जग्गाको जालझेल

रीता साह

काठमाडौँ — सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

हकारीदेवीले दिवंगत ससुराका नाममा रहेको जग्गा पाउनुपर्ने भन्दै मुद्दा हालेकी थिइन् ।

सप्तरीको राजविराजका सूर्यनारायण साह, उनकी गर्भवती पत्नी बेचनी देवी र डेढ वर्षीया छोरी प्रतिभाको गत जेठमा हत्या भयो । सूर्यनारायणका दाजु पञ्चदेव र भाउजू प्रमिलाले सम्पत्ति एकलौटी बनाउन उनीहरूको हत्या गरेको डेढ महिनापछि खुल्यो । २०४८ सालमा भारतको नयाँदिल्लीमा बेचिएका सूर्यनारायण तीन वर्षअघि घर फर्किएका थिए ।

यी घटना गम्भीर प्रकृतिका भएकाले समाचारमा आए । समाचारमा नआउने तर जग्गासँग जोडिएका थुप्रै घटना मधेसका गाउँघरमा दिनहुँ घट्छन् । मधेसी समाजमै किन यस्ता घटना बढी हुन्छन् ? यही कौतुहलले यो विषय लेख्न लागेकी छु । म पनि त्यही समाजमा हुर्केबढेकी हुँ । जग्गा विवाद मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपले अनुभव गरेकी छन् । यो विषय सामान्यजस्तो देखिए पनि यसले पीडित परिवारलाई गम्भीर असर पारेको हुन्छ । प्रभाव समाजलाई परिरहेको हुन्छ ।

मधेसी समाज कृषिप्रधान हो । मधेसको जग्गा उर्वर छ । दुई बाली धान पाक्छ । मधेसी समाजमा जग्गाजमिनको विशेष महत्त्व हुन्छ । रोजगारीको प्रमुख माध्यम कृषि हो । पछिल्लो समयमा जागिर गर्ने र विदेश जाने क्रम बढ्दो छ । जमिनलाई पैतृक सम्पतिका रूपमा जगेर्ना गर्ने परम्परा छ । पहिला–पहिला कृषिभूमि पर्याप्त थियो र जनसंख्या कम । अहिले मधेसको जनघनत्व बढ्दै गएको छ । कृषिभूमि सीमित छ ।

मधेसमा जग्गाका लागि हुने झगडा चार किसिमले हुने गरेको देखिन्छ । पहिलो, अंशका लागि । पुख्र्याैली सम्पत्तिमा हुने अंशबन्डामा जालझेल गर्दा झगडा हुने गर्छ । दोस्रो, मोहियानी हकको जग्गा बाँडफाँट । सरकारले मोहीको जग्गालाई आधा–आधा भागमा बाड्ने नीति लिएको छ । कतिपय टाठाबाठाले यसलाई सरकारी नीतिअनुरूप बाँडफाँट गर्न नचाहँदा झगडा हुने गर्छ । तेस्रो, घर बनाउने बेला छिमेकीको जग्गा च्याप्दा । अरूको जग्गा वा सार्वजनिक जग्गा च्यापेर घर बनाउने मनोविज्ञान अधिकांशमा देखिन्छ ।

घर बनिसकेपछि कसैले भत्काउँदैन भन्ने सोचाइ हुन्छ । चौथो, खेतको आली बनाउने बेला । खासगरी असारे खेतीका बेला खेतको आली बनाइन्छ । त्यतिबेला कतिपयले अरूको आली काटेर आफ्नो खेतको जमिन बढाउन खोज्छन् । मैले बाल्यकालमा गाउँमा यस्ता अनेक झगडा देखेकी थिएँ । अरूले हाम्रो खेतको आली काटेको आमा सुनाउनुहुन्थ्यो । त्यही विषयलाई लिएर कहिलेकाहीं पञ्चैती गर्नुपथ्र्यो ।

गाउँघरमा जग्गासम्बन्धी झगडा पञ्चैतीबाट सल्टाइन्छ तर यसले कहिलेकाहीं सामान्य कुटपिटदेखि हत्यासम्मको रूप लिने गर्छ । मधेसमा अधिकांश मुद्दा जग्गाकै कारण दर्ता हुने गर्छ । पुस्तौंपुस्ता जमिनको मुद्दा लड्दै आएका व्यक्ति र परिवार छन् । कतिपय भने यस्ता झगडामा सुल्झाउनुभन्दा चर्काउनतिर लागेका हुन्छन् । प्राय: बलियो पक्षलाई उचाल्ने र कमजोरलाई दबाउने गरिन्छ । पछिल्लो समय विदेश र सहरमा बसेकाको जग्गा थिचोमिचो गर्नेको संख्या बढ्दो छ । यस्ता झगडामा कतिपय वकिल, अमिन र राजनीतिकर्मीले मलजल गरेको पाइन्छ ।

जग्गासम्बन्धी झगडाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा असर गरेको हुन्छ । यस्ताखाले कलह भएको परिवारमा दिनदिनै झगडा हुन्छ । अदालतमा मुद्दा परेको छ भने निरन्तर पैसा खर्च हुन्छ । मानसिक तनाव थपिन्छ । कतिपयको परिवारमा बालबालिकाको पढाइ–लेखाइमा असर परेको छ । सामान्य विवादबाट सुरु हुने यस्ता झगडा पछि प्रतिष्ठाको विषय बन्दारहेछन् ।

जग्गासम्बन्धी यस्ता विवादबारे मधेसी समाजमा बहस हुनु जरुरी छ । यस्ता समस्यालाई सकेसम्म गाउँमै टुंग्याउने संयन्त्र बनाउनुपर्छ । स्थानीय सरकार र जनप्रतिनिधिहरू यसमा गम्भीर हुनुपर्छ । स्थानीय तहले सल्टाउन नसक्ने झगडा मात्र माथिल्लो तहमा कानुनी उपचारका लागि जाने अवस्था हुनुपर्छ । स्थानीय राजनीतिकर्मी र समाजका अगुवाले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

Yamaha

प्रकाशित : भाद्र १७, २०७५ ०८:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मच्छडसँग नबिराउनू, नडराउनू

रामचन्द्र अधिकारी

काठमाडौँ — पहिले मच्छड (लामखुट्टे) ले वर्षायाममा मात्र दु:ख दिन्थे । अहिले हिउँदमा पनि तङ गर्छन् । पहिले रातमा सक्रिय देखिन्थे । अहिले दिनमा समेत घुमफिर गर्छन् । तराई–मधेसमा मात्र पाइन्थे । पहाडमा पनि हैरानी बनाउन थालेका छन् । मच्छडको पिर फैलँदो छ ।

मच्छड आथ्र्रोपोडा वर्गको इन्सेक्टा कक्षामा पर्ने किरा हो । कुनै चिसो क्षेत्रमा कम मात्रामा पाउनु भिन्नै कुरा हो तर मानव बसोबास रहेका अधिकांश स्थानमा मच्छड पुगेको छ । मच्छड निकै कम पाउने ठाउँ ग्रिनल्यान्ड, आइसल्यान्ड, साइबेरियन क्षेत्र, आर्कटिक क्षेत्र र केही युरोपेली देश हुन् ।

साधारणतया मच्छडलाई २६ डिग्रीदेखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त हुन्छ । संसारमा लगभग तीन हजार प्रजातिका मच्छड पाइन्छन् । नेपालमा १४ जाति र १३० प्रजाति भएको पुराना अनुसन्धाता रिचर्ड डार्जी र श्रीधर प्रधानले सन् १९९० मा प्रतिवेदन तयार गरेका थिए । यसको संख्या वृद्धि भएको विज्ञहरूको अनुमान छ ।


लामखुट्टेसँग सम्बन्धित तथ्यपरक केही रमाइला कुरा छन् । जस्तै– हामीलाई टोक्न आउने पोथी मात्र हुन् । भालेको मुखाकृति हाम्रो छाला छेड्न सक्ने किसिमको छैन । तसर्थ रगत चुस्न उसले प्रयासै गर्दैन । फेरि अर्को कुरा छ– पोथी लामखुट्टेले रगत चुस्न आउनु उसको बाध्यता हो किनकि पेटमा अन्डा भएका बखत तिनलाई रक्तप्रोटिन आवश्यक पर्छ । जनावरको रगत खोज्दै आउँछन् । पोथी लामखुट्टेले महिलालाई बढी रुचाएर रगत चुस्न आउँछन् ।

यसपछाडिका कारण महिलाको नरम छालाका तन्तु र कस्मेटिकको आकर्षण र इस्ट्रोजनलगायतका महिला हर्मोन हुन सक्ने अनुमान प्राणीशास्त्रीको छ । सबै मानिसलाई मच्छडले उत्तिकै रुचाउँदैनन् किनभने कोही मानिसका जीउमा मच्छडले मन नपराउने रसायन उत्पत्ति भइरहेको हुन्छ । मच्छड सानो छ तर यसको आवाज चहकिलो छ । लामखुट्टे उड्दा आवाज निस्किनुको कारण पखेटाको वेग हो । पखेटा एक सेकेन्डमा ३०० देखि ६०० पटकसम्म तलमाथि चल्छ । यति चाँडो पखेटा चलाए पनि चाँडो उड्ने किरामा यो गनिँदैन । यसको प्रतिघण्टाको चाल एकदेखि डेढ किलोमिटर मात्र हो ।

मच्छडले एक ब्याचमा दुई सयदेखि एक हजार वटासम्म फुल पार्न सक्छ । यो किराको आयु छ महिनाको हुन्छ । झारपात, फूलको रस (नेक्टर), फोहोरको रस मुख्य खानेकुरा भए पनि यो कीट सिकारी प्रकृतिको छ । यसले मानिसलगायत अन्य जनावरको मुखबाट निस्किएको कार्बनडाइअक्साइड ग्यास ७२ फिट परैबाट थाहा पाउँछ । निस्फिक्री रगत चुस्न पायो भने लामखुट्टेले एक पटकमा आफ्नो तौलभन्दा तीन गुणा बेसी चुस्छ र उड्न नसक्ने पनि हुन सक्छ ।

मच्छडको टोकाइबाट हाम्रो जीउमा हिस्टामाइन भनिने रसायन पस्छ । त्यसैले चिलाउने, डाबर उठ्नेजस्ता तत्कालिक एलर्जीका संकेत आउँछन् । लामखुट्टेलाई सबैभन्दा ठूलो ज्यानमारा जीवका रूपमा लिइन्छ । यसको टोकाइबाट प्रत्येक साल लाखाैं मानिसले विभिन्न रोगको सिकार भई ज्यान गुमाउनुपरेको छ ।

हात्तीपाइले, मलेरिया (औलो), डेन्गु, पीतज्वरोलगायत कम्तीमा १३ किसिमका रोग मच्छडको टोकाइबाट लाग्ने गर्छन् । नेपालमा करिब ५५ प्रतिशत मानिस औलो रोग प्रभावित क्षेत्रमा बसोबास गर्छन् । १०६ वटा देशका तीन अर्ब ३० करोड मानिस औलोको जोखिम मोलेर बसेका छन् । औलो रोगबाट मात्रै मानिसलाई बचाउने प्रयासस्वरूप संसारमा लगभग दुई अर्ब ७० करोड अमेरिकी डलर बर्सेनि खर्च हुँदै आएको छ ।

मानव जगतमा हानिकारक मानिएको यो जीवको इतिहास हाम्रोभन्दा धेरै पुरानो छ । लामखुट्टेको पहिलो अस्तित्व २० करोड वर्षअघि पाइएको थियो भन्ने प्रमाण पाइएका छन् ।

फाइदा पनि
यो संसारमा जेजति जीवजन्तु छन्, ती सबैको कुनै न कुनै महत्त्व छ । केही कामै नभएको जीव सायदै होला । मच्छडका पनि फाइदा छन् । मच्छडको खास खानेकुरा मानिस वा अन्य जनावरको रगत होइन । यसले फूल, कुहिएका झारपात र झार वा रुखको बोक्रा चुसेर रस खाने हो । खानाको खोजीमा उड्दा मच्छडले फूलमा परागसेचन गराउँछ ।

फूलमा परागसेचन नभए फल लाग्दैन । मच्छडले पानीमा फूल पार्छ । लार्भा पानीमै हुर्किन्छ । लार्भाले पानीमा भएका कुहिएका वस्तु खाइदिन्छन् । तसर्थ यिनले फोहोरको मात्रा घटाइरहेका हुन्छन् । ती लार्भालाई खाने जीव पनि धेरै छन् । जस्तै– क्याटवर्ड, ब्लुवर्ड, भँगेरा, भारद्वज चरोलगायत मच्छडकै लार्भा खाएर खाद्यान्न आवश्यकता पूर्ति गर्छन् । कतिपय चराले कीटपतङ्मा खास ध्यान दिँदैनन् तर आफ्ना बचेरालाई मच्छडका लार्भा खुवाउँछन् । उपलब्धताका आधारमा उनीहरूले यसो गरेका हुन सक्लान् ।

वैज्ञानिक डा. गिलबर्ट वाल्डबागउरले भनेका थिए– मच्छडका लार्भा माछाका लागि प्याक गरिएको पोषणतत्त्वयुक्त खानेकुरा हुन् । नेपालकै अध्ययनले पनि माछाका धेरै प्रजाति मच्छडका लार्भा खान मन पराउँछन् भन्ने देखाएको छ । त्यसो हो भने लार्भालाई राम्ररी संकलन गरी माछापोखरीमा लगाइदिन सकिए माछा उत्पादन बढ्ने भो वा लार्भा भएका नाला वा पानीका स्रोतमा माछापालन गर्न सकिने भो ।

लार्भाले फोहोरमा भएको नाइट्रोजनलाई माटामा घुलनशील बनाइदिएर वनस्पति जगतलाई मल बनाइदिन्छ । पारिस्थितिक प्रणाली सन्तुलित बनाउन मच्छड उपयोगी मानिन्छ । यसको र्‍यालबाट रगत जम्न नदिने तथा रक्तकोषिकाको आयतन बढाउने औषधि बनाउन सकिने उद्घोष वैज्ञानिकहरूले गरिसकेका छन् ।

बढ्दो सहरीकरण, फोहोरमैला, घरघरमा शौचालय र पानीका धाराको उपलब्धता, विश्व तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण मच्छडको संख्या र प्रकोप बढिरहेको छ । यसलाई पूर्णत: नियन्त्रण गर्न सकिन्न । यसबाट दिग्दारी मान्नेभन्दा सावधानी अपनाउने हो । विविध आयाम अनुसन्धान गरेर यो जीवलाई व्यवस्थापन गरी थान्कामा राख्न भने सकिन्छ ।

ramchandra.adhikari@gmail.com
लेखक प्राणीशास्त्र विभाग, स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन्।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT