कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

नवरात्रमा नारी सम्मान

नवरात्र पर्व वेद र वैदिक संस्कृतिले मानेको र उपयोगी ठानेका नारी तथा नारी शक्तिप्रति सम्मान र सद्भाव प्रकट गर्ने पर्व हो ।
कमल रिजाल

काठमाडौँ — नेपाली घरआँगनमा नवरात्र पर्व चलिरहेको छ  । यस पर्वमा ९ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दसमीको दिन प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ  ।

नवरात्रमा नारी सम्मान

यसो गर्नाले माता भगवतीले सुख, शान्ति र आनन्द प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ ।


नवरात्र नारी सम्मानको पर्व हो । यसबारे वेद र उनिषद खासै बोलेको पाइन्न, तर इतिहास र पुराणादिको अन्तर्यमा यही आशय अनुभूत गर्न सकिन्छ । वेद र वैदिक ग्रन्थले नारीलाई सदैव सम्मानजनक दृष्टिले हेरेका छन् । हाम्रा वेद, उपनिषद, इतिहास र पुराण कुनै ग्रन्थ यस्ता छैनन्, जहाँ धेरथोर नारीको महत्त्व र विशेषता बयान नभएको होस् । रामायण तथा महाभारत र पुराणमै पनि कतै–कतै नारी अपमानका केही प्रसङ्ग नभेटिने होइन । तर ती पनि नारीको अपमान गर्दा ठूलै विपत्ति निम्तिन सक्छ भन्ने सन्देश दिनकै लागि आएका हुन् ।


अग्नि, वायु, इन्द्र आफ्नै शक्ति र कर्तव्यबोध गर्न नसकी आकुल–व्याकुल भइरहेका बेला हैमवती कन्याका रूपमा प्रकट भएकी नारीले उनीहरूको मार्गदर्शन गरेकी कुरा केनोपनिषदमा छ । त्यस्तै देवताहरू दानवीय शक्तिमाथि विजय प्राप्त गर्न नसकी हैरान भएका बेला नारीले विविध रूपमा प्रकट भई उनीहरूको समस्या समाधान गरेको प्रसङ्ग देवीभागत तथा मार्कण्डेय पुराणमा छ । नारी शक्तिबाटै रक्तदन्तिका, नन्दा, शाकम्भरी, भ्रामरी, भीमा, दुर्गा जतिबेला जस्तो आवश्यकता पर्छ, त्यस्तै रूपमा प्रकट भई चराचर जगतको रक्षा भएको प्रसङ्ग चण्डी शप्तशतीमा उल्लेख छ । आवश्यक परेका बेला नारीशक्तिले ब्रह्मा, विष्णु तथा महेश्वरलाई मार्गदर्शन गरेको प्रसङ्ग इतिहास र पुराणादि ग्रन्थमा भेटिन्छन् । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्ने कुरा मनुस्मृतिले गरेको छ । नारी हुँदा वन पनि घरजस्तो हुने र नारी नहुँदा घर पनि वनजस्तो हुने व्यावहारिक यथार्थले देखाउँछ ।


ऋग्वेदले नारीलाई सृष्टिको मूल आधारमात्र मानेको छैन, तिनको व्यवस्थापनमा समेत नारीलाई देखाएको छ । यद्यपि पौराणिक ग्रन्थहरूका अनुसार सृष्टि, स्थिति र संहारमा क्रमश: ब्रह्म, विष्णु र महेश्वरको उपस्थिति देखिन्छ । तर उनीहरूले पनि आफ्नो काम नारी शक्तिबाटै शक्तिवान भएर गर्नसकेका हुन् भन्नेमा कत्ति शङ्का छैन । संसारमा देव –दानव तथा मानव लगायत उद्विभज (जमिनमा उम्रने) स्वेतज (पसिनाबाट उत्पन्न हुने), अन्डज (अन्डाबाट उत्पन्न हुने) र जरायुज (सालनाल सहित जन्मने) जति प्राणी छन्, ती सबैको उत्पत्ति नारीशक्तिकै कारण सम्भव भएका हुन् । उनीहरूको उत्पत्ति पनि नारी शक्तिबाटै भएको छ । पालन तथा नवीकरणीय प्रक्रियाद्वारा पुनर्जीवन दिने काम पनि नारीशक्तिले नै गरेको छ ।


अथर्ववेदीय राधिकातापनियोषद् तथा ऋग्वेदीय राधोपनिषद्का अनुसार आब्रह्म स्तम्भपर्यन्त अर्थात् ब्रह्मादेखि कमिलासम्म चराचर जगतको रचयिता नारी नै देखिएका छन् । अथर्ववेदीय देव्युपनिषद् र सीतोपनिषद्का अनुसार ब्रह्माण्डको रचनामा नारीकै विशेष भूमिका देखिन्छ । ऋग्वेदीय सरस्वती रहस्योपनिषद्का अनुसार शब्दको स्रोतसमेत नारी नै रहेका छन् । यस अनुसार वाणीको परा, पश्यन्ति, मध्यमा र वैखरी चार रूप छन् । तीमध्ये परारूपको स्थान मणिपूर चक्र अर्थात् नाभीमण्डल, पश्यन्तिको स्थान अनाहत चक्र अर्थात् हृदय तथा मध्यमाको स्थान विशुद्धचक्र अर्थात् घाँटी प्रदेश र वैखरीको स्थान मुखप्रदेश मानिएको छ । यतिबेला वैखरी रूपबाट विस्फोट हुनुपूर्व अमूर्त हुने भएकाले शब्दको अवस्था सबैको उस्तै हुन्छ, तर मुखबाट विस्फोट हुने बेला यसको गति यति तीव्र हुन्छ कि ऊ कतिबेला वक्ताको इष्टभाषामा अनुवाद भई प्रकट हुनपुग्छ, पत्तै हुँदैन ।


ऋग्वेदमा अदिती, उषा, होला, इन्द्राणी, इला, भारती, सिनीवाली, श्रद्धा, पृश्नि आदि नारीलाई विभिन्न तत्वका अधिष्ठातृका रूपमा देखाइएको छ । यिनीहरूलाई कतै देवमाता, कतै देवकन्या भनिएको छ । यीमध्ये अदितीको स्थान सर्वाधिक अगाडि देखिन्छ । शुक्लयजुर्वेदका अनुसार आकाश, अन्तरिक्ष, माता, पिता, पुत्र लगायत समस्त देवीदेवता र पञ्चजन अर्थात् गन्धर्व, पितृ, देव, असुर र राक्षस सबै अदितीकै विविध रूप हुन् । यद्यपि उषाको अर्थ प्रभात हो, तर ऋग्वेदमा ३०० भन्दा बढी स्थानमा उनलाई देवीको रूपमा प्रस्तुत गरिएको छ । प्राचीन युनानीहरूले उषालाई देवी मानेर उपासना गर्ने गरेको पाइन्छ । उनीहरू उषालाई दहना, यथेना नामबाट पुकार्थे । ल्याटिन भाषाभाषीमाझ पनि उषाको लोकप्रियता उत्तिकै भेटिन्छ ।


वैदिककाल नारी शिक्षा र स्वतन्त्रतामा निकै उदार पाइन्छ । वैदिककालीन नारीहरू स्वेच्छाले कोही लडभिड तथा युद्धमा होमिने गर्थे भने कोही गीत तथा सङ्गीत सिक्ने, सिकाउने तथा प्रयोगमा ल्याउने गर्थे । केही कृषि तथा पशुपालनमा रमाउने गर्थे भने केही अन्य घरायसी काममा र केही उद्योग व्यवसाय अर्थात् धागो कात्ने, कपडा बुन्ने कार्यमा लाग्ने गर्थे । सूर्यपुत्री सावित्री लगायत थुप्रै नारी वैदिक मन्त्रद्रष्टा हुन् । यिनलाई ऋषिका भनिन्छ । ऋग्वेद दसौं मण्डलका ८५ औं सूक्त सूर्यपुत्री सावित्रीद्वारा साक्षात्कार भएको सूक्त हो । यसमा ४७ वटा मन्त्र छन् । यी मन्त्र केही थप भएर अथर्व वेदको १४ औं काण्डमा पनि आएका छन् । यस काण्डको पहिलो र दोस्रो सूक्त यिनै मन्त्रसित सम्बन्धित छन्, जसलाई विवाह सूक्त भनिन्छ । प्रचलनमा रहेको वैदिक विवाह पद्धति यसैको आधारमा रचना भएको हो । ऋग्वेदकै दसौं मण्डलको ३९ र ४० औं सूक्तका द्रष्टा ऋषिका घोषा देखिएकी छन् । जसले त्यतिबेलाका नारी शिक्षाबारे दिग्दर्शन गरेका छन् । त्यस्तै ऋग्वेदको १४५ औं र १५९ औं सूक्तका ऋषिका इन्द्राणी वा शचि मानिएका छन् ।

उनी पुलोमा नामक दानवकी छोरी थिइन् । उनले देवराज इन्द्रसित प्रेमविवाह गरेकी थिइन् । त्यसैले हिजोआज स्वयम्बरा कन्याहरू उनैसित आशिर्वाद मागेर वरमाला पहिराउने गर्छन् । वाक् पनि वैदिक ऋषिकाकै नाम हो । ऋग्वेदको १२५ औं सूक्त उनै वाक्द्वारा साक्षात्कार भएको मन्त्रको सँगालो हो । कुल ८ वटा मन्त्र रहेको यस सूक्तलाई वाक्सूक्त तथा देवीसूक्त भनिन्छ । यस सूक्तबाट त्यतिबेलाका नारी स्वतन्त्रताबारे थप जानकारी पाउन सकिन्छ । यस बाहेक ऋग्वेदमा गार्गी ममता, विश्ववारा, अपाला, घोषा, सरण्यु, राका, गुङ्गु, असु, श्रद्धा, पृश्नि धेरै नारीको विशेषता र विद्वताबारे यथावसर राम्रै चर्चा भएको पाइन्छ ।


तन्त्र साहित्यमा दस महाशक्तिको विशेष नाम छ । यिनमा महाकाली, उग्रतारा, षोडसी वा त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धुमावती, बगलामुखी, मातङ्गी र कमला पर्छन् । यिनीहरूले ब्रह्मादि देवताहरूले गर्न नसकेका काम गरेका मात्र छैनन्, उनीहरूकै कारण सिर्जना हुनपुगेको समस्या समाधान गरेका छन् । पौराणिक ग्रन्थहरूमा आएका ऋषिपत्नी अरुन्धती र अनसूया पनि उत्तिकै सम्मानित नारी हुन् । महाकाली, महालक्ष्मी, महासरस्वती पनि दैवीशक्ति मानिँंदै आएका छन् । माता सीता र राजकुमारी भृकुटी पनि उत्तिकै श्रद्धाले शिर झुकाउनुपर्ने नारी हुन् । कन्यालाई जीवितदेवी कुमारीको रूपमा पूजा गर्ने नेपालको मौलिक पराम्परा हो ।


हाम्रो यहाँ डडेलधुराकी उग्रतारा, वैतडीकी मेलौली भगवती, डोटीकी शैलेश्वरी, कालीकोटकी बडीमालिका, डोल्पाकी बाला त्रिपरासुन्दरी, सुर्खेतकी देउतीबज्यै, नेपालगन्जकी वागिश्वरी, सल्यानकी खैरावाङ भगवती, बाग्लुङकी माई, पाल्पाकी तानसेन भगवती, स्याङ्जाकी आलमदेवी, गैंडाकोटकी मौलाकाली, पोखराकी विन्ध्यवासिनी, गोरखाकी मनकामना र गोरखकाली यस्ता शक्तिपीठ छन्, जहाँ प्राचीन कालदेखि विशेष श्रद्धा र भक्तिपूर्वक पूजा तथा उपासना हुँदै आएको छ । यस्तै, धादिङकी त्रिपुरासुन्दरी, नुवाकोटकी भैरवी, बाराकी गढीमाई, काठमाडौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, बगलामुखी, काभ्रेकी चण्डेश्वरी, पलाञ्चोक भगवती, दोलखाकी कालिञ्चोक भगवती, राजविराजकी छिन्नमस्ता, सुनसरीकी दन्तकाली, संखुवासभाकी सिद्धकाली, तेह्रथुमकी सिंहवाहिनी, ताप्लेजुङकी पाथीभरामा श्रद्धा र भक्तिपूर्वक पूजा तथा उपासना हुँदै आएको छ नवरात्र पर्व वेद र वैदिक संस्कृतिले मानेको र उपयोगी ठानेको यी र यस्तै–यस्तै नारी तथा नारी शक्तिप्रति सम्मान र सद्भाव प्रकट गर्ने पर्व हो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?