इतिहासको दौड र मनोग्रन्थि

समय रेखा
यो बेला धेरै कुशल, इमानदार नेता, शासक दल, विरोधी दल र नागरिक, लेखकको आवश्यकता छ । भेटिएको छैन ।
अभि सुवेदी

काठमाडौँ — अहिले नेपालमा राजनीति र परिवर्तनका बहस अखबारमा धेरै र विचारपत्र र सेमिनारमा कम भए पनि आइरहेका छन् । अखबारमा पनि हल्लाउने बहस थोरै छन्, तर भइरहेका छन् । बहसका विषय दुई तिहाइको सरकारका काम र कमजोर नेपाली कांग्रेस हुन् ।

ओझेलमा पर्दै गएका तर पछि फेरि आउन सक्ने वा आउने मुद्दाका बहसका छलफल त्यति हुँदैनन् । यौन हिंसा र हत्याका शृङ्खला अति चिन्ताका विषय हुन्, जसको बहसमा अपराधीहरू अदृश्य हुंँदै जानु, जासुसी उपन्यासमा जस्तो ती शंकाका घेराभित्रका न्यारेटिभमा मात्र वर्णन हुँदै जानु, अमूर्त विषय बन्दै जानु धेरै चिन्ताको विषय हो ।

नेपालमा विचारका बहसको मानक दुई आयामिक हुन्छन् । यथार्थ भने तीन आयामिक र जटिल बन्दै गएको छ । दुई आयामिक बहसमा एमाले र माओवादी धारका कमिनिष्टहरू थिए, ती एक भएर तिनका सरकार बनेका छन् । बाँकी अर्को दुई आयाम भनेको कांग्रेस र कमिनिष्टकै द्वैत इतिहास हो ।

Yamaha

तर त्यो संस्कारमा पनि परिवर्तन भएको देखिंँदैछ । हिन्दु राज्यवादी र धर्म निरपेक्षवादीका बहसमा त्यस्तै द्वैतता छ । त्यसैगरी संघीयता र एकल राज्यवादी संविधानको बहसको द्वैतता पनि छँदैछ । मलाई लाग्छ, धर्म वा निरपेक्षता, संघीय र संघीयता विरोधी बहस धेरै मात्रामा बहसमै सीमित रहन सक्ने राजनीतिक चेतना देखिए । तर ती बहस भइरहनु धेरै आवश्यक कुरा हो ।

बहसले प्रजातान्त्रको चरित्र देखाउँछ । सबैभन्दा विचार गर्नुपर्ने बहस भनेको नेपालका कमिनिष्ट अनि तिनको प्रतिरोधी शक्ति बीचको द्वन्द्वका विषयको हो । नेपालको कमिनिष्ट दलका कमिनिष्ट विरोधी नै भन्ने खास दल छैनन्, किनभने नेपालका कमिनिष्टहरू पहिलेदेखि र मलाई स्व. मित्रलाल सुवेदी दाजुले स्कुल पढ्ने वयदेखि व्याख्या गरेका कमिनिष्ट नै होइनन् । ती अब छैनन् । त्यसैले लौ कमिनिष्ट भएकोले यिनका विरोधीले कामै गर्न दिएनन् भन्ने तर्कको अब कुनै तुक छैन । त्यसो गर्नु पुरानो शास्त्रलाई नयाँ भाष्यमा राखेर पुराण सुनाउने बानीको नैरन्तर्य हो ।

तर एउटा अर्को यथार्थ भने छ । त्यसको कहीं कतै व्याख्या भेटिंँदैन । त्यो सूक्ष्म सामाजिक मनोविज्ञानको विषय हो, बृहत्तर सामाजिक न्युरोसिसको विषय हो । त्यो भयानक परिवर्तनको विषय हो, जसमा नेपालका कमिनिष्टहरूले ठूलो भूमिका खेलेका छन् । नेपाली कांग्रेसको पनि त्यसमा ठूलै भूमिका छ । तर सबैभन्दा धेरै ठूला उथल–पुथलका कारक कमिनिष्टहरू नै हुन् ।

त्यसमा गणतन्त्र पनि पर्छ । कमिनिष्ट पनि माओवादी र एमाले भनेर चिनिनुपर्छ । त्यसैले हिजोसम्मको सामाजिक संरचनामा द्वन्द्वका जोडी तत्त्व प्रस्ट थिए–राजतन्त्र बनाम गणतन्त्र, एकतन्त्र बनाम लोकतन्त्र, सामन्ती समाज बनाम परिवर्तनकारी समाज । तर ती दुई द्वन्द्वरत तत्त्वका विखण्डन कसरी भए र त्यस्ता परिवर्तनले कति समय लियो भन्ने कुरामा हामीले विचार गरेका छैनौं ।

विश्वविद्यालयमा सामाजिक मनोविज्ञानशास्त्री एकजना पनि भेटिंँदैनन् । राजनीतिशास्त्रीहरूले लेख्ने र बोल्ने विषय अत्यन्त कालिक र अखबारी बन्दै गएका देखिएका छन् । त्यसैले त्यतातिर तिनका पनि ध्यान गएका देखिंँदैनन्, अथवा लगभग त्यस्ता विश्लेषण भएका छैनन् ।

जब विश्वमा नै चाखको विषय, कतै चिन्ताको विषय बनेको नेपालको माओवादी आन्दोलन ७ दलसँग इतिहासमा बृहत शान्ति सम्झौता गरेर राजनीतिमा आयो, त्यसले नेपालको राजनीतिक मानक नै हल्लायो । दृष्टिहरू परिवर्तन भए । बाहिर पनि हल्लिए । मैले त्यो कालमा बाहिर सेमिनारमा गएका बेला त्यतातिर यो कुराको प्रभाव देखेंँ ।

दिल्लीमा त म आफैं स्वतन्त्र छलफलमा उठ्नपर्ने परिस्थितिमा परेंँ । यतै लेखेको छु । नेपालमा यो सबै उपलब्धि मानेर बोल्ने गरेका मेरा अनुभव छन् । मे २६, २००६ को दिन विश्व नाट्य संस्था आईटीआईको एकतिसौं सम्मेलनमा मनिलामा मेरो कार्यपत्र थियो । प्रस्तुतिपछि अनेकौं प्रश्न आए । मेरो कार्यपत्रसँग असम्बन्धित प्रश्नहरू आए ।

ती नेपालको राजनीति, खासगरी माओवादी आन्दोलन र शान्तिको बहसमाथि केन्द्रित थिए । मैले आफ्नै किसिमले उत्तर दिएँ, अनि भनेँ, यो मेरो विषय होइन । लाग्यो, सत्य कुरा भनिन, किनकि नेपालको परिवर्तनको बहस सबैको विषय थियो । पछि नोभेम्बर २१, २००६ मा बृहत शान्ति सम्झौता भयो ।

तर त्यो बेला नेपालमा भइरहेको बहसले फिलिपिन्समा पनि तरङ्ग ल्याएको थाहा पाएर खुसी र किञ्चित चकित पनि परेको थिएँ । त्यसको केही घन्टापछि मलाई फिलिपिनो थिएटरका पहिल्यै चिनिसकेका दुई युवा आएर भने, ‘तपाईंलाई भेट्न फिलिपिनो सायद माओवादी कम्युनिष्टका व्यक्ति आएका छन्, हामीले पर्खाएका छौं, जौं ।’ म विलखबन्द भएँ । कसैलाई सोध्ने पनि कुरा भएन ।

त्यो सम्मेलनमा भाग लिन अमूक संस्थातर्फबाट डा. हर्क गुरुङकी छोरी प्रतिभाशाली महिला हिमाली गुरुङ आएकी थिइन् । तिनलाई सोध्नुपर्‍यो भन्ने ठानेर खोजेंँ । गइसकेकी रहिछन् । मैले उनीहरूलाई भेटेंँ । मोरो लिबरेसन फ्रन्टसँग सम्बन्धित थिए क्यारे उनीहरू । अहिले प्रतिबन्धित छैनन् । मैले भनेँ, म कुनै दलको मानिस होइन, एक थिएटरकर्मी हुँ, म जान्दिन । तर उनीहरूले पत्याएनन् । ती तीनजना बुद्धिमान, शान्त र आकर्षक बोली भएका मानिस थिए । निकै कुरा गर्‍यौं ।

तिनीहरूलाई नेपालको राजनीति थाहा थियो । तिनीहरूलाई माओवादी शान्ति गर्न लागेका छन् भन्ने कुराले तानेको थियो । मेरो निजी विचार हो भन्दै मैले भने, ‘अबको शक्ति भनेको शान्ति सम्झौता हो । त्यसबाट जन्मिने राजनीति नेपालको गतिशील र गणतन्त्रात्मक हुनेछ ।’ कुरा निकै मिलाएछु । त्यसो भन्दा गौरवान्वित भएको थिएँ । पछि २१ नोभेम्बर २००६ मा शान्ति सम्झौता भयो । मैले ती मानिसलाई बिर्सिन सकिन ।

पछि नेपाली माओवादीहरू अनेकौं परिवर्तनभित्र पसे । तिनका गणतन्त्रका नारा अरू दलले पनि माने । तिनले सरकार बनाए, छोडे, बनाए, छोडे । चुनावमा भाग लिंँदै जाँदा कम भोट ल्याए । पछि एमाले नामको सबभन्दा ठूलो कमिनिष्ट र लोकतन्त्रात्मक दलसँग ऐक्य गर्ने अभियान चल्यो ।

त्यही बेला प्रचण्डले भने– हामीले त जसरी पनि एमालेसँग ऐक्य गर्नैपर्छ । हामी त पुल तरेर आइसक्यौं, फर्केर जाने पुल भत्किइसक्यो । बाटो छैन । मैले त्यो बेला मनिलामा भेटेका ती शान्तिको मोडल खोजिहिँंडेका भुक्तभोगी कमिनिष्ट मानिसलाई सम्झेंँ । म अरू कुरा लेख्न चाहन्न, ठाउँ पनि छैन, तर यहाँ मैले उठाउन खोजेको कुरा संक्षिप्तमा राखिहाल्छु ।

नेपालमा अरू देशका लामा इतिहासका घटना यो शताब्दी र अघिल्लो शताब्दीका १० वर्षमा पूरा गरेछौं, हामीले । यत्रा क्रान्तिकारी, लोकतन्त्रवादी र अरूका सम्झौताले संविधान बन्यो । पहिचान र क्षेत्रका अधिकारका कुरा उठे । बहस चलेकै छन् ।

यस बीचमा धेरै छलफल भए, घटना भए । यो सबै कुराले अनि पुँजीको खेल र मोहले, राजधानी केन्द्रित चरित्र र कमिनिष्ट र बुर्जुवाका अन्तररेखा कतिपय विलिन हुँदै गएकोले, क्रान्ति र परिवर्तनलाई सहयोग गर्ने गरिब र टाढाका जनता उपेक्षित हुँदै गएकाले (‘केसी, गान्धी र माक्र्स’मा लेखेका छौं, यसै स्तम्भमा), नेपाली कांग्रेसजस्तो लोकतन्त्रवादी दल दिसाहीन भएकोले, समाजमा अलिक धन र हतियार अनि अराजक अवस्थाको फाइदा लिने अवसर खुलेकाले उन्मत्त भएका कानुनी मर्यादा पालन नगर्नेहरू, शक्तिमा बस्नेहरू, रक्षा गर्न बस्नेहरूका विभेद हराउँदै गएकाले यो समाजमा अहिले नराम्रा घटना भएका हुन् ।

नेपालको इतिहासले दुम्बु तोडेर छोटै समयमा माइल पार गर्दा जन्मेका–भत्केका मनोग्रन्थिहरूले काम गर्दैछन् । यो बेला धेरै कुशल, इमानदार नेता, शासक दल, विरोधी दल र नागरिक, लेखकको आवश्यकता छ । भेटिएको छैन ।

यही बेला प्रधानमन्त्रीले एउटा भाषणमा विस्मयले रञ्जित बोलीमा बोलेको सुनेँ । तिनले भने, ‘अहिले समाज नैतिक ह्रासको अवस्थातिर गयो ।’ धेरै अर्थहरू तँछाड–मछाड गर्दै निस्केको अनुभव गरेंँ । तर यसको मूलकारण बुझ्न अहिले कसैले समाजको माथि भनेजस्तो दौडको कारणमाथि ध्यान दिनसकेको देखिएन ।

मिडियामा अहिले कहिल्यै अनुभव नगरिएका द्वन्द्वका कथाहरू आइरहन्छन् । अर्को विषय भ्रष्टाचार र ठेक्कापट्टाले टक्क रोकिएको समयको चित्रण हुन्छ । घटनाका चरित्र साधारणदेखि भयानकसम्म छन् । संहिताका फौजदारी र देवानी चरित्रमाथि बहस भइरहेका छन् । चिकित्सक, आम सञ्चारधर्मी, महिला अधिकार अभियन्ता र सुरक्षाकर्मीहरू सबैले ऐनमा संशोधनका निम्ति आफ्ना तर्क राखेका छन् ।

सबै कुरा निराकरण गर्ने थलो संसद् हो, जहाँ विशाल हलमा यताउता छरिएर बसेका सांसदहरू देखिन्छन् । त्यहाँ खासै हतार, जोश र इतिहासको पहिलो अध्याय रचना गर्न बस्नेका अभिव्यक्ति देख्न सितिमिती पाइँदैन । तर एउटा कुरा सबैले मान्नुपर्छ– यो परिवर्तनको काल भएकोले माथि भनेका हलचलहरू हुनु स्वाभाविक हो । तर नैतिक ह्रासको विषय जटिल छ ।

कतै हतार–हतार दौडेका इतिहासले जिम्मा दिएका र बनाउने मानिसहरू थकान मार्ने ग्रन्थिले ग्रसित हुनलागेका त होइनन् ? सम्झेर झसङ्ग हुन्छौं ।

प्रकाशित : भाद्र २३, २०७५ ०७:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुवै युगका सूत्रधार

श्रद्धाञ्जली
पहिले पारसी नाट्य परम्परामा भिजेका हरिप्रसाद रिमालको पछि शैली परिवर्तन भयो । यिनलाई नेपाली नाट्य रङ्गमञ्चका दुई युग जोड्ने एक सेतुका रूपमा लिन सकिन्छ ।
अभि सुवेदी

काठमाडौँ — एउटा दु:खद नाटक भदौ १५, २०७५ को दिन आकाशवाणीबाट सुनेँ । माध्यमको किसिमले यो रेडियो नाटक नै थियो । यो नाटक हरिप्रसाद रिमालले गरेका ६/७ हजार नाटकको रूपान्तरण थियो । यो नाटकमा उनी निर्देशक थिएनन्, एक पात्र थिए ।

उनले युवराज घिमिरे ‘घियु’लाई ‘रूपान्तरणका लागि रङ्गमञ्च’ (२०६६) किताबमा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘जीवन नै नाटक हो । जीवनमा हामी कति कुरा छल्छौं । झुटो बोल्छौं । हाँस्छौं, रमाउँछौं, सङ्घर्ष गर्छौं । नाटक भित्रकै पात्र त भएर बसेका छौं नि हामी (१४८) ।’

रिमालको दीर्घजीवन नाटकको पटाक्षेप भएको थियो, बिहानै । मैले यो समाचार सुन्दासम्म उनको अन्तिम दर्शनलाई जाने बेला घड्किसकेको थियो । बिमस्टेकको क्षेत्रीय चलल–पहलमा सामेल हुने प्रधानमन्त्री र राष्ट्र प्रमुखहरूका सवारीले अनिश्चित समयको प्रतीक्षामा टक्क रोकिएका सडकपारि जानसक्ने मेरो उपाय थिएन । एउटा प्रतीक्षारत मनको बह रोकिएपछि त्यो कुण्ठा हुन्छ ।

त्यसलाई मञ्चमा लान सकिन्छ । एक युट्युब अन्तर्वार्तामा हरिप्रसाद दाइले भनेका छन्, ‘सिनेमाभन्दा नाटक राम्रो हुन्छ, दर्शक अगाडि हुन्छन् । त्यसले ढुङ्गा हाने पनि प्रशंसा गरे पनि त्यो अगाडि नै हुन्छ ।’ नाट्य समीक्षक मार्टिन एसलिन र नाटककार र निर्देशक फ्रान्सेली आन्तोनिन आर्तादले भनेको सम्झेंँ, ‘नाटकमा अगाडि नै दर्शकका पसिना गन्हाउँछन्, सास फेरेको अगाडि नै आउँछ ।’

नेपाली नाटकका ठूला निर्देशक सुनील पोखरेललाई फोन गरेंँ । तिनले भने, ‘दाजु, हरिप्रसाद दाइमाथि ध्यानातित हुनुहोस् र नाटकका सातोरी क्षणहरूको कल्पना गर्नुहोस् ।’ म त्यसै गर्दै थिएँ । मैले यो समाचार पाएको रेडियो नाटकका पात्र हरिप्रसाद रिमाल दाइ थिए, निर्देशक थिएनन् ।

रिमालका विषयमा केही शब्द लेखेर शनिबारको ‘कान्तिपुर’लाई पठाउन मसँग खासै समय थिएन । ती सम्वत् १९८२ सालमा लगनटोलमा रिमाल परिवारमा जन्मेका थिए । जेठा दाजु गोपालप्रसाद नाटककार थिए, जसले ‘मसान’ नाटक लेखे । हरिप्रसाद रिमालले यसको निर्देशन गरेर २०३३ सालमा राष्ट्रिय नाचघरमा प्रस्तुति गराए ।

उनका अर्का दाजु कृष्णप्रसाद नृत्य कलाकार थिए । हरिप्रसाद रिमालका पहिला गुरु बालकृष्ण सम थिए, जसलाई उनले प्रत्येक अन्तर्वार्तामा सम्झेका छन् । अनि उनका अर्का गुरु दाजु गोपालप्रसाद थिए । हरिप्रसाद रिमालले पहिलोपटक १९९६ सालमा बालकृष्ण समको नाटक ‘मुकुन्द–इन्दिरा’ मा अभिनय गर्ने अवसर पाए ।

उनले रेडियोमा प्रवेश गरेको कथा पनि नाटकीय छ । २००७ सालमा विराटनगरको ‘प्रजातन्त्र रेडियो’ काठमाडौं आएपछि बालकृष्ण समलाई सम्पर्क गरिएछ । समले आफूले पत्याएका युवाहरू लिएर जाँदा हरिप्रसाद रिमाल पनि राम्रो स्वर भएकाले परेछन् । उनी दिनको दुईपटक रेडियोमा काम गर्नथाले । उनले जीवनका धेरै वर्ष त्यहाँ झन्डै नि:स्पृह भावले काम गरे, २०४० सम्म ।

रेडियोमा भेटेकी कल्याणी पौडेलसँग उनले २०१४ सालमा बिहा गरे । उनीहरूको लामो सुखी दाम्पत्य जीवन एउटा अत्यन्त सुन्दर जीवनको उदाहरण हो ।

२०२० मा काठमाडौं पढ्न आएदेखिका मैले अविराम यो जोडी देखेंँ । गुरुकुलमा सुनील पोखरलले सम्मान गर्न बोलाउँदा पनि जोडी सँगै थिए । साँझमा घर पुगेपछि सुनील भाइलाई भाउजूको फोन आयो, हरिप्रसाद दाइको अक्सिजन सकिएछ । आफ्ना सन्तानहरू विदेशमा बस्ने र झन्डै एक्लै बस्ने ती दम्पतिका सबै आफ्ना थिए । गुरुकुलका कलाकार गएर अक्सिजन जोडिदिए ।

हरिप्रसाद दाइ र भाउजू सधैं प्रसन्न र जीवनमुखी देखिन्थे । सबैको कल्याण होस् भन्ने चाहना राख्थे । हरिप्रसादका धेरै गुनासा र मन दु:खेका कथा थिए, तर तिनले भनेनन् । जीवन एउटा आफूले भोगेको कालिक यात्रा हो, त्यस भित्रबाट झिकेर कोही मनुवालाई नराम्रो पारेर कथा भन्नु हुँदैन भन्ने ती हाम्रा नाट्यमञ्चका महान व्यक्ति विदा भएका हुन् ।

जीवनीका अरु एकाध कुरा लेखेर उनको काल र मञ्च र नाट्यको प्रकृतिबारे केही भन्न चाहन्छु । हरिप्रसाद दाइले अमृत दाहाललाई दिएको अन्तर्वार्तामा भने अनुसार उनले अनवरत ६/७ सय रेडियो नाटक बनाए, जसको अहिले त के त्यो बेला पनि कुनै रेकर्ड थिएन । उनले ती नाटक र आफ्नो अधिकारबारे प्रश्न गरेनन् । गरेको भए, ती रेडियो नेपालमा टिक्ने थिएनन् ।

केही मनिस दुष्ट पनि थिए । तर तिनको नाम ती लिन चाहँदैनथे । उनका नाटक अरुले आफ्ना नाममा पनि प्रसार गरे । उनी केही गर्न सक्दैनथे र सायद चाहँदैनथे । हरिप्रसाद राष्ट्रिय नाचघरमा नियुक्त भएपछि ‘कि यता कि उता’ भन्ने नाटक देखाए । त्यस बापत उनले महेन्द्रबाट सुनको मेडल पाए । त्यसो त यिनले अनौठो कथा सुनाए, त्यसमा । जुद्धशमशेरलाई भक्तिभावको गीत सुनाएपछि यिनले रु. ५०० पुरस्कार पाए । उक्त सिक्काको भारी बडो मुस्किलले यिनले घरसम्म पुर्‍याउनसकेका थिए ।

‘नेपाली थियटर याज आइ सी इट’ (२०७३) भन्ने किताब लेख्ने सिलसिलामा मैले पार्सी रङ्गमञ्चको अध्याय र त्यो कालखण्ड लेख्ने क्रममा मौकाले ऐतिहासिक पार्सी थियटरका केही नाट्य कलाकार र रचनाकारहरू अन्तर्वार्ता गर्ने मौका पाएँ ।

केशरमान तुलाधर (१९२१–२००३) र बेखानारायण महर्जन (१९८३–२०६३) अनि पहिले पारसी थियटर गर्नेका नजिक तर पछि गएर १९९८ सालमा गोपालप्रसाद रिमाल, गोपीनाथ अर्याल पनि सदस्य भएको गौरीशङ्कर थियटर ग्रुप खोलेर त्यसको सदस्य हुँदासम्म नेचुरालिस्टिक थियटर गर्ने हरिप्रसाद रिमाल (१९८२–२०७५) सँग मैले अन्तर्वार्ता गरेंँ । अब म त्यो कालखण्ड र हरिप्रसादबारे कही थपेर यो लेख अन्त्य गर्छु ।

पारसी थियटर भारतीय रङ्गमञ्चको एउटा बलियो रङ्गमञ्चीय परम्परा हो । यसको प्रभाव नेपाली राणा दरबार र केही अभिजात र नाटक गर्ने समूहका युवालाई पनि पर्‍यो । भारतमा एउटा आम प्रयोगको मनोरञ्जन परम्परा भए पनि नेपालमा राणा महलमा आएपछि त्यो एक अभिजात विधा भयो ।

भारतीय नाट्य विद्वान अनुराधा कपुरले यसबारे किताब लेखेकी छन् । उनको भनाइमा यो पारसी नाट्य परम्परा १९०७ देखि १९८७ सालसम्म रह्यो । नेपालमा यसको प्रवेश सत्तरी/अस्सीका दशकमा भैसकेको थियो । यो हिन्दी भाषाको प्रयोग, मञ्चमा पर्दा र दृश्यका अतिरञ्जना अनि सिंहदरबारमा पछिसम्म देख्न सकिने अलाउद्दिनलाई उडाउने क्रेनजस्ता प्रपहरूबाट गरिन्थ्यो ।

नब्बे सालतिरै बालकृष्ण समले यसको विरोधमा नाटक ‘महल बाहिर’ ल्याए । तर नेपालको पार्सी थियटरको प्रभाव माथि उल्लेखित व्यक्तिहरूलाई परेको केशरमान तुलाधरले भनेका छन् । बेखानारायण महर्जनले भनेका न्यारेटिभहरू पार्सी थियटरसँग मिल्छन् । त्यो बेला बेखानारायणलाई मञ्चनमा गाउनका निम्ति हरिप्रसाद रिमालले नेवारीमा गीत लेखिदिन्थे ।

मलाई दिएको अन्तर्वार्तामा उनले नेवारी भाषा उनको निम्ति मातृभाषा सरह रहेको र मेलोडी राम्रो भएकाले यसमा गीत लेख्न सहज हुन्थ्यो भनेका छन् । हरिप्रसादले उनको सम्बन्ध पारसी थियटरका व्यक्तिहरूसँग भएको त्यस अन्तर्वार्तामा भनेका छन् । त्यसबाट अनि पछि उनको शैली परिवर्तन भएको कारणले गर्दा यिनलाई नेपाली नाट्य रङ्गमञ्चका दुई युग जोड्ने एक सेतुको रूपमा लिन सकिन्छ ।

रेडियो माध्यममा नाटक गर्नुपरेकाले गीतलाई नाटकको अभिन्न अंग मान्नु, दृश्य विधानमा अनेकौं प्रयोग गर्नु जस्ता विषयलाई उनले बयान गरेका छन् । मञ्चको स्पन्दन हरिप्रसाद रिमाल दाइ राम्ररी बुझ्थे । बुद्धिमाया नाम भएकी महिलालाई बिहे गर्न पुसे नामको आफ्नो केटालाई पैसा दिएर ती नारी कलाकार भएर काम गरेको तर पछि पुसेलाई छोडेर ती पुलिससँग हिंँडेपछि समस्या परेका जस्ता यथार्थिक कुरादेखि लिएर मञ्चमा गम्भीर कुरा पनि सम्झिने हरिप्रसाद एउटा जीवन्त नाट्यमञ्चका नेपाली न्यारेटिभ थिए ।

हरिप्रसाद दाइ दिवंगत हुनुभएपछि हाम्रो समक्ष नेपाली नाट्यमञ्च, रेडियो माध्यम र गायनको एउटा संघर्षशील र गतिशील युगको अन्त्य भएको बोध भएको छ । हरिप्रसाद गुरुकुल थियटरसँग नजिक थिए । गोपालप्रसाद रिमाल थियटर सुनीलले बनाएपछि तिनले मलाई भनेका थिए, ‘अभि भाइ, नेपालको नाट्यमञ्चको परम्परा बलियो छ ।

यसको भविष्य उज्ज्वल छ ।’ जीवनमा कलाकार र लेखकहरूले गरेका संघर्षका कथा धेरै छन्, तर अनेकौं अवस्थामा सचेत भएर खुसीलाई एक ध्यानातित व्यक्तिको शक्ति मानेर हामी सबैलाई स्नेह गर्ने र कालिक चेतना प्रवाहित गर्ने हरिप्रसाद रिमाल दाइलाई श्रद्धाञ्जली !

प्रकाशित : भाद्र १६, २०७५ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT