइराख्दा खाना पकाउने, बाँड्ने, खाइसकेको प्लेट उठाउने सबैको चाहिँ फुर्सद नै थिएन । विस्तारै पाहुनाहरू पनि घट्दै गए ।

‘अनि गुलियो तेरो कुराचाहिँ नसुनाउने ?’

‘तेरै कुरा महत्त्वपूर्ण रहेछ, अझै सुनौं–सुनौं लाग्ने, मेरो कुरा कहिले सुनाउने ?’

‘तेरो पनि कति महत्त्वपूर्ण छ नि, मलाई अलिअलिथाहा छ ।’

‘हुन्छ, तर आज होइन, कुनै दिन भन्छु नि ।’

गुलियो र चिल्लोको कुरा सुनिरहनेसँग भने गज्जबले हाँसे ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT