कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संविधानको अंग्रेजी संस्करणमा गम्भीर त्रुटि किन ?

स्वर्णकुमार झा

काठमाडौँ — अंग्रेजी हाम्रो मातृभाषा नभएको हुनाले अंग्रेजी शब्दहरूलाई उच्चारण गर्दा फरक टोन निस्किनुलाई स्वाभाविक मान्न सकिन्छ । तर ती शब्दहरूलाई लेखिँदा हिज्जेजन्य त्रुटिहरू देखिन्छ भने त्यसलाई कदापि स्वाभाविक मान्न  सकिँदैन ।

संविधानको अंग्रेजी संस्करणमा गम्भीर त्रुटि किन ?

संविधानलाई कुनै पनि राष्ट्रको मूल कानुनको रुपमा लिईन्छ । नेपालको संविधान जारी भएको पनि अब ३ वर्ष पूरा हुन लाग्दैछ । २०७२ असोज ३ गते संविधान जारी भए पश्चात् संविधानमा समाविष्ट विभिन्न प्रावधानहरूका सम्बन्धमा राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा त्यसलाई आआफ्ना स्तरबाट बुझ्ने र बुझाइने प्रयासहरू पनि भए । नेपालसँग चासो राख्ने जुनसुकै राष्ट्र तथा नागरिकलाई पनि नेपालको संविधान बुझ्नमा सहयोग पुग्ने अभिप्रायले संविधानलाई अंग्रेजी भाषामा पनि अनुवाद (ट्रान्सलेसन) गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै नेपाल कानून आयोगको वेबसाइटमा पनि नेपालको संविधान-२०७२ को अंग्रेजी संस्करण उपलब्ध रहेको छ । जसलाई आधिकारिक अंग्रेजी संस्करणको रुपमा लिईन्छ ।


अंग्रेजीकै कुरा गर्नुपर्दा आजको यस प्रतिस्पर्धी युगमा आफूलाई चलायमान बनाईराख्न अनि प्रतिस्पर्धामा टिकाई राख्नका लागि हामी प्रायः जसोका लागि समसामयिक विषयवस्तु, सूचना प्रविधि, अंग्रेजी भाषालगायतका यावत कुराहरूमा दख्खल राख्नुपर्ने तथा त्यस विषयवस्तुमा अद्यावधिक भइराख्नुपर्ने स्थिति रहेको छ | जसले गर्दा अंग्रेजी भन्यो कि सातोपुत्लो जाने म जस्तो व्यक्तिका लागि पनि सामाजिक अध्ययन-अनुसन्धानको क्षेत्रलाई आफ्नो कर्मथलोको रुपमा पछयाउँदै जाँदा अंग्रेजी भाषासँग नजिकको मित्रता कायम गर्नुपर्ने आवश्यकता महशुस भयो | यसका साथै नेपालले जारी गरेका विभिन्न नीतिनियमहरूसँग पनि आफूलाई अद्यावधिक गराउँदै लग्नुपर्ने स्थिति रह्यो | मेरा लागि यसका विभिन्न उपायहरूमध्येको एउटा सरल उपाय भनेको नेपालका ऐन, कानुनहरूको नेपाली र अंग्रेजी दुवै संस्करण समानान्तर रुपमा अध्ययन गर्नु रहेको छ । जसको एउटा मुख्य फाइदा भनेको नेपालमा प्रचलित नीतिनियम र तिनका लागि प्रयोग गरिने नेपाली तथा अंग्रेजी शब्दावलीसँग विशेषरुपमा परिचित हुन सकिन्छ । यसै अध्ययनका क्रममा नेपालको संविधान-२०७२ को नेपाली र अंग्रेजी दुवै संस्करण अध्ययन गर्दै जाँदा अंग्रेजी संस्करणमा झट्ट हेर्दा सामान्य लाग्ने तर गम्भीर प्रकृतिका केही त्रुटिहरू फेला परेपछि त्यस सन्दर्भमा सरोकारवाला निकायहरूको ध्यान आकृष्ट गर्नको लागि कलम चलाउनुपर्ने आवश्यकता महशुस भयो ।


यस प्रसंगमा थप प्रकाश पार्नका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइटमा राखिएको २५२ पृष्ठ लामो संविधानको अंग्रेजी संस्करणमा प्रवेश गर्न चाहन्छु । सामान्यतया अंग्रेजी लेखन कार्यमा कुनै विशेष निर्देशन वा कुनै विशेष टिप्पणीका लागि त्यसलाई ल्याटिन भाषाको शब्द nota bene वा संक्षेपमा NB, nb भनेर लेख्ने चलनचल्ती रहेको छ । नेपाली शब्दावलीमा nota bene लाई द्रष्टव्य भनेर जानिन्छ । संविधानको अंग्रेजी संस्करणमा यसलाई पछ्याइँदै अनुसूची-१ मा नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका अन्तर्गत पृष्ठ २३७ बुँदा (घ) मा किनारा बनाउने तरिका सम्बन्धमा- राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ भनी Note bene मा उल्लेख गरिएको छ । त्यस्तै पृष्ठ २३९ अनुसूची-३ अन्तर्गत नेपालको निशान छाप सम्बन्धमा- यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ | त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ भनी यस कुरालाई पनि Note bene मा उल्लेख गरिएको छ ।


संविधान जस्तो राष्ट्रको गरिमामय दस्तावेजको अंग्रेजी अनुवाद पक्कै पनि अंग्रेजी भाषा विज्ञहरूले नै गरेको हुनुपर्छ न कि अंग्रेजी भन्ने बित्तिकै सातोपुत्लो जाने म जस्तो बबुरोले । अन्तर्राष्ट्रिय जगतमा मान्यता प्राप्त शब्द nota bene को हिज्जे (स्पेलिंग) लाई ख्याल नगरी त्यस शब्दलाई अर्कै हिज्जे प्रयोग गरी संविधानको अंग्रेजी संस्करणमा note bene लेखिने गम्भीर त्रुटि किन भयो ? त्यसमा सरोकारवालाको ध्यान केन्द्रित गर्न चाहन्छु ।


अब चर्चा गर्न चाहन्छु अंग्रेजी संस्करणमा रहेको अर्को त्रुटिको बारेमा | संविधानको अनुसूची-४ मा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूलाई तालिका बनाई छुट्याइएको छ | अंग्रेजी संस्करणको पृष्ठ २४२ मा क्रमशः प्रदेश ५, ६ र ७ मा रहने जिल्लाहरूको तालिका रहेको छ । त्यसै तालिकामा प्रदेश ५ अन्तर्गत रहने जिल्लाहरूको क्रम संख्या ७ मा रहेको रुकुम (पूर्वी भाग) लाई Rukun (Eastern Part) लेखिएको छ | यहाँ फेरि गम्भीर प्रश्न उब्जिन्छ रुकुम जिल्लाको हिज्जे Rukum हुनुपर्नेमा फरक हिज्जे- Rukun किन प्रयोग गरियो ? यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रदेश ५ मा रुकुन भन्ने जिल्ला रहेको सन्देश प्रवाह हुन सक्छ |


नेपाल कानून आयोगको सन्दर्भमा आयोगको वेबसाइटमा रहेको २२६ पृष्ठ लामो अंग्रेजी संस्करणको पृष्ठ २११, २१३ र २१६ मा उपर्युक्त त्रुटिहरू देख्न सकिन्छ |


हुन सक्छ भाषा विज्ञहरूले माथि उल्लेखित त्रुटिहरूका सन्दर्भमा सहि हिज्जे (स्पेलिंग) नै लेखेका होलान् र त्यसलाई कम्प्युटरमा टाइप गर्ने क्रममा उनीहरूकै वा कम्प्युटर अपरेटरको फिंगर स्लिप भइ अन्यथा टाइप हुन पुग्यो होला । तरपनि यहाँ महत्त्वपूर्ण पक्ष के रहन्छ भने संविधानको अंगेजी अनुवादपछि त्यसलाई प्रुफ रिडिंग गर्ने कार्य पनि अवश्य नै भएको होला । त्यस क्रममा पनि यस्ता त्रुटिहरूलाई किन ठम्याउन सकिएन ? यस प्रसंगबाट सम्बन्धित सरोकारवालाहरूले संविधान जस्तो राष्ट्रको अति महत्वपूर्ण र संवेदनशील दस्तावेजमा कार्य गर्दा पनि आआफ्नो कार्य गम्भीरतापूर्वक सम्पादन नगरेको अनुभूति हुन्छ ।


अन्त्यमा, अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएको नेपालको संविधानको अंग्रेजी संस्करणमा गम्भीर त्रुटिहरू आउनु भनेको राम्रो पक्ष होइन । यसबाट अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुन सक्ने सम्भावनालाई पनि नकार्न मिल्दैन । अंग्रेजी हाम्रो मातृभाषा नभएको हुनाले अंग्रेजी शब्दहरूलाई उच्चारण गर्दा फरक टोन निस्किनुलाई स्वाभाविक मान्न सकिन्छ । तर ती शब्दहरूलाई लेखिँदा हिज्जेजन्य त्रुटिहरू देखिन्छ भने त्यसलाई कदापि स्वाभाविक मान्न सकिँदैन । त्यो हाम्रो आफ्नै कमजोरीले भएको हो । जसलाई सुधार्नु अत्यन्त आवश्यक देखिन्छ । होइन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई निप्पल देख्नु र हामीले संविधान अनुवादमा रुकुमलाई रुकुन लेख्नुमा के भिन्नता रहन जान्छ र ? तसर्थ यो लेखलाई सुझावको रुपमा ग्रहण गर्दै सरोकारवाला निकायले यथाशिघ्र नेपालको संविधानको अंग्रेजी संस्करणमा रहेका त्रुटिहरूलाई सच्याई त्रुटिरहित संविधान आआफ्ना वेबसाइटमा अपलोड गर्छन् होला भन्ने अपेक्षा राख्दछु ।

प्रकाशित : आश्विन ८, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?