१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अमेरिकी बसाई : जानकारीको अभावमा उल्लु नहुनुस्

नवीन रायमाझी

काठमाडौँ — जानकारीको अभाब र सिक्न वा जान्ने इच्छा नहुँदा वा त्यो क्षमता नहुँदा अमेरिका बस्ने अधिकांस नेपालीहरुको अबस्था न हाँसको चाल न बकुल्लाको चाल भनेको जस्तो छ ।

अमेरिकी बसाई : जानकारीको अभावमा उल्लु नहुनुस्

प्रस्तुत आलेखले उच्च शिक्षा लिएर "हाइ पेड जब" गर्ने थोरैको संख्यामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दैन किनकी त्यस्ता ब्यक्ति र समुदायसँग पंक्तिकारको सम्बन्ध र पहुँच छैन । बरु अमेरिकी सरकारले तोकेको न्युनतम् वा त्यो भन्दा कम ज्यालामा काम गर्ने अर्थात् चलनचल्तिको भाषामा "घण्टा हान्ने" हरुको मात्र प्रतिनिधित्व गर्छ ।


मैले आजसम्म त्यस्ता उच्च शिक्षित ब्यक्तिहरुले म फलानो सम्पर्क समितिको सचिव वा ढिस्कानो सम्पर्क मञ्चको अध्यक्ष हुँ भनेर आफ्नो परिचय दिएको सुनेको वा भेटेको छैन, त्यस्ता पदवीधारीहरु सबै ट्याक्सी ड्राइभर, डिस वासर वा त्यस्तै कुनै काम गर्नेहरु छन् । अमेरिकामा सबै काम बराबर हो, काम भनेको ठुलो वा सानो हुँदैन भनेर लंगडो तर्क दिनेहरु यस्तै वर्गका हुन्, जो सर्वथा गलत छ । यदी काम सानो वा ठुलो नहुने हो भने एउटा कार्यालयमा कोही हाकिम र कोही कारिन्दा किन हुन्थे?


यदी कसैले आफ्नो नाबालक बच्चा (बिशेष गरेर छोरा) लाई देखाएर यो राष्ट्रपति हुने हो भनेर देखायो भने त्यो बच्चा अमेरिका मै जन्मेको रहेछ भनेर बुझ्न सकिन्छ । अब अमेरिकामा जन्मिएका हरेक बालबालिका भविष्यमा गएर राष्ट्रपति बन्ने कुरा हुने भएन, यसको अर्थ यो यतै जन्मिएको हो भनेर प्रचार गर्नु भन्दा अरु के हुन सक्छ? जो जहाँ जन्मिए पनि कुनै खास महत्व राख्ला जस्तो पंक्तिकारको सानो मस्तिष्कले बुझ्न सकेको छैन । जसका बच्चाहरु यतै जन्मिएका होइनन् तर सानैमा यता आएका हुन्, त्यस्ता बच्चाका अभिभावकहरुले पनि आफ्नो बच्चाहरुलाई देखाएर यो त यतै जन्मिएको जस्तै हो भनेर प्रचार गरिरहेका हुन्छन्, सायद यता जन्मिएको बालबालिका नेपालमा जन्मिएको भन्दा बिशेष हुने हो? यो मैले बुझेको छैन । यस्तै कसैले म त अब अमेरिकन भइसके भन्यो भने म अब नेपालतिरका नातागोता वा साथीभाईसँग वास्ता गर्दिन वा मैले अमेरिका आउँदा लिएको ऋण तिर्दिन भनेको बुझ्न सकिन्छ ।


अर्को थरिलाई फेसबुक जस्ता सामाजिक सञ्जालमा अपलोड हुने हरेक फोटोमा भिन्दा भन्दै लुगामा देखिएन वा कुनै लुगा दोहरियो भने बढो बेइज्जत अनुभव हुन्छ, "बालमार्ट" जस्तो सुलभ मुल्यको पसलमा नभई "मेसिज" र "जेसी पेन्नी" जस्ता पसलमा मात्र लुगा किन्न रुचाउने त्यस्ता ब्यक्तिहरु कुनै उत्सव वा समारोहमा त्यो लुगा लगाएर आफ्नो काम सकिए पछि फर्काउने गर्छन् । यदी यो कुरा कसैलाई पंक्तिकारले झुटो लेखेको जस्तो लाग्छ भने मेरो सम्बन्ध भएका करिब १५ जना जतिले यस्तो काम गरेको प्रमाण दिन तयार छु ।


त्यस्तै दिनभरी भारतीय वा पाकिस्तानी मुलका ब्यापारीहरुको पसलमा काम गर्ने र कुनै काम बिगार्दा साहुजी ले गरेको आमाचकारी गालीको तुष बेलुका डेरा फर्केर नेपालका सम्बन्धीहरुलाई फोन गरेर "धोतीलाई थर्काएँ" भनेर गफ लडाउनेहरु हुन्छन् । यही वर्गकाहरुलाई हो बिभिन्न सम्पर्क समिति र प्रबासी मञ्च, फलानो र ढिस्कानो समाज भनेर दौडधुप गर्नुपर्ने । मैले नबुझेको कुरा के भने नेपालबाट यति टाढा आएपछि शेरबहादुर देउबा र रामचन्द्र पौडेल वा केपी ओली र माधब नेपाल भनेर घाँटी सुक्ने गरेर कराउनु को के अर्थ छ? अर्कोतर्फ नेपालमा बसेर अमेरिकामा मेरो मामाको छोरा फलानो सम्पर्क समितिको सचिव वा फुपुको छोरा ढिस्कानो प्रबासी मञ्चको उपाध्यक्ष छ भनेर खुशी हुनेहरुले यस्ता संघ वा मञ्चको औकात दुई पैसाको पनि छैन वा हुँदैन भनेर बुझ्न जरुरी छ । यस्ता सबै पदहरु आफुले गरेको निम्न स्तरको कामलाई छोप्ने बहाना मात्र हो ।


यस्तै अमेरिकी दुताबासमा मेरो सेटिङ्ग छ पैसा खर्च गरे भने भिसा पाइन्छ भनेर गफ दिने र ठगेर बिचल्ली पर्नेहरु सबै ठग हुन् र त्यो भन्दा तीन गुणा बढी पटमुर्ख त्यस्ता हावादारी कुरामा विश्वास गरेर ठगिने हुन्, जानीजानी खुकुरीको धारमा टेके पछि घाउ लाग्यो भनेर रुनु कराउनुको कुनै औचित्य छैन र यस्तो कुरालाई मान्छे आफै जागरुक नहुने हो भने कुनै सरकारले पनि केहि गर्न सक्दैन, यस्ता मुर्ख र अरुले भनेको राम्रो कुरा नसुन्ने हरु बिचल्लीमा नपरे अरु को पर्छ?


पहिरनले नै मात्र आफु आधुनिक भइन्छ भन्ने अन्धविश्वास भएकाहरुको संख्या पनि बाक्लै छ । बजारमा बेच्न राखिएको सबै पोशाक सबैको लागि होइन भन्ने सामान्य ज्ञान नभएकाहरुले नेपालबाट लगाएर आएको गुन्यु चोलो फालेर मिनी स्कर्ट लगाउँदा कति भद्दा देखिएको हुन्छ त्यो ख्याल गरे समाजमा हाँस्य पात्र बन्नु पर्ने थिएन । आफ्नो ज्ञान र सीपलाई फराकिलो पार्न नचाहने तर देखाबटीमा मात्र विश्वास गर्दा त्यस्तै हुन्छ । त्यस्तै नेपालमा एसएलसीमा पाँच पटक अनुतिर्ण भएर बढो मुश्किलले कलेजको आँगनसम्म देखेकाहरुले अमेरिकामा पढाइ कति हो भनेर सोध्नु हुँदैन भन्छन्, जब कुनै योग्यता नै छैन भने कसरी सोध्ने र कसरी भन्ने? अमेरिकनहरुले एक आपसमा तपाईं कुन विश्वविद्यालयमा अध्ययन गरेको भनेर सोधेको पंक्तिकारले सुनेको छ ।


आफु वा कुनै आफन्त आउँदा प्रेसर कुकर र राइस कुकर बोकेर आउनेहरु अर्का अजीव प्राणी हुन् । पैसा भयो भने नुनदेखि सुनसम्म जहाँको जस्तो सामान पनि पाइने यो देशमा त्यस्ता सामान बोकेर आउनु भनेको कि त सुचना को अभाब हो कि त महँगो हुन्छ भन्ने लोभ । यदी कसैलाई त्यस्ता सामान नेपालमा भन्दा यता महँगो हुन्छ भन्ने डर छ भने त्यो सर्वथा गलत हो, लगभग सबै सामान यतै सस्तो पर्छ ।


प्रस्तुत आलेखले कसैलाई आफैलाई भनेको जस्तो लाग्छ भने यसलाई केवल संयोग मात्र हो भनेर बुझ्नु होला । मेरो यो भन्दा पहिलेको आलेखमा कुल गाई, अमेरिकन बाबु, नेपाली कान्छा जस्ता मन गढ्न्त नामबाट अश्लिल प्रतिक्रिया पठाउनुबाट म आफुलाई सफल भएको सम्झेको छु । यो सबै चोरको खुट्टा काट भन्दा खुट्टा लुकाएको जस्तो वा कायरता मात्र हो । प्रबुद्ध पाठकबाट उचित प्रतिक्रिया र सुझाबको सँधै अपेक्षा छ तर पाँडे गालीसँग मेरो कुनै सरोकार छैन ।

@twitter#naviinr

प्रकाशित : आश्विन १०, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?