उबेलाको अभिव्यक्ति स्वतन्त्रता

घर–माइतीमा खुलेर बह पोख्न नपाएका चेली तीजमा समूहमा गीतका माध्यमले आफ्ना दर्द पोख्थे । इतिहास भइसकेका त्यस्ता गीत समाजशास्त्रीय अध्ययनका महत्त्वपूर्ण सामग्री हुन् ।
अलका आत्रेय चुडाल

काठमाडौँ — नेपालको सामाजिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व बोकेको गाईजात्रा बाहेक अर्को महत्त्वपूर्ण सामाजिक र धार्मिक चाड छ– तीज । यस पर्वमा लुकेको यो महत्त्वपूर्ण पक्षबारे खासै चर्चा गरिएको छैन ।

महिलाको पर्वका रूपमा महत्त्वका साथ मानिँंदै आएको तीज के रातो सारी, मिठो खाना र माइती गाउँको मात्र चाड हो ? राम्रो पति पाउन र उसको दीर्घायुको कामना गर्नमात्र हो यो ? वा यो लुगा–गहना लगाउने एउटा मौकामात्र हो ? यी सबै प्रश्नको एउटै उत्तर छ– होइन । हिन्दु धर्ममा यसको धार्मिक महत्त्व जस्तोसुकै भए पनि नेपालको सन्दर्भमा अति नै ठूलो सामाजिक महत्त्व छ । किन यो चाड सबै नेपाली नारीको प्रिय बन्न पुग्यो ? बाहुनवादको वर्चस्वले भन्ने तर्क आउला, जुन पूर्णतया खण्डित हुन्छ ।

धेरै वर्षअघि हाम्रोजस्तो पितृसत्तात्मक मुलुकमा नारीको अवस्था कस्तो हुँदो हो ? तिनलाई माइतमा होस् वा घरमा वा अन्यत्रै, कतै पनि अभिव्यक्ति स्वतन्त्रता थिएन । त्यस्तो अवस्थामा तीजको निहुँमा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्थे, आफ्ना दु:खपीडा व्यक्त गरेर । एक्लै कोठामा त जो पनि रुन्छ, त्यसका लागि कुनै स्वतन्त्रताको हक चाहिँदैन ।

Yamaha

तर समूह र समाजमा आफूमाथिका आत्याचार र शोषण विरुद्ध बोल्न पाउने हकले भने धेरै महत्त्व रख्छ । तीजका गीत महिलाको जीवनका यथार्थसँग सम्बन्धित हुन्थे । संयुक्त पारिवारिक जीवनका समस्या, सासू, नन्द, आमाजुले दिने बुहार्तन, माइतीको बेवास्ता, माया या हेला गर्ने पतिको बयान, घाँस–दाउरा, खेतीपाती गर्दाका दु:ख आदि वर्षभरि गुम्सिएका भावना अभिव्यक्त गर्ने स्वतन्त्रता तीजले मात्र दिएको थियो । घर–माइतीमा खुलेर आफ्ना कुण्ठा व्यक्त गर्न नपाएका चेली तीजमा समूहमा आफ्नो दर्द पोख्थे :

दस मैना लाएर पैदा गरिन् आमाले
कैले छोरी ठूली होली भने बाबाले
दुईजना आएर बाबासँग बोलेका
हाम्रा बाबा पापीले छोरी मोलेका

हामी चेली बेचिएर किनिएको गैरी खेत
आइज पानी दरर† लैजा सलल !

विरोध वा असन्तुष्टि पोख्ने माध्यम बनाएर महिलाले स्वस्फुर्त अनगिन्ती गीतहरू रचे, गाए र आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरे । यो असन्तुष्टि वा विरोध सम्बन्धित निकायले सुन्यो/सुनेन, बेग्लै कुरा । तर आफ्नो आक्रोश, दर्द, पीडा र असन्तुष्टिको आवेगमा फनफनी नाचेर उनीहरूले मनलाई हलुंगो पारे ।

ती गीत कुनै सुधारको अपेक्षा गरेर गाइएका पनि हुँदैन थिए । ती गीतको उद्देश्य मात्र दु:ख विसर्जन हुन्थ्यो । त्यो समयमा ती चेलीलाई यस्ता पारिवारिक र सामाजिक प्रताडनाको विरोध गर्न सकिन्छ र यसको उपाय पनि हुन्छ भन्ने हेक्का थिएन । दु:खलाई अभिव्यक्तमात्र गर्न पाउँदा उनीहरू सन्तुष्ट थिए । हरेक वर्ष आफूजस्ता धेरै चेलीको उस्तै–उस्तै पीडा पोख्ने पर्व बन्यो, तीज । कसैले कल्पना गर्न सक्छ, माथिका शब्दको लय र तालमा आएको आक्रोशको हुरीमा ती चेलीलाई कुन शक्तिले फनफनी नचायो होला ? पीडाको चरमोत्कर्षमा पनि उनीहरूले गाए :

कति पर्‍यो मेरी आमा तीनै आँठे डोरीलाई
जन्म नदेऊ भावीले अब छोरीलाई
खुट्टा खायो चैतको धुपले
कर्म रूखो के गर्ने रूपले

यसरी अभिव्यक्ति स्वतन्त्रताका रूपमा तीज तथाकथित सम्भ्रान्त परिवारका महिलाको होइन, गाउँले, अशिक्षित र असम्पन्न परिवारका नारीको पर्व थियो । सम्भ्रान्त तथा तथाकथित शिक्षित एवं प्रतिष्ठित परिवारका नारीलाई चौतारीमा भेला भएर तीजमा गाउने र नाच्ने स्वतन्त्रता थिएन ।

त्यस्ता परिवारले यस्तो अभ्यासलाई असभ्य र गाउँले भनी हेय दृष्टिले हेर्थे । र आफ्ना चेलीलाई नाच्न र गाउन प्रतिबन्ध लगाएका हुन्थे । नाच्नु–गाउनु नै चरित्रहीनता हो भन्ने छाप बाल्यकालमै पारिएको हुन्थ्यो । उनीहरू आफ्नै महलभित्र रातो सारी र गहनामा सजिन्थे र धेरै भए शिव मन्दिरसम्म त्यो पनि निगरानीमा मात्र जान पाउँथे । त्यस्ता परिवारका महिला तीजले दिलाएको अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित थिए ।

त्यो समयले महिलालाई यो स्वतन्त्रता पनि त्यत्तिकै दिएको होइन । हाम्रा चेलीले तथाकथित पितृसत्ताको कठोर सर्त पालना गरेबापत यसको उपभोग गर्न पाएका हुँदाहुन् । त्यस स्वतन्त्रताको सर्त थियो– पतिको दीर्घायु र सुस्वास्थ्यका लागि निराहार र निर्जल उपवास । धर्मको पासो कुशलतापूर्वक फ्याँकियो– कुमारीहरूले व्रत गरे उत्तम वर पाउने, विवाहिताले गरे पति दीर्घायु हुने र सन्तान–सम्पत्ति प्राप्त हुने । जे होस्, यसै सर्तमा पनि निराहारै चेलीहरूले पर्वले जुराएको अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपभोग गरे ।

हिन्दु धर्मावलम्बीले तीज चाड नेपालमा मात्र होइन, भारतमा पनि मनाउँछन् । नेपालकै मधेसमा पनि तीज एउटा धार्मिक पर्वका रूपमा मनाइन्छ । तर अन्यत्रका महिलाले अभिव्यक्ति स्वतन्त्रताको पर्वका रूपमा मनाएनन् ।

तीज तिनका लागि एउटा विशुद्ध धार्मिक पर्वमात्र रह्यो । तर नेपाल, त्यो पनि पहाडी भेगमा कसरी यो पर्व नाचगानसँग जोडियो ? किन दरबार र शिक्षित परिवार अनि सामान्य जनताको तीजमा भिन्नता आयो ? यस प्रश्नको उत्तर खोज्नु सान्दर्भिक छ । ठोस प्रमाण अभावमा अनुमान गर्न सकिन्छ ।

कुनै व्रतपूजापछि भजन–कीर्तन गर्ने हिन्दु परम्परा छ । तीजको दिन नदी किनारमा भेला भएका चेलीहरूलाई शिवलिङ्गको पूजा गराइसकेपछि पुरेत हिँंडे । फुर्सद पाएका चेली भेला भएर गफ गर्न थाले । त्यसै क्रममा खोलामा काम विशेषले आएका मगर वा गुरुङ्सेनी चेली पनि सामेल भए ।

गफैगफमा एउटीले सँगीको विलौनामा लय हालिदिइन् । अर्कीले शब्द थपिन् । एउटी दु:खियाले अर्की दु:खियाको भाव बुझे । गीतको तालमा सँगै बसेकाले थपडी बजाए । भावविभोर भएर मन थाम्न नसकी अर्की जुरुक्क उठेर नाच्न थालिन् र तीज गीतको पहिलो उद्भव भयो । साँझ ती चेली छुट्टिए । अर्को वर्ष फेरि भेट्ने वाचाका साथ । फरक–फरक गाउँबाट माइती आएका ती चेली तीजपछि आ–आफ्ना घर फर्के, तीजको गीत र नृत्यको नयाँ अनुभव लिएर ।

घर पुगेर सँगीहरूलाई नयाँ अनुभव सुनाए । अर्को वर्ष अरू थुप्रै गाउँमा नयाँ दु:ख थपेर नयाँ भाकामा गीत रचिए होलान् । यसरी तीज–गीतको परम्पराको थालनी भयो होला । जात र धर्मको भेदभाव नराखी चेलीहरू चौतारामा भेला भए, आखिर दु:ख त एउटै थियो ।

समयले कोल्टे फेर्‍यो, समाजले काँचुली । नेपाली समाजले परिवर्तनका ठूलठूला फड्को मारिसक्यो । अब चेलीलाई अभिव्यक्ति स्वतन्त्रताका लागि तीज पर्खिरहनु पर्दैन । त्यसैले आज तीजको महत्त्व र चलन फेरिएको छ । धार्मिक महत्त्व पनि हराउँदैछ । विस्तारै अब तीज भद्दा कोठेगीतको चाड बनेको छ ।

हामी किन सामेल हुन नपाउने भनेर पुरुषको पनि आवाज उठ्न थालेको छ । उनीहरू पनि श्रीमतीसँगै तीजको दर खान ससुराली जान थालेका छन् । उहिले ‘तीजको ज्वाइँ’ भन्ने उखान अब अर्थहीन भयो । अब चेलीलाई तीजमा एक्लै माइती आउने आवश्यकता पनि रहेन । तीजका आधुनिक म्युजिक भिडियोमा चेलीसँगै पुरुष पनि नाच्न थालेका छन् । यी सबै बीच मुख्य प्रश्न हो– वर्तमान समयमा तीज किन महत्त्वपूर्ण छ ? तीज किन मनाउने ? यी प्रश्नको उत्तर आउँदै गर्ला ।

तर अहिले नेपाली महिलाबारे अध्ययन गर्नेले चेलीको अभिव्यक्ति स्वतन्त्रताको पाटो र पुराना तीज गीतहरू, जो अब लोप हुने अवस्थामा पुगेका छन्, तिनको संकलन र जोहो गर्नेतर्फ पहल गर्नु आवश्यक भैसकेको छ । ती गीतमा धेरै कुरा लुकेका छन् । इतिहास भैसकेका ती गीत समाजशास्त्रीय अध्ययनका महत्त्वपूर्ण सामग्री हुन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कहिले बन्छ सडक ?

विमल खतिवडा

काठमाडौँ — दुई वर्षदेखि बूढानीलकण्ठ नगरपालिका ४, कपन क्षेत्रका स्थानीयको एउटै प्रश्न सामना गरिरहेका छन्– ‘सडक कहिले बन्छ ?’  निर्माण सुरु भएको दुई वर्षसम्म सडक बनेको छैन । कतै माटो थुपारेर सडक साँघुरिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ ।

कलंकी–नागढुंगा सडक । करिब ९ किमि खण्ड ४ वर्षसम्म पनि बनेको छैन । तस्बिर : अंगद ढकाल

हिलाम्मे सडकको पानी गाडीले उछिट्याएर कहिले त घर–पसलभित्रै पुर्‍याउँछन् । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् ।

स्थानीयको पटक–पटकको गुनासो र प्रश्न सुनेपछि सांसद थापाले निर्माण नसक्ने ठेकेदारलाई कारबाही माग गर्दै डिभिजन सडक कार्यालय मीनभवनमा निवेदन पनि दिए । तर न ठेकेदारलाई कारबाही भयो न काममा कुनै प्रगति । स्थानीयवासी वडा र नगरपालिका पनि पुगे । दैनिक आवतजावतसँगै व्यवसायमा पनि असर परेको उनीहरूको गुनासो छ । कतिले त यो क्षेत्रबाट पसलसमेत अन्यत्रै सारिसकेका छन् ।

राजधानीका कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी, कपनलगायत सडकको दुरवस्था छ । कतै माटो थुपारिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ । हिलाम्मे सडकको पानी गाडीले उछिट्याएर घर–पसलभित्रै पुर्‍याइदिन्छन् । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् ।

‘चुनावका बेला मात्र हामी चाहिने रैछ,’ होटल व्यवसाय गर्दै आएकी स्थानीय सावित्री तामाङले भनिन्, ‘समस्या परेका बेला हेर्ने कोही हुँदैनन् ।’ पहिला उनको होटलमा खाजा खान आउनेको भीड हुन्थ्यो । अहिले होटलमा आउनेको बाटो हेरेर बस्नुपर्ने बाध्यता छ । बूढानीलकण्ठ क्षेत्रमा सडकको सबभन्दा बढी समस्या सैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको खण्डमा देखिएको छ । सैलुङका प्रमुख हुन्– शारदाप्रसाद अधिकारी, नेकपा अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ ।

बूढानीलकण्ठ नगरपालिकाभित्र सडकका १२ योजना ठेक्का भएका छन् । तीमध्ये अधिकारीले तीनवटा सडकको ठेक्का लिएका छन् । तर, तीनवटै सडकको समय सकिए पनि काम सकिएको छैन । १२ मध्ये ५ वटाको मात्रै काम सकिएको छ ।

अधिकारीले ठेक्का लिएको खण्ड हो, आकाशेधारा–राम मन्दिर–कृष्ण मन्दिर । ६ करोड ५५ लाखमा ०७३ असार ३१ मा उनले यसको ठेक्का लिएका थिए । २०७४ असोज ३० मा यसको समय सकियो । समय सकिए पनि डिभिजन सडक कार्यालयका अनुसार काम भने जम्मा ३० प्रतिशत मात्र भएको छ ।

उनले लिएको अर्को ठेक्का हो, सुन्दरबस्ती–आदर्शनगर–चुनीखेल टुपेक–टुसाल । यसको समय २०७४ साउन २० मै सकियो । अधिकारीको सैलुङले ठेक्का लिएको अर्को सडक साततले–भण्डारी गार्मेन्टको पनि समय सकिइसकेको बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेल बताउँछन् ।

मेयर खरेल पटक–पटक भन्दा पनि ठेकेदार शारदा अधिकारीले कुरै नसुनेको गुनासो गर्छन् । ‘अधिकारीले कसैलाई टेर्दैनन् । सबै सडकको सम्झौता सकियो तर सडक हिँडिसाध्य छैन,’ खरेलले भने, ‘यो सबै निर्माण व्यवसायीको बेइमानीले गर्दा भएको हो, फकाइफुलाई काम लगाउनुपर्ने बाध्यता छ ।’ अधिकारीलाई ठूला नेताहरूको संरक्षण भएकाले पनि नसुनेका हुन सक्ने अनुमान मेयर खरेल गर्छन् ।

निर्माण सम्पन्न नगर्ने ठेकेदार अधिकारी मात्र भने होइनन् । यही खण्डमा महांकाल–भृकुटी चोक–तेन्जिङ चोकसम्मको निर्माण ठेक्का तुदी/प्रेरा जेभीले लिएका हुन् । जेठभित्र निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको यो सडक पनि पूरा भएको छैन । त्यस्तै साप/कालिका जेभीले निर्माण ठेक्का लिएको बूढानीलकण्ठपूर्व तैलुङ–देउवा चोक सडक पनि अलपत्र छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास जाने बाटोको पनि निर्माण सकिएको छैन ।

सांसद थापाले स्थानीयबाट सडककै बारेमा बढी गुनासा आएपछि २०७५ साउन ११ मा सडक विभागलाई ठेक्काको म्याद थप नगराउन भन्दै पनि पत्र पठाए । संसद्मा कुरा उठाए । तर, कुनै सुनुवाइ भएन । ‘स्थानीय जनप्रतिनिधि तथा आमसर्वसाधारणको पूर्ण सहयोग हुँदाहुँदै पनि निर्माण कम्पनीको समयमा काम नसक्ने नियत देखियो, यही कारणले सडक निर्माणमा ठोस प्रगति हुन नसकेको हो,’ थापाले विभागलाई पठाएको पत्रमा लेखेका छन्, ‘स्थानीयको अवरोध देखाई वा अन्य कुनै बहानामा अब यी निर्माण कम्पनीले ठेक्का म्याद थप गर्नुको कुनै औचित्य नरहेको जानकारी गराउन चाहन्छु ।’ उनले काम नगर्ने निर्माण व्यवसायीको नाम पत्रमा उल्लेख गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

नागढुंगा सडक पनि अधिकारीकै जिम्मा
राजधानीको अर्को समस्या बनेको सडक हो– त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक । चार खण्डमा बाँडेर ठेक्का लगाइएको यो सडकको २०७२ असारमै सम्झौता भएको हो । निर्माण सम्पन्न गर्ने समयसीमा कुनै खण्डको पुस त कुनै असोज र कुनैको कात्तिकमा सकिँदै छ ।

तर, काम भने कुनैको पनि ५० प्रतिशतभन्दा बढी भएको छैन । यो सडकको पनि मुख्य हर्ताकर्ता सैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारी भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ बताउँछन् । चार खण्डमध्ये तीन खण्डको निर्माणमा सैलुङ कन्स्ट्रक्सन संलग्न छ ।

एउटा खण्डको ठेक्का बज्रगुरु, बिरुवा र सीएम जेभीले लिएका छन् भने अर्को खण्डको शर्मा, सैलुङ र कान्छाराम जेभीले । तेस्रो खण्डको ठेक्का सैलुङ, लुम्बिनी र साप जेभीले लिएका हुन् भने चौथो खण्डको पनि ठेक्कामा सैलुङ संलग्न छ । यो खण्डको ठेक्का सैलुङ, शर्मा र कान्छाराम जेभीले लिएका हुन् । यी सबैजसो खण्ड तीन किलोमिटरभन्दा केही बढीका छन् । चारै खण्डको निर्माणमा सरकारले अहिलेसम्म ९७ करोड ९७ लाख ६२ हजार भुक्तानी दिइएको छ ।

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठ निर्माण ढिलाइ हुनुमा सर्वोच्च अदालतबाट उक्त सडक खण्डको विभिन्न स्थानमा निर्माण कार्य रोक्न भएको अन्तरिम आदेशलाई कारण मान्छन् । विस्तारित सडकको दायाँ–बायाँका स्थानीयले जग्गासहितको क्षतिपूर्ति माग्दा समस्या भएको उनी बताउँछन् । ‘तर, सबै निर्माण व्यवसायी दूधले नुहाएका छन् भन्ने होइन, उनीहरूको पनि गल्ती छ,’ श्रेष्ठ भन्छन्, ‘तर सडक निर्माणमा प्रगति नहुनुको कारण सडकभित्र पर्ने घर भत्काउन नदिनु, विद्युत्, टेलिफोनका पोलको पनि समस्या छ ।’

ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक चार खण्डमा ठेक्का लगाइएको छ । यसमा पनि अधिकारीको सैलुङ कन्स्ट्रक्सन संलग्न छ । माघसम्म सक्नुपर्ने ठेक्का भए पनि जम्मा १० प्रतिशत मात्रै काम भएको छ । यो सडक निर्माणमा सैलुङसँगै दिवा, पप्पु, महालक्ष्मी, वल्र्डवाइड जेभी पनि संलग्न छन् ।

चाबहिल–साँखुमा २५ प्रतिशत काम
राजधानीको अर्को बेहाल सडक हो, चाबहिल–जोरपाटी–साँखु । काठमाडौंको एउटा मुख्य पर्यटकीय गन्तव्य बौद्ध स्तूप पुग्ने यो सडक खण्ड वर्षामा आहाल बन्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा रातारात यो सडकको चाबहिल–हयात होटलसम्मको खण्ड स्तरोन्नति गरिएको थियो । यसपटकको बिमस्टेक सम्मेलनमा आएका पाहुनालाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी भए पनि यही सडकका कारण रद्द गरिएको थियो । पाहुना बसेकै होटल सोल्टीमा रिट्रिट दिइएको थियो ।

यो सडकको ठेक्का पाँच खण्डमा बाँडेर लगाइएको छ । तर, निर्माण प्रगति सन्तोषजनक छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ठेक्का भएको हो । यसको ठेक्का युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु, च्याङमिला, खानी जेभी, बिरुवा, बिटी, सुनकोसी र वल्र्डवाइड जेभीले पाएका छन् ।

कुनै खण्डको निर्माण सम्पन्नको सीमा २०७६ वैशाखसम्म छ भने कुनैको २०७५ असोज । कार्यप्रगति भने कुनैको पनि ४० प्रतिशतभन्दा बढी छैन । कुनै खण्डको त जम्मा १५ प्रतिशत काम भएको छ । यो सडकका लागि अहिलेसम्म ७३ करोड १० लाख भुक्तानी भइसकेको छ ।

सैलुङको प्लान्ट अवैध
ललितपुर– सैलुङ कन्स्ट्रक्सनको असफाल्ट प्लान्ट (कालोपत्रे तयार पार्ने उद्योग) नै मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । सुनाकोठीमा नख्खु खोला किनारमा स्थापित प्लान्टले ललितपुर महानगरबाट सञ्चालन अनुमति लिएको छैन ।

महानगरको २७ नम्बर वडा कार्यालयका अनुसार प्लान्टले डिपो मात्र राख्न स्वीकृति लिएको छ । ‘सरकारी निर्देशनसमेत अटेर गरेर चलाइरहेका छन्,’ वडाध्यक्ष बाबुराजा महर्जनले भने । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बसेका छन् ।

डिजेलबाट सञ्चालित उक्त प्लान्टले दुर्गन्ध फैलाएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै वडाध्यक्षसहितको अनुगमन टोलीले स्थानान्तरण गर्न पटकपटक ताकेता गरेको छ । सुनाकोठीबासीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उद्योग, गृह र वातावरण मन्त्रालय तथा संसदको वातावरण संरक्षण समितिको समेत ध्यानाकर्षण गराइसके । ‘अस्तिमात्र लिखित पत्र पठाएँ,’ वडाध्यक्ष महर्जनले भने, ‘उपस्थित हुन फोन गरेका छौं ।’

उद्योग स्थापना गर्न वातावरण संरक्षण ऐन २०५३ को दफा ३ बमोजिम वातावरणीय परीक्षण तथा वातावरण प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ । ऐनको दफा ४ बमोजिम उद्योग स्थापनाको प्रस्ताव स्वीकृत नगराई सञ्चालनमा ल्याउन मिल्दैन । तर सैलुङले राजनीतिक पहुँचको आडमा ऐन मिचेर सञ्चालन गरिरहेको स्थानीयको आरोप छ ।

प्लान्टबाट असफाल्ट तयार गर्दा निस्कने कालो धुवाले प्रदूषण बढाएपछि भैंसेपाटी, नखिपोट, सुनाकोठीवासी मर्कामा छन् । प्लान्टले वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुनुका साथै खोला र वरिपरिका बालीनालीमा समेत असर पुर्‍याएको अनुगमन टोलीको निष्कर्ष छ ।

‘चैतसम्म सकिन्छ’


सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी भने आफूलाई पूर्वाग्राही रूपमा आरोप लगाउने गरिएको बताउँछन् । ‘काम राम्रो भए पनि नराम्रो भनिदिन्छन्,’ उनले शुक्रबार साँझ कान्तिपुरसँग भने । वर्षाको समयमा समेत आफ्ना कुनै प्रोजेक्टको काम नरोकिएको उनले बताए । ‘समयमा म्याटिरियल पाइँदैन, न गाडी चल्न दिन्छन्, त्यसका बाबजुद काम भइरहेको छ,’ उनले भने, ‘कहीं पोल हटाइएको छैन, सडकमा पर्ने घर भत्काइएको छैन, कहीं मुआब्जा विवाद छ ।’ उनले चैत अन्तिममा सबै सडकको काम सकिने दाबी गरे । ‘चैतसम्म हामीसँग जोडिएका सबै प्रोजेक्ट सक्ने टार्गेटमा काम गरिरहेको छु ।’

प्रकाशित : भाद्र २३, २०७५ ०७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT