कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दुवै युगका सूत्रधार

श्रद्धाञ्जली
पहिले पारसी नाट्य परम्परामा भिजेका हरिप्रसाद रिमालको पछि शैली परिवर्तन भयो । यिनलाई नेपाली नाट्य रङ्गमञ्चका दुई युग जोड्ने एक सेतुका रूपमा लिन सकिन्छ ।
अभि सुवेदी

काठमाडौँ — एउटा दु:खद नाटक भदौ १५, २०७५ को दिन आकाशवाणीबाट सुनेँ । माध्यमको किसिमले यो रेडियो नाटक नै थियो । यो नाटक हरिप्रसाद रिमालले गरेका ६/७ हजार नाटकको रूपान्तरण थियो । यो नाटकमा उनी निर्देशक थिएनन्, एक पात्र थिए ।

दुवै युगका सूत्रधार

उनले युवराज घिमिरे ‘घियु’लाई ‘रूपान्तरणका लागि रङ्गमञ्च’ (२०६६) किताबमा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘जीवन नै नाटक हो । जीवनमा हामी कति कुरा छल्छौं । झुटो बोल्छौं । हाँस्छौं, रमाउँछौं, सङ्घर्ष गर्छौं । नाटक भित्रकै पात्र त भएर बसेका छौं नि हामी (१४८) ।’

रिमालको दीर्घजीवन नाटकको पटाक्षेप भएको थियो, बिहानै । मैले यो समाचार सुन्दासम्म उनको अन्तिम दर्शनलाई जाने बेला घड्किसकेको थियो । बिमस्टेकको क्षेत्रीय चलल–पहलमा सामेल हुने प्रधानमन्त्री र राष्ट्र प्रमुखहरूका सवारीले अनिश्चित समयको प्रतीक्षामा टक्क रोकिएका सडकपारि जानसक्ने मेरो उपाय थिएन । एउटा प्रतीक्षारत मनको बह रोकिएपछि त्यो कुण्ठा हुन्छ ।

त्यसलाई मञ्चमा लान सकिन्छ । एक युट्युब अन्तर्वार्तामा हरिप्रसाद दाइले भनेका छन्, ‘सिनेमाभन्दा नाटक राम्रो हुन्छ, दर्शक अगाडि हुन्छन् । त्यसले ढुङ्गा हाने पनि प्रशंसा गरे पनि त्यो अगाडि नै हुन्छ ।’ नाट्य समीक्षक मार्टिन एसलिन र नाटककार र निर्देशक फ्रान्सेली आन्तोनिन आर्तादले भनेको सम्झेंँ, ‘नाटकमा अगाडि नै दर्शकका पसिना गन्हाउँछन्, सास फेरेको अगाडि नै आउँछ ।’

नेपाली नाटकका ठूला निर्देशक सुनील पोखरेललाई फोन गरेंँ । तिनले भने, ‘दाजु, हरिप्रसाद दाइमाथि ध्यानातित हुनुहोस् र नाटकका सातोरी क्षणहरूको कल्पना गर्नुहोस् ।’ म त्यसै गर्दै थिएँ । मैले यो समाचार पाएको रेडियो नाटकका पात्र हरिप्रसाद रिमाल दाइ थिए, निर्देशक थिएनन् ।

रिमालका विषयमा केही शब्द लेखेर शनिबारको ‘कान्तिपुर’लाई पठाउन मसँग खासै समय थिएन । ती सम्वत् १९८२ सालमा लगनटोलमा रिमाल परिवारमा जन्मेका थिए । जेठा दाजु गोपालप्रसाद नाटककार थिए, जसले ‘मसान’ नाटक लेखे । हरिप्रसाद रिमालले यसको निर्देशन गरेर २०३३ सालमा राष्ट्रिय नाचघरमा प्रस्तुति गराए ।

उनका अर्का दाजु कृष्णप्रसाद नृत्य कलाकार थिए । हरिप्रसाद रिमालका पहिला गुरु बालकृष्ण सम थिए, जसलाई उनले प्रत्येक अन्तर्वार्तामा सम्झेका छन् । अनि उनका अर्का गुरु दाजु गोपालप्रसाद थिए । हरिप्रसाद रिमालले पहिलोपटक १९९६ सालमा बालकृष्ण समको नाटक ‘मुकुन्द–इन्दिरा’ मा अभिनय गर्ने अवसर पाए ।

उनले रेडियोमा प्रवेश गरेको कथा पनि नाटकीय छ । २००७ सालमा विराटनगरको ‘प्रजातन्त्र रेडियो’ काठमाडौं आएपछि बालकृष्ण समलाई सम्पर्क गरिएछ । समले आफूले पत्याएका युवाहरू लिएर जाँदा हरिप्रसाद रिमाल पनि राम्रो स्वर भएकाले परेछन् । उनी दिनको दुईपटक रेडियोमा काम गर्नथाले । उनले जीवनका धेरै वर्ष त्यहाँ झन्डै नि:स्पृह भावले काम गरे, २०४० सम्म ।

रेडियोमा भेटेकी कल्याणी पौडेलसँग उनले २०१४ सालमा बिहा गरे । उनीहरूको लामो सुखी दाम्पत्य जीवन एउटा अत्यन्त सुन्दर जीवनको उदाहरण हो ।

२०२० मा काठमाडौं पढ्न आएदेखिका मैले अविराम यो जोडी देखेंँ । गुरुकुलमा सुनील पोखरलले सम्मान गर्न बोलाउँदा पनि जोडी सँगै थिए । साँझमा घर पुगेपछि सुनील भाइलाई भाउजूको फोन आयो, हरिप्रसाद दाइको अक्सिजन सकिएछ । आफ्ना सन्तानहरू विदेशमा बस्ने र झन्डै एक्लै बस्ने ती दम्पतिका सबै आफ्ना थिए । गुरुकुलका कलाकार गएर अक्सिजन जोडिदिए ।

हरिप्रसाद दाइ र भाउजू सधैं प्रसन्न र जीवनमुखी देखिन्थे । सबैको कल्याण होस् भन्ने चाहना राख्थे । हरिप्रसादका धेरै गुनासा र मन दु:खेका कथा थिए, तर तिनले भनेनन् । जीवन एउटा आफूले भोगेको कालिक यात्रा हो, त्यस भित्रबाट झिकेर कोही मनुवालाई नराम्रो पारेर कथा भन्नु हुँदैन भन्ने ती हाम्रा नाट्यमञ्चका महान व्यक्ति विदा भएका हुन् ।

जीवनीका अरु एकाध कुरा लेखेर उनको काल र मञ्च र नाट्यको प्रकृतिबारे केही भन्न चाहन्छु । हरिप्रसाद दाइले अमृत दाहाललाई दिएको अन्तर्वार्तामा भने अनुसार उनले अनवरत ६/७ सय रेडियो नाटक बनाए, जसको अहिले त के त्यो बेला पनि कुनै रेकर्ड थिएन । उनले ती नाटक र आफ्नो अधिकारबारे प्रश्न गरेनन् । गरेको भए, ती रेडियो नेपालमा टिक्ने थिएनन् ।

केही मनिस दुष्ट पनि थिए । तर तिनको नाम ती लिन चाहँदैनथे । उनका नाटक अरुले आफ्ना नाममा पनि प्रसार गरे । उनी केही गर्न सक्दैनथे र सायद चाहँदैनथे । हरिप्रसाद राष्ट्रिय नाचघरमा नियुक्त भएपछि ‘कि यता कि उता’ भन्ने नाटक देखाए । त्यस बापत उनले महेन्द्रबाट सुनको मेडल पाए । त्यसो त यिनले अनौठो कथा सुनाए, त्यसमा । जुद्धशमशेरलाई भक्तिभावको गीत सुनाएपछि यिनले रु. ५०० पुरस्कार पाए । उक्त सिक्काको भारी बडो मुस्किलले यिनले घरसम्म पुर्‍याउनसकेका थिए ।

‘नेपाली थियटर याज आइ सी इट’ (२०७३) भन्ने किताब लेख्ने सिलसिलामा मैले पार्सी रङ्गमञ्चको अध्याय र त्यो कालखण्ड लेख्ने क्रममा मौकाले ऐतिहासिक पार्सी थियटरका केही नाट्य कलाकार र रचनाकारहरू अन्तर्वार्ता गर्ने मौका पाएँ ।

केशरमान तुलाधर (१९२१–२००३) र बेखानारायण महर्जन (१९८३–२०६३) अनि पहिले पारसी थियटर गर्नेका नजिक तर पछि गएर १९९८ सालमा गोपालप्रसाद रिमाल, गोपीनाथ अर्याल पनि सदस्य भएको गौरीशङ्कर थियटर ग्रुप खोलेर त्यसको सदस्य हुँदासम्म नेचुरालिस्टिक थियटर गर्ने हरिप्रसाद रिमाल (१९८२–२०७५) सँग मैले अन्तर्वार्ता गरेंँ । अब म त्यो कालखण्ड र हरिप्रसादबारे कही थपेर यो लेख अन्त्य गर्छु ।

पारसी थियटर भारतीय रङ्गमञ्चको एउटा बलियो रङ्गमञ्चीय परम्परा हो । यसको प्रभाव नेपाली राणा दरबार र केही अभिजात र नाटक गर्ने समूहका युवालाई पनि पर्‍यो । भारतमा एउटा आम प्रयोगको मनोरञ्जन परम्परा भए पनि नेपालमा राणा महलमा आएपछि त्यो एक अभिजात विधा भयो ।

भारतीय नाट्य विद्वान अनुराधा कपुरले यसबारे किताब लेखेकी छन् । उनको भनाइमा यो पारसी नाट्य परम्परा १९०७ देखि १९८७ सालसम्म रह्यो । नेपालमा यसको प्रवेश सत्तरी/अस्सीका दशकमा भैसकेको थियो । यो हिन्दी भाषाको प्रयोग, मञ्चमा पर्दा र दृश्यका अतिरञ्जना अनि सिंहदरबारमा पछिसम्म देख्न सकिने अलाउद्दिनलाई उडाउने क्रेनजस्ता प्रपहरूबाट गरिन्थ्यो ।

नब्बे सालतिरै बालकृष्ण समले यसको विरोधमा नाटक ‘महल बाहिर’ ल्याए । तर नेपालको पार्सी थियटरको प्रभाव माथि उल्लेखित व्यक्तिहरूलाई परेको केशरमान तुलाधरले भनेका छन् । बेखानारायण महर्जनले भनेका न्यारेटिभहरू पार्सी थियटरसँग मिल्छन् । त्यो बेला बेखानारायणलाई मञ्चनमा गाउनका निम्ति हरिप्रसाद रिमालले नेवारीमा गीत लेखिदिन्थे ।

मलाई दिएको अन्तर्वार्तामा उनले नेवारी भाषा उनको निम्ति मातृभाषा सरह रहेको र मेलोडी राम्रो भएकाले यसमा गीत लेख्न सहज हुन्थ्यो भनेका छन् । हरिप्रसादले उनको सम्बन्ध पारसी थियटरका व्यक्तिहरूसँग भएको त्यस अन्तर्वार्तामा भनेका छन् । त्यसबाट अनि पछि उनको शैली परिवर्तन भएको कारणले गर्दा यिनलाई नेपाली नाट्य रङ्गमञ्चका दुई युग जोड्ने एक सेतुको रूपमा लिन सकिन्छ ।

रेडियो माध्यममा नाटक गर्नुपरेकाले गीतलाई नाटकको अभिन्न अंग मान्नु, दृश्य विधानमा अनेकौं प्रयोग गर्नु जस्ता विषयलाई उनले बयान गरेका छन् । मञ्चको स्पन्दन हरिप्रसाद रिमाल दाइ राम्ररी बुझ्थे । बुद्धिमाया नाम भएकी महिलालाई बिहे गर्न पुसे नामको आफ्नो केटालाई पैसा दिएर ती नारी कलाकार भएर काम गरेको तर पछि पुसेलाई छोडेर ती पुलिससँग हिंँडेपछि समस्या परेका जस्ता यथार्थिक कुरादेखि लिएर मञ्चमा गम्भीर कुरा पनि सम्झिने हरिप्रसाद एउटा जीवन्त नाट्यमञ्चका नेपाली न्यारेटिभ थिए ।

हरिप्रसाद दाइ दिवंगत हुनुभएपछि हाम्रो समक्ष नेपाली नाट्यमञ्च, रेडियो माध्यम र गायनको एउटा संघर्षशील र गतिशील युगको अन्त्य भएको बोध भएको छ । हरिप्रसाद गुरुकुल थियटरसँग नजिक थिए । गोपालप्रसाद रिमाल थियटर सुनीलले बनाएपछि तिनले मलाई भनेका थिए, ‘अभि भाइ, नेपालको नाट्यमञ्चको परम्परा बलियो छ ।

यसको भविष्य उज्ज्वल छ ।’ जीवनमा कलाकार र लेखकहरूले गरेका संघर्षका कथा धेरै छन्, तर अनेकौं अवस्थामा सचेत भएर खुसीलाई एक ध्यानातित व्यक्तिको शक्ति मानेर हामी सबैलाई स्नेह गर्ने र कालिक चेतना प्रवाहित गर्ने हरिप्रसाद रिमाल दाइलाई श्रद्धाञ्जली !

प्रकाशित : भाद्र १६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?