कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लास्टिकको कलम

पारिस्थितिक प्रणाली चलोस् भन्नका लागि हामीले आआफ्नो तहबाट प्लास्टिक व्यवस्थापन गर्न जरुरी छ ।
कञ्चनमणि दिक्षित

काठमाडौँ — यो लेख प्लास्टिकको कलमले लेख्दैछु । बिहान केही घन्टा भए पनि प्लास्टिक प्रयोग गर्दिन भन्ने ठानेको थिएँ, तर उठ्ने बित्तिकै प्लास्टिककै बु्रसले दाँत माझ्न पुगेछु ।

प्लास्टिकको कलम

लेखेको कुरा प्लास्टिककै कम्प्युटरमा टाइप गरी साथीहरूको प्रतिक्रिया माग्न इमेल र सोसल मिडिया प्रयोग गर्छु । हाम्रो जीवन प्लास्टिकसँग नङ र मासुजस्तै जोडिएको रहेछ, छुटाउनै गाह्रो । प्लास्टिक प्रदूषणबारे केही लेख्न खोज्दा मेरो नैतिकता प्रतिरोध गर्दैछ ।


म न प्लास्टिकको प्रयोग रोक्न सक्छु, नत चुप लागेर बस्न । एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोग कम गर्दैमा वा केही मात्रामा पुन: प्रयोगमा ल्याउँदैमा प्लास्टिक प्रदूषणमा कमी ल्याउन सकिन्छ भन्ने पक्षमा म छैन । सामान किन्दा केही ठूला पसलले ग्राहकलाई प्लास्टिकको झोला दिन छाडेका छन् । तर तिनै पसलले एक पटकमात्र प्रयोग हुने प्लास्टिकका सामानको बिक्री रोक्न छाडेका छैनन् ।


सायद अहिले यो सम्भव पनि छैन । केही दिनअघि एउटा पानी सम्मेलनको योजना बनाउँदा प्लास्टिकको बोतलको सट्टा सिल्वरको पानी खाने भाँडो दिई वातावरणमैत्री बन्ने सोचियो । तर प्लास्टिकको कलमको विकल्प सोच्ने प्रयास गरिएन । यो सम्भव थिएन । हामी यो पदार्थबाट यति धेरै जेलिसकेका रहेछौं कि यसबाट कसरी निस्कने भन्ने चुरो पाउनसकेका छैनौं ।


द इकोनोमिक टाइम्स जून २०१८ का अनुसार दोस्रो विश्वयुद्धपछि अहिलेसम्म ८.३ अर्ब टन प्लास्टिक उत्पादन भएछ । जसमध्ये करिब ६.३ अर्ब टन प्लास्टिक फोहोरका रूपमा छ । ९ प्रतिशत प्लास्टिकमात्रै पुन: प्रयोग भएका रहेछन् । बाँकी वातावरणमा छरिएका छन् । प्लास्टिक धेरैजसो ल्यान्डफिल साइट, समुद्र र पानीका स्रोतमा थुप्रिएका छन् । प्लास्टिकको टुक्रा र त्यसको रसायनले परिस्थितिक प्रणालीमा असर गरिराखेको छ । पशुपन्छी र वनस्पतिमा प्रत्यक्ष असर पुगेको छ । समुद्रको पानी प्लास्टिकको रसायनले दूषित छ । नुनको माध्यमबाट यी रसायन हाम्रो खाद्यचक्रमा पुगेका छन् ।


सन् १९१८ को जून पहिलो साता मलेसियाको सिमाना नजिक थाई केनलमा मरेको ह्वेलको पेटमा करिब ९ केजी प्लास्टिक भएको समाचार सुनेका थियौं । भारतको पटनामा गत फेब्रुवरीमा डाक्टरहरूले एउटा गाईको पेटबाट अपरेसन गरेर ८० केजी प्लास्टिक निकालेका थिए । यस्ता समाचार थुप्रै भेटिन्छन् । नहोस् पनि किन, हाम्रो गोजीमा भएको नोटदेखि लिएर घर र कार्यालयका धेरैजसो समान प्लास्टिककै छन् ।


बिभिन्न अध्ययनले उत्पादन भएका आधाजति प्लास्टिकका सामान एक वर्षभित्रै कुनै न कुनै रूपमा फालिने र प्लास्टिकका टुक्रा कुहिनमात्रै घटीमा ४ सय वर्ष लाग्ने देखाएका छन् । प्लास्टिक व्यस्थापनका उपाय नभएका होइनन् । केही समय अगाडि प्लास्टिक पचाउन सक्ने झुसिलकिराको कुरा उठेको थियो, तर त्यसका चुनौती थिए ।


प्लास्टिक व्यवस्थापन गर्ने जिम्मा कसको ? सर्वसाधारण, सरकार, नागरिक समाज वा व्यापारी ? पृथ्वीमा स्वच्छ पारिस्थितिक प्रणाली चलोस् भन्नका लागि हामीले आआफ्नो तहबाट प्लास्टिक व्यवस्थापन गर्न जरुरी छ । हामी त्यही प्रणालीको एक अंश हौं । साधारण मानिस प्रयोगकर्ता मात्र हुन् ।

उनीहरूलाई एक पटकमात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकका सामान प्रयोग नगर्ने वा पुन: प्रयोगमा ल्याउन मद्दत गर्ने, प्लास्टिक नबाल्ने र प्लास्टिक प्रदूषणबारे अरूलाई सचेत गराउने गर्नुपर्छ । मानिसले फोहोरमा रहेका प्लास्टिक संकलन गर्ने गर्छन् । फाल्नुको सट्टा प्लास्टिक छुट्याएर ती मानिसलाई दिए पुन: प्रयोगमा मद्दत पुग्छ । नागरिक समाजले पनि प्लास्टिक प्रदूषणबारे सचेतना गराउने खालका कार्यक्रम गर्ने र अनुगमनमा सरकारलाई सघाउने गर्नुपर्छ । नियम कानुन बनाएर सरकारले प्लास्टिक व्यवस्थापन गर्न सक्छ । प्रदूषण गर्नसक्ने प्लास्टिक उत्पादनको रोक लगाउन सक्छ । तर सरकारको सीमा छ । सरकार स्थानीय व्यापारीलाई कारबाही गर्न सक्छ, तर बहुराष्ट्रिय उत्पादकहरू उसको नियन्त्रणमा छैन । त्यसका लागि सरकारले बहुराष्ट्रिय स्तरमा संवाद र सम्झौता गर्नुपर्छ ।


अन्त्यमा, विश्वका ठूला व्यापारीसँग नयाँ–नयाँ प्रविधि र पैसा छन्, जुन प्लास्टिकका विकल्प खोज्न उपयोगी हुनसक्छ । यसले प्लास्टिक व्यवस्थापनमा मद्दत गर्छ ।
लेखक आइसेट नेपालमा कार्यरत छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?