२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पर्यटन प्रवर्द्धनमा प्रविधि

डा. हिमलाल घिमिरे

काठमाडौँ — मानिसमा नयाँ–नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, रमाउने, खर्च गर्ने संस्कृति विकास भइरहेको छ । सूचना प्रविधिको चरम विकासले पर्यटन क्षेत्रमा परिवर्तन ल्याएको छ । कर्मचारी वा कुनै मानवीय सहयोग विना मोबाइल वा कम्प्युटरमार्फत इन्टरनेट प्रयोग गरेर पर्यटकीय आकर्षणबारे जानकारी लिने चलन बढेको छ ।

पर्यटन प्रवर्द्धनमा प्रविधि

इन्टरनेटबाटै हवाई टिकट र होटल बुकिङ गर्न थालिएको छ । खाना तथा अन्य आवश्यक कुरा मगाउन र पैसा तिर्न सकिन्छ । ठूला र स्तरीय होटलले आफ्नै एप बनाएका हुन्छन् । एपमार्फत सेवा, सुविधा, खाने, मनोरञ्जनका कार्यक्रम/साधन थाहा पाउन सकिन्छ । केही होटल, रेष्टुरेन्टमा यन्त्र–मानव (रोबट) ले पर्यटकलाई सेवा दिन्छ ।


इन्टरनेट प्रयोग गरेर लिइने/दिइने सेवा–सुविधा र ग्राहकको विवरण सजिलै तथ्याङ्कीकरण गर्न मिल्ने हुनाले सरकार वा सेवाप्रदायक संस्थालाई योजना बनाउन सजिलो भएको छ । सेवाग्राहीले आफ्नो भ्रमण, अनुभव, सेवा–सुविधा जस्ता कुरा सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्रिप एड्भाइजर, युट्युब आदिमा राख्ने हुँदा गुणस्तरीय सेवा–सुविधामा प्रतिस्पर्धा हुन्छ । यसबाट पर्यटक तथा सेवाप्रदायक कम्पनीले फाइदा लिन सक्छन् । पर्यटन संसारको एउटा कुनामा बसेर अर्कै कुनामा रहेको सेवा–सुविधाको जानकारी लिने, तुलना गर्ने, बुकिङ गर्ने, लेनदेनको कारोबार हुने र त्यो सेवा लिने व्यवसाय हो । प्रविधि विना पर्यटन सम्भव छैन ।


पर्यटन र प्रविधि उचित संयोजन गर्न जरुरी छ । नेपालमा पर्यटन उद्योगको अथाह सम्भावना छ । पर्यटन प्रबद्र्धन गर्दै अवसर सिर्जना गर्न यो उद्योगलाई प्रविधि मैत्री बनाउन आवश्यक छ । पर्यटकीय आकर्षण थप्न, पर्यटकलाई दिइने सेवासुविधामा गुणात्मक सुधार गर्न, शान्ति–सुरक्षामा सुधार्न ध्यान दिनुपर्छ । पर्यटन उद्योगबाट विदेशी मुद्रामात्र आर्जन हुँदैन, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुन्छ । यसले नेपालको प्राकृतिक छटा, बहुसंस्कृतिलाई विश्वसामु परिचित गराउन सक्छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ मा नौ लाख पचास हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसबाट पर्यटन क्षेत्रले झन्डै एक खर्ब नेपाली रुपैयाँ आर्जन गर्‍यो । पर्यटन क्षेत्रमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालीमा पनि घुम्न जाने, रेष्टुरेन्टमा खाने, रमाइलो गर्ने संस्कार विकास भएको छ । त्यसैले नेपाली पर्यटन उद्योगमा आन्तरिक पर्यटकको ठूलो योगदान छ ।


नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत पर्यटन विकासका लागि ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य र सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने योजना छ । तर सरकारी स्तरबाट भएका पर्यटन विकास र प्रबद्र्धनका कार्य त्यति सकारात्मक र उपलब्धिमूलक छैनन् । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १ गते रारा तालको किनारबाट ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेका थिए, तर कार्यान्वयन फितलो देखियो ।


हिमाल आरोहण र ट्रेकिङमा गएका पर्यटकलाई गरिने जाली उदार प्रकरण, अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्था लगायतले पर्यटन क्षेत्रमा असर पारेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले थिलथिलो पारेको नेपालको पर्यटन सबल बनिसकेको छैन । क्षति भएका पर्यटकीय आकर्षणका सम्पदाको पुनर्निर्माण सकिएको छैन । विश्व जगतलाई नेपाल पर्यटकीय आकर्षणका विविधताले भरिएको सुरक्षित र भरपुर मनोरञ्जन लिन सकिने गन्तव्य हो भन्ने सन्देश दिन सकिएको छैन ।


नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक खेलकुद पर्यटकीय आकर्षणका क्षेत्र हुन् । भूकम्प र १० वर्षे राजनीतिक द्वन्द्वजस्ता विषयले पनि पर्यटकलाई तान्छन् । तर सरकार, राजनीतिक दल र नेता–कार्यकर्ता, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघ–संस्था सबैले कम आँक्नाले अपेक्षित उपलब्धि हाँसिल भएको छैन ।

नेपाली पर्यटनलाई प्रविधि मैत्री बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रचार–प्रसार गर्न जरुरी छ । विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलाई पर्यटन प्रबद्र्धनमा सक्रिय बनाउनुपर्छ । गैरआवासीय नेपाली संघ, विदेशमा रहेका नेपालीले पनि यसमा मद्दत गर्न सक्छन् । भारत, चीनजस्ता छिमेकी देशका पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज तयार गर्नुपर्छ । नेपाल सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश पनि प्रवाह गर्नुपर्छ ।


लेखकले धार्मिक पर्यटन र लुम्बिनी विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?