कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्मलाको आत्मालाई शान्ति

झमक घिमिरे

काठमाडौँ — उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ? हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।

निर्मलाको आत्मालाई शान्ति

कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डमा प्रहरी प्रशासन आफैं विवादमा तानिनुले हाम्रो सुरक्षा संयन्त्रमै प्रश्न उठेको छ । सरकारी छानबिन समितिका एक सदस्यले आफ्नो ज्यानको सुरक्षा माग गर्दै राजीनामा दिए यद्यपि पछि फिर्ता लिए ।

अपराधी जतिसुकै शक्तिशाली होस्, त्यसलाई कानुनको कठघरामा उभ्याएर सजाय दिने काम सरकारको हो, राज्यको हो । सरकार वा राज्य प्रत्येक नागरिकको अभिभावक हो । आफ्ना नागरिकको सुरक्षाको सवालमा गम्भीर बन्नुपर्छ ।

निर्मला हत्याकाण्डपछि पनि किशोरीहरूको बलात्कार गरेर हत्या गर्ने घटना बढिरहेका छन् । तसर्थ राज्य उनीहरूको जीवनको सवालमा विशेष संवेदनशील बन्नु पर्छ । किशोरावस्थामा उसले उचित मार्गदर्शन पाएन भने जस्तोसुकै कर्म गर्न पनि तयार हुन्छ । अहिले विज्ञान प्रविधिको युग छ, त्यसबाट कोही पनि अछुतो रहन सक्दैन । त्यसैबाट साइबर अपराध मौलाउँदै गएको छ । यसबाट युवा वर्ग आफैं सचेत हुनुपर्ने देखिन्छ । अभिभावकले आफ्ना छोराछोरीमाथि विशेष निगरानी राख्नुपर्छ ।

नागरिकले आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन मिल्दैन । किशोरावस्थामा पुगेका छोराछोरी के गर्दैछन् ? कस्तो संगत गरिरहेका छन् ? उनीहरूको क्रियाकलापमा कस्तो परिवर्तन आइरहेको छ ? जानकारी राख्नु प्रत्येक अभिभावकको कर्तव्य र दायित्व हुन्छ । आफ्ना छोराछोरीसँग मित्रवत् व्यवहार गर्दै सही मार्गमा हिँंड्न मद्दत घर–परिवारका सदस्यले गर्नु पर्छ । शारीरिक, मानसिक परिवर्तनका कारण उनीहरू जीवन र जगतका धेरै कुराप्रति जिज्ञासु हुन्छन् । यी जिज्ञासालाई स्वाभाविक रूपमा लिएर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अभिभावकले मेटाइदिनु आवश्यक छ ।

निर्मलाको हत्याले स्वतन्त्र नागरिकले सडक तताएका छन् । सरकारको गैरजिम्मेवारीप्रति खबरदारी गरेका छन् । अब अरु निर्मलाहरूप्रति कति सचेत छन्, आम नागरिक । गृह प्रशासन यतिन्जेलसम्म के गर्दैछ ? बालिका, महिला दिनानुदिन बलात्कार, हत्या, हिंसामा परिरहेका छन् । यी घटना नियन्त्रण गर्ने रणनीति बनाउनु र त्यसलाई कार्यान्वयन तत्काल गर्नुको सट्टा उल्टो मूकदर्शक बनेर बसेको भान हुन्छ । सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले किन आफ्नो ज्यानको सुरक्षा माग गरे ? उनको भनाइ छ– निर्मलाको आत्माले शान्ति नपाउने अवस्था देखेपछि राजीनामा दिएँ । यसको अर्थ के हो ? निर्मलाको हत्यारा को हो ? स्वयं निर्मलाका बाबु यज्ञराजको भनाइ छ– छोरीको हत्याराको प्रमाण छोपछाप पार्ने र वास्तविक अपराधीलाई सजाय मिल्ने कुरामा आशा मरिसकेको छ । किन आम नागरिकको सरकारी सुरक्षाप्रति यति धेरै निराशा ?

सरकारले उनको जीवनको सुरक्षाको प्रत्याभूति दिएर उनीमार्फत सत्य कुरा बाहिर ल्याउनु पर्छ । वास्तविक अपराधीको पहिचान गरेर कुकर्मको सजाय दिने वातावरण सिर्जना गर्नु सरकारको कर्तव्य र दायित्व दुवै हो । यो कुराबाट पछि नहटोस्, सरकार । अरु निर्मलाहरूको यस्तो नृशंस हत्या नहोस् ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?