३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मानसिक स्वास्थ्य लोकलज्जा होइन

प्रारम्भिक अवस्थामै मानसिक रोग पहिचान हुन सके दीर्घकालीन असरबाट जोगाउन सकिन्छ ।
डा. अजय रिसाल

काठमाडौँ — १५–२४ वर्षको उमेर किशोर एवं युवावस्था हो । यो उमेर उच्च माध्यमिक स्तरमा पुग्ने समय हो । स्कुल परिवर्तन, विषय छनोट, घरको दायित्व, पेसागत चुनौती, साथी–संगतीमा बढोत्तरी एवं समूह–निर्माण अनि विपरीत लिंगीप्रतिको आकर्षण– प्रेम सम्बन्ध आदि सुरुवात यही समयमा हुन्छ ।

मानसिक स्वास्थ्य लोकलज्जा होइन

पश्चिमी मुलुकको सन्दर्भमा बाबुआमाको घर छाडेर आफ्नो स्वतन्त्र जीवन सुरु गर्ने समय हो । यस उमेरमा तनाव, अत्यास, किंकर्तव्यविमूढता, जिम्मेवारीबोध, कर्तव्याकर्तव्य व्याकुलता सबैको सम्मीश्रण हुन्छ । शारीरिक परिवर्तन, रासायनिक (हर्मोन) उतार–चढाव, मनोवैज्ञानिक अस्तव्यस्तता लगायत सबैका लागि यो संक्रमणकालीन अवस्थाको उमेर हो ।


करिब आधाजसो मानसिक रोग जीवनको दोस्रो दशक, त्यसमा पनि १४–१५ वर्ष उमेर हाराहारीमै सुरु हुन्छ । ‘डिप्रेसन’लाई युवामा रोगहरूको कारणले हुनसक्ने असमर्थताको तेस्रो ठूलो कारकतत्त्व मानिएको छ । त्यस्तै १५–२९ वर्ष उमेर समूहमा हुने मृत्युको दोस्रो प्रमुख कारणका रूपमा ‘आत्महत्या’लाई औंल्याइएको छ । साथीसंगीको लहैलहैमा मद्यपान एवं लागुपदार्थ दुव्र्यसनको सुरुवात हुने समय पनि यही हो । यौन हिंसाका समाचारमा ५०–६० प्रतिशत युवा एवं किशोर–किशोरी पीडित या पीडकका रूपमा देखिन्छन् । युवा ‘एसिड आतंक’को सिकार पनि हुनथालेका छन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५ मा १ (अर्थात् २० प्रतिशत) युवा कुनै न कुनै मानसिक रोगबाट पीडित छन् । तर ४ प्रतिशत हाराहारी पनि स्वास्थ्य बजेट त्यस्ता समस्याका लागि खर्च भइरहेको छैन । लैंगिक पहिचानका समस्या अनि समर्थले असमर्थलाई गर्ने हेपाइ (बुलिइङ) आदिले युवा वर्गको स्वत्व एवं स्वाभिमानमा पार्नसक्ने प्रभावबारे हालसालै मात्र चर्चा चल्न थालेको छ ।


विश्व बदलिरहेछ । कुनै भाग युद्धविभीषिकाले ग्रस्त छ भने कतै भर्खरैमात्र शान्ति प्रक्रिया थालनी भएको छ । हाम्रो मुलुक पनि दशक लामो सशस्त्र द्वन्द्वको समाप्ति अनि व्यवस्था परिवर्तनको संक्रमणकालमा छ । त्यस्तै प्राकृतिक प्रकोप, आतंककारी गतिविधि अनि तीव्र औद्योगिकीकरणका दुष्प्रभाव आदिले युवा वर्ग प्रभावित छ । इन्टरनेट अनि सामाजिक सञ्जालको तीव्र विकासका कारण बढ्दै गइरहेको साइबर गतिविधिका सकारात्मक–नकारात्मक दुवै प्रतिक्रियाले युवा प्रभावित छन् । बेरोजगारी, आप्रवासन, शरणार्थी जीवन सबैले युवा वर्गलाई परिलक्षित गर्छन् । यी सबैका कारण तिनको मानसिकतामा पर्नसक्ने असर अझ गहिरिएर जान सक्ने देखिन्छ ।


मानसिक रोगको सुरुवात प्राय: युवावस्थामै सुरु हुन्छ । प्रारम्भिक अवस्थामै पहिचान हुनसके त्यसको दीर्घकालीन असरबाट तिनलाई बचाउन सकिन्छ । तसर्थ बाबुआमा/अभिभावक, अग्रज, शिक्षक वर्गमा चेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनसके मानसिक समस्याको न्युनीकरण सजिलै हुनसक्थ्यो ।


युवा वर्गमा मानसिक रोग लाग्न नदिनु उत्तम हो । प्रारम्भिक अवस्थामा देखिएका लक्षण पहिचान गरी त्यसको निराकरण गर्नु झनै महत्त्वपूर्ण हो । मानसिक समस्यालाई मनोसामाजिक विधिद्वारा निराकरण गर्न मनोचिकित्सक, मनोस्वास्थ्यकर्मीका साथै राजनीतिक नेतृत्व, नागरिक समाज एवं मिडियाकर्मीले हातेमालो गर्नुपर्छ ।


मानसिक समस्या लोकलज्जा या चेतना अभावले लुकेका या लुकाइएका हुन सक्छन् । त्यसैले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि अत्यावश्यक छ । मानसिक समस्यालाई अन्य शारीरिक रोगलाई झैं यथेष्ट ध्यान दिन घचघच्याउनुपर्छ ।


लेखक धुलिखेल अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : आश्विन २४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?