१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तीज खारेजीको प्रश्न

तीज सामन्ती समाजको उपज भए पनि यसलाई झरिझुट्ट उर्वर र हराभरा बनाउन अब पुँजीवाद हाजिर छ । सामन्तवादसँग संघर्ष गरेर व्यक्तिको बुद्धिसंगत विश्वासलाई टेवा दिएको पुँजीवादी प्रणाली कालान्तरमा आइपुग्दा उल्टै सामन्ती प्रथा र परम्पराको नयाँ अभिकर्ता बनेर उभिएको छ ।
सरिता तिवारी

काठमाडौँ — बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ? मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको जाँच गरिनुपर्छ ।

तीज खारेजीको प्रश्न

तीज महिलाले आफूलाई निरीह र हीन, पुरुषलाई सामथ्र्यशाली मानेर विवाहितले लोग्नेको आयुवृद्धि र अविवाहितले चाहेको वर प्राप्तिका लागि व्रत र पूजा गरी मनाइने मिथ जोडिएको पर्व हो । ऋषिपञ्चमी महिलाका महिनावारीका दिनलाई अपवित्र र अछूत मानी रजस्वला अवधिका भक्ष्याभक्ष्य, गम्यागम्यका ‘पापकटनी’ गराउने अभ्यास हो । यसका कतिपय विधि हाँसो उठ्ने छन् ।

तीज : संस्कृति कि सकस ?कतिपय विश्लेषक र संस्कृतिकर्मी तीजको रूढिसँग जोडिएको पाटो सभ्य समाजका लागि घातक मान्छन् । उनीहरूका अनुसार तीज खारेज गर्नुपर्ने पर्व हो । कुनै प्रचलित परम्परा खारेज गर्नु बोल्नजति सहज छैन । कुनै संस्कृतिलाई व्यापक स्तरमा ठूलो समुदायले अप्रासंगिक बनाउनसकेमा त्यो नयाँ धारातर्फ प्रवाहित त हुन्छ तर प्रचलित संस्कृतिको बलात् खारेजी कति सम्भव होला ?

संस्कृति अत्यन्तै जटिल र अनिश्चित किसिमको विषय हो भन्छन् चिन्तक निनु चापागाईं । यसलाई मानिसले निर्माण गरेको दोस्रो प्रकृति भनिन्छ । संस्कृति समाजको अर्थतन्त्र र राजनीतिक विचारधाराको अभिव्यक्ति हो ।

माक्र्सवादीहरू संस्कृतिको रचना र विकासलाई उत्पादन सम्बन्धसँग जोडेर व्याख्या गर्छन् । संस्कृतिसँग मानवजातिको सर्वतोमुखी विकास जोडिनुपर्छ भन्ने मान्छन् । संस्कृतिलाई हेर्ने र विश्लेषण गर्ने दृष्टिमा तत्कालीन समाजको आर्थिक, राजनीतिक व्यवस्थाको आलम्ब चाहिन्छ भन्छन् । तीजको सन्दर्भमा पनि यही लागू हुन्छ ।

तीजको सांस्कृतिक उद्भव पुराणका कथालाई टेकेर सामन्तवादी व्यवस्थामा भयो । तत्कालीन समयका निर्देशक ब्राह्मणग्रन्थ र स्मृतिहरू सामन्तवादी अर्थव्यवस्थाको अभिव्यक्ति स्वरूप बने । खस–आर्य समुदायका विधिविधान तिनै ग्रन्थ र स्मृतिजन्य संहितामा आधारित छन् ।

संहिताकाल अघि आर्य र अनार्यका रूपमा विभाजित पूर्वीय समाज त्यसपछि वर्णाश्रम व्यवस्थाले पेसा अनुसार निर्धारित जात हुँदै जन्मकै कारण छूत र अछूत वर्णमा विभाजित भयो । नारी–पुरुष बीचको सांस्कृतिक विभेद योभन्दा पुरानो मानिन्छ ।

ब्राह्मणवादी संहितामा पुरुष श्रेष्ठ र नारी हीन मानिएका प्रशस्त सन्दर्भ भेटिन्छन् । एकातिर महिलालाई शक्ति, श्री र विद्याका स्रोत मानेर पुज्ने परम्परा छ । अर्कोतिर महिलामाथि चरम शोषण, दोहन र हिंसासमेत हुन्छ । यस्तो दोहोरो मापदण्डवाला समुदायमा तीज पर्व रचना भएको छ ।

यो स्पष्ट रूपमा मर्दवादी आर्थिक र सांस्कृतिक वर्चस्वको राजनीतिले निर्माण गरेको प्रभावशाली संकथन हो । यसमा कथिएका किंवदन्ती र कथा त्यस्ता साक्ष्य हुन्, जसले महिलाको शरीरमाथि, तिनको विवेक र स्वायत्ततामाथि निरन्तर भय र हस्तक्षेपको खेल खेलिरहेका छन् ।

तीजमा पूजा गर्नाले आध्यात्मिक आनन्द पाइन्छ भन्ने महिलाको पनि कमी छैन । त्यस्तो आनन्दको तर्क बडो हास्यास्पद र विडम्बनापूर्ण लाग्छ । तीजका पूजा–व्रत केवल पितृसत्ताजन्य अहंकारकै स्तुति र आराधना हुन् । महिलाको व्यक्तित्व र गरिमाका उपहास हुन् । पुलिङ्गकेन्द्री राजनीतिको दुष्चक्रका अगाडि निरीह आत्मघातभन्दा बढी केही होइनन् ।

यो राजनीतिले पुरुषलाई स्वामी र महिलालाई स्वामित्वको अधीनस्थ भोगको वस्तुमात्रै मान्छ । यो चिन्तनले युगौंदेखि निष्कंटक रूपले महिलामाथि शारीरिक र मानसिक हिंसा गर्न प्रेरित गरिरहेको छ । यो चिन्तनले पुरुषलाई झन्–झन् बर्बर र पाशविक बनाइरहेको छ ।

तीजको सांस्कृतिक अभ्यास विगतदेखि वर्तमानसम्म पनि उस्तै छ । हिजो मानिससँग भौतिकवादी सोचको अभाव थियो । शास्त्र र धर्मका नाममा शासन गर्नेको बोलवाला थियो । उक्त सत्ता धेरै बलियो भएकाले समग्र समाजले चाहेर–नचाहेर पत्याउनैपथ्र्यो ।

अब ज्ञान–विज्ञान र कार्यकारणको खोजी गर्दै जाँदा हाम्रा संस्कृति कति सही र कति गलत छन्, थाहा पाइँदैछ । भौतिकवादी वैज्ञानिक चिन्तन, तार्किक सोच र अभियानमार्फत तीज वा यस्ता पर्वका जडता उखेल्नु आजको महत् कार्यसूची हो ।

शिक्षा र पठन संस्कृतिको प्रसारले पछिल्ला दशकमा महिलाहरू संस्कृतिका विद्रुप पक्षमाथि प्रश्न उठाउने हैसियत बनाइरहेका छन् । बिना प्रश्न र कार्यकारण, आत्मघाती रुढी र अन्धताको पछिपछि दगुर्न इन्कार गर्नेहरूको राम्रै पंक्ति तयार भइरहेको छ । तर त्यो एकैठाउँमा छैन, छरिएको छ ।

त्यसले लेखपढ, विमर्श, अनुसन्धान, प्रतिकार गरिरहेको छ । साझा उल्लासको मानक हुँदा संस्कृति अनुकरणीय र संरक्षण योग्य हुने हो । विशाल समुदायमाथि विभेद र हिंसा प्रेरित हुने कथा गाँसिएका छन् भने त्यो संस्कृति होइन, सकस हुन जान्छ । बाल्यकालदेखि नै संस्कृति भनेर मान्दै आएका कुरा आफ्नालागि पीडक नै किन नहुन्, मानिस त्यसैमा आनन्दित होउन्जेल सामुहिक प्रतिकार र परिवर्तन गाह्रो हुन्छ ।

अज्ञान नै सुख हो भनेजस्तै । तर जुन दिन त्यस्ता अभ्यासको असली खेला बुझिन्छ, प्रतिरोध गर्ने हिम्मत पलाउँछ । हिजोसम्म मान्य र ग्राह्य कुरा छोडिँदै जान्छन् । सामन्ती र धर्मप्रधान बन्द समाजका सांस्कृतिक ढाँचा यसरी नै फेरिँदै र तोडिँदै आएका हुन् ।

उन्मत्त पुँजीवादको नाच
तीज सामन्ती समाजको उपज भए पनि यसलाई झरिझुट्ट उर्वर र हराभरा बनाउन अब पुँजीवाद हाजिर छ । सामन्तवादसँग संघर्ष गरेर व्यक्तिको बुद्धिसंगत विश्वासलाई टेवा दिएको पुँजीवादी प्रणाली कालान्तरमा आइपुग्दा उल्टै सामन्ती प्रथा र परम्पराको नयाँ अभिकर्ता बनेर उभिएको छ ।

अतितमा प्रबोधन र पुनर्जागरणको लहर लिएर सामन्ती संस्कृति समाप्त गर्न भिडेको पुँजीवादले आज पुरानै मान्यता बचाउन सामन्ती शक्तिसँग सम्झौता गरेको छ । व्यक्तिभन्दा अघि नाफा, समाजभन्दा पहिला बजार र आवश्यकताभन्दा बढी लाभको कुचक्रमा फँसेको पुँजीवादका लागि महिला नै प्राथमिक लक्षित उपभोक्ता हुन् ।

मिडिया र प्रचारबाजीको उपयोगबाट महिलालाई जति मूर्ख बनाएर नाफा हासिल गर्न सकिन्छ, अन्य उपभोक्तालाई सकिन्न भन्ने कर्पोरेट बजारविज्ञलाई भलिभाँती थाहा छ । हजारौं वर्षदेखि हस्तान्तरित सामन्ती सौन्दर्य मिथले महिलालाई ‘राम्री’ बन्ने अवचेतनात्मक भ्रमको भुलभुलैयामा यसरी जकडेको छ कि त्यसलाई हम्मेसी आफूबाट बाहिर निकाल्न महिला नै तयार छैनन् ।

चाहे ती जतिसुकै उच्च शिक्षित किन नहोउन् । यस्तो स्थितिमा विश्व स्तरका अर्बौंं डलरका बहुराष्ट्रिय कस्मेटिक उद्योगमात्रै होइन, दक्षिण एसियामा हावी रहेको सुन र पहिरनजन्य उद्योगको प्रबद्र्धन गर्ने सुनौलो अवसर बनेको छ, तीज ।

हामी बुझ्नेहुँदा आमाले हरेक वर्ष तीजको बेला पारेर नयाँ लुगा हाल्दिनुहुन्थ्यो । सीमित आयस्रोत भएको परिवारमा ती कपडाले दसैं र तिहारसमेत मनाउन सकुन् भन्ने हुँदो हो । आमाले आफ्नालागि तीज या दसैंमा नयाँ सारी किनेको मेरो स्मरणमा छैन ।

कि कसैबाट उपहार पाएको, पारी खुम्चिसकेको हरियो सारीमा मात्रै देखेको सम्झन्छु कि सामान्य सुती र खद्दरको धोतीमा । गाउँमा अरू पनि उस्तै थिए । हामीलाई हुर्काउने, पढाउने मेलोमा आमाले धेरैजसो गहना बेचिसक्नुभएको थियो । तर आमामा गहनाबिना नाच्दा–गाउँदा कुनै हीनता देखिन्थेन ।

मैले चिनेका अरू महिलामा पनि झकिझकाउ लुगा र गहनाका लागि प्रतिस्पर्धा भएको म सम्झन्न । तीजको खानेकुरामा पनि ऋणै लाग्ने खर्च भएजस्तो लाग्दैन । डेढी दरमा घरको चामलसँग साटेका अनदी चामल, घरकै दही, घ्यु र करेसाकै काँक्रा, गाभा, घिरौंलाले दर निप्टन्थ्यो । आमाले बोलाएर ख्वाउने चेलीबेटी धेरै हुन्थे । अहिलेको जस्तो आडम्बरी, देखावटी चलन हुन्थ्यो भने आमालाई कति गाह्रो हुँदो हो!

अहिले तीजको मौकामा महँगा–गह्रुङ्गा सारी, तीभन्दा महँगा गहनाको प्रदर्शनी देख्दा नेपालीको क्रयशक्तिको ग्राफले जिब्रो टोक्ने बनाइदिन्छ । हुन त समाजमा बढ्दो आडम्बर र प्रदर्शनमुखी चरित्र दसैं, बिहेबटुल आदिमा पनि अभिव्यक्त भइरहेकै हुन्छ । यसमा महिलाको मात्रै दोषभाग छ भन्न मिल्दैन ।

आफ्ना श्रीमती लुगा–गहनाले लादिएर हिँड्दा प्रतिष्ठाको चुली टेकिने पुरुष मनोविज्ञान पनि उत्तिकै सहभागी छ । त्योभन्दा अझ ठूलो सहभागी सामाजिक मनोविज्ञान हो, जसले नाक, कान र गलामा टल्कने सुन र रत्नहरूका आधारमा महिलाको इज्जत र मूल्याङ्कन गर्छ ।

आज तीज महिलाको कम व्यापारी र कर्पोरेटहरूको ज्यादा भैसकेको छ । पत्रिकाका पाना पल्टाउनुस् या टेलिभिजन हेर्नुस्, रेडियो सुन्नुस्, तीजमा लगाउने गहना र लुगाका विज्ञापनको भिड छ । हामी तिनैका पछाडि दगुरेका छौं । पछिल्ला वर्षका गीत सुन्नुस्, बजारले तीजका भाकालाई पनि मज्जाले उपयोग गरेको मात्रै होइन विकृत समेत बनाइरहेको छ । हामीलाई तिनै गीत चाहिन्छ ।

बजार अत्यन्तै नृशंस र हिंस्रक सत्ता हो । सामन्तवादी समाजभन्दा पनि चरम शोषण र दोहनको भरमा यसको शासन चल्छ । यसलाई मुनाफाभन्दा बढी केहीसँग सरोकार छैन । तीजलाई सामान्य खर्चले नधानिने पनि यसैले बनाएको हो । यसबारे गम्भीर भएर नसोच्ने हो भने समाजको सतहमा छरपस्ट देखिएका व्यक्तिगत र संस्थागत भ्रष्टाचार अझ मौलाउने निश्चित छ । समग्र समाजलाई भ्रष्ट आचरणतर्फ धकेल्ने र नारीलाई असीमित आवश्यकताको डमी उपभोक्ता बनाउने जीवनशैलीले चाडलाई संस्कृति बनाएको छ कि विकृति ? सोच्नैपर्छ ।

मुक्तिको संकथन
तीजका सांस्कृतिक आधार जेजस्ता भए पनि विगतमा तीजका भाकामा नारी जागरण र मुक्तिको स्वर मुखरित गर्ने काम खुब भए । देशमा चलेका भूमिगत, अर्धभूमिगत र खुला सबै प्रकारका राजनीतिक आन्दोलनलाई टेवा दिन तीजका गीत धेरै हदसम्म सफल भए पनि ।

तीजको मौकामा गाउँका चोक–चोक र सहर–बजारमा सामुहिक रूपमा महिलाहरूले प्रतिरोध र जागरणको माहोल बनाएकै हुन् । यसमा सचेत राजनीतिकर्मी पुरुषहरूसमेत परोक्ष भूमिकामा रहे । यो एक प्रकारले तत्कालीन पार्टीहरूको प्रभाव विस्तारको रणनीति पनि थियो । त्यही पर्यावरणबाट लाभान्वित भएको पुस्ता हो, हाम्रो । मेरै राजनीतिक चेतनाका बीज यस्तै गीतसमेत हुन् ।

२०४६ सालको आन्दोलन अघि र त्यसपछि केही वर्षका तीजका गीत म रामै्र सम्झन्छु । त्यस्ता गीतले मानिसमा राजनीतिक चेतना भर्न ठूलो काम गर्थे । भूमिगत राजनीतिको लागि तीज एउटा अचुक अवसर हुन्थ्यो । महिला मुक्ति र सांस्कृतिक जागरणका मुखर भावले तीज मुक्तिको सपना देख्ने महिलाका लागिसमेत प्रेरक अवसर लाग्थ्यो । पार्टीका महिला संगठन सम्पूर्ण शक्ति लगाएर यस्ता गीतको माहोल बनाउन सक्रिय हुन्थे ।

न स्थिति त्यस्तो रह्यो, न राजनीति । त्यसरी चेतना विस्तारको भूमिका खेल्ने पार्टीहरू सत्ता राजनीतिका प्यादा हुँदै गए । सत्ताको वरिपरि घुमेर, सत्ताकै दहमा डुबेर मग्न भए । तिनका महिला संगठन लगभग ‘हाइबर्नेसन’को अवस्थामा पुगेका छन् । ती ब्युँझन्छन् कि ब्युँझन्नन् थाहा छैन । पार्टीहरूमा ब्याप्त चिन्तनको भ्रष्टीकरणले कार्यकर्तादेखि नेतृत्वसम्मलाई निलिसकेको छ । अधिकांश राजनीतिकर्मी हिजोका प्रतिबद्धता र सांस्कृतिक दायित्वबाट भाग्दैछन् । नारी मुक्तिको संकथनलाई बेवारिस बनाएर छोड्ने पार्टीहरू कुनै कोणबाट क्षमायोग्य छैनन् ।
***

प्रगतिशील लेखक र सौन्दर्य चिन्तकहरूको एक तप्का तीजको जरामै हिंसा र विभेद छ भन्नेमा एकमत छ । ती मध्ये केही यसलाई पूर्णरूपले बहिष्कार र खारेज गर्नुपर्छ भनिरहेका छन् । केही तीजका आधारभूत सांस्कृतिक रुढीलाई निषेध गरेर यसमा निहित गीत–सङ्गीतजन्य पक्षलाई समाजको प्रगतिशील रूपान्तरणको सहकारी बनाउनुपर्ने धारणा राख्छन् । यद्यपि संस्कृति हठात् बन्ने र उत्तिखेरै भत्काउन सकिने चिज होइन ।

लामो अभ्यासले मानिसको मनोविज्ञानमा जमेर बस्छ, यो । समाजमा त्यसलाई खारेज गर्ने ब्यापक सामुहिक इच्छाको उदय हुनुअघि अग्रभूमिमा धेरैले बलिदान गर्नुपर्ने हुन्छ । त्यसका लागि सचेत तप्का तयार हुनुपर्छ । यस्तो तयारीका लागि ठूलो मानसिक ऊर्जा, संकल्प र वैचारिक धारा चाहिन्छ ।

हामी मध्ये कति त्यस्तो ऊर्जा, संकल्प र वैचारिक धारा लिएर बलिदान हुन तयार छौं ?

विगतमा तीज महिलाको दु:ख विरेचनको एउटा अवसर, एउटा विकल्प थियो । छोरीचेलीलाई चार दिन भए पनि माइतीमा बोलाएर मिठो–मसिनो ख्वाउने, बुहार्तनका सकसबाट अलिकति भए पनि राहत दिने मौका थियो । विगतको पारिवारिक संरचना, सामाजिक र आर्थिक व्यवस्थामा त्यो ठिकै थियो ।

आज छोरीलाई बाआमा वा दाजुभाइ भेट्न, दिदीबहिनी जम्मा हुन तीज पर्खनु पर्दैन । आज महिला विगतको तुलनामा स्वतन्त्र छन् । आर्थिक गतिविधिमा संलग्न छन् । यद्यपि महिलाको स्वतन्त्रता अझै ‘अवस्थाजन्य’ घेरामा सीमित छ । तर लामो इतिहासभन्दा महिलाको हैसियत निश्चित रूपमा फरक छ ।

अब पुलिङ्गकेन्द्रको राजनीति समाप्त गरेर समताको राजनीति स्थापित गर्नसके, महिलाले पूर्णरूपमा आर्थिक अधिकार प्राप्त गर्ने कानुनी व्यवस्था र व्यावहारिक अभ्यास गर्नसके तीज आफैं अप्रासंगिक हुनेछ । यसले स्वत: खारेजीको बाटो समात्नेछ । अधिकार प्राप्त स्वायत्त महिलाको चित्रमा ‘अर्काको घर जाने जात’को लेबल हट्नेछ ।

जन्म र कर्मका घरको सीमा मेटिएर महिलाले आफ्नै रचनाको ‘घर’मा निर्भय, निर्धक्क र स्वाभिमानसहित सास फेर्न पाउनेछन् । यस्तो स्थितिमा महिलालाई हरेक दिन उन्मुक्तिको दिन हुनेछ । त्यसका लागि जतिसुकै जोखिम मोलेर भए पनि आत्मघाती भाष्यले बनेका संस्कार परित्याग गर्न महिला नै तयार हुनुपर्छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?