१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चेतनामाथि जाइलाग्ने अरिंगाल !

यादव देवकोटा

काठमाडौँ — कञ्चनपुरकी तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाहीका निम्ति अलाप–विलाप गर्दै हारगुहारमा लागेका निर्मलाका आमाबाबुलाई प्रधानमन्त्रीकै सामुन्ने उनका पार्टी नेताहरूले ‘परिचालित अभियानमा लागेको’ आरोप लगाए ।

चेतनामाथि जाइलाग्ने अरिंगाल !

त्यसको केही घन्टा नबित्दै ओलीले आफ्नो विरोध गर्नेहरूमाथि अरिंगाल बनेर जाइलाग्न निर्देशन दिए । यो सक्कली ओली प्रवृत्तिको पटाक्षेप मात्रै हो । तिनले लानै नसक्ने समाजवादी समाजको यात्रामा अवरोध होइन ।


यतिबेला कसैले ओलीको विरोध गरेको छैन । बलात्कारीलाई कारबाही गर, संविधान प्रदत्त न्याय मोलमोलाइको विषय नबनाऊ, पहुँच भएकै आधारमा बलात्कारीलाई जोगाउन लागिपर्ने बर्दीधारीमाथि कारबाही गर भन्नु सरकारको विरोध हो कि उसैले गर्नुपर्ने काम गर भनेर नागरिकले सरकारलाई बल दिएको हो ? बलात्कारीलाई कारबाही, सामाजिक न्याय र छोरीका आमा–बा भएकै कारण असुरक्षाले दन्किरहेको त्रासको झिरमा उनिएर बाँच्नुपर्ने यातनापूर्ण अवस्था बदलियोस् भनेर नागरिकले आफूलाई मुखरित गर्नु ओली सरकारको विरोध हो ?


हो भने सिधासिधा भन्नैपर्छ, दुई तिहाइको सरकार बलात्कारीको संरक्षण चाहन्छ, समाजमा मनमौजी चाहन्छ, महिलामाथिको हिंसामा नागरिक मौनता चाहन्छ । अन्यायको भालाले न्यायको आवाज दाग्न चाहन्छ । तर सवाल नेपाली समाजको चेतना, जागरुकता र न्यायको आगो निभिसक्यो कि जागै छ भन्नेमात्रै हो । आत्मसम्मानपूर्ण, न्यायपूर्ण समाजका लागि अत्याचारको प्रतिवादमा उभिन सक्ने आगो नेपाली समाजको छात्ती भित्रबाट निभिसकेको छैन भने न्याय र समताको आवाजमाथि जाइलाग्ने अरिंगालको गोलो खसाल्न सत्ताधारीले चाहेको सन्नाटाको रात नछिप्पिँदै अगुल्टो सल्काएर अघि बढ्ला नै । त्यो अगुल्टो कति रापिलो बन्न सक्छ, त्यसैले निर्धारण गर्नेछ, नेपाली समाजको अबको दिशा र दशा ।


सन्नाटा र मौनताका लागि लायक कि घाट हुन्छ कि सपना र स्वत्वको मृत्यु भैसकेको समाज । स्वत्व निभिसकेको समाजसँग कि पलायनको विकल्प बाँकी रहन्छ कि आत्महत्याको । जिउँदो समाजले यी दुवै विकल्पका लागि आफूलाई तयार पार्दैन । तर समयले थमाउने स्तरको जटिल प्रश्नपत्र तयार गर्ने गिदी विकास भएकै छैन । र जतिसुकै जटिल भए पनि प्रश्नहरूलाई स्वीकार गर्ने र उत्तरका लागि यत्न गर्ने सबैभन्दा चेतनशील जीवात् मानिस नै हो । हामी त्यो स्तरमा उक्लिन अझै कति बाँकी छ, त्यो नै सबैभन्दा मुख्य कुरा हो ।
***


एसिड आक्रमणमा परी अस्पतालमा उपचाररत किशोरी सम्झना दासको निधन भएको दिन प्रधानमन्त्री ओलीलाई एस्कर्टिङसहित न्युयोर्कमा सवारी गराइएको भन्दै तस्बीर सार्वजनिक गराइयो । तस्बीर सार्वजनिक गरेर खुसी मनाउनेहरूको लाममा सरकारी बफादार मण्डली हुनु कुनै पीरको विषय होइन । त्यही लाममा जनताको भुक्तमान निचोरेर जम्मा गरिएको भण्डार रित्याए बापत माननीय भनाइएका समेत हुनु पनि अनपेक्षित विषय थिएन । दादागिरीको बलमा समाजलाई औंलामा घुमाउने पेसामा रहेकाहरूलाई प्रहरीले समात्न नपाउँदै जमानी बसेर छुटाउन दौडनेहरूमा बालिकाको एसिड आक्रमणमा परेर विभत्स निधन हुँदा नजागेको संवेदना नक्कली एस्कर्टिङमा एकाएक प्रस्फुटित हुनुले कुनै भवितव्यलाई किनार लगाउने अवसर चुक्यो भनेर दु:खमनाउ गर्न खोजिएको पनि होइन ।


नक्कली, किनभने ओलीको भन्दै उनको बफादार मण्डलीले चित्त शीत्तल पार्न टाँसेको तस्बीर ओबामा राष्ट्रपति हुँदाको थियो भनेर सार्वजनिक भैसकेको छ । दु:खमनाउ चाहिँ किन पनि छैन भने, ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ भनेर मानिसको दिमाग पाक्नेगरी कान फुकेका ‘पूर्व वामपन्थी’हरूले परम्परादेखि भइआएको कर्म बदलेर मृगको मासु त परैको कुरा खसीको टाउको देखाएर बाख्रीको मासु बेच्न थालेको समेत सुनिएको छैन ।


सत्ताधारीलाई मानिसका सामु बेच्न मिल्ने तेस्रो श्रेणीको खुसीका लागि पनि नक्कली तस्बीरहरूको जोगाडमा लाग्नुपर्ने दु:ख आइलागेपछि तिनीबाट शासित नागरिकको हविगत बुझ्न कुनै थिंकट्यांक खडा गरेर विश्वविद्यालयका प्राध्यापकहरूलाई बफादारिताको जागिर दिइरहन जरुरी छैन ।
***


कुनै दिन ओली गणतन्त्रका लागि चलेको आन्दोलनप्रति खिसीट्युरी गरेर भन्थे– बयलगाडा चढेर अमेरिका पुगिन्न । गणतन्त्र ल्याउन गाडामा नारिएका हजारौं मानिसको जीवनाहुतिको मोलमा गणतन्त्र आयो । आफैंले सार्वजनिक अरुचि प्रकट गरेको गणतन्त्रमा उनी शक्तिशाली प्रधानमन्त्री छन् । भन्न त उनी भन्छन्– राजाको विरोध गरेर डेढ दशक जेल बस्ने ओलीपछि अरु को छ ? सही हो, उनी डेढ दशक जेल बसेका छन् । तर गणतन्त्रका लागि होइन, राजतन्त्रात्मक सत्ताखेलोमा हिस्सेदारीका लागि । उनले गणतन्त्रका लागि राजासहितको ‘प्रजातन्त्र’को सत्तायात्राका कुनै दिन गणतन्त्रको अभिलेख कतै दर्ता गराएको देखाउन सक्छन्, नेपाली समाजलाई ? गणतन्त्रलाई बयलगाडा भनेर लाञ्छित गर्नेहरूको सत्तामा अभिषेक गणतन्त्रलाई जरैदेखि बदनाम गराउने प्रयोजनका लागि त होइन ? अन्यथा गणतन्त्रका दिनमा छोरीको बलात्कारीलाई, हत्यारालाई कारबाही गरिदेऊ भनेर रोइकराइ गर्नेमाथि गोली र बलात्कारी जोगाउने, भ्रष्टाचारीलाई छानी–छानी गणतन्त्रको तक्मा कुन लक्ष्यसिद्ध गर्नका लागि हो ?


कलिला छोरीहरूले बलात्कृत हुनुपर्ने, मर्नुपर्ने क्रूर र घृणित चेतना निर्माणको कारखानाको जग के हो भनेर विमर्शको माग गरिनु व्यवस्था र रितका बफादारलाई समाज विखण्डन लाग्छ । एकथान मन्त्रीलाई सडकमा उभिएर कालो टालो देखाए बापत पक्राउ परेको नागरिक प्रहरी हिरासतमै मारिन्छ । सीमामा मिचिएको जमिनबारे बोलिदेऊ भनेर रोइकराइ गरेका नागरिकलाई छिमेकीसँग सम्बन्ध बिगार्ने मतियारको आरोप लगाइन्छ । बेला न सन्दर्भ विदेशीको दैलोमा हाजिरी लगाउनेहरू राष्ट्रवादको पाल्सी शिक्षाले नागरिक स्वाभिमानलई लाञ्छित गर्छन् । कोठाबाट समातिएको मानिस भिडन्त शीर्षकमा मारिन्छ र प्रहरी निरपराध मानिसलाई अपराधी कबुल गराउन यातना दिन्छ । सत्ताको मनलाग्दीमाथि प्रश्न गर्नेहरू कित विकास विरोधी बनाइन्छन् कि शान्ति विरोधी । नैतिकता भन्ने शब्दलाई लिलाम गरिसकेपछि नागरिक चुसेर बजार मोटाउँछ र बजारसँग मिलेर सत्ताका बफादारहरू ।


संसदमा जवाफ दिन उभिएका गृहमन्त्री पुलिसले अपराधको प्रमाण नष्ट गरायो भन्दै पुँजीवादले बलात्कार बढाएको दर्शन बाँड्छन् । संसदमा उभिएर बोलिरहेको मानिस देशको गृहमन्त्री हो कि वियोगान्त नाटकमा अभिनय गरिरहेको कलाकार, फरक जानिन्न । गृहमन्त्रीजी, बलात्कारीका संरक्षकहरूलाई तक्मा बाँडेर, न्यायका आवाज बक्नेहरूको मुखमा ताल्चा र हातमा हत्कडी लादेर समाजमा अपराध मौलाएको हो, बलात्कार बढेको हो । तपाई सत्तामा सवार व्यवस्था दलाल पुँजीवादी हो । तपाई गृहमन्त्री भएको पुँजीवाद उल्ट्याएर जनवाद ल्याउन होइन । उसै पनि सत्ताको झण्डा र डन्डा समातेर जनवाद आएको न भूतको लिखत छ, न भविष्यमा त्यस्तो लिखत बन्नेछ । त्यो पनि तपाईबाट, जसले आफैंले जनवाद ल्याउन भनेर भड्काएर हिँडाएका हजारौं–हजार मानिसलाई दोबाटोमा अलपत्र छाडेर सत्ताको रामरमितामा हाजिरी लगाएको छ ।


अरिंगालको आलोचनाबाट हच्किएपछि ओलीले बफादार मण्डलीलाई माहुरी बन्न उक्साएका छन् । सत्ताको हन्डीमा परिचालितहरू कर्मी माहुरी बन्ने सम्भावना नरहेपछि बन्ने भनेको पीडक मौरी हो । कर्मी मौरीले खोजेर ल्याएको पराग खाइदिने र जसलाई भेट्यो, उसैलाई चिल्ने । ओलीले चाहेकै त्यही हो, गरिखाने मानिसलाई सत्ताको कोर्रा हानेर चुस्ने र त्यसलाई बाँडेर बफादार मण्डली परिचालित गरेर तिनै जनतालाई चिल्ने ।


तर ओलीका बफादार मण्डली स्वतन्त्रता, न्याय, समानता, सहिष्णुता मागिरहेकाहरूलाई डस्ने अरिंगाल र अरुलाई चिलेर मर्ने मौरी बन्न तयार छन् ? के ओलीले नेपाली समाजले मागेको न्यायको आवाजलाई दुश्मन करार गरेर त्यस विरुद्ध ज्यान दिने ‘जेहादी जत्था’ तयार गर्न खोजेका हुन् ? नत्र कार्यकर्तालाई विवेकी र चेतनशील मानिस बन्न अभिप्रेरित गर्नुको सट्टा परपीडक अरिंगाल या अरुलाई टोकेपछि आफैं पनि मर्ने जेहादी माहुरी बन्न किन उक्साइरहेछन्, ओली ?


ओलीज्यू, हाम्रा पुर्खाले मानव सभ्यताको हजारौं वर्षको कठिनतम संघर्ष र मिहेनतपछि जीव, जनावरको हविगतबाट आफूलाई चेतनशील मानिसका रूपमा परिणत गरेको पनि दसौं हजार वर्ष भैसकेको छ । तपाईका कार्यकर्तालाई मानव नै रहन दिनोस् । समयको चक्कालाई उल्टो घुमाउन खोज्ने नारायणहिटीका ज्ञानेन्द्र अचेल नागार्जुनमा छन् । त्यत्ति नभुले बाँकी त चल्दै गर्छ ।

@gaunkomanchhey

प्रकाशित : आश्विन १७, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?