सवारीले सास्ती

सम्मेलनका नाममा सडक र विद्यालय बन्द गर्दा सरकारलाई हीनताबोध हुन्छ कि विदा भएकामा मख्ख मेरो छोरालाई जस्तै खुसी लाग्छ ?
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — बिमस्टेक शिखर सम्मेलनमा भाग लिन विशिष्ट पाहुना काठमाडौं आएका छन् । त्यसै त काठमाडौंका सडक व्यस्त छन् । त्यसमाथि विशिष्ट पाहुनाको सुरक्षा संवेदनशीलताले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मानिस सास्ती खेप्न बाध्य छन् ।

सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पनि देखेँ । ‘घरमा पाहुना आउँदा आफू भुइँमा सुतेर पाहुनालाई खाटमा सुताउने हाम्रो चलन हो । देशकै पाहुना आएका बेला केही क्षणको जाम सही दिऊँ न ।’ यसमा आपत्ति छैन । व्यवस्थापनको अर्को पाटो भने दिक्कलाग्दो छ । विद्यालय बन्द छन् । बालबालिकालाई हेरविचार गर्नुपर्ने अभिभावक कार्यालय जानुपर्छ । यसले अधिकांश एकल परिवारमा अभिभावकको दिनचर्या अप्ठ्यारो बनेको छ । जोर–बिजोर प्रणालीले सडकमा सवारी साधन आधा कम भएका छन् । गाडी चढिसाध्य छैन । पैदल हिँड्न बाटा यात्रुमैत्री छैनन् । कतिपय स्थानमा पैदल यात्रा रोक लगाइएको छ ।


घरबाट कार्यालयसम्म हिँड्दै गर्दा छोरा सँगै थियो । गाडीका जोर–बिजोर नम्बरबारे कुरा गर्दै हिँड्दै थियौँ । बिजोर चल्ने दिनमा जोर नम्बर चलाएको भनेर भित्री सडकको बाटोमा दुई स्कुटरबाट ट्राफिक प्रहरी चाबी खोस्दै रहेछन् । नियम बनाएपछि मान्नैपर्छ । हिँड्दै गर्दा छोरो करायो, ‘मामु † ऊ जोर गाडी । ट्राफिक अंकललाई भन्दिऊँ ?’ सरकारी नम्बर प्लेटका दुई गाडी लगालग कटे । छोराले ट्राफिक र मलाई पालैपालो हेरिरह्यो ।

Yamaha


अनौठो छ । सवारी साधनमा जोर र बिजोर प्रणाली लागू भएकामा गुनासो छैन । प्रश्न प्रहरीको गाडी, एम्बुलेन्स जस्ता संवेदनशील क्षेत्रमा होइन । तर सरकारी हाकिमका गाडीमा जोर–बिजोर लागू नहुने रे † कस्तो विभेदकारी नियम! मर्कामा पर्नुपर्ने आम मानिस र तल्लो तहका कर्मचारी मात्र । संकेत काफी छन् । सरकार विभेदकारी छ । नियम, व्यवहार विभेदकारी छन् । कसरी समन्यायको अपेक्षा गर्नु ?


बिमस्टेक सम्मेलन चल्दैछ । विकासका एजेन्डामा छलफल होलान् । विविध सहकार्यका विषयमा सहमति होला । त्यसबाट प्राप्त हुने उपलब्धि कसका लागि ? जनताले के पाउलान् ?
सुनिन्थ्यो, पञ्चायतकालमा राजाको देश दौडाहामा स्थानीय पञ्च राजालाई देखाउन तिलस्मी कुरा खोजी गर्थे रे । नक्कली काउली, साग आदिलाई कृषिको उत्कृष्ट नमुना भन्दै देखाउँथे रे । राजाबाट उद्घाटन गरिएका कति धाराबाट कहिल्यै पानी आएन रे । रातारात बनाइएका बाटा राजाको भ्रमण सकिने बित्तिकै पहिलेकै हालतमा पुग्थे रे । यस्ता विकासबाट जनताले के पाउँथे र † चाकरीबाज पञ्चहरूले भने राम्रै बक्सिस पाउँथे रे ।


समय बद्लियो । व्यवस्था परिवर्तन भयो । तर शासकका प्रवृत्ति फेरिएनन् । राजालाई देखाउन पञ्चहरूले गरेजस्ता क्रियाकलाप रोकिएनन् । नत्र चुस्त आर्थिक प्रशासन र मितव्ययिताको रट लगाउने सरकारले किन हो, हिले बाटोमा रंग पोखाएको ? राज्यले वर्षाको हिलोमा रंग पोख्छ र सडकका खाल्डा त्यसै छाडी अर्को सडक खण्डमा पिचमाथि पिच थप्छ भने जनताले स्वभावैले प्रश्न गर्छन्– हामीले तिरेको कर केका लागि ? देशले गर्ने विकास कसका लागि ? कि पञ्चायतकालका पञ्चझैं केही चाटुकारलाई लाभान्वित बनाउन मात्र हो ?


बिमस्टेक सम्मेलनको मिति तथा स्थान एक साता अघिमात्र टुंगो लागेको होइन । तर विशिष्ट पाहुना ‘सवारी’ हुने सडकमा एक–दुई दिन अघिमात्र कालोपत्रे थपियो । विद्यालय तथा कार्यालय जाने तथा फर्कने समय काठमाडौंको ट्राफिक व्यवस्थापन त्यसै पनि जटिल हुन्छ । त्यतिबेलै मुख्य सडकमा थप कालोपत्रे गरिँदै थियो । यस्तो काम राति वा सडकमा कम ट्राफिक हुने समयमा गर्न सकिन्थ्यो । एक उच्चपदस्थ कर्मचारी भन्दै थिए, ‘राति काम गर्दा कामदारले अतिरिक्त ज्याला लिन्छन्, अहिले अतिरिक्त ज्यालाको व्यवस्था छैन ।’ यस्तो व्यवस्था समयमै गर्न सकिन्न र ?


सरकारले ट्राफिक व्यवस्थापनमा समस्या हुने देखेर राजधानीमा विद्यालय तथा कार्यालय बन्द गराउने निर्णय गरेको छ । आफ्नो व्यवस्थापन असक्षमता/कमजोरी पहिचान गर्नु राम्रो हो । यस्ता कार्यक्रम हुँदा विद्यालय बन्द गराइएको यो पहिलोपटक होइन । व्यवस्थापन कठिन हुन्छ भने विकल्प खोज्नुपर्ने होइन र ? कि सधंै सरकारी असक्षमताको भागिदार विद्यालय र आममान्छे भैरहनुपर्ने ? सम्मेलनका नाममा सडक वा विद्यालय बन्द गर्दा सरकारलाई हीनताबोध हुन्छ कि विदा भएकामा मक्ख मेरो ८ वर्षे छोरालाई जस्तै खुसी लाग्छ ?
wagle.samjhana@gmail.com

Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ ०७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भड्किलो तीज : उत्ताउलो गीत

सन्दर्भ
समय बदलिन्छ, परिवेश बदलिन्छ र सँगै बदलिन्छन्– हाम्रा संस्कार र संस्कृतिहरू पनि । यसरी नै तीज पनि बदलिएको छ ।
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेसका स्न्याक्स र ड्रिंक्स आदिका विविध रूपमा बजार हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ । वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगिमामा प्रस्तुत भइरहेका गीतका भिजुअलहरू प्रत्यक्ष–अप्रत्यक्ष पुँजीवादी उत्पादनका प्रचार सामग्री भइरहेका छन् ।

नेपाली पात्रोअनुसार यस वर्ष तीज भदौ महिनाको अन्त्यतिर परेको भए पनि सहरमा तीजको रौनक साउनबाटै बढिसकेको छ । कलाकारहरू तीजलाई लक्षित गरेर बनाइएका गीतका श्रव्यदृश्य श्रोता, दर्शकसम्म पुर्‍याउन तँछाडमछाड गरिरहेका छन् । युट्युब तथा टेलिभिजनका स्क्रिनमा तीज–गीतका भ्युअर्सहरू बढिरहेका छन् । कपडा तथा गहना पसलमा भीड बढ्दो छ । पार्टी–प्यालेसहरू भरिभराउ छन्, दरका विभिन्न परिकारहरू पाकिरहेका छन् र संस्कृति जर्गेनाका लागि कटिबद्ध आधुनिक नारीहरू कम्मर मर्काइरेहका छन्— सरकारी सञ्चारमाध्यमले प्रतिबन्ध लगाएका तीजका गीतहरूमा ।

तीज संस्कृति
कुनै पनि चाडबाड तथा संस्कृतिले तत्कालीन समाजको आर्थिक, सामाजिक तथा चेतनाको अवस्थालाई झल्काउने गर्छ । केही दशकपहिलेसम्म नेपाली समाजको आर्थिक प्रणाली कृषि र पशुपालन आधारित थियो । श्रम आधारित यो अर्थ प्रणाली धेरै हदसम्म महिला श्रममा निर्भर थियो । महिलालाई खेतीपाती तथा पशुपालन छाडेर बाहिरफेर हिँड्न तथा माइती जाने अवसर निकै कम मिल्थ्यो । सञ्चार साधनहरूको विकास नभइसकेकाले घरभन्दा टाढा रहेका आफन्तसँग सहज सम्पर्क थिएन । खेती लगाइसकेको समयमा केही समयको फुर्सद निकालेर माइती जाने, मीठो खाने, एकआपसमा भेट गर्ने तथा रमाइलो गर्ने पर्वको रूपमा तीज पर्व विकास भएको मान्न सकिन्छ ।


समय बदलिन्छ, परिवेश बदलिन्छ र सँगै बदलिन्छन्— हाम्रा संस्कार र संस्कृतिहरू पनि । यसरी नै तीज पनि बदलिएको छ । माइतीको आँगनमा सीमित तीज पार्टी–प्यालेससम्म पुग्नु र आमाको हातको ‘दर’ उम्किएर व्यावसायिक ‘कुक’ हरूबाट पकाइएका विविध परिकारसँगै वाइन, बियर र ह्विस्कीका चुस्कीसम्म पुग्नुले बदलिँदो नेपाली समाजको संकेत गर्छ । त्यस्तै विगतमा हिन्दु नारीमा मात्र सीमित तीज अहिले अन्य धर्म, जातजाति तथा समुदायसम्म विस्तार भएको छ, भने तीज गीतमा पनि पुरुष कलाकारको उपस्थिति उल्लेख्य बढेको छ । यसले तीजको व्यापकता देखाउँछ ।

उत्ताउला गीत
‘...बिहे हो र (?) रत्यौली, पार्टी हो र (?) ठटयौली, तीजका गीत गाउने भए वेदनाका गाऊ’
पछिल्लो समयमा ‘उत्ताउला गीत’ र ‘भड्किलो तीज’ लाई लिएर तीजको आलोचना हुने गरेको छ । नेपाली महिलाहरू धर्म र संस्कारको नाममा वर्षौंदेखि पिल्सिएका थिए । बिहे भएका छोरीचेलीले गर्नुपर्ने अधिक श्रम, रूखोसुखो ब्यबहार तथा जन्मिएको तथा हुर्किएको घर, परिवार तथा साथीसंगतिको सम्झना बल्झिनु स्वाभाविक थियो । तीजको नाममा एक दिन मात्र भए पनि अभिव्यक्ति स्वतन्त्रता पाएका उनीहरूले गीतमार्फत आफ्ना वेदना अभिव्यक्त गर्थे । लामो समयसम्म तीजमा नारीहरूले आफ्ना पीर–व्यथा अभिव्यक्त गर्ने गरेकाले तीजलाई नाचगान र अझै विशेषगरी नारी वेदनाका स्वरहरू अभिव्यक्त गर्ने पर्वको रूपमा लिने गरिन्थ्यो । अहिले फेरिएका गीतका शब्दप्रति असहमतिका स्वरहरू सुनिन्छ । पुरुषले नारी संस्कारको नाममा बनाएका पर्खालहरू भत्किँदै गएको अवस्थामा पुरुषप्रधान समाजको असन्तुष्टि खासै नौलो विषय भने होइन ।


गीतहरूमा प्रयोग भएका शब्द, लय तथा तिनका भिजुअल र तिनले समाजमा पार्ने प्रभावबारे बहस हुनुपर्छ तर अनुच्छेदको सुरुमा उल्लेख गरिएको ‘...तीजका गीत गाउने भए वेदनाका गाऊ’ जस्ता स्वरहरू महिला नियन्त्रणको अभिप्रायले आएको देखिन्छ ।

भड्किलो तीज
हामीले चाहेर वा नचाहेर, विरोध गरौँ वा नगरौँ, पुँजीवाद हाम्रो जीवनमा अविभाज्य भइसकेको छ । धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य, जीवन पद्धति सबैतिर पुँजीवाद अन्तरघुलित भइसकेको छ । यस्तो परिवेशमा तीज अछुतो रहने कुरै रहेन । तिनलाई हाम्रो संस्कृतिसँग कुनै लिनु–दिनु छैन । उत्पादनको बजार विस्तार गर्नु छ र यसका लागि तीज एउटा व्यापार महोत्सव बनेको छ । त्यस्तै तीजका गतिविधि लाइभ प्रसारण गर्ने टेलिभिजनहरू संस्कृतिका होइनन्, पुँजीवादी उत्पादनका ‘प्रमोटर’ हुन् । बहुराष्ट्रिय कम्पनीका उत्पादनको प्रायोजनमा प्रसारण हुने यस्ता कार्यक्रमलाई आफ्नो टीआरपीसँगै प्रायोजकको बजार बढाउनु छ र उपभोग संस्कृतिको विकास गर्नु छ ।

फेरिँदो तीज प्रभाव
परिवर्तित तीजमा सहभागी महिलाले सम्पूर्ण नेपाली नारीको प्रतिनिधित्व गर्छन् त ? अवश्य गर्दैनन् । राष्ट्रिय जनगणना–२०६८ अनुसार अझै पनि कुल जनसंख्याको १७ प्रतिशत मात्रै सहरी क्षेत्रमा बस्छन् । सहरी क्षेत्रमा बसोबास गरे पनि अधिकांश कामकाजी महिलाका लागि पार्टी प्यालेसमा कम्मर मर्काउन न समय पुग्छ, न त आर्थिक हैसियत ।


बितेको डेढ दशकयता नेपाली युवाहरू रोजगारीका लागि बिदेसिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइभन्दा बढी योगदान दिन्छ । ग्रामीण क्षेत्रमा नै बसे पनि विप्रेषण आयले महिलाहरूको जीवन पद्धति फेरिएको छ । त्यस्तै वदलिँदो संस्कृतिको प्रभाव पनि धेरथोर सहरदेखि गाउँसम्म फैलिएकै छ ।

के हो त संस्कृति ?
धेरै लामो समयसम्म समुदायले गरेको अभ्यास नै संस्कृति हो । संस्कृतिमा समुदायका आर्थिक, सामाजिक तथा धार्मिक सम्वन्धको तथा कानुनको प्रभाव पनि रहेको हुन्छ । यसै आधारमा सामाजिक नीतिनियम बनेका हुन्छन् र संस्कृतिको नाममा हामी अनुसरण गरिरहेका हुन्छौँ ।


पितृसत्तात्मक मुलुकमा अधिकांश सामाजिक नियम पुरुषले बनाएका छन् । संस्कृतिको नाममा स्थापित यी सामाजिक नियम/मान्यता पुरुषले पुरुषका लागि बनाएर महिलामाथि लादेका छन् जहाँ पुरुषलाई श्रेष्ठ र महिलालाई तुच्छ मानिएको छ । यी विभेदपूर्ण र नियन्त्रणमुखी छन् । जस्तै : विवाह महिला–पुरुष दुवैको हुन्छ, तर महिलाको थर, गोत्र आदि फेरिन्छ । हिन्दु संस्कृतिमा विवाहका चिन्हहरू चुरा, पोते, तथा सिन्दूरजस्ता चीज महिलाका लागि अनिवार्य हुन्छ तर यसमा पुरुष स्वतन्त्र हुन्छ ।


तीजको सन्दर्भमा पनि यही हो । श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको नाममा निराहार व्रत बस्नुपर्ने, योग्य पति पाउनका लागि व्रत बस्नुपर्नेजस्ता नियम पुरुषले बनाएर महिलामाथि थोपरेका ‘कुसंस्कार’ हुन् । श्रीमती वा महिलाको सुस्वास्थ्य वा प्रगतिका लागि भनी पुरुषले व्रत वा त्यस्तै केही गर्ने संस्कृति त अहिलेसम्म बनेकै छैन । यसैले यी संस्कार विभेदकारी छन् ।


पितृसत्ताले थोपरेका यस्ता विभेदकारी चालचलन र संस्कृतिविरुद्ध आवाज उठ्नेबित्तिकै आफ्नो सत्ता डग्मगाएको महसुस गर्ने पुरुष–नारीका हरेक गतिविधिप्रति सन्देह व्यक्त गर्छ र नियन्त्रणको लगाम कस्न खोज्छ । त्यो नियन्त्रण कहिले कुलको इज्जतको नाममा हुन्छ त, कहिले परम्परा र संस्कृतिको नाममा । अहिलेको नागरिकतासम्बन्धी संशोधन विधेयक पनि त्यस्तै नियन्त्रण प्रयास नै हो ।

पितृसत्तात्मक सोच
के छ त नारीवादीहरूको हालचाल ? आजभोलि प्रायश: पुरुष साथीहरू कुराकानी यसरी सुरु गर्छन् । मानौँ ‘नारीवादी’ नाम दिइएका यी आवाजहरू संसारमा छुट्टै केही अस्तित्वका लागि संघर्षरत ‘वाद’ हो । वास्तवमा नारी स्वतन्त्रताका लागि उठेका यी आवाजहरू लैंगिक विभेदरहित समाज निर्माणका लागि गरिएका सचेत प्रयास हुन् जसको इतिहास झन्डै दुई सय वर्ष लामो छ ।


सन् १८३० मा अमेरिकी महिलाहरूले दासताको विरुद्ध उठाएको संगठित आवाजलाई नै महिलामुक्ति आन्दोलनको सुरुआत मानिन्छ । औद्योगिक क्रान्तिपछि अमेरिका, युरोपका महिलाहरूले ज्याला, सम्मान र स्वतन्त्रताका हकमा पुरुषसरहका लागि आन्दोलन गरेका थिए । महिला आन्दोलनकै विभिन्न दबाबको कारण सबैभन्दा पहिले सन् १८९३ मा न्युजिल्यान्डले र सन् १९५० पछि अमेरिका तथा युरोपेली देशहरूमा महिलालाई निर्वाचनमा मताधिकार दिइएको थियो । सन् १९६३ मा बिटी फ्राइडनद्वारा प्रकाशित ‘द फेमिनाइन मिस्टिक’ ले महिलामाथिको विभेद तथा अवस्थाको बारे प्रकाश पार्न थाल्यो । यसपछि बिस्तारै समाज र संस्कृतिमा रहेका खराबीको खोजी गर्न थालियो । सन् ७० दशकमा नारीवादी आन्दोलनले पुरुषप्रधान समाजबाट भएका नियन्त्रणबाट स्वतन्त्रता पाउन संघर्ष सुरु गर्‍यो । सन् १९७५ मा मेक्सिकोमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो र, सन् १९७९ मा महिलाविरुद्धका सबै किसिमका भेदभाव हटाउने घोषणा गरियो । त्यसपछि कोपेनहेगन, नैरोवी हुदै बेइजिङ सम्मेलनसम्म आइपुग्दा महिला अधिकारलाई संस्थागत गर्ने विषयमा ठूलो उपलब्धि भएको मान्नुपर्छ । यसपछि मात्र महिलाहरू विकासका लागि र त्यसका प्रतिफलका लागि पनि भन्ने अवधारणाले विकासको मूलप्रवाहमा महिलालाई समेट्नुपर्ने र यसका लागि महिला–पुरुष दुवैको सकारात्मक भूमिकाको आवश्यकता हुनुपर्ने निष्कर्ष निकालियो । अहिलेसम्मको उपलब्धिमा महिला विकासलाई पुरुषहरूबाट अलग्याइन नहुने र समन्वय गरेर लैजानुपर्ने अवधारणाको विकास भएको छ ।


विश्वमै पहिलो पटक महिलावादी आन्दोलनको सुरुआत भएको झन्डै एक शताब्दीपछि मात्र नेपालमा संगठित रूपमा नारी अधिकारको विषयलाई केन्द्रमा राखेर आवाज उठाइएको थियो । विसं १९७४ मा दिव्यादेवी, मेलवादेवी, योगमाया आदिको अगुवाइमा नेपालमा पहिलो पटक महिला समिति गठन भएको थियो । त्यसपछि २००७ सालको आन्दोलनको सेरोफेरोमा चन्द्रकान्ता मल्लले स्थापना गरेको नारी जागरण केन्द्र, मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको महिला संघ तथा पुण्यप्रभादेवीको अध्यक्षतामा अखिल नेपाल महिला संघको स्थापनाले नेपालमा संगठित महिला आन्दोलनको विकासक्रम देखाउँछ । यसरी निरन्तर भएका आन्दोलनका परिणामस्वरूप छैटौं पञ्चवर्षीय योजनाबाट विकासमा महिला अवधारणा लागू भएको थियो भने पञ्चायतकालको अन्तिम दशकमा आइपुग्दा सरकारी तहमा महिला विकास शाखा तथा महिला विकास विभागको स्थापना भएको तथा प्रजातन्त्रको पुन:स्थापनापछि २०५२ सालमा महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको देखिन्छ ।


यो लामो संघर्षको परिणाम अहिले नेपाली महिलाहरूको आर्थिक, सामाजिक, विकास र सशक्तीकरणका लागि संविधानमा नै महिलाको हक प्रत्याभूत गरिएको छ । महिला घरमुली २५.७ प्रतिशत, सम्पत्तिमाथि महिलाको स्वामित्व २६ प्रतिशत, निजामती प्रशासनमा महिलाको प्रतिनिधित्व १७ प्रतिशत, महिला साक्षरता ५७.४ प्रतिशत र श्रम सहभागिता दर ५४ प्रतिशत पुगेको छ । लैंगिक असमानता सूचक ०.४८९ र महिलाको मानव विकास सूचकांक ०.५२१ पुगेको छ ।


नेपालमा लैंगिक समानताको लक्ष्य अझै टाढा रहे तापनि यी उपलब्धिहरू झन्डै शताब्दी लामो आन्दोलनकै कारण सम्भव भएका हुन् । संगठित तथा व्यक्तिगत रूपमा मुखरित ‘नारी अधिकार’ नाम दिइएका यी आवाज महिला अधिकारको विषय मात्र होइनन्, बरु अपुरो मानवअधिकारको आन्दोलनलाई पूर्णता दिने प्रयास हो । आधा धर्ती ओगट्ने नारीको अधिकारलाई अपूर्ण राखेर कुनै पनि मानवअधिकार पूर्ण हुन सक्दैन ।

र अन्त्यमा,
संघर्ष र रूपान्तरण विकासको नियमित प्रक्रिया हो । गतिशील समाजमा यो स्वाभाविक हुन्छ । सदियौँ अगाडिका नारीहरूले तत्कालीन व्यवस्थाका मान्यता र संस्कारविरुद्ध संघर्ष नगरेका भए आजको यो उपलब्धि प्राप्त हुने थिएन । रूपान्तरणको चरणमा नेपाली समाजमा पनि संस्कृतिको नाममा विद्यमान कुसंस्कार होस् वा विभेदकारी कानुन, यसका विरुद्ध निरन्तर आवाज उठाउनैपर्छ ।


बदलिँदो परिस्थितिमा महिलाहरूले अभिव्यक्तिको लागि तीज नै कुर्नुपर्ने अवस्था छैन । तर पनि अभिव्यक्ति स्वतन्त्रताको संस्कृतिका रूपमा स्थापित तीजलाई समाज परिवर्तनका आवाजहरू मुखरित गर्ने अवसरको रूपमा सदुपयोग गर्न सकिन्छ । स्वस्थ समाज निर्माणका लागि कुसंस्कारहरू वदल्दै लैंगिक समानताको उच्चतम अवस्थामा पुग्नैपर्छ । यसका लागि महिला र पुरुष दुवैको सचेत ढंगले हातेमालो गर्नु जरुरी हुन्छ ।
wagle.samjhana@gmail.com

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT