कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मासु खाने काइदा

वध गर्नेदेखि मासु पकाएर खाने, भण्डारण गर्ने कुरामा आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।
कुमार चालिसे

काठमाडौँ — दसैं ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशिर्वाद थाप्ने र मिठोमसिनो खाने पर्व हो  । यो पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी चल्छ  ।

मासु खाने काइदा

मासुका परिकार बनाउँदा लापरबाही गरे दसैं मनाउन आएका आफन्तजन र पाहुना बिमारी भएर अस्पताल भर्ना हुनुपर्छ ।


त्यसैले दसैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्नुपर्छ । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्त्व पनि पाइन्छन् । यी तत्त्व हाम्रो शरीरको लागि अति आवश्यक तत्त्वहरू हुन् । राम्रोसँग सुरक्षित ढंगले राख्न नजाने त्यही मासुबाट भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ । मासु पसलमा लापरबाही गरे ब्याक्टेरियाको संक्रमण हुनसक्छ । फोहोर वधशाला, मासुको तयारी र रखवारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोग सर्न सक्छन् । यी र यस्तै कारणहरूले चाड मनाउने बित्तिकै मानिस अस्पताल भर्ना हुने संख्या निकै बढ्छ ।


सही ढंगले मासु र अन्य परिकार नपकाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढ्छ । खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्ने लगायतका लक्षण देखिन थाल्छन् । यस्तो भए घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर जँचाइहाल्नुपर्छ ।


दसैंमा खसी–बोका किन्दादेखि नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्र्याएर बस्ने, फनफनी घुम्ने खसी–बोका किन्नु हुँदैन । काठमाडौं भित्रने खसी–बोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ । सिङमा हरियो रंग पोतिएका खसी–बोका स्वस्थ हुन् भने रातो रंग दलिएका खसी–बोका अस्वस्थ हुन् । हामीले खसी–बोकाको वध गर्नेदेखि मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

मासुबाट रोग कसरी सर्छ ?
- काँचो, नपाकेको तथा पोलेको कालो मासु खाए
- बत्ती नभएको बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाए
- मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार
सफा नभए
- सडेगलेको मासुमा लोभिए
- मासुको परिकार तयार पार्ने व्यक्ति स्वस्थ नभए
- राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाए
- अस्वस्थ तथा बिरामी पशुपन्छीको मासु खाए
- मासु काट्ने अचानो सफा नभए
- पशुपन्छीको वधशाला फोहोर र असुरक्षित भए
- वध गर्ने बित्तिकै पकाएर खाए


स्वस्थ मासु कुन ?
- मासु हलुका गुलाबी रंगको हुन नहुने
- मासु हरियो तथा प्याजी रंगको भए खान अयोग्य
- मासु अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
- मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ
- मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन
- मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरिका, तराजु सफा छ कि छैन, हेर्नुपर्छ ।

कुन खाने, नखाने ?
- फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखाने
- बासी तथा खुला स्थानमा राखेको मासु नखाने
- काँचो मासुको परिकार होडबाजी गरेर नखाने, काँचो मासु रोगको भण्डार हो
- पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो, मासु पोल्दा राम्रोसँग पाक्दैन र धुवाँबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ
- राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको
मासुमात्र खाने
- विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
- बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने
भण्डारण तरिका
- मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै नराख्ने
- ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घन्टासम्म भण्डारण गर्न सकिन्छ
- मासुलाई फ्रिजमा छोपेर राख्ने गर्नुपर्छ । माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणु, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ र तल राखिएका अन्य खानामा पर्न सक्छ
- काँचो मासु र पाकेको मासु एकै स्थानमा नराख्ने

ध्यान दिनुपर्ने कुरा
- घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
- विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
- मासु प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
- मासु दैनिक प्रयोग नगर्ने
- मासु खाने बित्तिकै आइसक्रिम, दही, क्रिमका
परिकार नखाने
- दैनिक व्यायाम गर्ने
- आफूलाई स्वस्थ नभएको महसुुस भए माछा–मासु प्रयोग नगर्ने
- सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको निरीक्षण गरेर मात्र खाने

प्रकाशित : आश्विन ३०, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?