१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सामुदायिक कुकुरका दु:ख

कुकुरलाई बन्ध्याकरण गरी रेबिजविरुद्घ खोप र जुकाविरुद्घ औषधि खुवाई समातेकै ठाउँ वरपर छाडिदिनुपर्छ ।

काठमाडौँ — सहर बजारका गल्ली वा सडकमा सामुदायिक कुकुर यत्रतत्र देखिन्छन् । यिनीहरूको संख्या नियन्त्रण नगर्ने हो भने गम्भीर समस्या निम्तिन सक्छ । नियन्त्रण कार्यमा समुदायको प्रत्यक्ष संलग्नतामा स्थानीय तहहरूले अगुवाइ गर्नुपर्छ ।

सामुदायिक कुकुरका दु:ख

सामुदायिक कुकुर नियन्त्रण मुख्य गरी दुई कारणले जरुरी छ । पहिलो, यो जनस्वास्थ्यसंँग प्रत्यक्ष गांँसिएको छ । अर्को, सामुदायिक कुकुरकै कल्याणका लागि हो ।

सामुदायिक कुकुरले प्राणघातक रेबिज रोग फैलाउन मुख्य भूमिका खेल्छन् । नेपालमा हरेक वर्ष करिब सयजना मानिसको मृत्यु रेबिजले हुने गरेको छ । कुकुरको टोकाइका कारण सम्भावित रेबिजबाट बँच्न वर्षेनि करिब चालिस हजार मानिसले खोप लिने गर्छन् । रेबिज रोग बौलाहा कुकुरका अलावा बौलाहा स्याल, फ्याउरो आदिको टोकाइबाट समेत सर्न सक्छ ।

नेपालमा भने ९० प्रतिशतभन्दा बढी रेबिज केस बौलाहा कुकुरको टोकाइबाट सर्ने गरेको पाइन्छ । रेबिज लागेपछि उपचार हुँदैन, व्यक्तिको ज्यान जान्छ । त्यसैले रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर व्यवस्थापन अत्यावश्यक हुन्छ ।

सामुदायिक कुकुरले एक प्रकारको फित्तेजुकाको जीवनचक्र पूरा गर्न पनि भूमिका खेल्छन् । सामुदायिक कुकुर सडक दुर्घटनाका कारकसमेत बन्छन् । मोटरसाइकल र साइकल चालकलाई कुकुरले लखेटिरहेको दृश्य हाम्रालागि सामान्य भइसके । यत्रतत्र सामुदायिक कुकुर देख्दा मानिसमा मनोवैज्ञानिक त्राससमेत उत्पन्न हुन्छ ।

सामुदायिक कुकुरले राम्ररी खान पाउँदैनन् । विभिन्न रोग र संक्रमणबाट ग्रसित हुन्छन् । लुतो लगायत छालाजन्य रोगको समस्या हुन्छ । आपसमा लड्दा चोट लाग्छ । मानिसले ढुङ्गाले हानेर घाइते बनाइदिन्छन् । उनीहरूको कल्याणका लागि पनि संख्या नियन्त्रण अपरिहार्य छ ।

के सामुदायिक कुकुर नियन्त्रण सजिलो छ ? केही महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं भ्रमणताका सिंहदरबार लगायतका मुख्य क्षेत्र सामुदायिक कुकुर मुक्त पारिएको थियो । तर केही महिनाभित्रै तिनीहरू छ्यापछ्याप्ती देखिए । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाले विषादी प्रयोग गरी कुकुर मारे ।

यसो गर्दासमेत केही महिनाभित्रै कुकुरको संख्या पहिलाकै अवस्थामा पुगेको पाइयो । मानवीय र पशु कल्याणका दृष्टिकोणबाट समेत यो विधि आलोच्य र अस्वीकार्य बन्न पुग्यो । विषादीको प्रयोग गरी मारिएका कुकुर गाड्दासमेत जमिन मुनिको पानी संक्रमित भई जनस्वास्थ्यमा असर पुर्‍याउने सम्भावना हुन्छ । विषादी प्रयोग गर्दा कुकुर तड्पी–तड्पी मर्छ । पुराना कुकुरहरू अचानक हराएपछि कतैबाट आइपुग्ने नयाँं कुकुरले मानिसलाई बढी लखेट्ने, टोक्ने सम्भावना बढ्छ ।

कुकुरलाई समातेर शल्यक्रिया गरी बन्ध्याकरण गरिदिनुपर्छ । केही दिनभित्र घाउ निको भएपछि रेबिज विरुद्घ खोप र जुका विरुद्घ औषधि खुवाई पक्रेकै ठाउँं वरिपरि ल्याएर छाडिदिनुपर्छ । यो विधि बढी प्रभावकारी र स्वीकार्य हँुंदै गएको छ ।

दीर्घकालीन रूपमा सामुदायिक कुकुरहरू नियन्त्रण गर्न भने यति मात्र पर्याप्त हँुदैन । बृहत कार्ययोजना बनाउनुपर्छ । जस अन्तर्गत सामुदायिक कुकुरको संख्या पत्ता लगाउन सर्वेक्षण र तिनीहरूको इपिडेमियोलजिकल अध्ययन गर्नुपर्छ । फोहोर व्यवस्थापनसँगै मासु पसल र खुला वधशाला व्यवस्थित गर्नुपर्छ ।

मानिसले कुकुर पाल्ने र मन नपर्दा सडकमा ल्याएर छाडिदिने प्रवृत्तिलाई दण्डनीय बनाउनुपर्छ । यसका लागि वडा कार्यालयको अगुवाइमा कुकुर दर्ता प्रणाली सुरु गरी सम्भव भए माइक्रोचिप्स प्रयोग गर्नु उपयुक्त देखिन्छ । तर यी कुरा गर्न केही समय लाग्छ ।

तत्कालका लागि भने सकेजति सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुपर्छ । यसका लागि स्थानीय तहहरूले कुनै विश्वासिलो संस्थामार्फत वा आफैंले पशु चिकित्सक परिचालन गरी अभियान चलाउन सक्छ । स्थानीय समुदायलाई सँंगसंँगै परिचालन गर्दा यो प्रभावकारी हुन्छ ।

कुकुरलाई रेबिजको खोप वर्षेनि लगाउनुपर्ने हुनाले समुदायले यसको जिम्मा नलिई अभियान प्रभावकारी हुन गाह्रो हुन्छ । पशुलाई प्राणी जगतको एउटा सदस्य मानी मानवीय व्यवहार गर्न जनचेतना समेत जगाउन जरुरी छ । सामुदायिक कुकुर नियन्त्रणमा लाग्ने खर्च तिनले समाजमा ल्याउने भयावह परिणामको खर्चको तुलनामा निकै कम हुन्छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?