अमेरिकामा बाबुरामको विरोधको अर्थ

दिनेशजंग शाह

न्यूयोर्क — अघिल्लो शनिबार टेक्सासको डालासमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई एक कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरिंदै गर्दा, मलाई सात वर्षअघिको एक घटना याद आयो । सन् २०११ को सेप्टेम्बर महिना नै थियो ।

अमेरिकामा बाबुरामको विरोधको अर्थ

प्रधानमन्त्रीको रुपमा बाबुराम भट्टराई राष्ट्रसंघको महासभाका लागि न्युयोर्कमा थिए । यसैक्रममा एक दिन साँझ, प्रधानमन्त्री भट्टराईले नेपाली समुदायलाई सम्बोधन गर्दै थिए । त्यत्तिकैमा कालो झण्डा देखाईयो । विरोध भयो । मेरो नजिकै थिए, विरोधकर्ताहरु ।


एक परिचित ब्यक्ति जो हातमा कालो पट्टी बाँधेका थिए, उनले आफनो मोबाईल फोन थमाउँदै मलाई भने, ‘म उफ्रेर कालो पट्टी बाँधेको हात हल्लाउँछु । नाराबाजी गर्छु । प्रधानमन्त्रीसमेत देखिने गरेर मेरो फोटो खिचिदिनु पर्‍यो ।’ मैले त्यसै गरिदिएँ । विरोध लगत्तै उनी बाहिरिए । मलाई लागेको थियो, उनले त्यो फोटो फेसबुकमा पोष्ट गर्लान् । तर त्यसो भएन । त्यसै साँझ उनले मलाई फोन गर्दै आग्रह गरे, ‘यो विरोध गरेको फोटो, कान्तिपुरमा छापिदिनु पर्‍यो ।’ मैले असर्मथता जनाएँ । अन्तत उनले आफनो अन्तरंग योजना सुनाए । एक महिनापछि अमेरिकी सरकार समक्ष राजनीतिक शरणका लागि दिएको उनको निवेदनको सुनुवाई रहेछ । माओवादी पीडित बनेका उनी, बाबुरामको विरोधको त्यो फोटो प्रमाणको रुपमा पेश गर्ने दाउमा रहेछन् ।


अहिले फेरि अमेरिकामा पुर्व माओवादी नेता भट्टराईले विरोध खेपेका छन् । एक कार्यक्रममा सहभागी उनलाई चार /पाँच जनाको समुहले कालो झण्डा मात्र देखाईएन, सत्र हजारको ज्यान लिएको सशस्त्र माओवादी विद्रोहको योजनाकार मध्येका एक पुर्व प्रधानमन्त्रीलाई युद्व अपराधी भन्दै नाराबाजी गरे । घटनाको स्वरुप निकै झिनो थियो तथापी सामाजिक सञ्जाल एवम् मिडियामा यसलाई अतिरन्जित गरियो भन्ने भट्टराईको प्रतिक्रिया, सहि हो । यसअघि पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल, सुशील कोईरालाहरुले पनि यो झेली सकेका थिए ।


बाबुराम लक्षित विरोध जायज थियो वा थिएन भन्ने बहसको बिषय होईन । खुल्ला परिवेश, त्यसमा नेपाली राजनीतिक कुसंस्कारका बाछिटाहरुले आक्रान्त नेपाली डायस्पोराको पृष्ठभुमिमा यो बिषय माथिको बहस अर्थहीन छ । विवाद व्यर्थ हो । तर यस्ता गतिविधिहरुको एउटा स्पष्ट सन्देश के हो भने, ‘हाम्रा लागि जस्तो नेपाल, त्यस्तै हो अमेरिका ।’ जस्तो कि कर्म गए, बर्मा संगै । भुगोल र परिवेश, परिवर्तन हुँदैमा, सोच र संस्कारमा परिवर्तित हुदैंन भन्ने यसले संकेत गर्छ । कम्तिमा यसका लागि पुस्तान्तरको अवधि पर्खनु पर्ला । पक्ष वा विरोधमा देखिनु पनि आलेखको आशय होईन् । जन्मथलो छोडिसकेका नेपालीहरुबाट किन यस्तो भईरहेको छ भन्ने बिषयमा सामान्य विचार विमर्श मात्र हो । यसमा विमति राख्ने अधिकार सबैसँग सुरक्षित छ ।


‘केहि वर्षपछि नेपाल फर्किन्छु’ भन्ने भावनाको कुरा हो, तर अमेरिकामा भासिनु नै हाम्रो यथार्थ हो । अमेरिकाको संरचना पनि यसरी नै बन्दै गएको दृष्टान्त छ । सुविधाभोगी मानव समाज फेरि पछाडी फर्केको इतिहास छैन । यो परिदृश्यमा नेपाली राजनीतिको तुष पोख्ने ठाँउ अमेरिकामा हो वा होईन्, मनन गर्नु जरुरी छ । मुलत, अमेरिकास्थित नेपाली समुदायमा जकडिएको ‘माओवादी नेक्सस’ नै यसको मुल कारण जस्तो देखिन्छ । अहिले अमेरिकामा रहेको नेपाली समुदायको ठुलो हिस्सा, हिसात्मक माओवादी विद्रोह ‘क्लाईमेक्स’ मा पुग्दै गर्दा विदेशिएको जमात हो ।


कोहि केहि अघि, कोहि केहि पछि विदेशिएका होलान् तर देशको त्यो अशान्तिले कतै न कतै प्रभावित जमात हो । त्यसैले यो जमातमा, बिशेष त माओवादी विद्रोहप्रति ‘हार्डकोर’ विचारले जरा गाडेको छ । माओवादीहरु राजनीतिको मुलप्रवाहमा आउँदा समेत, नेपाली डायस्पोराको एउटा हिस्साको, माओवादी आतंककारी नै हुन भन्ने ‘रटान’ अर्थपुर्ण छ । सशस्त्र विद्रोहको स्वरुप र रुपान्तरणलाई नबुझेको जस्तो गर्नु संयोग मात्र होईन ।


द्वन्द्वको स्वरुप नै हो, विनाश र विकाश । कम्तिमा नाफा नोक्सानको हिसाबमा नेपाली डायस्पोरालाई माओवादी विद्रोहले बेफाईदाको तुलनामा फाईदा नै गरेको छ । माओवादी आतंककारी नै हुन भन्ने रटान, यसै फाईदाको उपज हो । यहाँनिर बाबुरामहरुको विरोध र शेरबहादुरहरुको स्वागत सम्बन्धी तस्वीर र भिडियोको श्रृंखला महत्वपुर्ण छ । यसमा अनेकौं तर्क, विचार विमर्श गर्न सकिएला तर यर्थात यहि नै हो । अमेरिकालगायतका पश्चिमी संसारमा वैधानिक बसाईका लागि ‘माओवादी पीडित’ को कागजि परिपन्च कति अचुक शस्त्र भयो, त्यो सबैलाई थाहा भएकै बिषय हो । यो संख्या, सयौंमा होईन, हजारौं हजारमा छन् । माओवादी विद्रोह र सरकारको ज्याजतिले जाजरकोट, रुकुम, रोल्पाका पीडितहरु ज्यान जोगाउदैं तराई झरे, काठमाडौंमा शरणार्थी बने, भारतमा भासिए । तर सच्चा पीडितहरु विद्रोहको रापले, अमेरिका भासिए भन्ने तर्क वाहियात हो । न अमेरिका, भुगोलको हिसाबमा नेपाल निकट छ, न त यहाँको सरकारले नेपालका शरणार्थीलाई अमेरिका भित्र्याएको हो । अमेरिका भित्रिएपछि मात्र हो, माओवादी पिडित बन्ने ।


अर्को पक्ष, अमेरिका भित्रिसकेपछि, हामी (अमेरिकाबासी) प्रजातन्त्र र मानवअधिकारका जननी हौं, त्यसैले कम्युनिष्टहरुलाई लखेट्नै पर्छ भन्ने मानसिकता विद्यमान छ । जसले यस्ता गतिविधिहरुमा उर्जा थपेको देखिन्छ ।


तेस्रो, नेपाली समुदायलाई विभाजित गर्न मद्दत गर्ने यस्ता खाले गतिविधिहरुमा सबैभन्दा उत्प्रेरक भुमिका खेलिरहेका छन, नेपालस्थित राजनीतिक पार्टीका यहाँस्थित संघसंस्थाहरु । समुदायमा नेपालको राजनीतिक विचारकै आधारमा विभाजन ल्याउन सक्रिय संस्थाहरुले फरक विचार बोक्नेलाई उपेक्षित गर्दछन् । गैरआबासीयलगायतका विशुद्ध सामाजिक संघसंस्थाहरुको प्रभावहिनतामा यिनीहरु नै जिम्मेवार छन् । हरेक संस्थाहरुमा विभाजनको विजारोपणको सुत्रधार, त्यति नेपालको राजनीतिक संस्कार बन्दै आएको छ । फलत, यसले नेपाली डायस्पोराको ‘क्रेडिबेलिटी’ लाई ध्वस्त पार्दैछ ।


प्रकाशित : आश्विन ८, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?