१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रकृतिका कुचीकार

सन्दर्भ : अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस
कृष्णप्रसाद भुसाल

काठमाडौँ — गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेरिन्छ । तर सिनोमा लुछाचुँडी गरिरहेका गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्त्वलाई हेर्‍यौं भने त्यस्तो लाग्दैन ।

प्रकृतिका कुचीकार

सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् । गिद्ध अहिंसाको पुजारी हुन् ।

सिनो खाइ हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र झिंगाको संख्या वृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोगको संक्रमणले महामारी फैलिन सक्छ ।

एक अध्ययन अनुसार एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्‍याउँछ । धार्मिक र सांस्कृतिक आस्थासंँग पनि जोडिने गिद्धलाई शनी देवताको वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीता हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन् ।

करिब डेढ–दुई दशक अघिसम्म हाम्रै गाउँटोल वरपर सयांै गिद्धहरू सिनोमा लुछाचुंँडी गरिरहेका देखिन्थे, तर आजभोलि ती गिद्ध हराएका छन् । सन् १९८० को दशकमा नेपालमा १० देखि १६ लाख गिद्ध रहेकोमा आज २० हजारभन्दा कममा सीमित भएका छन् ।

२००२ देखि २०११ सम्मको पूर्व–पश्चिम राजमार्गमा गरिएको सर्वेक्षणमा डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको छ । यस प्रकारको भयाभव विनाशका कारण आईयुसीएनले नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ४ प्रजातिलाई अति संकटापन्न सूचीमा राखेको छ । अति संकटापन्न प्रजाति आउंँदो १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

गिद्धको अकल्पनीय र अप्राकृतिक विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् उक्त सिनो खाने गिद्धमा डाइक्लोफेनेकले भिसरल गाउट गराई अन्तत: मृगौला फेल गराउँछ ।

गिद्धले समूहमा खान्छन् । अत: ३० मिलिलिटरको एक भाएल डाइक्लोफेनेक संक्रमित एउटा सिनो खाँदा ३ सय ५० देखि ८ सयसम्म गिद्ध मर्न सक्छन् । वासस्थानको विनाश, आहाराको कमी, सिनोमा विषको प्रयोग र विद्युतीय तार गिद्धका लागि खतरा हुन् ।

गिद्धको विनाश रोक्न सरकारी निकाय, संरक्षणकर्मी, समुदाय र सरोकावाला निकायहरूले सामुहिक प्रयास गरेका छन् । गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु गर्‍यो ।

गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू संकलन गरी पालनपोषण गरिन्छ । तिनीहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ ।

नजिकै रहेको अवलोकन घरबाट अति सकंटापन्न गिद्धका प्रजाति, आनिबानी र क्रियाकलाप अध्ययन, अवलोकन गर्न सकिन्छ । रूपन्देहीको गौडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तारित भएका जटायु रेष्टुरेन्टले वृद्ध र छाडा चैपायाहरूको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गर्नुका साथै पर्या–पर्यटन प्रबद्र्धन, स्थानीयबासीको जीविकोपार्जन र अनुसन्धान केन्द्रको रूपमा विकसित हुँदैछन् ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको कृत्रिम वातावरणमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुन:स्थापना गराउने र स्याटेलाइट जडान गरी अध्ययन गर्न थालिएको छ ।

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ को सफल कार्यान्वयनपश्चात् दोस्रो पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ को कार्यान्वयनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षण साझेदार संस्था र समुदायले हातेमालो गरिरहेका छन् । हामीले अंगिकार गरेको सहभागितामूलक गिद्ध संरक्षण अभियान र यसबाट प्राप्त नतिजा विश्व संरक्षण समुदायका लागि उदाहरणीय र अनुकरणीय बनेका छन् ।

पछिल्ला दिनहरूमा गिद्धको ह्रास रोकिएको अध्ययनहरूले देखाएका छन्, तथापि गिद्धहरू अझै संकटमुक्त र सुरक्षित भैसकेका छैनन् । गिद्धका बासस्थान संरक्षित क्षेत्र बाहिर सामुदायिक वन र निजी वनमा अवस्थित भएकोले संरक्षणमा जनसहभागिता र अपनत्वलाई थप सशक्त बनाउन आवश्यक छ ।

स्रोतको अभावले बहुआयामिक महत्त्वका जटायु रेष्टुरेन्टहरू धरमराएका छन् । स्थानीय निकायहरू स्वायत्त र शक्ति सम्पन्न भएको अवस्थामा ती निकायहरूले पर्यावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोगसँगै गिद्ध संरक्षण तथा जटायु रेष्टुरेन्टको दिगो सञ्चालन र प्रबद्र्धनजस्ता कार्यक्रम पनि आत्मसाथ गर्नसके वेश हुनेछ ।

लेखक पन्छी संरक्षण संघमा कार्यरत छन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?