२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लौठसल्लो अध्ययन अलपत्र

लौठसल्लोको व्यवसायीकरण र बजारीकरणमा प्रोत्साहन गर्ने सरकारी नीति छ, कार्यान्वयन छैन ।
कमल मादेन

काठमाडौँ — तेह्रथुमको वसन्तपुर बजारबाट उत्तर डुँढपानीनिर २ दशकअघि एउटा रुखमा साइनबोर्ड थियो । त्यसमा लेखिएको थियो, ‘म क्यान्सरको उपचारमा प्रयोग हुने लौठसल्लो ‘ट्याक्सस् बाकाटा’ हुँ, मलाई बचाऔं ।’

लौठसल्लो अध्ययन अलपत्र

पहिलो पटक साइन बोर्ड पढ्नेहरू रुखलाई राम्ररी नियाल्थे । रुख चडेर साना डालो टिप्ने हुर्मत गर्थे । केही वर्ष नबित्दै फेदनिर बोक्रा ताछेर नाङ्गै पारियो । गतवर्ष म त्यहाँ पुग्दा रूख मरिसकेको थियो । ‘मलाई बचाऔ’ भनेर साइन बोर्ड लगाउनु त्यस रुखका निम्ति अभिशाप भएछ ।


क्यान्सरविरुद्ध प्रयोग गरिने ‘प्याक्टिट्याक्सेल’ (जेनेरिक नाम) रसायन लौठसल्लोको सारतत्त्वबाट उत्पादन हुन्छ । उक्त रसायनलाई व्यापारिक क्षेत्रमा ‘ट्याक्सोल’ भनिन्छ । यो रसायन विशेषत: पाठेघर, स्तन तथा फोक्सो आदिको क्यान्सर उपचारमा प्रयोग गरिन्छ । लौठसल्लो विशेषज्ञ रिचार्ड डब्लु स्प्ज्युटले सन् २००७ मा ‘ट्याक्सस्’ जातिका संसारभर २४ प्रजाति र ५५ भेराइटी छन् भन्ने जनाएका छन् । तीमध्ये ६ प्रजाति स्प्ज्युटले पत्ता लगाएका हुन् । यसैगरी १ दर्जन भेराइटीको विवरण उनैले प्रस्तुत गरेका हुन् ।


नेपालमा लौठसल्लोको ‘ट्याक्सस् बाकाटा’ भनिने प्रजाति पाइन्छ भनी वन नियमावली २०५१ मा उल्लेख छ, तर पाइँदैन । त्यो नियमावली चौथोपटक २०७० सालमा संशोधन भयो । संशोधनमा ‘ट्याक्सस् बाकाटा’/‘ट्याक्सस् वालिचियना’ निकासी दस्तुर प्रतिकिलो २५ रुपैयाँ लेखिएको छ ।

अध्ययनको इतिहास
डेनिस वनस्पतिविज्ञ नाथानियल वालिचले सन् १८२०–२१ ताका काठमाडांैको शिवपुरीबाट लौठसल्लोको नमुना संकलन गरेका थिए । उनले त्यो नमुनालाई ‘ट्याक्सस् नुसिफेरा’ भनी लेखे । जर्मन वनस्पतिविज्ञ जोसेफ जुक्कारिनीले त्यो नमुना विश्वका निम्ति नयाँ भएको पुष्टि गरे । जुक्कारिनीले त्यसलाई नाथानियल वालिचकै सम्मानमा सन् १८४३ मा ‘ट्याक्सस् वालिचियना’ नामकरण गरे । ‘फाउन एन्ड फ्लोरा अफ नेपाल हिमालय’ भोलम १ (सन् १९५५) मा रसुवामा पनि ‘ट्याक्सस् वालिचियना’ पाइन्छ भन्ने लेखिएको छ ।


‘द फ्लोरा अफ इस्टर्न हिमालय’ (सन् १९६६) मा नेपालमा ‘ट्याक्सस् बाकाटा उपप्रजाति वालिचियना’ भन्ने बताइयो । त्यही जानकारी ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भोलम १ (सन् १९७८) पनि लेखियो । वनस्पति विभागले सन् १९७६ मा प्रकाशन गरेका पुस्तक ‘फ्लोरा अफ लाङटाङ एन्ड क्रस सेक्सन भेजेटेसन सर्भे (सेन्ट्रल जोन)’ र ‘क्याटलग अफ नेप्लिज भास्कुलर प्लान्ट्स’मा नेपालमा ‘ट्याक्सस् वालिचियना’ पाइन्छ भन्ने उल्लेख भइसकेको थियो । सन् १९८६ मा प्रकाशित ‘फ्लोरा अफ काठमान्डु भ्याली’ शीर्षक पुस्तकमा ‘ट्याक्सस् वालिचियना’ पाइन्छ भन्ने लेखिएको छ ।


पछिल्ला प्रकाशन
वनस्पति विभागले सन् २०१० मा ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स’ भोलुम १ प्रकाशन गर्‍यो । उक्त पुस्तक अनुसार नेपालमा ‘ट्याक्सस् कन्टोर्टा’ प्रजाति पनि पाइन्छ । त्यसबेला रामचन्द्र पौडेल हिन्द कुस क्षेत्रमा पाइने लौठसल्लोको आनुवंशिक (डीएनए) अध्ययन, अनुसन्धानमा विद्यावारिधि गर्दै थिए । पौडेलको सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखमा नेपालमा लौठसल्लोको एक अर्को प्रजाति ‘ट्याक्सस् माइरेई’ पनि पाइन्छ भन्ने तथ्य थपियो । वन मन्त्रालयले सन् २०१४ अगष्ट ९ मा सहसचिव खेमराज भट्टराईको संयोजकत्वमा नेपालका लौठसल्लो प्रजाति र तिनीहरू पाइने भूभाग निक्र्योल गर्न कार्यदल बनायो । कार्यदलमा सुरेशकुमार घिमिरे, बद्रीबहादुर कार्की, गंगादत्त भट्ट र रामचन्द्र पौडेल सदस्य थिए । कार्यदलले लौठसल्लोका ३ प्रजाति ‘ट्याक्सस् कन्टोर्टा’, ‘ट्याक्सस माइरेई’ र ‘ट्याक्सस वालिचियना’ नेपालमा पाइन्छ भन्ने प्रतिवेदन बुझायो ।


वनस्पति विभागले सन् २०१५ मा प्रकाशन गरेको ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स’ सप्लिमेन्ट १ मा नेपालमा ‘ट्याक्सस् माइरेई’ पाइन्छ, तर प्राकृतिक होइन, रोपिएको अवस्थामा भन्ने लेखियो । वनस्पति अनुसन्धान अधिकृत गंगादत्त भट्टले गोदावरीस्थित एक नर्सरीमा ‘ट्याक्सस् माइरेई’को बेर्ना देखे । बेर्नाको कटिङ मानबहादुर थापाले मकवानपुरबाट ल्याएको भन्ने थाहा पाए । थापाका अनुसार भट्ट र तीर्थराज पाण्डेयले सन् २०१६ मा मकवानपुरस्थित केही जंगल चहारे । नभन्दै उनीहरूले ‘ट्याक्सस् माइरेई’ नौखण्डे टिस्टुङ जंगल, सामुदायकि वन सिद्धकाली, माहांकाल, रिसेश्वर, चुलीप्राण आदिमा भेट्टाए । यसै आधारमा वनस्पति विभागले सन् २०१७ मा ‘नेपालका लौठसल्ला’ शीर्षक पुस्तक प्रकाशन गर्‍यो । उक्त पुस्तक अनुसार नेपालमा लौठसल्लोको ‘ट्याक्सस् कन्टोर्टा’, ‘ट्याक्सस माइरेई’ र ‘ट्याक्सस् वालिचियना’ प्रजाति पाइन्छ । यसले नेपालमा ‘ट्याक्सस् माइरेई’ प्राकृतिक रूपमा पाइन्छ भन्ने पुष्टि भयो ।

बिक्री ठप्प !
बैतडी, दार्चुला, बझाङ, हुम्लादेखि इलाम, पाँचथर, ताप्लेजुङसम्मका ३४ जिल्लामा लौठसल्लो पाइएका छन् । ‘ट्याक्सस् कन्टोर्टा’ पश्चिमबाट मनाङसम्म १५ जिल्लामा भेटिएको छ । यो प्रजाति अफगानिस्तानतिर उत्पत्ति भएको मानिन्छ । ‘ट्याक्सस् वालिचियना’को उत्पति दक्षिणपूर्व चीनमा भएको विश्वास गरिन्छ । यो प्रजाति पूर्वबाट पश्चिम गोरखा, म्याग्दीसम्म गरी १८ जिल्लामा पाइएको अभिलेख छ ।


‘ट्याक्सस् माइरेई’को उत्पत्ति पनि दक्षिणपूर्वी चीनतर्फै भएको मानिन्छ । नेपालमा मकवानपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखा ५ जिल्लामा मात्र यो पाइएको छ । रामेछाप, ओखलढुङ्गा लगायत खोटाङ, उदयपुर भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर र इलाममा हुनसक्ने सम्भावना छ । यो प्रजाति हिमाली जिल्लामा पाउने कम सम्भावना छ । ‘ट्याक्सस् माइरेई’मा सबैभन्दा बढी क्यान्सर उपचारमा प्रयोग हुने सारतत्त्व पाइने भएकाले चीन लगायतका देशमा बढी रोपिएको बताइन्छ । यसको पातको मूल्य अन्यको तुलनामा बढी छ ।


मकवानपुरमा ०७३ सालयता यसको पात तथा मुन्टा खरिद गर्न कोही पुगेको छैन । चुलीप्राण सामुदायिक वनका दामोदर सुवेदीले बताए अनुसार २०७१ र ०७२ सालमा उक्त सामुदायिक वनबाट २–२ लाख रुपैयाँको लौठसल्लाको पात बिक्री भएको थियो । ‘न्याचुरल हर्बल प्रालि’ले २०७३ सालका लागि १ लाख रुपैयाँ एडभान्स दिएको थियो । तर सामान लिन कोही आएन । पश्चिमका जिल्लाहरूमा पनि लौठसल्लो खरिद–बिक्री छैन । यसको कारण किसानलाई थाहै छैन ।


सरकारी निकाय लौठसल्लो बिक्री नभएको विषयमा बेखबर छ । ‘वन नीति २०७१’ मा लेखिएको छ, ‘उच्च मूल्यका, संकटापन्न, दुर्लभ तथा लोपोन्मुख प्रजातिका वनस्पति र जडिबुटीको पहिचान, दिगो सङ्कलन, पुनरुत्पादनको सुनिश्चतता, प्रविधि विकास, व्यवसायीकरण र बजारीकरण गर्न समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।’ तर किसानले लौठसल्लो दिगो संकलन तथा बजारीकरण गर्न सरकारबाट प्रोत्साहन पाएका छैनन् ।

प्रकाशित : आश्विन २२, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?