१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिर्जना फुलाउने शिक्षक

विद्यार्थीको भविष्य शिक्षकको हातमा भर पर्छ । शिक्षकले जस्तो बनाउन चाह्यो, त्यस्तै बन्छ ।
सुनिता लामिछाने

काठमाडौँ — चार्ल्स डार्बिनका पिता छोरालाई डाक्टर बनाउन चाहन्थे । तर डार्बिनको डाक्टर बन्ने चाहना पटक्कै थिएन । उनको चाहना प्रकृति विज्ञानतिर थियो । उनलाई प्रकृति विज्ञानले तान्यो । लामो समयको अनुसन्धान, खोजबाट विश्व प्रसिद्ध महान वैज्ञानिक बन्न पुगे । के उनी डाक्टरभन्दा कम बने त ? उनीहरूका अभिभावक दु:खी बने त ? विद्यार्थीको भविष्य शिक्षकको हातमा भर पर्छ ।

सिर्जना फुलाउने शिक्षक

शिक्षकले जस्तो बनाउन चाह्यो, त्यस्तै बन्छ । जुन शिक्षकले विद्यार्थीको रुचि बुझेर उसलाई अघि बढ्न सुझाए भने त्यस्ता विद्यार्थीको भविष्य चम्कनेमा दुईमत रहँदैन ।


घरपरिवारको मायालु वातावरणबाट विद्यालयमा प्रवेश गरेका कलिला मस्तिष्कमा जस्तो प्रभाव पार्न सकियो, त्यसैले उनीहरूको भविष्य निर्धारण गर्छ । फरक–फरक वातावरणबाट आएका बालबालिका एउटै कक्षाकोठाभित्र बसे तापनि उनीहरूको रुचि एउटै हुँदैन । विद्यार्थीको क्षमता र रुचि अनुसार शिक्षा दिनु उचित हुन्छ । एउटा कक्षाकोठमा सबै विद्यार्थी समान स्तरका हुँदैनन् । हत्केलाका औँलाहरू पनि असमान हुन्छन् । तर विभिन्न क्षमता बोकेर उनीहरू कक्षाकोठामा छिरेका हुन्छन् । शिक्षकको पेलाइ र अभिभावकको चाहनाले मात्र बालबालिकाले उपयोगी शिक्षा आर्जन गर्न सक्दैनन् ।


अभिभावकले आफ्ना सन्तानलाई सक्षम र सुसंस्कृत बनाउन विद्यालय भर्ना गरिदिन्छन् । अनि ती साना बालबालिकाका सबैभन्दा नजिक शिक्षक नै हुन्छन् । शिक्षकलाई नै आफ्ना कुरा खोल्छन् । शिक्षकप्रति पूर्णरूपमा विश्वास राख्ने भएकाले उनीहरूबीच आत्मीयता बढाउन साथीकै व्यवहार गर्नु आवश्यक हुन्छ । कक्षाकोठाभित्र पसेदेखि नै उनीहरूका क्रियाकलापलाई बुझेर स्वभाव अनुसार शिक्षकले आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ ।


जब शिक्षक कक्षाकोठा भित्र पस्छ, उसले विद्यार्थीको क्षमता पर्गेल्नसके, उसको इच्छा र रुचि अनुसार पढाउनसके कक्षा सिकाइ प्रभावकारी बन्न सक्छ । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले आफूलाई आज त्यो ठाउँमा पुर्‍याउने श्रेय आफू कक्षा ४ मा पढ्दा आफूलाई पढाउने गुरुआमालाई दिएका छन् । पढ्न अल्छी गरिरहेका बालकलाई बगैँचामा पुर्‍याएर एउटा रुखबाट चरा अर्को रुखमा कसरी उड्यो भन्ने गुरुआमाको प्रश्न थियो । त्यही कुराले उनको मनमा भौतिकशास्त्रका विषयमा जिज्ञासा जगायो । त्यही जिज्ञासु स्वभावले उनलाई भारतका ठूला वैज्ञानिक साथै राष्ट्रपतिसम्म बनायो । त्यस्ता जिज्ञासु बालबालिकालाई कसरी सिर्जनशील बनाउनुपर्छ भन्ने शिक्षकले बुझ्नुपर्छ । शिक्षकले विद्यार्थीलाई बद्मास, ठग भन्ने र विभिन्न आरोप लगाएर सजाय दिनु राम्रो होइन । उनीहरू भित्र रहेको सिर्जनशील प्रतिभालाई गालीगलौज र कारबाहीले मार्नु हुँदैन ।


शिक्षकले दिएको गृहकार्य नगर्नु, विद्यालय जान नखोज्नु, डराउनु, तर्सिनु, नियमित कक्षामा उपस्थित नहुनु, हल्ला गर्नु, कक्षाकोठामा बस्दा जहिले पनि पछि बस्न रुचाउनु जस्ता समस्या के कारणले भएको हो ? विद्यार्थीहरू यस्तो काम किन गर्छन् त ? यस विषयमा पनि शिक्षकले ध्यान पुर्‍याउन आवश्यक छ । विद्यार्थीका हरेक हाउभाउलाई चासो दिएर उनीहरूको उज्ज्वल भविष्य र सफलताका लागि शिक्षकको सर्वोपरि भूमिका हुन्छ । यसरी पढाइमा खस्कँदै गएको र पढ्न मनै नलगाउने विद्यार्थीका बारेमा उसैको मिल्ने साथीसँग पनि बुझ्न सकिन्छ । अनुशासन छैन, नैतिक शिक्षाको पाठ सिकेको छैन भनेर शिक्षकले अभिभावक र अभिभावकले शिक्षकलाई दोष थुपार्ने काम गर्नु राम्रो होइन । बालबालिकालाई उचित संस्कार सिकाउन शिक्षक र विद्यालय परिवारको उत्तिकै दायित्व हुन्छ ।


विद्यार्थीले समयमा गृहकार्य बुझाउन सक्दैन, अल्छी गरेर बस्छ, उसको पढाइ विस्तारै खस्कँदै गएको छ भने त्यो किन भयो भन्ने विषयमा शिक्षकले खोजी गर्नुपर्छ । विद्यार्थीको पढाइ खस्कनुमा विद्यार्थीलाई मात्र दोष दिनु हुँदैन । विद्यार्थीमा जब यस्ता समस्या देखापर्न थाल्छ, यसमा अवश्य पनि कुनै कारण हुनुपर्छ भन्ने बुझ्नुपर्छ । यसो हुनुमा उसको घरायसी वातावरणले हो कि ? विद्यालयको वातावरण उचित नभएर हो ? खराब साथीको संगतले पो हो कि ? वा शिक्षकले पढाएको नबुझेर हो ? उसले पढ्न मन नगर्नाको कारण के हो ? शिक्षकले पत्ता लगाउनु आवश्यक हुन्छ ।


शिक्षकले व्याख्यान विधिलाई मात्र प्रयोग गरेर पढाउँदा, विद्यार्थीलाई सहभागी नगराउँदा उक्त कक्षाका विद्यार्थीहरू निस्क्रिय बन्दै जान्छन् । अनि शिक्षकले गृहकार्य माग्दा न समयमा गृहकार्य बुझाउन सक्छ, नत उसको क्षमतामा नै वृद्धि हुन्छ । नयाँ पुस्ताले जान्नुपर्ने, सिक्नुपर्ने कुरालाई विचार गरेर तिनै कुरालाई बुझी शिक्षकले आफूलाई परिस्कृत गर्दै जानुपर्छ । पुराना मान्यता र विचारबाट शिक्षा प्राप्त गर्न सक्दैनन् । पुराना सोचाइ नराखी ममता र प्रेमले दिने शिक्षा नै त्यो बालकको लागि असल शिक्षा बन्छ ।

परीक्षाको नतिजामा मात्र केन्द्रित नभई शिक्षकले दिएको ज्ञान, सीप व्यवहारमा पनि लागू हुने खालको हुनुपर्छ । प्रमाणपत्रको लागिमात्र विद्यालय जानु नपरोस् कि उसले आफ्ना शिक्षक र विद्यालयबाट सिकेका कुरा व्यावहारिक होस् । राष्ट्रको समृद्धिमा सर्वोत्कृष्ट सकारात्मक प्रभाव पार्ने शिक्षा महत्त्वपूर्ण क्षेत्र हो । गुणस्तरीय शिक्षा प्रदान गरी कर्तव्यनिष्ठ र नैतिक नागरिक बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनको उत्तिकै महत्त्वपूर्ण भूमिका भए तापनि एक आदर्श शिक्षकको योगदानले विद्यार्थीको समग्र उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

लेखिका शिक्षक हुन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?