कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिका बस्ने नेपालीको स्थान बिशेषको उच्चारण

बाबुराम न्यौपाने

काठमाडौँ — कुनै पनि स्थानको आफ्नो पहिचान हुन्छ । कुनै पनि भाषाको आफ्नै  महिमा हुन्छ । त्यसका निर्धारित उच्चारण मान्यताहरु स्थापित भएका हुन्छन् । यसमाथिको लापरवाही अमान्य र हास्यास्पद ठहिरन्छ । त्यसलाई बिगारेर बोल्यो भने सम्बन्धित स्थानमा बस्नेहरुलाई चित्त बुझ्दैन ।

अमेरिका बस्ने नेपालीको स्थान बिशेषको उच्चारण

त्यो सुन्नेहरुलाई पनि त्यति पाच्य र सहज नलाग्न सक्छ । नेपाललाई ‘निप्पल’ भन्यो रे भनेर खबरहरु अनलाईन समाचारहरुमा आइरहेका अवस्थामा अमेरिकी राष्ट्रपतिको व्यापक आलोचना भैरहेको वर्तमान माहोलमा मलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूको स्थान बिशेषको उच्चारणको बारेमा केहि खट्केको कुरा माथि थोरै बोल्न मन लाग्यो । यसलाई कसैले व्यक्तिगत रुपमा नलिईदिनु होला भनेर अनुरोध गर्न चाहन्छु । कसैको अज्ञानता अथवा निर्दोषिताको खिल्ली उडाउन यो लेख लेखिएको होइन भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।


अर्काको देखासिकी गर्नमा रमाउने हामी राम्रा र सही कुराको देखासिकी गर्नमा त्यति चासो दिन्नौ कि भन्ने भान मलाई छ ।


यदि तपाईंले पोखरालाई ‘पोख्यारा’ भन्नुभयो भने कस्तो सुनिएला? बिराटनगरलाई ‘बिर्याटनगर’ र काठमाडौं लाई ‘क्याठम्यान्डू’ भन्नुभयो भने सुन्ने मान्छे अलमलमा पर्ला कि नपर्ला?


अमेरिकामा बर्सौदेखि बसोबास गर्दै आइरहेका नेपालीहरूले पनि यहाँका राज्य र सहरहरुको नाम गलत ढंगले उच्चारण गर्ने गरेको पाईन्छ । उदाहरणको लागि म बस्दै आएको अमेरिकाको राज्य र सहरको नामको उच्चारण नब्बे प्रतिशत भन्दा बढी नेपालीहरुले गलत ढंगले गरेको पाइन्छ । म बस्दै आएको राज्यलाई नर्थ क्यारोलाईना भनेर उच्चारण गरियो भने अमेरिका वा विश्वको कुनै पनि कुनामा बस्ने र सामान्य भौगोलिक ज्ञान भएको व्यक्तिले सजिलै बुझ्दछ । तर नेपाली समुदायका अधिकाँशले यसलाई ‘नर्थ क्यारोलिना' भनेर उच्चारण गर्ने गरेको पाइन्छ । नेपालमा स्नातकोत्तर उपाधि हासिल गरेर अमेरिका छिरेकाहरु कतिपय पनि यही हुलमा मिसिन्छन् ।


म बस्ने सानो नगर नर्थ क्यारोलाईना राज्यको ‘केरी’ हो। यसलाई हरेक जसो नेपालीहरू ‘क्यारि‘ भनेर उच्चारण गर्ने गर्छन् । यसको नजिकै मरिसभिल नामक अर्को सानो नगर छ जसलाई धेरै नेपाली र भारतीयहरू ‘मोरिसभिल’ भन्दछन् जहाँ लगभग पचास् प्रतिशत भन्दा बढी नेपाली र भारतीय मूलका बासिन्दाहरू बसोबास गर्छन् ।


यस्तै नर्थ क्यारोलाईनाको राजधानी सहरको उचित उच्चारण ‘राले’ हो । तर प्रशस्तै नेपालीहरू तथा भारतीय मित्रहरु निर्धक्क ‘र्‍याले’ भनिदिन्छन् । लाग्छ कि यो ससाना बालबलिकाको रियाल पुछ्ने टालो हो । नर्थ क्यारोलाईनाकै सबैभन्दा ठूलो सहर शार्लटलाई ‘चारलोट’ भनेर सम्बोधन गर्नेहरुको बहुमत छ ।


अब हेर्नोस् एउटा नेपालीले एउटा अलिअली नेपाली बुझ्ने गोरेसित सम्बाद गर्दै गर्दा आफ्नो बारेमा यसरी व्याख्या गर्यो भने त्यो गोरेलाई कुरा बुझ्न कति हम्मेहम्मे पर्ला- “म ‘नर्थ् क्यारोलिना’को ‘क्यारि’ मा बस्छु र ‘चारलोट’ मा काम गर्छु । कामको सिलसिलामा म प्रायजसो ‘मिचिगन’ राज्यका बिभिन्न ठाउँमा डुल्छु ।''


यदि उच्चारणलाई मतलब नराख्ने हो भने यो सम्बादमा कुनै समस्या छैन । तर उच्चारणलाई ख्याल राख्ने हो भने यहाँनेर व्यापक समस्या देखिन्छ ।


मेरा एकजना शुभराज रानभाट नाम गरेका मित्र अहिले टेक्सास राज्यको एल पासो सहरमा भाषा र सञ्चार विषयमा पिएचडी गर्दै छन् । उनी भन्दै थिए, एकजना अहिले नेपालको त्रिभुवन विश्वविधालयमा जमेका शिक्षक अमेरिकामा बिधाबारिधि गर्दैगर्दा सिकाइ सहायक भएर अध्यापन गरिरहेको बेला बिधार्थी दीर्घाबाट कसैले साथीसित प्रश्न सोधेको सुनेछन् । एउटा बिद्यार्थीले अर्कोसँग सोध्दै थियो रे, “होइन, यो मान्छे अँग्रेजी बोलिरहेको छ कि अर्कै भाषा?”


अमेरिकामा बसेर अनलाइन पत्रकारिता गर्ने अधिकतम् पत्रकारहरुको भाषागत हविगत हेर्यो भने पनि लाजै लाग्ने खालको देखिन्छ । एउटा अनलाइन खबरपत्रिकामा छापिएको एउटा सानो समाचारको भाषा स्तर हेर्यो भने त्यो बुझिन्छ । उदाहरणको लागि म एउटा समाचारमा प्रयोग भएका शब्दहरु उल्लेख गर्नचाहन्छु, वर्षिय, वर्षिया, चुँनिदा, टेक्सास, टेक्सस, डलास, डिसिपिलिन्, सोशल, उदेश्य, इन्टरटेनमेन, सौन्दर्य, ब्यावस्थापन, सन्तोस, क्षतिजा, फस्टरनरअफ । अरु त अरु, नाम जनाउने एउटा शब्दमा समेत फरक हिज्जे प्रयोग भएको देखिन्छ । वेबसाइट शब्दलाई त नब्बे प्रतिशतले ‘वेभसाइट’ लेख्ने कुरा सबैलाई थाहै छ ।


यहाँ भन्न खोजिएको कुरा के हो भने गलत हिज्जे, उच्चारण र लवजले भाषाको अस्मितामाथि धावा बोल्छन् । यसको सुन्दरतामाथि आक्रमण गर्छन् ।


अमेरिकामा बसेपछि कम्तीमा फुर्सदको बेलामा स्थानीय टेलिभिजन हेर्यो भने पनि धेरै स्थानको उच्चारण कसरी गर्ने भन्ने थाहा हुन्छ । हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुले यो कुरालाई मनन् गर्नुभएमा बिभिन्न महादेशका आप्रबासी र रैथाने अमेरिकीहरुसितको सम्वाद अझै प्रभावकारी तथा फलदायी हुन्थ्यो भन्ने मलाई लाग्छ ।


अनौठो कुरा त के भने नि इल्लिनोइ राज्यको शिकागो सहरलाई ‘चिकागो’ भनेर नेपाली समुदायले उच्चारण गरेको विरलै सुन्न पाइन्छ ।


तर त्यही सिएचआइ हिज्जे भएको मिशिगन राज्यलाई मिचिगन भनेर हुर्मत लिएको पाइन्छ्। त्यसैग सिएच हिज्जे भएको शार्लट सहर् पनि यो नेपाली जनजिब्रोको शिकार भएर ‘चारलोट’ मा परिणत हुन बाध्य हुन्छ । आर्केन्स राज्यलाई ‘आर्कान्सास’ भनेर सम्वोधन गर्ने नेपाली र भारतीयहरुको जमात विशाल छ । आयोआ राज्यको राजधानी सहर डे मोईन त सिधासिधा डेस मोईन्स उच्चरित हुने भैगो ।


जन्मदिवसमा केक काट्नदेखि पौडी पोखरी छेउमा बिबिक्यु गर्नसम्म सिक्नेहरुले कम्तीमा प्रचलित स्थानविशेषको उच्चारण राम्रोसित गर्न सिकेमा राम्रो हुन्थ्यो कि? भनिन्छ नि एकदुई पटकको गल्ती गल्ती हुन्छ र क्ष्यम्य पनि हुन्छ । त्यो भन्दा पछिको गल्ती मूर्खता कहलाउँछ ।


[email protected]



प्रकाशित : आश्विन १२, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?