मेरी पाकिस्तानी आमा……

दिवाकर बागचन्द

न्यूयोर्क — आमाको कुरा गर्दा पाकिस्तान को नाम ? पाठकहरुलाई अलि अनौठो लाग्ला । संयोग भनौं गोर्कीको आमा पछि मैले एउटा आमाको आँशुको बारेमा कविता पढ्ने अवसर पाएँ । त्यो कविता पकिस्तानी कवि फैज अह्मेद फैजको थियो ।

माक्सिम गोर्कीको "आमा" पढ्दा, नेपालमा लोकतन्त्र थिएन । लुकेर पढ्नु पर्थ्यो । म प्रेमको प्रदर्शन गर्ने ब्यक्ति होईन, यो मेरो स्वभाव भित्र पर्दैन । आमा पढेपछि मेरो, यो अनौठो स्वभाव झन दिगो भयो । उदेक लाग्दो कुरा त के भने म आफुले मन पराएकी केटीले पनि मेरो मन पढिदिउन भन्ने चाहन्थें । मेरो “साइलेन्सलाई” सम्झिदिउन भन्ने सोच्थें । तर उनले बुझिनन्, उनका लागि म काले कलौटे, नालायक थिएँ । त्यसपछि मैले प्रेमको खोज त्यागि दिएँ । यो खोजेर पाइने कुरै होईन । मैले त्यो प्रेम पाइन ।

मेरो असफल प्रेमले मलाई अलि उदण्ड, अलि बिद्रोही स्वभावको मान्छे बनायो । त्यसपछि मैले महिला साथी र प्रेममा आमा खोज्न थालें किन भने भने मलाई यदी निस्वार्थ कोइ प्रेम गर्छ भने मेरी आमा हुन् भन्ने कुरा छर्लङ भयो । मेरी आमालाई मैले केहि दिन सकेको छैन तर उनले मलाई धोका दिन्छिन्, यो कल्पना बाहिरको कुरा हो ।


पकिस्तानको र मेरो साइनो फैज अह्मेद फैजले जोडेका हुन भन्दा हुन्छ ।

मत रो मेरो बच्चे

रो, रोके अभी

तेरी अ्म्मी कि आन्ख लगि है

मत रो, बच्चे कुच हि पेह्ले

तेरे अब्बाने

अप्ने गमसे रुक्सत लि है

(नरो नानी, रुइ रुइ तिम्री आमाको आखा निदाएका छन्, नरोउ नानी, केहि छिन पहिला तिम्रो बाबाले आफ्ना पीडालाई बिदाइ गरिसके) द्वन्द्वको बालकमा पर्ने असर र बेदना बोल्ने, मार्मिक, हृद्य बिदारक यस कबिताले मेरो नजरमा फैज अह्मेद फैजलाई पाकिस्तानी मात्र नभइ बिश्व नागरिक र दक्षिण एसियालाई जोड्न सक्ने एक प्रेम मुर्तीका रुपमा स्थापित गर्‍यो ।

म भारतको सिमा नजिकको शहरमा हुर्केको ठिटो भारतीयसँग रगतको नाता भएको मान्छे, पाकिस्तानीसँग आत्मियताको कल्पना पनि थिएन । अनेकौं मतभेदका बाबजुद भारत मेरो लागि लोकतन्त्रको प्रर्याय हो । गान्धीको हत्या पछि लन्डन टाइम्सको सम्पादकीयमा भनिए झै, “भारतले मात्र गान्धी यानी "बापु" लाई जन्म दिन सक्छ” भन्ने कथन मलाई सही लग्न थालेको छ । भारतको स्वतन्त्रता अदभुत छ । बिभिन्न उतार चढावका बाबजुद त्यहाँको लोकतन्त्रलाई कुनै शक्तिले बिस्थापित गर्न सक्दैन किनकी यसको बिजारोपण गान्धीले गरेका थिए ।

संसार बिचित्रको छ । गान्धीको देशसँग रहन, सहन, मन जोडिएको यो नेपालीले फैज अह्मेद फैजको कबिताकी “आमालाई” अमेरिकामा भेट्यो । मेरी पाकिस्तानी आमा बेगम नाजिर ताहिरलाई ।

कुरो तेति खेरको हो, जब म अमेरिकामा कुनै एक स्टोरमा काम गर्थें । कमजोर अंग्रेजी, ब्यापारको 'ब' नजानेको यो पत्रकारलाई काम सिकाउन अरु सहकर्मी त्यति उदार देखिएनन् । दुई वर्षअघि एक जना पाकिस्तानी नौ जवान म काम गर्ने स्टोरमा काम गर्न थाले । म उनलाई अवलोकन गरिरहेको थिएँ । नयाँ काम नयाँ ठाउ मैले आफ्ना सुरुवाति दिन स्मरण गरें । ति नौजवान सोहेब ताहिरलाई म सक्दो काम सिकाउन थाले । उनले एक दिन मेरो आँखामा हेरेर भने, "खुदा आपको तरक्की वर्कत दे ।" उनले मलाई अङ्गालो हाले ।

अर्को दिन उनकी आमा उर्दुमा “खाल्दा” बेगम नाजिर ताहिर बिरयानी लिएर आइन् र भनिन बेटा तुम दोनो के लिए लाई हुँ, मिलके खाना । यसरी दिनहुँ सोहेबको लागि मात्र नभएर “खाल्दा” मेरा लागि पनि खाना ल्याउन थालिन् । सोहेबले मेरो बारेमा खाल्दालाई सबै रेपोर्टिङ गर्थे । एक दिन बडो कडाइका साथ “खाल्दाले” मलाई भनिन्, सराब पिना कम कर बर्ना कान के निछे दुङ्गी । उनी पेशाले शिक्षिका थिइन्, मैले धेरै दिन पछि एउटी गुरुमाको अवतार अमेरिकामा पाएँ । उनी मेरी गुरुमा भन्दा आमा "खाल्दा" थिइन् । मेरे तीन बच्चे है, अब चार होगए सम्झा टाइगर उनी भन्ने गर्थिन् ।

उनको माया र ममताको अगाडि धर्म, भौगोलिक सिमाना, राष्ट्रियता सब लघु शब्द प्रतित हुन्थे । केही दिन पहिले उनले मलाई भनेकी थिइन् । अब त तैंले विवाह गरि सकिस्, अब मैले होईन बुहारीले मलाई खाना ख्वाउनु पर्छ ।

उनले थपिन्, संसारमा सबै थोक भ्रम हो । मृगतृष्णा हो । सत्य त केवल प्रेम हो, यही प्रार्थना "इबाद्त" हो । त्यसैले प्रेमलाई समेट्ने कोसिश गर्नु पर्छ । घर, परिवार, समाज देश र प्रकृतिमा पनि प्रेम देख्नु पर्छ । उनले यसो किन भनिन्, मलाई थाहा छैन, अनयासै मैले उनको पाउ छोएँ र ढोगे । खाल्दा आखाभरी आँसु लिएर घरतर्फ लागिन्, म उनलाई आँखाबाट ओझेल नहुन्जेलसम्म हेरिरहें ।

तर, आज खबर पाएँ, मेरी पाकिस्तानी आमाले सधैका लागि आँखा बन्द गरिछन् । हृद्यघातबाट उनको मृत्यु भएछ । खाल्दा तिमी त संसार छाडेर सदैका लागि निदाइछेउ । खाल्दा तिमीले आफ्नी बुहारीलाई खान बनाएर खुवाउने सौभागय पनि दिइनौ । मेरी “खाल्दा” आमाको पार्थिब शरिर पाकिस्तान लागिंदै छ । म केहि बोलिन । मनै मन भने, खाल्दा तिमी मृत्यु पछि पनि एउटा सन्देश लिएर पाकिस्तानी धर्तीमा पुग्दै छेउ, “सत्य त केवल प्रेम हो यही प्रार्थना, इबाद्त हो ।"

धन्य आमा तिमी महान छेउ…

प्रकाशित : आश्विन २९, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

घृणाको हार – प्रेमको जीत

सन्दर्भ : ९/११ 
दिवाकर बागचन्द

काठमाडौँ — छिया छिया भएको मनले घाऊ कोट्याउँछ । घाऊ कोट्याउँदा पीडा झन असह्य हुन्छ।  यसको अनुभूती चोट पाएकाहरुलाई हुन्छ। ति आत्माहरुलाई थाहा हुन्छ, जस्ले अनहाकमा ज्यान गुमाए ।  हजारौ सपनाहरुलाई अधुरै छोडेर, संसारबाट बिदा लिन वाध्य भए ।

११ सेप्टेम्बर सन् २००१ मंगलबारका दिन एउटा भयानक दृष्य टीभी स्क्रिनमा देखा पर्‍यो, जस्ले एक पलका लागि पृथ्वीको धड्कन रोकी दियो । मानौ बन, जङ्गल, नदी नाला, सम्पूर्ण प्राणी, मानब जातिलाई सोधी रहेका थिए, हे मनुस्य तिमीले यो के गर्यौ ? मानब जाति आफुलाई प्रश्न गर्न वाध्य भयो । के मानब यति क्रुर हुन सक्छ ? यति निर्दयी हुन सक्छ? बिडम्बना १७ वर्षदेखि मानबता आजसम्म यही प्रश्न गरी रहेछ ।

यही दिन अमेरिकाको म्यानह्याटनस्थित टुइन् टावरमा दुई प्लेन ठोकेर आतंककारीहरुले २९९६ मानबको ज्यान लिए, ६६०० लाई घाइते बनाए । ९/११ को आक्रमणमा ज्यान गुमाएका र घाइतेहरु ११० तल्लामाथि त्यस दिन, टुइन् टावरमा स्वतन्त्र रुपमा काम गर्दै जीवनका सपनाहरु बुनिरहेका थिए । तर एक “घृणाको ब्यापारी" सौदागरले दुई मिनेटमा ति सपनाहरुलाई धुलोमा मिलाई दियो । त्यो दिन मानबीय सम्बेदना र सद्भावको अबसान भयो । ति आतंककारीको बारेमा चर्चा गर्नु , तीनलाई मानब भनेर स्वीकार गर्नु हो , जुन म गर्न चाहन्न । एउटा मानबले यस्तो दानबीय कार्य गर्नै सक्दैन ।
उसो त संसारले प्रथम र दोस्रो विश्व युद्धको त्रासदी नदेखेको होइन । त्यसको परिणाम नभोगेको होइन । ति युद्धका बिबिध कारण थिए । नश्लबाद, अधिनायकबाद, एकाधिकारबाद, बिस्तारबाद र व्यक्तिगत महत्वकांक्षा केही प्रमुख हुन् । यि दुबै युद्धहरुमा, युद्धरत पक्ष स्पस्ट थिए । यसमा केही हदसम्म भए पनि सर्बसाधारणलाई ज्यान जोगाउने उपायहरु प्राप्त थिए । तर ९/ ११ घृणाको निष्कपट “मेनिफेस्टेशन “ प्रकटिकरण थियो । कसले किन र केका लागि निर्दोषहरुको ज्यान लियो, उत्तर खोज्न मनोबैज्ञानिक चिरफार गर्नुपर्ने हुन्छ । टुइन टावरमाथिको यो हमला शितयुद्ध भन्दा घातक साबित हुन पुग्यो । यस्ले बिश्वलाई यसरी बिभाजित गर्‍यो कि, मानबले, मानबलाई गर्नुपर्ने, न्युनतम् विश्वास र सद्भभाव पनि लुप्त हुन पुग्यो । केही अतिबादीहरुको हर्कतले, कुनै एक धर्म बिशेष र त्यसका अनुयायीहरुलाई मानबता बिरोधीका रुपमा चित्रित गरिन थालियो । यतिसम्म कि त्यो समुदायका मानबताबादी परोपकारीहरु पनि आफ्नो पहिचान लुकाउन वाध्य भएका थुप्रै दृस्टान्त अमेरिकामा सुन्न र देख्न पाईन्छ।
सम्पूर्ण समुदायको दानवीकरण गरियो । ९/११ सबैका लागि डर अर्थात “खौफको” प्रतिक भएको छ । ९/११ का सामाजिक, आर्थिक, साँस्कृतिक प्रभाव त पर्यो नै, थुप्रै देशले आतंकवाद नियन्त्रणको लागि कठोर कानुन निर्माण गरे । बेलायत, क्यानडा र अमेरिकाले पनि कडा कानून ल्याए । होमल्यान्ड सिक्युरिटी एक्ट र यूएस्ए पेट्रिओट एक्टले फेडेरल सरकारलाई बढी अधिकार दियो । देशको सुरक्षाका लागि कानुन बनाउनुलाई सकारात्मक नै मान्नु पर्छ। तर संसार साघुरियो, सोच साँघुरियो मन सानो भयो, समाज अब खुला रहेन । राजनीति रिवर्स गेअरमा जान थाल्यो । राजनीति अकल्पनीय पथतर्फ अग्रसर हुन थाल्यो । एकल भाषा, एकल धर्मको समिश्रणबाट बनेको एउटा कुरुप राष्ट्रबादले स‌क्रमित हुन पुग्यो । नतिजा विश्व भर राजनीतिले अधिनायकबादी, स्वेछाचारी नेता एक पछि अर्को गरि पैदा गर्दैछ । लोकतन्त्र भोटिङ मशिनमा मात्र सिमित हुन थालेको छ ।

के ९/११ मा ज्यान गुमाएका र घाइतेले यस्तो विश्वको कल्पना गरेका थिए? आजको दिन पीडालाई कोट्याउने भन्दा अधुरै रहेका ति हजारौ सपना साकार पार्ने अठोटको दिन हो । अमेरिकाका फाउन्डिङ् फादर्सहरुले “विश्वको महानतम् देश” भन्ने गरेको देश अमेरिकाले, फाउन्डिङ् फादर्सहरुको त्यो बिरासतलाई अगाडि बढाउन प्रेमलाई अमेरिकी शासन बिधिको मन्त्र बनाउनु जरुरी देखिन्छ । अमेरिकाले टुइन टावर रहेकै स्थानमा अर्को टावर निर्माण गरेर त्यस् को नाम “वन वर्ल्ड ट्रेड सेन्टर” “ फ्रिडम टावर” राखेर सकारात्मक सन्देश दिइसकेको छ ।

साँचो भन्ने हो भने आजको दिन याद गर्न लायक दिन नै होइन । पीडालाई प्रेममा रुपान्तरित गर्ने दिन हो । केही समय पहिले अमेरिकी गायक, स्टिवी वन्डरले गायक अरेथा फ्र्यान्क्लिनलाई श्रद्धान्जली दिदै भनेका थिए, हो, हामी सबै चीजहरूको बारेमा गलत कुरा गर्न सक्छौ, र त्यस्ता कुरा धेरै छन् । तर केवल उद्धार गर्न सक्ने, एक मात्र कुरा प्रेम हो । केवल हाम्रो राष्ट्रमा मात्र होइन, संसारभरि, फेरि हामीले प्रेमलाई महान बनाउन आवश्यक छ।

कुनै पनि देश आँफैमा महान हुँदैन, महान बिचार र महान कामले महान बन्छ देश । आज मानब जातिले स्टिवी वन्डरका महान उद्गारलाई मनन् गर्नुपर्ने देखिन्छ । सम्पूर्ण विश्वले अमेरिकी गायक, स्टिवी वन्डरको स्वरमा स्वर मिलाएर भनौ “लेट्स मेक लव ग्रेट अगेन” । आउनुहोस्, प्रेमलाई फेरी महान बनाउँ ।

प्रकाशित : भाद्र २५, २०७५ २१:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्