मातृभाषामा किताब लेख्नै अप्ठेरो

धेरै भाषाको भाषा वैज्ञानिक अध्ययन भएको छैन । मौखिक रूपमा दिगो ढंगले प्रयोग भएका छैनन् । के कस्ता र कति वर्ण छन्, निक्र्याेल छैन ।
दानराज रेग्मी

काठमाडौँ — नेपालमा निजी आवासीय विद्यालयमा आधारभूत तहदेखि नेपाली र अंग्रेजीमा लेखिएका पाठ्य–पुस्तक पढाइन्छन् । शिक्षणको माध्यम नेपाली र अंग्रेजी दुबै छन् । सामुदायिक विद्यालयमा भने विषयका रूपमा पढाइने अंग्रेजी बाहेकका पाठ्य–पुस्तक नेपालीमा छन् ।

मातृभाषामा किताब लेख्नै अप्ठेरो

नेपालमा करिब ५६ प्रतिशतले नेपाली बाहेकका अन्य मातृभाषा बोल्छन् । तर विद्यालयमा आधारभूत तहदेखि नै नेपाली माध्यममा पढाइन्छ ।


घरपरिवार र छरछिमेकमा नेपाली भाषा नबोल्ने बालबालिकाले सुरुमा विद्यालयमा नेपालीमा पढाएका कुरा राम्ररी बुझ्दैनन् । नेपालका के कति विद्यालयमा छ भन्नेबारे यकिन जानकारी छैन । तेइसवटा अल्पसंख्यक भाषामा गरिएको एउटा प्रारम्भिक सर्वेक्षणले करिब ५० प्रतिशत बालबालिकाले नेपालीमा पढाएको कुरा अलिअलि मात्र बुझ्ने, करिब २१ प्रतिशतले कति पनि नबुझ्ने र करिब २९ प्रतिशतले सबै कुरा राम्रोसँग बुझ्ने कुरा जनाएको छ ।


अलिअलि बुझिने भाषामा बालबालिकाले भाषा सिकाइका सीप राम्ररी सिक्न सक्दैनन् । तह अनुसारको भाषिक सीप सिक्न नसक्नाले भाषाका विषयमा मात्र नभई अरूमा पनि कमजोर हँुदै जान्छन् । नेपाली बुझ्दै–नबुझ्ने बालबालिकालाई शिशु कक्षादेखि माध्यमका रूपमा मातृभाषामा शिक्षा आवश्यक छ । तह बढ्दै जाँदा क्रमिक रूपमा मातृभाषाको भार कम गर्दै नेपाली र अंग्रेजी भाषा सिकाउनुपर्छ । नेपाली अलिअलि बुझ्ने बालबालिकालाई पनि मातृभाषामा शिक्षा दिनु आवश्यक छ । तर कुन तहसम्म विषय वा माध्यमका रूपमा मातृभाषामा शिक्षा दिने भन्ने बारेमा भने विस्तृत स्थलगत अध्ययनका आधारमा निक्र्याेल गर्नुपर्छ ।


मातृभाषामा पाठ्य–पुस्तक लेखनमा नेपालमा सरकारी तथा गैरसरकारी तवरबाट केही काम भएका छन् । पाठ्यक्रम विकास केन्द्रले मैथिली, भोजपुरी, अवधी, तामाङ, लिम्बु, बान्तवा, चाम्लिङ, शेर्पा, गुरुङ, मगर, नेवार, थारू, सुनुवार, राजवंशी, याक्खा, मुगाली, थारू (मध्यक्षेत्र), मगर (अठार मगरात), धिमाल, बज्जिका, कुलुङ, चेपाङ, खालिङ र माझीजस्ता २४ वटा भाषामा विषयका रूपमा पाठ्य–पुस्तक तयार गरेको छ । तामाङमा भने सम्भोटा र देवनागरी दुबै लिपिमा पाठ्य–पुस्तक लेखिएका छन् ।


यी अधिकांश भाषामा १ देखि ५ कक्षासम्मका पाठ्य–पुस्तक तयार गरिएका छन् । केही भाषामा माथिल्लो तहका लागि प्रयास जारी छ । नेपालको भाषिक सर्वेक्षणले नेवार, मैथिली, याक्खा, भुजेल, लाप्चा, चेपाङ र बोटेमा माध्यमका रूपमा केही पाठ्य–पुस्तक तयार गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत रानाथारूमा यस्ता पाठ्य–पुस्तक लेख्ने प्रयास गरिएको पाइन्छ ।


राष्ट्रिय पाठ्यक्रमको मर्म अनुसार लामो लेख्य परम्परा भएको नेपाली भाषामै पाठ्य–पुस्तक लेख्न निकै गाह्रो छ । अन्य मातृभाषामा लेख्नु व्यावहारिक र सैद्धान्तिक रूपमा चुनौतीपूर्ण छ । नेवार, तामाङ, लिम्बु, लाप्चाजस्ता केही भाषाका मात्र आफ्नै मौलिक लिपि छन् । तर देवनागरी बाहेक अरू लिपी पठन–पाठनका लागि त्यति प्रभावकारी हुनसकेका छैनन् । त्यसैले मातृभाषाका पाठ्य–पुस्तक लेखाइमा देवनागरी लिपि प्रयोग हुँदै आएको छ ।


यसका पक्ष–विपक्षमा बहस चलिरहेको छ । हरेक भाषाका छुट्टाछुट्टै लिपि हुँदैनन् । देवनागरी लिपि भारोपेली भाषाका लागि धेरै हदसम्म उपयुक्त छ । तर भोट–बर्मेली परिवारका भाषामा पाठ्य–पुस्तक लेखाइमा प्रयोग गर्दा भाषा विशेषका निश्चित ध्वनिको प्रतिनिधित्व हुन सक्दैन । तामाङमा रहेको तान र राई–किरातमा रहेको कण्ठ व्यञ्जन वर्णलाई देवनागरीमा उतार्न सकिएको छैन । तान भए पनि पश्चिमी तामाङमा लेखिएका किताबमा तानको प्रयोग देखाइएको छैन ।


नेपालका धेरै भाषाको भाषा वैज्ञानिक अध्ययन भैसकेको छैन । धेरै भाषा मौखिक रूपमा दिगो ढंगले प्रयोग भएका छैनन् । कुन भाषामा के कस्ता र कति वर्ण छन्, निक्र्याेल छैन । पाठ्य–पुस्तक लेख्दा देवनागरीमा नभएका वर्णलाई कसरी एकरूपता कायम गरी लेख्ने भन्नेमा समस्या छ । नेपालका भाषामा पाइने सबै ध्वनिलाई देवनागरी लिपिमा अनुकूलन गर्न सजिलै सकिन्न ।


निरन्तर सम्पर्कका कारणले साना भाषाको बोलाइमा प्रभावशाली भाषाका शब्दहरू मिसिन जान्छन् । कैलाली र कञ्चनपुरका केही गाउँमा बोलिने रानाथारू भाषामा केही शब्द दगौरा थारू, केही अवधी र केही हिन्दीबाट आएका छन् । पाठ्य–पुस्तक लेख्दा वास्तविक रूपमा कुन शब्द मौलिक रानाथारू हो भन्न लेखकलाई गाह्रो हुन्छ । मौलिक शब्द पहिचान र छनोटको समस्या अन्य भाषामा पनि छ । धेरै भाषामा लिखित सन्दर्भ सामग्रीको अभाव छ । यसले गर्दा समाज र संस्कृति अनुकूलका प्रामाणिक कुरा जुटाएर पाठ्य–पुस्तकमा समावेश गर्न निकै गाह्रो देखिन्छ । मौलिक संस्कृतिबारे पनि भाषिक समुदायमा मतैक्यता पाइँदैन । यस्ता भाषिक समुदायमा मौलिक कथा सङ्कलन गर्न र पुनर्निर्माण गर्न गाह्रो छ । पुराना कथा जानेका मानिस सजिलै पाउन सकिँदैन ।


नेपाली जस्ता लेख्य परम्परा भएका भाषामा पनि स्थान अनुसार भिन्नता देखिन्छन् । भिन्नता लेख्य परम्परा नभएका भाषामा बढी हुन्छन् । व्यक्ति विशेषले बोल्ने भाषा पनि फरक हुनसक्छ । त्यस्ता भिन्नता विशेषगरी शब्दको उच्चारणमा पाइन्छ । कुनै भाषामा शब्द निर्माण र वाक्य गठनमा पनि भिन्नता देखिन्छ । यस्तो अवस्थामा कुन रूपलाई विवादरहित रूपमा पाठ्य–पुस्तकमा प्रयोग गर्ने भन्ने निर्णय गर्न गाह्रो हुन्छ । विवाद भए कार्यान्वयन गर्न सकिन्न । हरेक ससाना गाउँका लागि छुट्टाछुट्टै पाठ्य–पुस्तक लेख्न व्यावहारिक रूपमा असम्भव नभए पनि गाह्रो हुन्छ । पाठ्य–पुस्तकको उपयोग समाजमा हुने भएकाले समाजको सहमति महत्त्वपूर्ण हुन्छ । भाषा सामाजिक पहिचानसँग गाँसिएकाले यस्ता विषयमा सजिलै सहमति प्राप्त गर्न सकिन्न ।


मातृभाषामा शिक्षाको मूल लक्ष्य बालबालिकालाई घरपरिवारमै जानेको भाषामा भाषा सिकाइका सीपहरू (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) सिकाउनु हो । बालकले मातृभाषामा सिकेका सीपलाई कक्षाको तह बढ्दै जाँदा नेपाली र क्रमश: अंग्रेजी भाषाको सिकाइमा प्रयोग गर्दै जान्छ । अपरिचित वा बालकले नसुनेका भाषामा त्यस्ता सीप राम्ररी सिकाउन सकिँदैन । त्यसकारण पाठ्य–पुस्तक लेख्दा भाषाको मौलिकतालाई विशेष ध्यान दिनुपर्छ ।


यस कुरालाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले पनि विशेष जोड दिएको छ । बालबालिकालाई भाषा विशेषमा रहेका ध्वनि र वर्णप्रति विभिन्न क्रियाकलापमार्फत सचेत गराउँदै पहिले मातृभाषामा पढ्न र लेख्न सिकाउनु कार्यक्रमको लक्ष्य छ । भाषा विशेषमा नभएका ध्वनिहरूप्रति बालकलाई सचेत गराउन सकिन्न र गराउने प्रयास गर्नु पनि निरर्थक हुन जान्छ । त्यसैले धेरै पाठ्य–पुस्तक भाषा विशेषका ध्वनि र वर्ण अनुसार लेखिएका छन् । कुनै भाषा विशेषमा दीर्घताले अर्थमा भिन्नताले ल्याउँदैन भने अन्य भाषामा दीर्घ लेखिने शब्दलाई पनि ह्रस्व लेखिएको पाइन्छ । भोट–बर्मेली परिवारका भाषामा यसले त्यति ठूलो समस्या ल्याएको देखिँदैन । तर भारोपेली परिवारका भाषामा भने समस्या देखिएको छ ।


राना थारूजस्ता अल्पसंख्यक भाषामा नेपालीबाट थुप्रै शब्द आएका छन् । बोलाइमा त नेपालीमा पनि दीर्घता छैन । लेखाइमा भने ह्रस्व र दीर्घको प्रयोग प्रचुर मात्रामा गरिन्छ । राना थारूमा ह्रस्व स्वरमात्र भेटिन्छ । राना थारूमा कक्षा १ को पाठ्य–पुस्तक तयार गर्दा प्रमुख रूपमा वर्ण विश्लेषणलाई आधार मानिएको छ । यो वैज्ञानिक छ । तर १ कक्षाका बालबालिकाले नेपालीसँगै सिक्छन् । नेपाली भाषामा ‘नेपाली’ शब्दको अन्तिम इकार दीर्घ सिकाइन्छ । राना थारुमा भने इकार ह्रस्व सिकाउँदा शिक्षकको योग्यतामाथि विद्यार्थीले प्रश्न गर्ने गरेका छन् । त्यसैले नेपालीबाट गएका शब्दहरूलाई नेपाली हिज्जेका नियम अनुसार लेख्न लगाउनुपर्छ भन्ने भाषिक समुदायको राय छ । यसमा शिक्षकको पनि सम्मति देखिन्छ ।


एउटै किताबमा रानाथारू शब्दका लागि इकार र उकार सबै ह्रस्व लेख्ने तर नेपालीबाट गएका शब्दलाई भने नेपालीकै हिज्जेको नियम अनुसार लेख्ने भन्नु कति उपयुक्त होला ? विचारणीय छ । यस विषयमा विज्ञ र अभ्यासकर्ताबीच मत केही नमिलेको पाइन्छ । विज्ञ भन्छन्– सैद्धान्तिक रूपमा रानाथारू र यसमा अन्य भाषाबाट आएका शब्द यसै भाषाको वर्णको व्यवस्था अनुसार लेख्नुपर्छ । अभ्यास वा प्रयोगकर्ता भन्छन्– व्यावहारिक रूपमा नेपालीबाट आएका शब्दलाई नेपाली हिज्जेका नियम अनुसार लेख्नुपर्छ । नत्र बालबालिका अलमलिन्छन् र सिकाइले गति लिन सक्दैन ।


दुबै पक्षका तर्कमा केही यथार्थता पक्कै छ । राना थारूमा नभएका दीर्घ स्वर र अन्य व्यञ्जन ध्वनिलाई नेपालीबाट आएका शब्दका लागि भनेर जबर्जस्ती बालबालिकालाई सचेत बनाउन पनि सकिन्न । लेखन प्रणाली मूलत: सामाजिक सम्झौता भएकाले समाजको भावनालाई कदर गर्नैपर्छ । यी दुई मतको बीचबाट मध्यमार्गी बाटो अपनाउनुपर्छ ।


नेपाली नजानेर भाषा सिकाइका सीपलाई राम्रोसँग सिक्न नसकेका बालबालिकालाई केन्द्रविन्दु बनाउँदै सकेसम्म मातृभाषाका मौलिक शब्दहरू खोजी मातृभाषा शिक्षाका आधारभूत सिद्धान्त अनुसार पाठ्य–पुस्तक निर्माण गर्नुपर्छ । यसले बालबालिकालाई सिकाइका सीप सिक्नमात्र होइन, भाषाको मौलिकता र समाजको पहिचान बचाउन पनि मद्दत गर्छ । साना कक्षामा भाषाको जटिल पक्षमा लागेर सिकाइलाई जटिल बनाउनु हुन्न ।


लेखक भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविका प्राध्यापक हुन् ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?