कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लैङ्गिक उत्तरदायी सोच तथा लैङ्गिक जागरणको खाँचो

डा. सिर्जना भण्डारी

काठमाडौँ — विकास सबै राष्ट्रहरुको साझा लक्ष्य हो, समयक्रमसंगै विकासको परिभाषा आर्थिक वृद्धिबाट दिगो विकास हासिलमा परिवर्तन भएकोछ, जसमा जनताहरुको समग्र कल्याण र सुविधा प्राप्तीको लक्ष्य राखिएको हुन्छ । विश्व बैंक (१९९१) का अनुसार विकास केवल आर्थिक उन्नती मात्र नभई उपयोगी शिक्षा, सुलभ स्वास्थ्य, आवश्यक पोषण, गरिवीबाट मुक्ती, सफा वातावरण, समान पहुँच तथा अवसर, व्यक्तिगत स्वतन्त्रताको प्राप्ति वास्तविक विकास हो ।

लैङ्गिक उत्तरदायी सोच तथा लैङ्गिक जागरणको खाँचो

तर विकासका दशकौं बितिसक्दा समाजमा अझै पनि थुप्रै असमानताहरु कायमै छन्, ति मध्ये विश्वव्यापी सर्बाधिक भयाबह अवस्थामा लैङ्गिक असमानता रहेको छ । सर्वव्यापी रहेको लैङ्गिक असमानता स्थान, परिवेश, समाज तथा संस्कृति अनुसार फरक–फरक मात्रा र प्रकृतिका पाइन्छन् । सन १९४५ देखियता लैङ्गिक समानता हुनुपर्छ र मारमा परेका वर्गले समानता र समताका नीति तथा व्यवहारहरुमा प्राथमिकता पाउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ ।

यसक्रममा विभिन्न समयमा थुप्रै प्रयासहरु (महासम्मेलन, महासन्धी, कार्यक्रम) भए र भइरहेका छन्, खासगरी संयुक्त राष्ट्रसंघद्वारा सन् १९७९ मा महिलाविरुद्ध हुने सम्पूर्ण बिभेदहरु अन्त्य गर्ने महासन्धी, १९९५ मा बेइजिङ घोषणपत्र, २००० मा सहश्राब्दी लक्ष्य र पछिल्लो प्रयास दिगो विकास लक्ष्य २०१५–२०३० ले लैङ्गिक समानतालाई अधिक जोडदिंदै सम्पूर्ण लक्ष्यहरुमा यसलाई साझा मुद्दा बनाएका छन् र नेपाल यी सबै प्रयासहरुको पक्ष राष्ट्र हो । यी प्रयासहरुबाट केहि क्षेत्र (शिक्षा, प्रजनन्, रोजगार) मा औषत लैङ्गिक असमानतामा कमी आएको भएपनि अन्य क्षेत्रहरुमा लैङ्गिक असमानता, दुरुपयोग, शोषणका स्वरुप र दायराहरु अझ फराकिलो भैरहेका दिनदिनै देखिने–सुनिने घटनाहरुबाट प्रस्ट हुन्छ । यसो हुनुमा कहाँ–कहाँ, के–कस्ता कमजोरीहरु जिम्मेदार छन् त ? लामो समयदेखि विश्वव्यापी तथा राष्ट्रव्यापी रुपमा लैङ्गिक समानता कायम गर्ने लक्ष्य किन हाँसिल हुन सकिरहेको छैन ? र यसका लागि के–कस्ता कार्यक्रमहरु ल्याएर अगाडि बढ्दा प्रभावकारी होला ? आज–भोलि यो विषय झन–झन पेिचलो बन्दै गैरहेको छ ।

नेपालको सन्दर्भमा, सैद्धान्तिक पक्ष सवल भएपनि हाम्रो व्यवहारिक पक्ष अत्यन्त फितलो छ । परिवर्तनका जिम्मेदार मानिने निकायका व्यक्तित्वहरु (महिला/पुरुष/फरक लिङ्गी) जसमा चेतना, शिक्षा, पद, धन-सम्पति, अनुभव भएपनि लैङ्गिक समानता र असमानता सम्वन्धि जागरण भएको देखिंदैन । यो उनीहरुले प्रयोगमा ल्याउने भाषा, गर्ने व्यवहार, विश्वास, पहुँच, स्वामित्व, अधिकार प्रदान आदिमा स्पष्ट झल्किन्छ । अझ ठूलो विडम्वना– आफूले के गरिरहेको छु भन्ने हेक्कासम्म उनीहरुलाई हुदैन र यसो गर्नु आफ्नो अधिकार सम्झन्छन् चाहे त्यस्ता शव्द तथा व्यवहारले अर्कोलाई जतिसुकै चोट पुगोस् । यस्तो अवस्था प्राय घर–परिवार, कार्यालय, विद्यालय, सार्वजकिन स्थलमा पुरुषहरुले महिलाहरुलाई र महिलाहरुले महिलाहरुलाई गर्ने व्यवहारमा देखिन्छ । यसको अर्थ उनीहरु लैङ्गिक उत्तरदायी सोच नै राख्दैनन् भन्ने होइन । तर जति हुनुपर्ने हो त्यति नभएको चाहीं पक्का हो । यसो हुनुमा उनीहरुको पनि के दोष ! उनीहरुले जीवनको शुरुदेखि परम्पराको नाममा त्यही सिक्दै आएका छन् कि महिला र पुरुष अलग हुन् बराबर होईनन्, छोरा–छोरीहरुलाई सानैदेखि त्यही सिकाउदै आइएको छ कि पुरुष महिला भन्दा श्रेष्ठ हुन्छ र महिलाको दर्जा तल्लो हुन्छ । यस्तो अनुभव पंक्तिकारलगायत जुनसुकै तह, वर्ग तथा जातिका महिला तथा पुरुषहरुमा पाइन्छ जुन लैङ्गिक चेतना भएपनि लैङ्गिक जागरणको अभावका कारण हुने गरेको विभिन्न अनुसन्धानका तथ्याङ्कहरुले देखाएका छन् । सन २००९ मा पेकिङ विश्वविद्यालय र सिनाले चीनमा "व्यक्तित्व विकास र सशक्तिकरणका सम्वन्धमा लैङ्गिक तुलना" विषयमा गरेको एक अध्ययनको तथ्याङ्कले यसलाई पुष्टि गरेकोछ ।

समाजमा उच्च तहमा रहेका १८०० महिला र पुरुष सहभागीहरु (डाक्टर, इन्जीनियर, सरकारी/निजी कर्मचारी, किसान, व्यवसायी, विद्यार्थी) हरुमा गरिएको अध्ययनमा केहि प्रतिशत पुरुषहरुले महिलाहरुले व्यक्तित्व विकास र सशक्तिकरणको अवसर पाउनुपर्छ भनेका थिए भने बहुसंख्यक महिलाहरुले त्यस्तो अवसर महिलाले पनि पाउनु पर्छ तर महिलाले भन्दा पुरुषले नै बढि पाउनु पर्छ किनकी उनीहरु पुरुष हुन् र परिवारपालक हुन् भनेका थिए । तथ्याङ्कको आधारमा यस अध्ययनले यो निष्कर्ष निकाल्यो कि उच्च शिक्षा हासिल गर्दैमा, व्यक्तित्व विकासको उपल्लो तहमा पुग्दैमा, चेतना, उमेर तथा अनुभव बढ्दैमा उनीहरुमा लैङ्गिक उत्तरदायी सोच तथा जागरण नआउने रहेछ तसर्थ यसका लागि सशक्त र प्रभावकारी लैङ्गिक जागरण अभियाननै चलाउनु आवश्यक हुन्छ, जसबाट राज्य, समाज परिवारका सदस्यहरु तथा व्यक्ति विशेषलाई लैङ्गिक समानता, मानव अधिकार, सबैको सह–अस्तित्व आदिबारे सभ्य र सकारात्मक सोचका साथ मसिनोगरी आत्मज्ञान हुने किसिमले कुरा बुझाउन सकियोस् । यस्तो काममा अनुभवी र सौम्य लैङ्गिक विकासमा समर्पित अभियन्ताको आवश्यकता पर्दछ (नकी भड्कीला तिक्त शव्दहरु वर्षाउने नारीवादको) जसले राज्य, समाज, परिवार तथा व्यक्ति विशेष सबैलाई पृथ्वीमा अवस्थित मानव मात्रको नभई सम्पूर्ण प्राणीहरु (जलचर–थलचर–उभयचर)को सह–अस्तित्व र समान अधिकार हुन्छ भने प्रकृतिलाई निरन्तरता दिने अभिन्न अंग महिला पुरुष समान त हुन् नै बरु अझ महत्वपूर्ण हुन् भन्ने कुरा बुझाउन प्रकृति, भूगोल, सिद्धान्त, अनुसन्धान, विकास, विश्व अनुभव, व्यवहार आदि विश्लेषण गर्दै क्रमशः दिगो रुपले कुरा बुझाउन तथा सम्झाउन सकोस् ।

लैङ्गिक जागरण ल्याउने सिकाइ राज्यका उच्च पदमा रहेका जिम्मेदार अधिकारी देखि सरकारी/निजी कर्मचारी, व्यवसायी, शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई विषय तथा सन्दर्भ मिलाएर क्रमबद्ध किसिमले दिनुपर्छ । लैङ्गिक समानता तथा विकासमा केन्द्रित रहेर यससंग सम्वन्धित समग्र विषयहरुमा प्रवेश गर्नुका साथै राज्य, समाज, परिवार तथा व्यक्ति विशेषलाई लैङ्गिक समानताबाट हुने लाभ र लैङ्गिक असमानताबाट हुने हानीबारे प्रकाश पार्नुपर्छ । विकसित, सभ्य र सुदृढ राज्य तथा समाज सबैको चाहना हो, लैङ्गिक विकास तथा जागरण समग्र विकास प्रक्रियाको एक अभिन्न अंग हुनुकोसाथै सभ्यताको सूचक पनि हो, जहाँ सबैको समान अस्तित्व र अधिकार हुन्छ । नोवेल पुरस्कार विजेता अमर्त्यसेन (१९९९) भन्छन्, वास्तविक विकास त्यो हो जहाँ हरेक व्यक्तिले सम्पूर्ण किसिमका स्वतन्त्रता र बलियो आर्थिक तथा सामाजिक/साँस्कृतिक संरक्षण महसुस गर्न सकोस् । यस्तो राज्य तथा समाज निर्माण योजनाबद्ध सोच र प्रभावकारी व्यवहारबाट मात्र सम्भव छ, र गिर्दो लैङ्गिक उत्तरदायी सोच बदल्न यस्तो कार्य तत्काल शुरुगर्नु अतिआवश्क छ । यसका लागि लैङ्गिक जागरणको पाठ्यक्रम वैज्ञानीक ढंगबाट तयार पार्नु पर्दछ, जसमा लैङ्गिकता सम्वन्धि इतिहास, विज्ञान, धर्म–संस्कृति, परम्परा, सिद्धान्त, अनुसन्धान, तार्किकता, व्यवहारीकता आदि विषयहरु समेटीउन ताकि यस्तो ज्ञानले समाज परिवर्तनका क्रममा आएका विकृतिहरुलाई सजिलै पखाल्न र राम्रा संस्कृतिहरुलाई अझ मजबुत बनाउदै समाजलाई सभ्य र समृद्ध बनाउन सकोस, साथै यसलाई दीर्घकालीन रुपमा निरन्तरता दिन विस्तारै सबै शैक्षिक संस्थाका पाठ्यक्रमहरुमा समावेश गर्दै लानुपर्छ ।

धर्म–संस्कृतिलाई हेर्दा, वैदिक कालको सामाजिक व्यवस्थामा लैङ्गिक असमानता यति विषम थिएन, महिला, पुरुष, फरक लिङ्गी (तेस्रो लिङ्गी) सबैलाई सम्मान गरिन्थ्यो तर आधुनिता र विकासको नाममा यसमा चरम बिग्रह आयो, संस्कति छाडिए विकृति अंगालिए, विस्तारै शोषकहरुबाट निर्बलहरु माथि नियन्त्रण, दुरुपयोग र शोषण बढ्न थाल्यो जुन अहिले हामी हिंसा, अपहरण, बलत्कार, हत्याका रुपमा भोगिरहेका छौं । परम्पराहरु वैज्ञानक मूल्य–मान्यतामा आधारीत थिए, त्यसमा पनि बिकृति आयो र क्रमशः नियन्त्रण, दुरुपयोग र शोषण बढ्न थाल्यो । त्यस्तै, प्रयोग गरिने भाषा, गर्ने व्यवहार, आदर-सत्कारमा पनि तिब्र ह्रास आयो र निरन्तरता पाइरह्यो । विश्व बैंक (२०१२) का अनुसार लैङ्गिक असमानता, दुरुपयोग, शोषणको अन्त्य गर्न, मुुलुकमा समृद्धि ल्याउन, समावेशी र दीगो विकास हासिल गर्न लैङ्गिक समानता तथा लैङ्गिक विकास पहिलो शर्त हो । धेरै अनुसन्धानहरुले लैङ्गिक समानताबाट राज्य, समाज, परिवार तथा व्यक्तिलाई अनगिन्ती लाभ हुने पुष्टि गरिसकेका छन् । विश्व बैंक (२०१२) कै तथ्याङ्कहरुले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रहरुमा आएको लैङ्गिक समानताले क्रमशः लैङ्गिक मैत्री नीतिगत सुधार, आर्थिक उन्नती, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल भएकोे देखाएका छन् ।

अन्त्यमा, यो उत्तरदायित्व राज्य, नागरिक समाज, व्यक्ति सबैको हो । लैङ्गिकता समवेदनशील विषय हो, यसमा व्यक्तिको सोच, मनोविज्ञान र व्यवहारको ठूलो भूमिका रहन्छ, तसर्थ, सर्वप्रथम हामी आफैंबाट यस सकारात्मक कामको शुरुआत गरौं, जानेर वा नजानेर आफूबाट आफ्ना तल्लो पुस्ताहरुले के सिकिरहेका छन् हेक्का राखौं, लैङ्गिकता मैत्री शव्द/वाक्यको प्रयोग तथा व्यवहार गरौं, सबैको सह–अस्तित्व तथा समान अधिकार स्वीकार गरौं किनकी शारीरिक अंग बाहेक प्राकृतिक रुपमा सबै लिङ्गीलाई सम्पूर्ण रुपले समान हौं भने विकृत समाज र शोषक वर्गले आफ्नो फाइदाका लागि महिला र पुरुषको दर्जा तथा तह निर्धारण गर्दैमा हामी असमान होइनौं, यो मानव निर्मित खराब परम्परा हो जो परिवर्तशील छ र हामीले चाहेको गतिमा यसलाई परिवर्तन गर्न सक्छौं, यसका लागि हामीमा मात्र आँट, जाँगर र संकल्पको खाँचो छ ।

(लेखकले सन् २०१७ मा त्रि.वि. अन्तर्गत ग्रामीण विकास विषयबाट ग्रामीण महिला सशक्तिकरणमा द्याबािरधी गरेकी छन् । हाल चीनको बेइजिङमा बस्छिन् ।

[email protected]

प्रकाशित : भाद्र २१, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?