सापारु पर्वको सौन्दर्य

भाद्र कृष्ण प्रतिपदाका दिन स्वर्गको द्वार खुल्ने विश्वासमा मृतकका नाममा प्रतीकात्मक गाई बनाएर वैतरणी नदी पार गराउन सापारु पर्व मनाइन्छ ।
ओम धौभडेल

काठमाडौँ — आज भाद्र कृष्ण प्रतिपदा । अर्थात बलिवर्द प्रतिपदा । वृषभ प्रतिपदा पनि भनिन्छ । यस दिन नेवार बस्तीमा सापारु तथा गाईजात्रा पर्व मनाइन्छ । नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तका नाममा प्रतीकात्मक गाई बनाएर नगर घुमाउँछन् । यसलाई ‘सायात’ भनिन्छ ।

सापारु पर्वको सौन्दर्य

‘साँ’ भन्नाले गाई र ‘यात’ भनेको यात्रा वा जात्रा । तर यहाँ साँ भनेको गाईभन्दा बसाहालाई बढी प्राथमिकता दिएको आभास हुन्छ ।

साना–ठूला नेवार बस्तीमा आ–आफ्नै शैली तथा परम्परा अनुसार सापारु पर्व मनाउने चलन छ । काठमाडौंमा दिवंगत व्यक्तिको सम्झनामा ससाना बालबालिकालाई सिंगारपटार गरी गाईको चित्र अंकित कागजको मुखुन्डो तथा सिङ लगाई बसन्तपुर दरबार हनुमानढोका दरबार लगायत पुरानो नगरक्षेत्र घुमाउने गरिन्छ ।

कम्मरमा पटुका बाँधी दुई छेउ भुइँमा लत्रिनेगरी नगर परिक्रमा गर्ने भएर यसलाई बासा लुयेगु पनि भनिन्छ । कसै–कसैले साना केटालाई शिरमा सेतो वा पहेँलो फेटा बाँध्न लगाई हातमा चिम्टा र कमलको फूल बोकाएर फकिरका रूपमा नगर घुमाउने गर्छन् । कसैले जिउँदो गाईलाई सिंगार गरी नगर परिक्रमा गराउँछन् । पाटन नगरमा चार दिन अगाडि नायखीं च्वयेके भनी नगरभरिमा वर्षभरि दिवंगत भएका व्यक्तिको सम्झनामा तोकिएको ठाउँमा जम्मा हुन सूचना दिइन्छ ।

सापारुको दिन तोकिएको ठाउँमा जम्मा भई बसाहाको मुखाकृति लगाएको केटाहरू अगाडि लगाइन्छ । त्यसपछि पहेँलो कपडा ओढाइएका गाई र कुचो, गाईको दूध, लावा, अविर, चमर पंखा आदि लिएका केटी हुन्छन् । त्यस पछाडि राधाकृष्ण र गोपी–गोपिनीको भेषमा नगर परिक्रमा गरिन्छ ।

भक्तपुरको सापारु विशेष मानिन्छ । भक्तपुरमा सापारु पर्व सुरु भएको संकेत अघिल्लो दिन अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनै हुन्छ । त्यस दिन भक्तपुरको पूर्व फर्केका नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ । बिहानपख किसानहरू आआफ्नो खेतमा गई भ्यागुतोलाई क्वाँटी रोटी ख्वाई पूजा गर्छन् । जसलाई ब्यां जा नकेगु भनिन्छ । घर–घरमा नौथरी गेडागुडीले बनेको क्वाँटी, रोटी खाने गरिन्छ । भक्तपुर व्यासीस्थित कालदह, भक्तपुर नगरकोटस्थित महादेव पोखरी लगायत ठाउँ–ठाउँमा मेला लाग्छ ।

साँझपख भक्तपुर तलेजुबाट घेन्ताघिंसी नाचले भक्तपुर नगर परिक्रमा गर्छ । मध्यरातदेखि दिवंगत व्यक्तिहरूका नाममा भक्तपुरवासीले प्रतिकात्मक गाई घुमाउने गर्छन् । बिहान वर्षभरिमा दिवंगत ससाना बालबालिकाको सम्झनामा डोकोमा बनाएका गाई अर्थात दोकचा सा नगर परिक्रमा गराइन्छ ।

कसै–कसैले कालो माटोको बसाहा बनाई सिंगारिएको खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गराउँछन् । ससाना बालबालिकालाई सिंगारपटार गरी कम्मरमा पटुका बाँध्न लगाएर दुई टुप्पो भुइँमा लत्रने गरी घुमाउनेलाई वासा लुयेगु भनिन्छ ।

भक्तपुरको सापारुको आकर्षण ताहासां अर्थात चारवटा लामा बाँसबाट बनेको गाई हो । विशेषगरी पाका उमेरका दिवंगत व्यक्तिहरूको सम्झनामा घरको दुई तल्लाजति अग्लो ताहासां बनाइएको हुन्छ । ताहासांको अगाडि बालकदेखि वृद्धसम्म बाजाको तालमा लठ्ठी जुधाई घेन्ताघिंसी नाच्दै आउँछन् ।

नाचका साथ विभिन्न प्यांख तथा नाटक देखाइन्छ । मृतकका नामबाट गाई नगर घुमाउनुअघि आआफ्ना पुरोहित बोलाई विधिवत् पूजा गराउने चलन छ । घरको पिखालखु अगाडि बलेसीमुनि राखी विधिवत् पूजा तथा गौदानसमेत गर्नुपर्छ ।

साँझतिर भक्तपुर वडा नं. ४ स्थित लाकुलाछेबाट परालले मात्र बनेको सुयाम्ह भैल द्य: र भद्रकालीको ताहासां घेंताधिंसीको साथ नगर परिक्रमा गराएपछि अन्य प्रतिकात्मक गाई ल्याउने कार्य गर्नु हुँदैन भन्ने मान्यता छ । गहिटीबाट अग:लोंह झंया–झंया पाउं बाजाको बोलका साथ चुपिंघाटमा लगि विसर्जन गरेपछि गाईजात्रा सम्पन्न हुन्छ ।

मानिसझैं देवदेवीको पनि मृत्यु हुन्छ भन्ने भावनाका साथ प्रत्येक वर्ष परालले बनेको सुयाम्ह भैल द्य: र भद्रकालीको ताहासां घुमाउने चलन छ । भक्तपुरको सापारु आठ दिनसम्म विभिन्न देवदेवीको जात्रा गरी कृष्णाष्टमीको दिन समापन हुन्छ ।

सापारु पर्व नेवार समुदायको मौलिक पहिचान हो । एकथरी इतिहासकारले सापारु पर्वको चलनसँग कान्तिपुरका राजा प्रताप मल्लको नाम जोडेको पाइन्छ । उनका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै निधन भएपछि शोकाकुल रानीलाई सान्त्वना दिन उनले यो पर्व चलाएको कथन छ । सापारु पर्वको श्रेय भक्तपुरका राजा जगतप्रकाश मल्ललाई दिने इतिहासविद् पनि भेटिन्छ ।

कोही–कोहीले श्रेय पाटनका राजा सिद्धिनरसिंह मल्ललाई दिने गरेको छ । जयस्थिति मल्लको शासनकाल अर्थात ने.सं. ५०९–१० तिर एकजना भक्तपुरबासी विद्वानले नेपालभाषामा लेखेको गोपालराज वंशावलीको पत्र संख्या ६१ मा ‘सायात’ भनी सापारुबारे उल्लेख गरेका छन् । वंशावलीमा लिच्छविकालदेखिका महत्त्वपूर्ण घटना समेटिने क्रममा सापारु पर्वबारे लेखिएको हो ।

सापारु पर्व नेवारहरूको सोह्र संस्कारमध्ये मृत्युसित सम्बन्धित संस्कार हो । नेवार समुदायमा दिवंगत व्यक्तिका नाममा मृत्युको एघारौं वा बाह्रौंं दिनमा बसाहा डामेर छाड्ने चलन छ, जसलाई वृषसर्ग भनिन्छ । ढुङ्गाको साँढे बनाई गौचरनमा राख्ने चलन पनि थियो ।

यसरी छाडेको साँढेको प्रतिमा ठाउँ–ठाउँमा देख्न सकिन्छ । तर यी दुवै कार्य खर्चिलो र झन्झटिलो हुनाले विकल्पका रूपमा भाद्रकृष्ण प्रतिपदाका दिन गाई (बसाहा) को प्रतीक बनाई नगर परिक्रमा गरेर सापारु मनाइने गरेको हो । बौद्धायन नामको हस्तलिखित ग्रन्थमा बसाहाको मूर्ति बनाएर त्यसलाई भाद्रकृष्ण प्रतिपदाको दिन विधिपूर्वक पूजा गरी आफू बसेको सहर घुमाउनाले वृर्षोत्सर्ग नामको पितृ तंरतारक यज्ञको पुण्य प्राप्त हुन्छ भनी लेखिएको छ ।

गाईजात्रा पद्धति नामको अर्को हस्तलिखित ग्रन्थमा समेत पद्यम पुराण शिववचन भनी भाद्रकृष्ण प्रतिपदा तथा सापारुको दिन वृषभलाई उपयुक्त विधि अनुसार पूजाअर्चना गरी देश परिक्रमा गराई सायंकालमा भित्र्याए वृर्षोत्सर्ग गरेको फल प्राप्त हुने भनिएको छ । गरुड पुराणमा समेत वृर्षोत्सर्ग कर्मको महत्त्वबारे लेखिएको छ ।

सापारुको दिन सायात गर्ने चलन नेवार सभ्यताको सुरुआतदेखि चल्दै आएको हो भन्नेमा अन्योल छैन । भाद्र कृष्ण प्रतिपदाका दिन स्वर्गको द्वार खुल्ने विश्वासमा मृतकका नाममा प्रतीकात्मक गाई बनाएर वैतरणी नदी पार गराउन सापारु पर्व मनाइएको हो । सापारु पर्वका कारण वर्षभरिमा मृत्यु भएकाको तथ्यांक तयार हुन पुग्यो । यसले अकाल मृत्युबाट बच्न र बचाउन सन्देश प्रवाह गर्‍यो ।

लिच्छवि राजा आनन्ददेवले नेपाल मण्डलको राजधानी भक्तपुर बनाएका थिए । त्यस कालखण्डमा भक्तपुर सांस्कृतिक रूपले विशेष थलो बन्न पुग्यो । सापारु पर्वले फस्टायो । यक्ष मल्लपछि भक्तपुरबाट कान्तिपुर र पछि कान्तिपुरबाट ललितपुर विभाजन भइसकेपछि यी तीन राज्यबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा भयो । त्यसपछि सापारु आआफ्नै शैलीमा विकास भयो । यस पर्वबारे अझ गहन अध्ययन हुनसके थुप्रै सत्य–तथ्य प्रकाशमा आउन सक्छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?