अमेरिका : श्रम गर्न सिकाउने ठाउँ

नवीन रायमाझी

काठमाडौँ — पंक्तिकार अमेरिकाको सामाजिक, राजनैतिक र आर्थिक अबस्थाको बारेमा बहस गर्न सक्ने बौद्धिक हैसियत राख्दैन । तर, यसै समाजमा बसोबास गर्ने भएको कारण धेरै कुराहरु देखिन्छ, सुनिन्छ र भोगिन्छ, जसलाई नकार्न सकिन्न ।

यता बसोबास गर्ने र आफुलाई सबै बिषयमा जानकार सम्झिने केहि मान्यबरहरुले मलाई नकारात्मक सोचले ग्रस्त र आफ्नै नेपाली दाजु भाइको मात्र खोइरो खन्ने आरोप लगाएका छन्। एक महामानवले त मलाई आफ्नो पहुँच प्रयोग गरेर यो पोर्टलमा कुनै पनि बिचार प्रकाशित गर्न रोक लगाइ दिने कुरा पनि गरेका थिए। मैले आजसम्म कुनै पनि ब्यक्तिलाई तोकेर उसको हाँसी माजक गरेको छैन। तर, सत्य जे हो उजागर पनि त्यही गर्नुपर्छ भन्ने मेरो मान्यता छ, सदा रहने छ।

Yamaha

अब यस कुरामा कसैलाई आपत्ति छ भने त्यो उसको समस्या हो र त्यस्ता समस्या आफैले समाधान गर्नुपर्छ, अरुलाई तथानाम गाली गरेर केही पनि हुनेवाला छैन। यो लेखमा मैले उठाएका प्रसंगहरुलाई कसैले झुटो प्रमाणित गर्छ भने म अब उप्रान्त लेख्ने छैन तर बास्तविक कुरा हो, किन लेख्नु भन्छ भने त्यो उसको कमजोर मानसिकताको उपज हो। मेरो मतलब हामीले ठाउँ र जमाना अनुसार आफुलाई "अपडेट" र "अपग्रेड" गर्नु पर्छ, सिक्ने र बुझ्ने क्रम कहिले पनि अन्त हुँदैन भन्ने हो।

पंक्तिकारको एउटा परिचित ट्याक्सी चलाउने काम गर्छन्। बिहानको छ बजेदेखि रातको आठ बजेसम्म गाडी हाँक्दा तिघ्राको पछाडि र फिलाको छाला हलो जोत्दा जोत्दा गरेको गोरुको गर्धन जस्तो भएको छ अर्थात छाला मरिसकेको छ। तर, उ आफुलाई सम्पन्न र खुशी देखाउन सामाजिक सञ्जालमा किसिम किसिमको फोटो अपलोड गरिरहन्छन्। मेरो बिचारमा अरुलाई आफु खुशी भएको देखाएर नाटक गर्नु भन्दा आफै भित्रबाट खुशी हुनु महत्वपूर्ण हो। यो मान्छे जीवनदेखि खुशी छ भनेर कसैले प्रमाणपत्र दिनु पर्दैन।

त्यस्तै एउटा दम्पति छन्, उनीहरुलाई "मेसिज्" नामको महँगो पसलबाट मात्र लुगा किनेर लगाउनु पर्छ। पैसा हालेर किन्ने भए कुनै कुरा गर्नु पर्दैन थियो, उनीहरुले अमेरिकी सरकारले उपभोक्तालाई दिएको अधिकारको यसरी दुरुपयोग गरेका छन् कि सुन्दा पनि लाज लाग्छ। हरेक उत्सव तथा समारोहमा नयाँ लुगा किनेर लगाउने तर त्यसको लेबल तथा बिल जतन साथ राख्ने, जब आफ्नो काम सकिन्छ त्यसपछि आफुलाई मन नपरेको भन्दै फर्काइदिने। त्यस्तै नेपालबाट पाहुना आएको बेलामा किनेर ल्याएको ओछ्यान उनीहरु नेपाल फर्के पछि फिर्ता गरेको पनि पंक्तिकारले थाहा पाएको छ।

त्यस्तै अर्का पात्र छन्, कुनै प्रसंग बिना नै आफ्नो काठमाडौँमा पाँच तल्ले घर भएको र प्रतिमहिना तीन लाख रुपैयाँ आम्दानी हुने बताइरहन्छन्। प्रथम त जसको जति तल्ले घर भए पनि र जति आम्दानी भए पनि अर्कोलाई कुनै सरोकार हुने कुरा भएन। अर्कोले त्यो घर र पैसाको उपयोग गर्न पाउने होइन। जब उपयोग गर्न नपाउने कुरामा नै खुशी हुनु छ भने यो संसारमा धेरै सम्पन्न मान्छेहरु छन् उनीहरुको महल जस्तो घर हेरेर खुशी भए भयो। त्यसको तुलनामा मजदुरी गरेर कमाएको पैसाको कुनै औकात नै हुँदैन, त्यसैले मेरो बिचारमा यस्तो कुरा सबैलाई भन्नु उचित होइन। दोश्रो, नेपालमा जत्रो घर भए पनि यता छिंडी (बेसमेन्ट) मा सुत्नु परेको छ, यसरी उपभोग गर्न नपाए पछि त्यो घर हुनु र नहुनुमा के अर्थ रहन्छ?

त्यस्तै मेरो कमाइ यति र उति भनेर हैरान पार्ने अर्को वर्ग पनि छ। सबैले आफ्नो क्षमता र योग्यता अनुसार कमाइ गर्ने हो त्यसमा पनि प्रचार प्रसार गर्दै हिड्नुको कुनै मतलब छैन। हालै प्रकाशित अमेरिकामा धेरै तलब खाने एक सय एक सीइओहरुमा वार्षिक २० लाख डलर तलब खाने ब्यक्तिहरु पनि छन्। माइक्रोसफ्ट कम्पनीका सीइओ सत्य नरुला सबैभन्दा बढी तलब खानेमा पर्छन्। अब सोच्नुस् यत्रो रकम त के यसको चौथाई रकम तलब खाने पनि कुनै नेपाली छैनन् अमेरिकामा। अब अमेरिकी सरकारको दृष्टिमा "लो इन्कम" गर्नेहरुले कमाई को के फुर्ति गर्नु?

अमेरिकालाई मान्छेहरु अवसरै अवसरको देश भन्छन्। त्यस्तो अवसर कसले कति पायो वा केवल भन्नको लागि मात्र भनिरहेका छन् त्यो पंक्तिकारलाई जानकारी भएन। तर, अमेरिकाले सबैलाई कडा परिश्रम गर्न भने सिकाउँछ। कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शंका छैन। समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ, यहाँ बेरोजगार भनेको अल्छी मान्छे मात्र हो।

@twitter#naviinr

प्रकाशित : भाद्र १२, २०७५ १६:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फुटबलका नयाँ 'ज्योतिषी'

नवीन रायमाझी

काठमाडौँ — रोमाञ्चक, नाटकीय र स्तब्ध सबै प्रकारका अनुभूति गराउँदै अन्तत: २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता सकिएको छ ।

सम्भवतः सबैले केही न केही किसिमले बुझ्ने, खेल्ने र हेरिने यो खेल हाम्रो देशको सबैभन्दा बढी नै प्रचलित खेल हो भन्दा दुइ मत नहोला। आइतबार राति भएको फाइनल खेल सबैभन्दा रोमाञ्चक बन्यो, क्रोएसियालाई ४-२ गोलले हराएर फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचाल्यो।

जसले जिते पनि वा हारे पनि हामीलाई भने 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हो। खेललाई खेलको रुप मै हेर्नु पर्नेमा आवश्यकता भन्दा बढी उत्तेजित भएर एक अर्का विरुद्ध विष बमन र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने गतिविधिले हाम्रो समाज कता जाँदैछ भनेर एकपटक गम्भीर भएर सोच्न ढिलो भइसकेको छ।

पंक्तिकार फुटबल खेलाडी वा कथित विशेषज्ञ होइन। जीवनमा केटाकेटी हुँदा काँचो भोगटेको फुटबल खेलेको कुरालाई छोड्ने हो भने खासै खेलेको पनि छैन। जसले बढी गोल गर्‍यो उही टिमको जित हुन्छ, गोलकिपर बाहेक अरुको हातले छुन हुँदैन भन्ने जस्ता केही सामान्य नियम बाहेक बिस्तृत रुपमा जानकारी छैन। मनोविशेषज्ञका अनुसार जब मान्छेमा आफू निम्सरो छु भन्ने लाग्छ त्यसले सबै कुरा जानेको जस्तो गरेर हरेक विषयमा बोलेकै हुन्छ, चाहे त्यो कुरा वाहियात नै किन नहोस्।

सामाजिक सञ्जालमा लेखिएको कुरालाई आधार मान्ने हो भने प्रतियोगिता हुनु भन्दा पहिले नै यसले जित्छ वा उसले हार्छ भनेर भविष्यवाणी गर्ने ज्योतिषहरु निकै देखिए। यस्तो कुरा कसरी थाहा हुन्छ, जबकी अनेकौं चरण पार गरेर अन्तिम चरणमा पुग्ने सबै देशको टिमहरु कोही पनि उन्नाइस छैनन्, विभिन्न कारणले एउटा टिमले जित्ने र अर्को टिमले हार्ने त निश्चित नै छ। सामाजिक सञ्जालमा गरिएको भविष्यवाणीलाई आधार मान्ने हो भने बेकारमा ९० मिनेट खेल खेलाउनु भन्दा त्यस्ता ज्योतिषसँग सोधेर एउटालाई विजय र अर्कोलाई पराजय को उपाधि दिँदा जाती हुन्थ्यो।

अर्को के भने खेलप्रति टिप्पणी गर्नेहरु प्रायः म जस्तै भोगटेको फुटबल खेलेकाहरु धेरै थिए कि ! राष्ट्रियस्तरका खेलाडी र मेरा मित्रहरु अन्जित बस्नेत, पुष्पमान प्रधान र विराटजंग साहीले त्यस्तो भविष्यवाणी गरेको र खेलको विषयमा कुनै किसिमको टिप्पणी गरेको देखिएन, जबकी एउटा आम मान्छेलाई भन्दा उनीहरुलाई यो खेलको बारेमा बढी जानकारी छ भन्ने कुरालाई कसैले अस्विकार गर्न सक्दैन।

त्यस्तै, आफूले समर्थन गरेको टिम विजयी भएमा खुशी लागेर र पराजित भएमा दुःखी भएर मदिरापान गर्ने गरेको पाइयो, साथै सामाजिक सञ्जालमा अपलोड भएको फुटबल हेर्दै गर्दाको फोटोहरुमा अधिकांश मदिरापान गर्दै फुटबल हेरेको देखियो। मलाई लाग्छ यो फुटबल प्रतियोगिताले मदिराको व्यापारमा पनि वृद्धि भएको हुनुपर्छ। आफूलाई मन नपरेको टिमले जितेमा र हारेमा अपमानजनक र भद्दा टिप्पणी गर्ने गरेको पनि देखियो, जबकी यस्ता कुराको कुनै अर्थ नै छैन। नदुखेको टाउको डोरी लगाएर दुखाएको भनेको जस्तै नेपालीहरुले नेपाली भाषामा गरेको टिप्पणी नेपालीले नै हो पढ्ने अरुले पढ्छन् भन्ने हुँदैन।

कुनैकुनै महा बुज्रुकहरुले देशको बलियो वा कमजोर आर्थिक अवस्थालाई हेरर पनि टिमलाई राम्रो वा नराम्रो भनेर आँकलन गरेको देखियो। यदि प्रतिव्यक्ति आय वा मानव विकास सूचांकको आधारमा विश्वकप फुटबल प्रतियोगितामा छानिने हो भने सधैं अमेरिका, सिंगापुर र नर्वे जस्ता देशले खेल्नु पर्ने थियो, जबकी यो कुरा नै फरक हो।

यो आलेख लेख्नुको अर्थ हामीमा बिस्तारै आफैं मात्र जान्ने सुन्ने, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र धैर्यताको अभाव रहेकोले हो। मेरो विचारमा नेपालले विश्वकप फुटबल प्रतियोगितामा गएर खेल्ने भनेको केबल दिवास्वप्न मात्र हो, कमसेकम मेरो पुस्ताको लागि मात्र भने पनि। अब क्लवले कुन प्रतियोगितामा कति गोल गरेको थियो भनेर कण्ठ पारेको भरमा फुटबल विशेषज्ञ उपाधि पाइनुलाई मात्र उपलब्धि मान्ने हो भने त्यसमा मेरो केही भन्नु छैन।

प्रकाशित : श्रावण १, २०७५ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT