कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रकस्टार पत्रकार

श्रद्धाञ्जली
सुरेशराज न्यौपाने

काठमाडौँ — पत्रकार होइन, वकिल बन्न चाहन्थे, कुलदीप नयर । तर समयको बहाव यसरी परिवर्तन भयो कि पत्रकारिता नगरी धरै पाएनन् । कलेजको फाइनल परीक्षा सकिएको मात्र के थियो, भारत विभाजित भयो ।

रकस्टार पत्रकार

पाकिस्तानमा भएका हिन्दु भारततर्फ र भारतमा भएका मुस्लिम पाकिस्तानतर्फ । उनले पनि आफ्नो जन्मभूमि सियलकोट (हालको पाकिस्तान) छाड्नुपर्‍यो ।

घर छाड्दा उनीसँग १ सय २० भारुमात्र थियो । स्थिति शान्त भएपछि फर्कनुपर्छ भनेर उनी केही समय अमृतसरमै बसे । तर परिस्थिति सामान्य नहुने देखेपछि कामको खोजीमा दिल्लीतर्फ लागे । त्यतिबेला दिल्लीको बिल्लीमरनबाट उर्दु भाषामा ‘अन्जाम’ प्रकाशित हुने गथ्र्यो । त्यसका प्रकाशक एक हिन्दु पत्रकारको खोजीमा थिए । संयोग भन्नुपर्छ, नयर तिनै प्रकाशककोमा पुगे । अनि सुरु भयो, लाहोर विश्वविद्यालयबाट कानुनमा स्नातक नयरको पत्रकारिता ।

शेखर गुप्ताले सम्झेका छन्, ‘संकटकालका बेला नयरका समाचार प्रेरणादायक थिए । बब उडवार्ड र कार्ल बर्नस्टिनले गरेको वाटरगेट काण्डको खुलासाभन्दा पनि सनीसनीपूर्ण ।’

पछिल्लो सात दशकमा भारतीय उपमहाद्विपमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रमका इतिवृत्त जानेका पत्रकार हुन्, नयर । भारत–पाकिस्तान विभाजनदेखि गान्धीको हत्या, भारतीय कंग्रेसभित्रको अन्तरकलह, इन्दिरा गान्धीको संकटकाल, सत्ताधारी जनता पार्टीको विभाजन, श्रीलकाको तमिल युद्ध, पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोको हत्यासम्म ।

पूर्व गृहमन्त्रीद्वय लालबहादुर शास्त्री र डा. गोविन्दवल्लभ पन्तको सूचना अधिकृतका रूपमा काम गरेकाले उनको भारतीय संस्थापन र कंग्रेस पार्टीभित्र गहिरो पहुँच थियो । त्यसलाई उनले व्यावसायिक ढंगले निकै कुशलतापूर्वक प्रयोग गरे ।

अरुले सुइँकोसम्म नपाउने घटना र सूचनाको विस्तृत तथ्यहरू बटुल्नु नयरका लागि सामान्य थियो । पत्रकारिताका जीवनमा उनका समाचारले गरेका सनसनी खुलासाहरूको फेहरिस्त लामै छ । त्यसैले त उनी ‘स्कुप’ पत्रकारका रूपमा पनि चिनिन्थे । सन् १९६५ मा भारतले पाकिस्तान विरुद्धको लडाइँ जितेको थियो ।

जितकै रापतापबीच भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री तत्कालीन सोभियत संघको तासकन्दमा थिए, पाकिस्तानी राष्ट्रपति जनरल मोहम्मद अयुब खानसँग वार्ता गर्न । तासकन्द छाड्ने अघिल्लो दिन शास्त्रीको अचानक निधन भयो । त्यो समाचारलाई पहिलोपटक ब्रेक गर्ने नयर नै थिए ।

सामान्य व्यक्तिले दिएका सूचनाहरूलाई पनि उनले ठूलै ‘स्कुप’का लागि आधार बनाएका घटना थुप्रै छन् । सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरेकी थिइन् । डेढ वर्ष बितिसक्दा पनि त्यसको अन्त्य हुने कुनै संकेत थिएन । त्यसैबीच नोभेम्बर, १९७७ मा उनको दिल्ली प्रहरीका एक अधिकृतसँग भेट भयो । ती अधिकृतले संकटकाल हट्न लागेको संकेत गरे ।

तर त्यति ठूलो सूचनालाई विभिन्न सूत्रमार्फत पुष्टि गर्नुपथ्र्यो । अन्यथा उनी काम गरेको पत्रिका ‘द इन्डियन एक्सप्रेस’को छविमात्र होइन, उनको पत्रकारिता पनि धरापमा पथ्र्यो । कंग्रेस पार्टीका विभिन्न व्यक्तिसँग सम्पर्क गरेपछि उनी निश्चिन्त भए । समाचार बनाए– ‘संकटकाल खुकुलो हुने र केही दिनमै चुनाव घोषणा हुने ।’ नभन्दै त्यसको समाचार छापिएको केही दिनमै सरकारले चुनाव घोषणा गर्‍यो ।

महत्त्वपूर्ण सूचनाहरू फुत्काउन उत्तिकै खप्पिस थिए, नयर । सन् १९७४ मा भारतले पहिलो आणविक परीक्षण गरेको थियो । भारतसँगको चर्को सामरिक प्रतिस्पर्धाका कारण पाकिस्तानले पनि तत्कालै आणविक हतियारको तयारी सुरु गर्‍यो । सन् १९८७ मा नयर पाकिस्तान पुगे । त्यतिबेला पाकिस्तानले आणविक बम बनाइसकेको हल्ला चले पनि कसैले पुष्टि गरेको थिएन ।

नयर त्यसको तथ्य खोज्न चाहन्थे । विभिन्न सूत्रमार्फत उनले पाकिस्तान आणविक कार्यक्रमका प्रमुख वैज्ञानिक डा. अब्दुल कादिर खानसँग अन्तर्वार्ताको समय पाए । सुरुमा आवणिक कार्यक्रमबारे खासै नखुलेका खानलाई नयरले यस्ता विविध प्रश्नहरूले चिमोटे कि उनी पाकिस्तानसँग आणविक हतियार भएको खुलासा गर्न पुगे । नयरको पत्रकारिता जीवनमा त्यो अर्को ठूलो ‘स्कुप’ थियो ।

संकटकाल दौरान विपक्षी नेतादेखि अधिकारकर्मीसम्म पक्राउ परेका थिए । त्यतिबेला उनी इन्डियन एक्सप्रेसमा सम्पादक थिए । पत्रिकाहरूमा सेन्सरसिप लाग्यो । त्यही संकटकालमा भारतीय पत्रकारिता क्षेत्रमा निर्भीक र निडर पत्रकारका रूपमा नयरको उदय भयो । उनी आपत्काल विरुद्ध कडा रूपमा प्रस्तुत भए ।

सरकारले उनलाई पक्राउ गरेर तिहाड जेलमा राख्यो । त्यस घटनालाई विदेशी पत्रिकाहरूले समेत महत्त्व दिए । सम्पादकीय मार्फत त्यसको भत्र्सना गरे । ‘न्युजरुममा नयरको उपस्थितिले बेग्लै ऊर्जा भथ्र्यो । उनी भारतीय पत्रकारिताका एकमात्र रक स्टार हुन्,’ उनकै मातहत काम गरेका वरिष्ठ पत्रकार शेखर गुप्ताले नयरको सम्झनामा लेखेका छन्, ‘संकटकालका बेला उनका समाचार प्रेरणादायक थिए । बब उडवार्ड र कार्ल बर्नस्टिनले गरेको वाटरगेट काण्डको खुलासाभन्दा पनि सनीसनीपूर्ण थिए ।’

नयरको चर्चित स्तम्भ ‘बिटविन द लाइन्स’ दर्जनौं पत्रिकामा छापिन्थ्यो । कतिपय बंगाली, पाकिस्तानी र खाडीका पत्रिकाहरूले समेत अनुवाद गरेर प्रकाशित गर्थे । नेपालमा ‘कान्तिपुर’ र ‘द काठमाण्डु पोष्ट’ ले केही वर्ष उनका लेख नियमित प्रकाशित गरेका थिए ।

पछिल्ला वर्षहरूमा भारतमा बढेको जातीय र धार्मिक अतिवादीबाट चिन्तित थिए, नयर । भारतको पत्रकारितामा देखिएका पछिल्ला प्रवृत्तिप्रति पनि । ‘अहिले त सरकारले प्रेसलाई आफ्नो पक्षमा ल्याउन र नियन्त्रण गर्न संकटकालको जस्तो गैरसंवैधानिक कदम चाल्नु पर्दैन । किनकि अहिलेका पत्रपत्रिका र न्युज च्यानलहरू त त्यसै पनि सरकार र संस्थापनको पक्षमा छन्,’ जून २५, २०१५ मा द इन्डियन एक्सप्रेसमा प्रकाशित आफ्नो लेखमा नयरले लेखेका छन् । उक्त लेखलाई नयरको निधनको भोलिपल्ट दोहोर्‍याएर प्रकाशित गरिएको थियो ।

नयर जति निर्भीक र निडर थिए, नागरिक स्वतन्त्रता, मानवता र सामाजिक सद्भावको मामिला त्यति नै संवेदनशील पनि । उनी सधैं नै भारत–पाकिस्तान सम्बन्ध सुधारका पक्षमा थिए । २० फ्रेब्रुअरी १९९९ मा भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयी पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको निमन्त्रणमा वार्ताका लागि दिल्लीबाट लाहोरसम्मको बसयात्रा तय गर्दै थिए ।

बाजपेयी बसेकै सिटको पछाडि थिए, नयर पनि । यात्राकै क्रममा बाजपेयीले कश्मिरमा केही हिन्दु मारिएको खबर पाएछन् । त्यो खबरले बाजपेयीलाई निराश बनाएको थियो । उनी यस्तो परिस्थितिमा वार्ता नगर्ने अवस्थामा पुगेका थिए । तर सँगै रहेका नयरले उनलाई यो घटना वार्ता विरोधीहरूले गराएको र संवाद गर्नैपर्छ भनेर आश्वस्त पारे । नभन्दै लाहोरमा भारत र पाकिस्तानबीच वार्ता सफल भयो । लाहोर वार्तालाई ऐतिहासिक भनेर बाजपेयीले समेत दाबी गरेका थिए ।

दुई मुलुकबीच सम्बन्ध सुधारको कामना गर्दै प्रत्येक वर्ष स्वतन्त्रता दिवसका दिनमा बागा बोर्डरमा गएर मैनबत्ती बाल्थे, नयर । त्यसका लागि उनलाई आलोचकहरूले मैनबत्ती समूहको नेता भनेर व्यंग्य पनि गर्थे । उनलाई सन् १९९० मा बेलायतका लागि भारतको उच्च आयुक्त नियुक्त गरिएको थियो । सन् १९९७ मा राज्यसभाका लागि मनोनयन भएका थिए । १५ पुस्तकका लेखक नयर २३ अगष्ट २०१८ मा भौतिक संसारबाट सधैंका लागि बिदा भए ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?