१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कविको अवसान

समय रेखा
गगनको कवितामा जीवन र समय अनि राजनीतिले रचना गरेका अवस्थाको बेजोड संगम रहेछ ।
अभि सुवेदी

काठमाडौँ — मलाई १४ असोज २०७५ को एउटा घटनाले कहिल्यै नबिर्सिने गरी हल्लाएको छ । यो शोक र चिन्ता, समय र क्षणभङ्गुरताका अनेकौं विषय जोड्न सक्ने घटना हो । त्यो दिन नर्भिक अस्पतालमा कवि गगन विरही (२०१४) नियमितजस्तै भर्ना भएर उपचार गरिरहेको अवस्था थियो । यो क्रम निकै समयदेखि चलेको रहेछ ।

कविको अवसान

केही महिनाअघि गगनले मलाई फोन गरेर भने, ‘दाइ, मैले जीवनका पछिल्ला वर्षहरूमा लेखेका मेरो जीवनका प्रतिविम्ब बोकेका कविताको सङ्कलन तयार गरेको छु । तपाईंको भूमिका यसमा राख्ने मेरो इच्छा छ ।’ भूमिका लेख्ने कर्म छोडिसकेको भए पनि मैले तरुन्तै पठाइदिनु भने । कविताको पाण्डुलिपि पढेंँ । पढेर द्रवित, भावुक र चिन्तनशील भएँ ।


तिनका कवितामा जीवन र समय अनि राजनीतिले रचना गरेका अवस्थाको बेजोड संगम रहेछ । ती दीर्घ बिमारले प्रताडित कविका यी जीवन्त रचना अनि उनको त्यस अघिका ३ वटा संग्रह, उनका गीतहरू र फिल्मका प्रसङ्गले भरेर भूमिका लेखेंँ, जुन मलाई आफैं मनपरेका मध्येको एक भयो । विरहीले अत्यन्त प्रसन्न भएर फोन गरे, ‘दाइ, भावुक भएँ, जीवनसँग गुनासो मेरो केही छैन । मेरो दर्शन नै हो । छापेर तयार भयो, अब विमोचन गर्ने इच्छा छ । अलिक विसन्चो भएकोले रोकिएको छु, ।’ १० दिनजति पहिले तिनले भने । तिनका मित्रहरूसँग ती सल्लाह गर्दै थिए ।


उनकी अमेरिकाबाट आइपुगेकी छोरी एलिनाले फोन गरेर भनिन्, ‘आज बुबाको कविता संग्रह विमोचन गर्ने कार्यक्रम भएको छ, नर्भिक अस्पताल परिसरमा ।’ किञ्चित झस्केको थिएँ । उनको सानो आकारको संग्रह विमोचन गर्‍यौं । तुलसी दिवस दाइ, शैलेन्द्र साकार, दिनेश अधिकारी र मैले केही बोल्यौं । त्यहाँबाट हिंँडेका केही घन्टापछि एलिनाको फोन आयो, गगन दिवंगत भएछन् । यस्तो कविता र विश्वास अनि उत्सवले रंगाउने चाहना भएको जीवन र यसका अवसानका कथाले मलाई अमूक शक्तिशाली काव्यले जस्तै हल्लायो । कहिले नसोचेको तरिकाले उठेको भावनाको उद्वेलनमा आएका अध्र्दजल पुछेर भावुक भएँ ।


हामी एउटा कविको देहावसानलाई ठूलो घटना मान्छौं । लक्ष्मीप्रसाद देवकोटाको देहावसानले सामन्तकालीन कालखण्डबाट भर्खर आँखा मिच्दै उठेको नेपालमा खासगरी युवाहरूमा तरङ्ग ल्याएको थियो । राजनीतिसँग जोडिएको देखिने थोरै आधार थिए । तर ती जोडिएका थिए । नेपालमा आशा, उमङ्ग र अनिश्चित चिन्तनको अनौठो संगम भएको बेला थियो । भोलि आउने दिन कस्ता हुने हुन्, चित्र प्रस्ट थिएन । ती कविले सबै कुरा भनेका थिए, कवितामा । तिनले नेपालका सबै चेतनशील मानिसका मनमा एउटा विश्वास भरिदिएका थिए ।


त्यसैले ती समग्र सपना र यथार्थको एउटा आकार बोकेर युवाहरू उठेका थिए । त्यस अर्थमा देवकोटाको मृत्यु एउटा कविको देहावसानको पीडा सँगसँगै युगको धुमिल चित्रको अर्थ खोज्ने चिन्ताले पनि बनेको कलेवर थियो । बेलायतका विख्यात कवि डब्लु बी. यिट्स १९३९ को जनवरीको जाडोले आक्रान्त दिनमा दिवंगत भए, जुन शोकमा अर्का कवि डब्लु. एच. अडेनले त्यो दिन कविता लेखे । उनका मलाई मनपरेका केही हरप यस्ता छन्– ‘उनका निम्ति यो दोपहर उनीजस्तै थियो, जुन नर्सहरू, हल्लाहरूले भरिएको थियो ।


उनका शरीरका अवयवले विद्रोह गरे, उनको मनका चौकुना रित्ता भएका थिए, मौनताले उनका बाहिरी पुरहरूलाई छोप्यो, भावनाका तरङ्गहरू भत्किए, अनि ऊ उनकै प्रशंसकमा परिणत भए ।’ गगनको दोपहर त्यस्तै थियो । उनी ‘आईसीयु नं. ६१’ शीर्षक कविताको शब्दले चलाएको बेडमा थिए, हाम्रानिम्ति । उनको कवितामा उनी आफैं बोल्छन्– ‘डाक्टर, नर्स यी संगिनी मेसिनरी सबै अन्योल .....आकस्मिक कोठाको ६०१ नम्बरको/पोलिरहने मखमली/जिन्दगीका तन्नाहरू/कति प्रिय छन् तिनीहरूका लागि/मेरा हरेक/सुकोमल शब्दका पन्नाहरू ।’ हामी पनि यिनका शब्दका पन्नाहरू पल्टाएर विमोचन गर्दै थियौं । यो आरम्भ थियो, अन्त्य थिएन । कविता हो ।


नेपालमा साहित्यकार र साहित्यिक पत्रिका चलाउनेहरूले एउटा नित्य सिर्जनशील धार र कर्मको इतिहास रचेर आएका छन् । अहिले तिनको कुनै अस्मिता छैन कि जस्तो भावना भएका मानिसहरूको रजाइँ बढ्दैछ । धेरै वर्षदेखिको कथा हो । तर अहिले समाजमा सिर्जनाको दरिद्रता भएको बेला धु्रवीकरण चुलिएको बेला, दिनदिन समाज, अर्थव्यवस्था र योजना अनि कानुनका संरचनाहरूमा अन्योल भएको बेला यहाँ अर्को पनि इतिहास छ, अर्को पनि स्वतन्त्र आलम्बन भएको साहित्यिक र साहित्यिक पत्रकारहरूको अस्मिता छ भन्ने स्वीकार नगर्ने संस्कारको रचना भएको छ ।


यो सालको विश्वेश्वरप्रसाद कोइराला सम्मान पुरस्कार साहित्यिक पत्रकार रोचक घिमिरेलाई दिएको बेला उनलाई परिचय गराउने वक्ताको रूपमा मैले भने, ‘२०१७ सालमा राजा महेन्द्रले बीपी र उनको सरकार अनि संसद् भङ्ग गरेर शासनसत्ता लिएपछिको राजनीतिक चिन्तन, चिन्तक र अखबारहरूको इतिहास राजनीतिले रञ्जित इतिहास हो । त्यो परिवर्तनको चित्र कि त्यो व्यवस्थाको समर्थनमा कि नेपालमा थोरै भूमिगत र बाहिर गएर गरिने विरोधका लेख र किताबहरूमा गरियो ।


त्यत्ति गर्न सम्भव थियो । तर त्यो राजनीतिक किसिमको चित्र हुन्थ्यो र त्यो काल अनुसार परिवर्तन भएको छ । त्यही सत्र सालदेखि एउटा समानान्तर र पृथक धारको प्रिन्ट संस्कृति र लेखनको परम्परा चलिरह्यो । त्यो साहित्यिक पत्रकारिताको परम्परा थियो । यो परम्परालाई २०१८ सालदेखि धानेर आएका अहिलेसम्म नियमित रचना साहित्यिक पत्रिका चलाइरहने रोचक घिमिरे हुन् ।


उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डे दिवंगत भइसके । पुरुषोत्तम बस्नेतले पनि बलियो साहित्यिक पत्रिका चलाए । तिनको ‘मुकुट’ कांग्रेसको मुखपत्र भएन, जस्तो विश्वेश्वर कोइरालाको साहित्य कांग्रेस रचना भएन । यो समानान्तर पत्रकारिताले सिर्जनशीलहरूका विचार र बोलीहरू प्रकाशित गरिरह्यो । यो परम्परामा अच्युतरमण अधिकारी, भवानी घिमिरे, नगेन्द्र शर्मा र अरू साहित्यिकहरूको प्रयास जारी रह्यो । सम्वत् १९९१ मा नेपाली लेखकहरूले आरम्भ गरेको ‘शारदा’को प्रकाशन राणा शासकहरूसँग गरेको अभिव्यक्तिको मौन सम्झौता थियो । त्यो परम्पराको आज पनि साहित्य रचना र पत्रिकामा निर्वाह भएको छ ।


गगन विरहीको अवसान भएको त्यो दोपहरमा अत्यन्त भावुक भएँ । अनि आफैलाई सोधँें, उनले हस्ताक्षर (२०७५) कविता छोडेर गएको त्यो दोपहर, कवि यिट्सले छोडेर गएको दोपहरजस्तो दोस्रो विश्वयुद्धले आक्रान्त समय हो त ? उत्तर प्रस्ट छ, होइन । विश्व अहिले हिंसा, विस्थापन र विपत्तिले आक्रान्त छ । तर नेपालभित्र भने स्थायी राजनीतिक गणतन्त्र प्रणाली आएको बेला हो । तर सन्दर्भ अलिक फरक लागे तापनि केही भन्नैपर्छ । अहिले नेपालमा धु्रवीकरणको मनोग्रन्थि झन् बलियो भएको छ । विभिन्न मुलुकमा विभाजनका ध्रुवहरू छन् ।


यो छोटो लेखमा उल्लेख गर्ने पनि ठाउँ छैन । तर नेपालले विभाजित हुनुपर्ने ‘इस्यु’हरू के हुन् त ? अन्यायमा परेका हिंसापीडित जनताको विद्रोह र सरकारको अनि एउटा सामाजिक अभियन्ता डाक्टर र राज्यको धु्रवीकरण नेपालको धु्रवीकरण हुनसक्छ ? कमिनिष्ट र कांग्रेसको बीचमा धु्रवीकरण छ त ? हिन्दु राज्य र धर्मनिरपेक्षता मान्नेहरूको बीचमा धु्रवीकरण छ त ? जंगल काटेर र पानीका स्रोत भत्काएर राजधानी बनाउने वा नबनाउने, अमूक ठाउँमा राजधानी बनाउने र नबनाउनेको बीचको धु्रवीकरण नेपालको धु्रवीकरण हो त ? नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र कमिनिष्ट नेता माधवकुमार नेपालको कोस्टारिका र काठमाडौंबाट भएका जुहारीले अर्को कुनै राष्ट्रिय धु्रवीकरण देखायो त ?


सोध्छौं, नेपालमा परिवर्तनले ल्याएका चुनौतीहरूको सामना गर्न नजान्ने र नसक्ने मानिसहरूका हातमा इतिहास आएको त होइन ? उनीहरूले पहिले पहिलेका शौकिनहरूका हातमा उडेर, फेरि आएर बसेको बाजजस्तो ठानेका छन्, इतिहासलाई । इतिहास आउँछ, तर त्यो शौकिनका हातमा बाज आएर बसेजस्तो बस्दैन । त्यो चलायमान हुन्छ र चुनौती लिएर आउँछ । नेपालमा आपसमा नमिल्ने कांग्रेस र कमिनिष्टहरूमात्र होइन लेखक, विद्वत वर्ग र अरूहरूले विभेद र द्वन्द्वहरूका सिर्जनशील पक्ष बुझेनन् भने इतिहासका चुनौती बुभिंँmदैनन् भन्ने कुरा सम्पूर्ण ज्ञान र अनुभवले मानिसलाई सिकाएका छन् ।


साहित्यकारहरूले आफ्ना लेखन कर्म अनेकौं किसिमले गरिआएका छन् । तिनका चुनौती आफ्नै किसिमका र सूक्ष्म छन् । तिनीहरूमा मुक्तिबोध हुनुपर्छ, जुन विगत र आजका साहित्यकार र पत्रिका प्रकाशन गर्नेहरूले निकै गरिआएका कुरा माथि राखियो । धु्रवीकरणको संस्कृतिको भुमरीबाट जोगिन सिर्जनशीलहरूलाई झन् गाह्रो छ । अर्को कुरा सिर्जनशीलता नभएको एउटा एलिट वर्गको जन्म हुँदैछ, नेपालमा ।


सांस्कृतिक चिन्तनका विभेदहरू मेटिँंदै जानु र अनावश्यक विषयमा पोलराइजेसन वा धु्रवीकरण हुंँदै जानु अहिले नेपालको चरित्र देखिंँदैछ । अमेरिका निकै वर्ष बसेर फर्केका गगनले कार्लोस नाम छलेर अमेरिका बसेको तर घर फर्कन लागेको नेपालीको जुन चित्रण गरेका छन्, त्यो गर्ने साहित्य उनको र साधकको माध्यम हो । कविता बोल्छ, ‘अबुझ र असजिला दिनहरूमध्ये/आजको दिन/कार्लोसले देश फर्किने सोचमा/ हिउँको डल्लामा/आफ्नो जुत्ता घुसायो/बुद्धम्, शरणम गच्छामी ।’

प्रकाशित : आश्विन २०, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?